जेन–जी प्रदर्शनमा बर्बर दमन : १९ जनाको मृत्यु, साढे तीन सय घाइते


भ्रष्टाचार र बेथितिविरुद्ध ‘जेन–जी’ युवाहरूले गरेको विरोध प्रदर्शनमाथि सरकारले बर्बर दमनमा उत्रिँदा १९ जनाको ज्यान गएको छ । नागरिकप्रति उत्तरदायी बन्न नसकेको सरकारले राजधानी र बाहिर जिल्लाहरूमा गोली चलाउँदा १९ जनाको ज्यान गएको हो।

यो समाचार तयार पार्दासम्म राजधानीमा १७ जना र इटहरीमा दुई जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले कन्ट्रोल रुममा १९ जनाको मृत्यु भएको जानकारी प्राप्त भएको बताए । देशभरि घाइतेको संख्या तीन सय ४७ जना रहेको र उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको पनि मन्त्रालयले जनाएको छ । उपचाररत घाइतेमध्ये ३९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

ट्रमा सेन्टरमा मृत्यु भएका आठमध्ये ६ जनाको पहिचान भएको छ । पहिचान खुल्नेमा बाँकेका २१ वर्षीय सुलभराज श्रेष्ठ, कीर्तिपुरका ४२ वर्षीय बुद्धिबहादुर तामाङ, काठमाडौं वनस्थलीका २६ वर्षीय ईश्वरबहादुर अधिकारी, ठेगाना नखुलेका तीन जनामा २८ वर्षका गौरव जोशी, १९ वर्षका श्रीराम चौलागाई र २४ वर्षका सौरभ कटुवाल छन् । मृत्यु हुनेमा काठमाडौंको सिभिल अस्पतालमा तीन, एभरेस्ट अस्पतालमा तीन, केएमसी अस्पतालमा दुई, त्रिवि शिक्षण अस्पतालमा एक र धरानको बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सरकारी र निजी गरी ११ अस्पतालमा उनीहरूको उपचार भइरहेको छ । मन्त्रालयले दिएको विवरणअनुसार सबैभन्दा बढी निजामती कर्मचारी (सिभिल) अस्पतालमा एक सय जना घाइतेहरूको उपचार भइरहेको छ । अस्पतालले १५ जना घाइतेलाई वीर र ट्रमा अस्पतालमा थप उपचारका लागि पठाएको थियो । ट्रमा सेन्टरमा ५९ जनाको उपचार भइरहेको छ । मन्त्रालयले ट्रमा सेन्टरलाई विपद् योजना बनाएर आकस्मिक बिरामीलाई हेर्न निर्देशन दिएको जनाइएको छ ।

वीर अस्पतालमा ६ जना घाइतेको उपचार भइरहेको छ । एभरेस्ट अस्पतालमा एक सय दुई जनाको उपचार भइरहेको छ । अस्पतालमा सात जना गम्भीर घाइते छन् । मन्त्रालयका अनुसार पाटन अस्पतालमा चार जना गम्भीर घाइतेको उपचार भइरहेको छ । केएमसी अस्पतालमा ३७ जनाको उपचार भइरहेको छ । केएमसी अस्पतालमा उपचाररत ६ जना शल्यक्रिया गर्नुपर्ने अवस्थाका बिरामी रहेका जनाइएको छ । त्रिवि शिक्षण अस्पतालमा १८ जना घाइतेको उपचार हुँदै छ । नर्भिक अस्पतालमा तीन जनाको उपचार भइरहेको छ । पोखराको गण्डकी मेडिकल कलेजमा एक र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना घाइतेको उपचार भइरहेको छ । झापाको दमक अस्पतालमा सात जना घाइतेको उपचार भइरहेको छ । विराटनगरको विराट मेडिकल कलेजमा चार जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

विश्वविद्यालय तहमा अध्ययन गरिरहेका युवाहरूले शालीनतापूर्वक आन्दोलन गरिहरेका बेला सरकारले दमन गरेको थियो । काठमाडौंका विभिन्न अस्पतालमा राति अबेरसम्म अभिभावकहरूले आफ्ना सन्तानको अवस्थाबारे जानकारी लिइरहेका थिए भने सरकारको कडा शब्दमा निन्दा र भत्र्सना गरेका थिए । राजाको शासनताका जनआन्दोलन गरेका राजनीतिक दलहरूको आन्दोलनमा पनि देशभर १९ जनाको ज्यान गएको थियो । तर सोमबार बानेश्वरमा जेन–जीको पहिलो दिनको प्रदर्शनमै सरकार बर्बर दमनमा उत्रियो र १९ जनाको मृत्यु भएको छ । 

