प्रकाशित मिति : मंसिर २६, २०८१ बुधबार
न्युयोर्कको ज्याक्सनहाइटमा रहेको गहना पसलमा लुटपाट गर्ने संदीग्ध लुटेराहरुले नै ब्रुकलिनमा गहना पसल लुटपाट प्रयास गरेका छन् । डिसेम्बर ६ मा क्वीन्सको ज्याक्सनहाइटमा रहेको गहना पसलबाट झण्डै ८ लाख डलरको गहना लुट्ने समुहले नै त्यसको २ दिनपछि ब्रुकलिनमा गहना पसल लुटपाट प्रयास गरेको हो ।
उनीहरुले दिउँसो साढे १ बजेतिर ब्रुकलिनमा रहेको पिरामिड्स ज्वेलरी २ मा हथौडाले झ्यालहरू तोड्ने प्रयास गरेपनि असफल भएका थिए । त्यसपछि तीनै जना पेन्सिलभेनियाको नम्बर प्लेट भएको गाडीमा भागेका थिए । बुधबार रातिसम्म कोही पक्राउ परेका छैनन् भने अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ।
यही समुहले डिसेम्बर ६ शुक्रबार साँझ ७४ स्ट्रीट ज्याक्सनहाइटमा रहेको एबीड ज्वेलर्समा लुटपाट गरेका थिए । प्रहरीका अनुशार घटना बेलुका ६ बजेर २० मिनेटतिर भएको थियो । अगाडिको झ्यालको सिसा तोडेर तीन जना अपरिचित व्यक्तिले जबरजस्ती पसलमा प्रवेश गरेका र उनीहरुले लगभग ८ लाख डलर मूल्यको गहना लुटपाट गरेको प्रहरीमा रिपोर्ट गरिएको प्रहरीले खसोखासलाई जानकारी दिएको थियो ।
त्यसपछि ती व्यक्तिहरू सेतो एसयूभीमा ७४ स्ट्रिटको पूर्वी भागमा भागेका थिए। एसयूभी ७२ स्ट्रीट र ३५ एभिन्यूमा खाली ठाउँमा बरामद गरिएको थियो। यसैबीच प्रहरीले संदीग्धका निगरानी फुटेज जारी गरेको छ ।
ज्याक्सनहाइट र आसपासमा दक्षिण एसियालीबाट संचालित व्यवसायहरुमा लुटपाटका घटनामा बृद्धि भएको देखिएको छ । गतमार्चको अन्तिमसाता ज्याक्सनहाइटमा नेपालीभाषीको मोबाइल पसलमा लुटपाट भएको थियो ।
पसलबाट १५ हजार डलर र १०० वटा फोन लुटपाट भएको न्युयोर्क प्रहरीले खसोखासलाई जानकारी दिएको थियो । बेलुका साढे ८ बजे २ जना अज्ञात बन्दुकधारीहरु पसलभित्र पसेर लुटपाट गरेको रिपोर्ट प्राप्त भएको प्रहरीले जानकारी दिएको थियो ।
न्युयोर्कको ज्याक्सनहाइटमा यस अगाडि पनि नेपाली र नेपालीभाषीहरुका स्टोरहरुमा पटकटक लुटपाट हुने गरेको छ । यसअगाडि नै ज्याक्सनहाइटमा नै रहेको नेपालीको मोबाइल पसलमा समेत लुटपाट भएको थियो ।