यो २०३८ साल वैशाखको कुरा हो, अमेरिकाको प्रख्यात समाचारपत्र ‘द वाशिङ्टन पोस्ट’मा प्रकाशित स्टोरी, ‘जिम्मिज वर्ल्ड’ले पत्रकारितामा सबैभन्दा सम्मानित पुलित्जर प्राइज पायो। त्यो कथा लेख्ने पत्रकार थिइन्, पोस्टकी रिपोर्टर जेनेट कूक।
त्यो बेला अहिले जस्तो न त फ्याक्ट चेक गर्ने व्यवस्था थियो, न इन्टरनेटको सुविधा। तर, समयले तुरुन्तै कोल्टो फेर्यो; समाचारको ‘गोल्डेन एज’ भनिने बेलाको त्यो स्टोरी झुटो ठहरियो। जेनेटले पाएको उक्त पुरस्कार पुलित्जर प्राइज बोर्डले फिर्ता लियो। वाशिङ्टन पोस्ट जस्तो पत्रिकाको छविमा समेत धब्बा लाग्यो।
वाशिङ्टन पोस्टमा तत्कालीन रिपोर्टर तथा अहिलेका इतिहासविद् तथा लेखक डेभिड ए. मर्यानिश, जो त्यतिबेला सोही समाचारपत्रमा कार्यरत थिए, उनले २०३८ वैशाख ४ गते (सन् १९८१ अप्रिल १६) मा एउटा लेख लेखेका छन्। सो लेखमा जेनेटले कसरी त्यो स्टोरी बनाइन्, पछि कसरी उक्त कथा झुटो रहेछ भन्ने थाहा भयो भन्ने कुराको विवरण लेखिएको छ।
उक्त स्टोरीले जेनेट कूकलाई मात्रै हैन वाशिङ्टन पोस्टको विश्वसनीयतामाथि पनि प्रश्न उठ्यो। जेनेटले पत्रिका तुरुन्तै छाड्नुपर्यो। पोस्टका तत्कालीन कार्यकारी सम्पादक बेन्जामिन सि. ब्रयाड्लीले भनेका छन्, ‘जेनेट कूक जस्तो प्रतिभाशाली पत्रकारले किन त्यस्तो झुटो कुराहरू लेख्नुपरेको हो, दुःख लाग्यो। उनको काम सबै राम्रैसँग गइरहेको थियो।’
ब्रयाड्लीलाई कोट गर्दै उनले ‘पोस्ट्स रिपोर्टर्स पुलित्जर प्राइज इज विथड्रन’ शीर्षकको माथि उल्लिखित लेखमा लेखेका छन्, ‘समाचारपत्रको विश्वसनीयता पत्रिकाको लागि सबैभन्दा मूल्यवान् सम्पत्ति हो; यसको लागि पूर्णतया रिपोर्टरहरूको इमानदारीमा भर पर्नुपर्ने हुन्छ। जब त्यसैमाथि प्रश्न उठ्छ, त्यसले चोट पुर्याउँछ; त्योबाट मुक्त हुन हामीले हाम्रा पाठक तथा पुलित्जर प्राइजको एड्भाइजरी बोर्डसँग माफी मागेर हाम्रो विश्वसनीयता बढाउनेतर्फ लाग्नुपर्दछ। त्यही हामी गरिरहेका छौं।’ त्यहाँ लेखिएका शब्दहरूको भावार्थ यस्तै रहेको छ।
हामीलाई उक्त उदाहरण पत्रकारिता पढाउँदा बारम्बार दिइन्थ्यो। हामीले पत्रकारिता पढ्दा कि त सरकारी सञ्चारमाध्यम थियो; कि साप्ताहिक पत्रिकाहरू, जसले राजनैतिक पक्ष वा धार बोकेर हिंडेका हुन्थे। त्यो चालीसको दशकको कुरा थियो। आज, असीको दशक भइसक्यो। हामी कता पुग्यौं त ?