सोमबारको प्रदर्शनमा नागरिकको मौलिक हकमाथि सरकार निर्मम भएर प्रस्तुत भएको छ । जनआन्दोलनमार्फत नागरिकका मौलिक हक स्थापित गरेका राजनीतिक दलहरूले नेतृत्व गरेको सरकारले तिनै जनतामाथि सोमबार गरेको दमन कुनै पनि हालमा माफीयोग्य थिएन । माइतीघरबाट स्वतःस्फूर्त अघि बढेका युवाहरूलाई सुरक्षाकर्मीहरूले निषेधित क्षेत्रमा जान नदिने विविध उपाय हुँदाहुँदै गोली प्रहार गर्नुले सरकारले नियोजित रूपमा प्रदर्शनकारीमाथि गोली प्रहार गरेका थिए ।

के भयो ? के गरेनन् ?
युवाहरू बिहान ११ बजेतिर संसद् भवनतिर अगाडी बढेका थिए । उनीहरूलाई प्रहरीले निषेधित क्षेत्रमा नपुग्दासम्म केही गरेन । प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न थाले । त्यतिबेलासम्म पनि प्रहरी संयमित नै देखिन्थ्यो । ब्यारिगेड तोडेर अघि बढेका प्रदर्शनकारीमध्ये एउटा समूह बानेश्वरको सुरक्षाकर्मी बस्ने भवनमा प्रवेश गरेपछि मात्रै घम्साघम्सी सुरु भएको थियो । त्यतिबेला सुरक्षाकर्मीले अश्रुग्यास प्रहार नगरी पानीको फोहोरा मात्रै प्रयोग गरेको थियो । तर प्रदर्शनकारीहरू संसद् भवनभित्रै प्रवेश गरेपछि प्रहरीले अश्रुग्यास प्रहार मात्रै प्रहार गरेन, रबरको गोली प्रहार गर्‍यो ।

तर यस्तो हुने आकलन सुरक्षा अंगलाई पहिला नै थियो । सशस्त्र प्रहरीका प्रमुख राजु अर्यालका अनुसार राजधानीमा ठुलो संख्यामा युवाहरू आन्दोलनमा आउने रिपोर्ट गृह मन्त्रालयमा गरिएको थियो । आन्दोलनमा राजावादीहरूको घुसपैठ हुने तथा विपक्षी दलका कार्यकर्ताहरू आउने विषयमा सजग पनि गराइएको थियो । गृह मन्त्रालयमा आइतबार बसेको बैठकमा समेत घुसपैठ हुने र ठुलो संख्यामा युवा विद्यार्थी आउने ब्रिफिङ गरिएको भए पनि काठमाडौं प्रहरीले यो विषयमा राम्रोसँग योजना बनाएर भिडलाई नियन्त्रण गर्न सकेन ।

‘धेरै युवा सहभागी हुन्छन् भन्ने अनुमान थियो, सोहीअनुसारको ब्रिफिङ पनि भयो तर बानेश्वरमा घुसपैठ गर्नेहरूले बालबालिकालाई ढाल जसरी प्रयोग गरे । बालबालिकालाई बल प्रयोग नगर्ने भन्ने सहमति सुरक्षा बैठकमा थियो,’ आइजिपी अर्यालले भने । उता प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले पनि घुसपैठ भएकाहरूलाई प्रहरी र युवाहरूले चिन्न नसक्दा यो घटना भएको दाबी गरेका छन् । यो घटनापछि सरकारको आलोचना बढेको छ ।

योजनारहित प्रहरी
युवाहरू बिहान ९ बजेबाट सडकमा आएका थिए । तीमध्ये केही युवाले आन्दोलन भड्किन सक्ने भन्दै काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्व अधिकारीसँग भनेका थिए । त्यसो भन्नेमा मूलतः राजावादी आन्दोलनमा सरिक भएका युवा थिए । उनले अघिल्लो साँझ नै सामाजिक सञ्जालमा आन्दोलनको स्वरूप शान्तिपूर्ण नहुने जनाउ दिएका थिए । साथै जेन–जीको आन्दोलन माइतीघरतिर केन्द्रित हुँदा तीनकुनेतिरबाट कसले नेतृत्व गरेका थिए र संसद् भवनमा कोको पस्न खोजेका थिए भन्ने विषयमा केही खुलेको छैन । साथै काठमाडौं प्रहरी परिसरले आफ्नो ध्यान त्यता किन दिएन भन्ने प्रश्न महत्त्वपूर्ण रहेको छ ।

खासगरी आन्दोलनमा १६ देखि ३० वर्ष उमेर समूहका युवाहरू सहभागी भइरहँदा उनीहरूलाई उकास्ने समूहका बारेमा किन पहिचान गर्न सकिएन ? साथै अघिल्लो दिन सरकारलाई कमजोर बनाउने शक्तिहरू नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), दुर्गा प्रसार्इं समूह, पूर्वराजाको एउटा समूह तथा सरकारमा रहेको नेपाली कांग्रेसभित्रको असन्तुष्ट समूहको असन्तुष्टि पनि त्यही सडकमा पोखिन सक्छ भनेर प्रहरीले किन आकलन गर्न र योजना बनाउन सकेन ? यो प्रश्न निकै पेचिलो बनेको छ ।

