पूर्वराजा ज्ञानेन्द्र शाह भुटान भ्रमणमा गएछन् । दसैंका बेलामा छुट्टी मनाउन जो कोही जहाँ पनि जान सक्छन् । अनौठो कुरै भएन । त्यसमाथि धनवान् व्यक्तिहरूका लागि त संसारको कुनै कुनामा पुगेर मोजमस्ती गर्नु असम्भव भएन । सामान्यतयाः नवरात्रि लागेपश्चात् टाढा पुगेकाहरू पनि घर फर्किन थाल्छन् । घरको मूली रहेछ भने त पूजाकोठामा घटस्थापनाको दिन स्थापित नवदुर्गाको प्रतीक पवित्र कलशमा प्रत्येक दिन पूजाअर्चना आराधना गर्नुपर्ने भएको हुनाले मूल घर छोड्दै छोड्दैनन् । तर, ज्ञानेन्द्र शाह सायद आफैं कुनै अवतारी भएका हुनाले कुनै देवदेवीको आराधना गर्ने बन्धनबाट मुक्त छन् । ‘घरमूली’ त उनी रहेनन् नै ! हनुमानढोकाको दसैंघरले अब उनको प्रतीक्षा गर्दैन । त्यसकारण नवदुर्गा भवानीलाई घर भिœयाउने बित्तिकै ज्ञानेन्द्र शाह बाहिरिनु आफैंमा ठूलो आश्चर्यको विषय रहेन ।
शाहको भुटान भ्रमणबाट निकै हौसिनेहरूसमेत छन् । उनलाई पारो विमानस्थलमा कुनै राजकुमारीले स्वागत गरिछन् । सायद ती राजकुमारी वर्तमान भुटानी राजाकी दिदीबहिनी साइनो पर्ने कोही हुन् । भुटानको राजधानी थिम्पुमा थुप्रै ‘राजपरिवार सदस्यहरू’ छन् । सामान्य जनताका लागि ती सबै स्वतः सम्माननीय हुन्छन् । अब नेपालका पूर्वराजालाई स्वागत गर्ने राजकुमारी त उच्च श्रेणीकै होलिन् । त्यसपछि एउटा रमाइलो तस्बिर पनि देखियो । पूर्वराजा ज्ञानेन्द्र भ्रमण दलका अन्य सदस्यहरूका साथ सम्भवतः कुनै भुटानी धर्मगुरुसँग सामूहिक दर्शनभेट गर्दै रहेछन् । उनी आफैं, उनकी छोरी र भतिजी सबैले कसैलाई बडो अदवका साथ एकैसाथ नमस्कार गरिरहेको तस्बिर देखिएको छ । कसले कोसँग दर्शन भेट गरेको हो छुट्याउन अप्ठ्यारो छ । सायद ज्ञानेन्द्र शाहलाई भुटानी राजा जिग्मे नामग्याल वाङ्चुकले पनि दर्शन भेट बक्सिनेछ । त्यसबेलाको तस्बिर हेर्नलायक हुनेछ । विमानस्थलमा गरिएको रातो कार्पेटसहितको ‘भव्य स्वागत’को पनि राम्रै प्रचारप्रसार गरिएको छ ।
निजी भ्रमणमा कुनै नेपाली नागरिकलाई विदेशी राष्ट्रको सरकारले ‘विशेष’ आदर सत्कार ग¥यो भने त्यो खुसीकै कुरा हो । तर, यहाँनेर एउटा घटनाको सम्झना भयो र उल्लेख गर्दै छु । कोलम्बो हो वा माले हो कुनै एक ठाउँमा सार्क शिखर सम्मेलन हुँदै थियो । तत्कालीन सातै राष्ट्रका कार्यकारी प्रमुखहरूको भेला भएको थियो । नेपाललाई तत्कालीन सर्वाधिकार सम्पन्न राजा वीरेन्द्रले प्रतिनिधित्व गरेका थिए भने भारतका तर्फबाट प्रधानमन्त्री राजीव गान्धी आएका थिए । शिखर सम्मेलनको साइडलाइनमा एक बिहान राजीव गान्धीले सबै राष्ट्र एवं सरकार प्रमुखहरूलाई अनौपचारिक चियापानका लागि आमन्त्रण गरेछन् । त्यसपछि राजा वीरेन्द्रलाई अप्ठ्यारो हुनेगरी आपत्ति उठाइयो ।
वीरेन्द्रका सल्लाहकारहरूले भनेछन्, ‘सरकार राष्ट्रप्रमुख सम्राट महाराजाधिराज होइबक्सन्छ, राजीव गान्धी त प्रधानमन्त्री मात्रै ! उनको निम्तामा चियापानका लागि सवारी हुनु उपयुक्त हुन्न, प्रोटोकल मिलेन ।’ सल्लाह दिनेहरूको आफ्नै स्वार्थ र तर्क होलान् । त्यसबेलाको समय त्यस्तै थियो । राजा वीरेन्द्र जापान भ्रमणमा गएका थिए । त्यहाँका प्रधानमन्त्रीसँग भेट हुनु स्वाभाविक थियो । सम्पूर्ण निर्णयकर्ता त प्रधानमन्त्री नै थिए । जापानले नेपाललाई सहयोग गर्ने भएछ । रेडियो नेपालले समाचारमा फुकेको व्यहोरा मलाई अझै याद छ, ‘जापानी प्रधानमन्त्री ताकियो फुकुदाले श्री ५ महाराधिराजसँग दर्शन भेट गर्नुभयो, सो अवसरमा प्रधानमन्त्री फुकुदाले नेपाललाई निरन्तर सहयोग गर्ने इच्छा जाहेर गर्नुभयो ।’ बेलायतका प्रधानमन्त्री जेम्स कालाघान र भारतकी प्रधानमन्त्री इन्दिरा गान्धीले पनि राजासँग भेटघाट वार्ता होइन, दर्शनभेट नै गर्थे । राजीव गान्धीको चियापानमा नगएका कारण पञ्चायती व्यवस्था नै ढल्यो भनेर विश्लेषण गर्नेहरू पनि छन् !