हिजोआज, सञ्चारमाध्यममा भएको बहस र सञ्चारमाध्यमको गतिविधि देख्दा लाग्छ, पत्रकारिताको विश्वसनीयता त खोपाभित्र राखेर बिर्सिएको सामान जस्तो भएको छ; राखेको छ भनेर ढुक्क हुने, खोजेको बेला कहिल्यै नभेटिने।
हुनत, यसै पनि छापामाध्यम हराउँदै, बिलाउँदै गैसके। जति बाँकी छन्, उनीहरूको पनि भविष्य खासै राम्रो छैन। अब त ‘एक मान्छे एक पोडकास्ट’को जमाना छ। त्यहाँ बोलाइएका अतिथिले जे बोले पनि सर्वसाधारणमा संसारको शाश्वत तथ्य जस्तो भएर गैहाल्छ। बोल्नेलाई पनि के को टन्टा, जे बोले पनि भैहाल्यो।
नेपालकै कुरा गर्दा पनि, कुनै बेला मानिसहरू पत्रिकामा काम गर्ने सानै पदका कर्मचारीहरूसँग पनि, उनीहरूले नराम्रो लेखिदेलान् कि भनेर डर मान्दथे। हामीले नजिकबाट चिनेका पुरुष पत्रकारहरू मात्रै होइन, आफूलाई अहिले अधिकारकर्मीको रूपमा स्थापित गरेका महिला पत्रकारहरूबाट पनि आफ्नो अनुकूलता अनुसार भएन भनेर महिलाकै बारेमा चरित्रहत्या गरिएका समाचारहरू, धम्काएका पलहरू भोग्ने र साक्षी बक्ने भेटिन्छन्।
यति हुँदाहुँदै पनि, अब त बुझ्लान्, यस्तो नगर्लान् भन्ने सोचेकै बेलामा फेरि एउटा काण्ड आइलाग्छ। यही एक महिनाभित्रको यहाँको सञ्चारमाध्यमको दोहोरी खेल हेर्ने हो भने देशकै गृहमन्त्री र एउटा मिडियाहाउस जुधेको देख्न सकिन्छ। के यही हो त, पत्रकारिताको धर्म ?
२०१२ साल चैत १६ गतेदेखि पत्रकारहरूको जिम्मा लिएको, पहिलेको पत्रकार संघ र २०५३ जेठ २९ पछिको पत्रकार महासंघले त राजनीतिमा पत्रकारिता गाभेर बाँकी रहेको साख पनि गुमाइसक्यो। साँच्चै पत्रकारिता मात्रै गरेको भए यो स्थिति आउँथ्यो त ?
फेरि एकपटक, पत्रकारिताको धर्म निर्वाह नगर्दा अमेरिकाको जानेमानेको टेलिभिजन च्यानलका पत्रकारले भोग्नुपरेको एउटा पुरानो घटनाको सम्झना आयो।
त्यो सन्दर्भ थियो, सन् २००४ को अमेरिकी राष्ट्रपतीय चुनावको दुई महिना जति पहिले अमेरिकन मिडिया कम्पनी ‘सीबीएस’ले आफ्नो चर्चित कार्यक्रम ‘सिक्स्टी मिनट’मा तत्कालीन राष्ट्रपतीय उम्मेदवार जर्ज डब्ल्यु बुशको बारेमा एउटा न्युज स्टोरी प्रसारण गर्यो।
उक्त स्टोरी अनुसार जर्ज बुशको युवा अवस्थामा गरेको सैनिक सेवाको बारेमा विवाद उठाइएको थियो र उक्त रिपोर्टलाई प्रमाणित गर्ने डकुमेन्टहरू प्रस्तुत गरिएको थियो। उक्त प्रसारणको एउटै उद्देश्य जर्ज बुशको नकारात्मक छवि देखाउनु थियो। त्यस कार्यक्रममा देखाइएको डकुमेन्टहरू नक्कली रहेछन् भन्ने तथ्य पछि फेला पर्यो।
स्मरणीय छ, अमेरिकीहरू देशको कुनै पनि पदमा नियुक्त हुने वा सेवा गर्ने व्यक्तिहरूले आफ्नो जीवनकालमा सैनिक सेवा गरेको छ भने त्यसमा गौरवान्वित हुने गर्दछन्।
तर उक्त प्रसारणले पल्टा खायो। सीबीएसको ‘सिक्स्टी-मिनट’ कार्यक्रमको रेटिङ्ग तल झर्यो। त्यसका प्रस्तोता अमेरिकी पत्रकारिताका एउटा हस्ती तथा उक्त कम्पनीमा, त्यतिबेला २४ वर्षसम्म सेवा गरेका पत्रकार ड्यान र्यादरले आफ्नो कामबाट हात धुनुपर्यो। यो पंक्ति लेख्दा त्यतिबेला अमेरिकी टेलिभिजन च्यानलमा देखिएका र सुनिएका विवादहरू झल्झली मस्तिष्कमा घुमिरहेछन्।
अब आफैं विचार गरौं, पत्रकारिताको नाममा गरिने यसप्रकारका कार्यहरूले कालान्तरमा के/कस्तो पाठ पढाउलान् !