कमजोर गृह प्रशासन
दुई ठुला दलले नेतृत्व गरेको र दुई तिहाइ नजिक रहेको सरकारको नेतृत्व गरिरहेको गृह प्रशासन भने कमजोर देखिएको छ । युवा विद्यार्थीहरूको आन्दोलनलाई कमजोर ठान्ने र उनीहरूलाई साथ दिने समूहप्रति बेवास्ता गर्नु भनेको गृह प्रशासन सञ्चालन निकै कमजोर रहेको छ ।
आन्दोलन हिंसात्मक भएपछि सुरक्षा निकायका प्रमुखले गृहमन्त्री रमेश लेखकसमक्ष जेन–जी आन्दोलनमा आपराधिक जत्थाको घुसपैठ भएको र तिनैले ताण्डव मच्चाउँदा हिंसात्मक रूप लिएको ब्रिफिङ गरे पनि त्यसलाई रोक्ने योजनाबारे भने केही ब्रिफिङ गरेनन् । 

बानेश्वरको प्रदर्शन नियन्त्रण बाहिर गएर मानिसहरू हताहत हुन थालेपछि दिउँसै लेखकले सुरक्षा प्रमुखलाई सिंहदरबारमा बोलाएका थिए । ब्रिफिङमा नेपाल प्रहरीका आइजिपी चन्द्रकुबेर खापुङ, सशस्त्र आइजिपी राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा सहभागी थिए । जेन–जीको समूहमा घुसपैठ हुन सक्ने पूर्वअनुमान गरेको तर उनीहरूलाई पहिचान गर्न नसक्दा सोमबार बानेश्वर क्षेत्र हिंसात्मक भएको सुरक्षा निकायको दाबी छ ।

स्थिति नियन्त्रणबाहिर जान थालेपछि जेन जी प्रदर्शनका आयोजकले एक सूचना जारी गरेर आफूहरू उक्त प्रदर्शनबाट पछाडि हटेको घोषणा गरेपछि अन्य प्रदर्शनकारीले नयाँ बानेश्वरको निषेधित क्षेत्र तोडेको र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रस्थित संसद् भवनमा छिरेको सुरक्षा निकायको दाबी छ । ‘सरकारले जेन जी प्रदर्शनकारीसँग संयमित व्यवहार गर्न दिएको निर्देशन पालना गर्दा हिंसात्मक जत्थाले अराजक बनाएको र बल प्रयोग गर्नुपरेको हो,’ उनीहरूले गृहमन्त्रीलाई भनेका थिए । प्रहरी र सशस्त्रले उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गर्दै संसद् भवनको सुरक्षा गरेको तर त्यसक्रममा बल प्रयोग गर्दा स्थिति अप्रिय बनेको बताएका छन् ।

सुरक्षा प्रमुखहरूसँग ब्रिफिङ लिएलगत्तै मन्त्री लेखक राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा सहभागी भएका थिए । काठमाडौंमा यति ठुलो घटना हुँदा उनी संसदीय समितिको बैठकमा सहभागी भएका थिए । यता सरकारले भिड नियन्त्रण गर्न सोमबार दिउँसैदेखि कर्फ्यु आदेश जारी गरेको थियो । साथै देशका विभिन्न सहरमा कर्फ्यु आदेश जारी गरेको थियो । राष्ट्रिय सुरक्षा परिषद्को बैठक राखेर बानेश्वरवरिपरि सेना खटाइएको थियो ।

गृहमन्त्रीले दिए राजीनामा
गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । भ्रष्टाचार अन्त्य र सामाजिक सञ्जालमाथिको नियन्त्रणको माग राखेर सोमबार प्रदर्शनमा उत्रिएका जेन–जी युवामाथि प्रहरीले बल प्रयोग गर्दा १९ जनाको ज्यान गएपछि त्यसको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएका हुन् । सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकमा उनले राजीनामा दिएका हुन् । त्यसअघि बसेको नेपाली कांग्रेसको बैठकमा उनी सहभागी भएका थिए । प्रदर्शनलाई नियन्त्रण गर्ने सम्बन्धमा गृह प्रशासनको गम्भीर कमजोरी देखिएपछि कांग्रेस नेताहरूले पनि गृहमन्त्री लेखकको राजीनामा मागेका थिए ।

यसैबिच सरकारले १९ जनाको ज्यान जाने गरी सोमबार भएको घटनाको छानबिन गर्न समिति बनाउने भएको छ । सोमबारको प्रदर्शनले हिंसात्मक रूप लिएपछि घटेको घटनाबारे सरकारले छानबिन समिति बनाउने निर्णय गरेको हो । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले छानबिन समिति बनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार समितिले १५ दिनभित्र घटनाको छानबिन गरे सरकारलाई प्रतिवेदन बुझाउने टिओआर तय भएको छ ।

प्रकाशित: २४ भाद्र २०८२ ०६:२३ मंगलबार





Source link

Leave a Comment