यसपटक चाहिँ ज्ञानेन्द्र शाहका सल्लाहकार र समर्थकहरू खुसी नै देखिन्छन् । राजपरिवारका कुनै ८ वा ९ नम्बर मर्यादाक्रममा रहेकी राजकुमारीले स्वागत गर्दा पनि दंग परेका छन् । कुनै धर्मगुरुजस्तो देखिने व्यक्तिका अगाडि अदवपूर्वक हात जोडेर बस्नुपर्दा पनि सन्तुष्ट देखिन्छन् ।
हेक्का रहोस्, नेपालका राजा भनाउँदाले भगवान्को मन्दिरमा पनि टाउकाले ढोग्दैनन् ! अब जिग्मे नामग्याल वाङ्चुकका सामु उनी दर्शनभेटका लागि प्रस्तुत हुनेछन् र शाही अदवको पालना गर्नुपर्नेछ ।
प्रोटोकलले यही भन्छ किनकि भुटान नरेश राजा हुन् र ज्ञानेन्द्र शाह पदहीन सामान्य नागरिक ! ज्ञानेन्द्र शाह र उनका समर्थकहरूले यथार्थलाई आत्मसात गरेर दिवास्वप्न हेर्न छोड्नु नै उनी स्वयंका लागि कल्याणकारी हुनेछ ।
ज्ञानेन्द्र शाह भुटान किन गए त ? यसमा गहिरो अर्थ खोजेर ‘अब राजा पुनस्र्थापित हुने भए’ भन्दै दंग पर्नेहरू पनि देखिए । निश्चित रूपमा मोदीको ‘स्वीकृति’ नभई ज्ञानेन्द्रलाई निम्ता दिइएको होइन । भुटानी शासकको त्यति औकात नै छैन । तर, नेपालमा ज्ञानेन्द्रलाई पुनस्र्थापित गर्न वा राजनीतिक प्रभाव पार्न मोदीले भुटानलाई प्रयोग गर्छन् भन्ने कुराचाहिँ थोरै पनि विश्वसनीय छैन ।
नेपालका राजाहरू अत्यन्तै राष्ट्रवादी र देशभक्त भनेर प्रचारित छन् । विशेषतः राजा महेन्द्र र उनका सन्तानहरूलाई त ‘भारतसँग नझुकेर अडान लिने’ महान् देशभक्तका रुपमा प्रस्तुत गरिन्छ । धेरै हदसम्म भारतीय नोटको प्रचलनलाई हटाएर महेन्द्रले राष्ट्रवादी काम गरेका पनि हुन् । सीमावर्ती सहर गाउँहरूका विद्यालयहरूमा भारतीय राष्ट्रगान गाइने र भारतीय पाठ्यपुस्तक पढाइन्थ्यो
ज्ञानेन्द्र शाहलाई कुनै चेतावनी दिन परेको भएचाहिँ नामग्याल प्रयोग हुनसक्छन् । कुनै विशेष प्रभाव नै नभएका ज्ञानेन्द्र शाहलाई चेतावनीको पनि के पो आवश्यकता पर्ला र ! मोदीका लागि त्यस्तै विशेष आवश्यकता परेको भए कर्ण सिंह वा पूर्वराजाका फुपूहरूका सन्तान छोटे भारतीय ‘राजा साहेब’हरू नै काफी हुन्थ्यो ।
नेपालका राजाहरू अत्यन्तै राष्ट्रवादी र देशभक्त भनेर प्रचारित छन् । विशेषतः राजा महेन्द्र र उनका सन्तानहरूलाई त ‘भारतसँग नझुकेर अडान लिने’ महान् देशभक्तका रूपमा प्रस्तुत गरिन्छ । धेरै हदसम्म भारतीय नोटको प्रचलनलाई हटाएर महेन्द्रले राष्ट्रवादी काम गरेका पनि हुन् । सीमावर्ती सहर गाउँहरूमा विद्यालयहरूमा भारतीय राष्ट्रगान गाइन्थ्यो भने भारतीय पाठ्यपुस्तक पढाइन्थ्यो । त्यसलाई विस्थापित गरेर पनि राम्रै काम गरेका हुन् । राष्ट्रगानको कुरा गर्ने हो भने विकल्पका रूपमा प्रस्तुत गरिएको ‘श्रीमान गम्भीर’ त कुनै राष्ट्रगान नै थिएन । त्यो त फगत एक व्यक्तिको स्तुतिगान थियो । राष्ट्रगानमा चाहिँ नेपालीकरण होइन, व्यक्तीकरण गरिएको हो भन्दा फरक नपर्ला !
