प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार

Photo by JOSHUA COLEMAN on Unsplash
अमेरिकाको टेक्सास राज्यस्थित अस्टिनमा आइतबार बिहान एक बारमा अन्धाधुन्ध गोली चल्दा आक्रमणकारीसहित तीन जनाको मृत्यु भएको छ। घटनामा अन्य १४ जना घाइते भएका छन्।
अधिकारीहरूका अनुसार, यो घटना अस्टिनको पर्यटकीय क्षेत्र ‘सिक्स्थ स्ट्रिट’ मा रहेको लोकप्रिय बियर गार्डेन ‘ब्युफर्ड्स’ मा भएको हो। स्थानीय समयअनुसार आइतबार बिहान करिब २ बजे एक बन्दुकधारीले गोली चलाउन सुरु गरेका थिए। जवाफी कारबाहीमा प्रहरीको गोली लागेर संदिग्ध आक्रमणकारीको पनि घटनास्थलमै मृत्यु भएको छ।
अधिकारीहरूका अनुसार ५३ वर्षीय एनडियागा डियाननाम गरेका बन्दुकधारीले सुरुमा गुडिरहेको एसयूभी गाडीबाट बारमा बसिरहेका मानिसहरूमाथि अन्धाधुन्ध गोली चलाएका थिए। त्यसपछि उनले गाडी रोकेर राइफलसहित पैदल हिँडिरहेका व्यक्तिहरूलाई निसाना बनाएका थिए ।
सेनेगलबाट आएर अमेरिकी नागरिकता लिएका डियानले आक्रमणको समयमा “प्रपर्टी अफ अल्लाह” लेखिएको स्विटसर्ट लगाएका थिए र उनको गाडीबाट कुरान समेत बरामद गरिएको छ। एफबीआईको ‘जोइन्ट टेररिज्म टास्क फोर्स’ ले यस घटनामा आतंकवादको सम्बन्ध हुनसक्ने संकेतहरू फेला पारेको बताएको छ।
मध्यपूर्वमा हालै इरान र इजरायलबीच बढेको तनावका बीच यो घटना भएकोले टेक्सासका गभर्नर ग्रेग एबोटले कडा चेतावनी दिँदै राज्यको सुरक्षा र पूर्वाधार रक्षाका लागि थप बल परिचालन गरिएको घोषणा गर्नुभएको छ।
घटनाका प्रत्यक्षदर्शी एवम् घाइते भएका २१ वर्षीय विद्यार्थी करण भक्तले अचानक चलेको गोलीपछि बारमा भागदौड र त्रास फैलिएको बताउनुभयो। गोलीको छर्राले टाउकोमा चोट लागेका भक्तका अनुसार, घटनापछि मानिसहरू ज्यान जोगाउन भुइँमा सुतेका थिए र सर्वत्र रगत देखिएको थियो।
प्रहरी र एफबीआईले डियान बस्ने गरेको अस्टिन नजिकैको फ्लागरभिल स्थित घरमा छापा मारेर खानतलासी गरेका छन्। छिमेकीहरूका अनुसार डियान निकै शान्त स्वभावका थिए र कसैसँग खासै घुलमिल हुँदैनथे। अस्टिनका प्रहरी प्रमुख लिसा डेभिसले यो सहरका लागि निकै कठिन समय भएको बताउँदै पीडित परिवारहरूलाई आवश्यक सहयोग उपलब्ध गराइरहेको जानकारी दिनुभयो। युनिभर्सिटी प्रशासनले पनि आफ्ना विद्यार्थीहरू घाइते भएकोमा दुःख व्यक्त गर्दै काउन्सिलिङ सेवा सुरु गरेको छ।