महेन्द्रले र पछि उनका उत्तराधिकारीहरूले एउटा अनौठो काम गरे ! ‘एउटै भाषा, एउटै भेष’को नारा चलाए । तराईको उखरमाउलो गर्मीमा पनि दौरा सुरुवाल लगाउनैपर्ने । कथित नेपाली टोपी लगाएपछि मात्र नेपाली भइने ! अनि जानी नजानी नेपाली नै बोल्नैपर्ने, पढ्नैपर्ने ! आफ्नो जातीय पोसाक वा भाषालाई दोस्रो दर्जाको मान्नुपर्ने खाले बाध्यता थोपरिएको थियो ‘एउटै भाषा एउटै भेष’का नाममा ! ध्यान दिएर सोच्ने हो भने मधेसलगायत अन्य जनजातिमा समेत देखिएको असन्तोषको मूल जड नै यो ‘एउटै भाषा, एउटै भेष’को नारा र त्यसको कार्यान्वयन थियो । झट्ट हेर्दा राजाहरूको दौरा सुरुवाल र नेपाली भाषाप्रतिको प्रेम अद्वितीय थियो । उनीहरूले निश्चित भाषा र भेषलाई राष्ट्रिय एकताको सूत्रका रूपमा पेस गरेका थिए । तर, कहिल्यै यो सोचिएन कि ६० प्रतिशतभन्दा बढी जनताले नलगाउने पोसाक र नबोल्ने भाषा कसरी एकताको प्रतीक हुन्छ ! खास भन्ने हो भने यो नारा गैरखस संस्कृतिविरुद्धको आक्रामक अभियान थियो ।
उता, भुटानका राजा जिग्मेसिंघे वाङ्चुकले पनि ठीक यही नारा अर्थात् ‘एउटै भाषा, एउटै भेष’ चलाए । सबै भुटानीले जोङ्खा भाषा बोल्नैपर्ने र सबैले बक्खु लगाउनैपर्ने ! नेपाली वेशभूषाधारी नेपाली भाषीहरूले राज्य आतंक बेहोर्नुप¥यो । हजारौं हजार दौरा सुरुवाल चोलो सारी लगाउने अनि नेपाली बोल्ने दक्षिण भुटानवासीहरू खेदिए । भुटानमा चाहिँ नेपाली मूलका जनताविरुद्ध ‘एउटै भाषा, एउटै भेष’ नारामार्फत राज्य आतंक मच्चाइयो । यसरी खेदिएर हजारौं भुटानी नेपाल आइपुगे । दौरा सुरुवाल पोसाक र नेपाली भाषाप्रेमी राजाले यिनलाई माया गर्नुपथ्र्यो नि ! होइन र ? तर, तत्कालीन राजा वीरेन्द्रले शरणार्थी नेता आन्दोलनकारी टेकनाथ रिजाललाई झ्याइँकुट्टी पारेर जबर्जस्ती भुटानका क्रूर शासकलाई बुझाइदिए ! राजालाई दौरा सुरुवाल र नेपाली भाषाप्रति प्रेम भएको भए यसो गर्थे र ? वास्तवमा नेपालका राजाहरूलाई ‘एउटै भाषा, एउटै भेष’ नारामार्फत ‘श्रीमान गम्भीर’ गाइरहने वफादार चाटुकारहरूको भीड चाहिएको थियो । उनीहरूलाई आफ्नै चिन्ता थियो र त्यसकारण त्यो नारा प्यारो थियो, पोसाक र भाषा त शस्त्र मात्र थियो ।
आज ज्ञानेन्द्र शाह त्यही ‘एउटै भाषा, एउटै भेष’का प्रशंसक पूजक भएका कारण सगोत्री राजपरिवारको निम्तामा भुटान गएका हुन् । यस भ्रमणमा धेरै अर्थ खोजिरहनुको कुनै अर्थ छैन ।
(Visited 20 times, 1 visits today)