कुनै पार्टीको राजनैतिक सिद्धान्त मान्नु, नमान्नु आफ्नो अधिकारको कुरो हो। तर त्यसलाई सैद्धान्तिक रूपमा विरोध जनाउने भन्दा पनि व्यक्तिगत रूपमा जुहारी खेल्दै ‘तैंले मलाई कसरी सिध्याउँछस्, म नै तँलाई सिध्याइदिन्छु’ स्तरको झगडा गर्नु पत्रकारिताको कुन सिद्धान्तले सिकाउने रहेछ ? थाहा नभएर प्रश्न मात्रै राखेको हो।
अर्को उदाहरण पनि सीबीएसबाट प्रसारित हुने ‘सिक्स्टी मिनट’ कार्यक्रमकै लिऊँ। सन् २०१२ को सेप्टेम्बर ११ तारिखको दिन लिबियाको बेङ्गाजीस्थित अमेरिकी राजदूतावासमा हमला भएको थियो र उक्त हमलामा चार जना अमेरिकीको मृत्यु भएको थियो।
त्यसै घटनालाई लिएर सन् २०१३ को अक्टोबर महिनामा सीबीएसले उक्त दिन राजदूतावासमा के भएको थियो भन्ने न्युज स्टोरी प्रसारण गरेको थियो। सो न्युज स्टोरी साउथ अफ्रिकन पत्रकार तथा सीबीएसको संवाददाता लारा लोगनले तयार पारेकी थिइन्। सो कुरालाई प्रमाणित गर्न उनले प्रत्यक्षदर्शीको रूपमा डाइलिन डेभिस नामको सेक्युरिटी अफिसियलको भनाइ राखेकी थिइन्।
तर सो प्रसारण भएको लगत्तै जस्तो यो थाहा भयो कि, उक्त व्यक्ति त्यतिबेला त्यहाँ थिएनन् र उनले सबैलाई ढाँटेका थिए। त्यो कुरा प्रमाणित हुने बित्तिकैको अर्को इपिसोडमा उनले टेलिभिजनमै माफी पनि मागेकी थिइन्; तर कुरा त्यत्तिकैमा टुंगिएन। सोही कारणले उनलाई सीबीएसले जागिरबाट निष्काशन गर्यो।
माथिका सबै उदाहरणहरूले पत्रकारहरूको नकारात्मक कुरा उठाए पनि पत्रकारिता क्षेत्रलाई विश्वसनीय बनाउन ठूलो भूमिका खेल्दछ। यसो भनिरहँदा, आफ्नै आँखा अगाडि घटिरहेको पत्रकारिताको नाममा भैरहेको ‘मनी, म्यानिपुलेसन र सुपर पावर’हरूको किस्सा र अनुहार झल्झली आइरहेछ। वि.सं. २०७२ को संविधानले प्रेस स्वतन्त्रता त पूर्ण रूपमा दियो; तर, यसलाई टुल्सको रूपमा प्रयोग गरेर सर्वसाधारण समक्ष ‘स्वतन्त्र प्रेसको गाथा’ पुर्याउन सक्ने जनशक्ति कति दियो, थाहा भएन।
आजभन्दा ४३ वर्ष अगाडि वाशिङ्टन पोस्टले देखाएको पत्रकारिताको धर्म कता खोज्ने हो, त्यो पनि ताहा छैन।
तर, हाम्रो देशमा पनि, पत्रकारितालाई जुहारी खेल्ने वा अरूको चरित्रहत्या गर्ने हतियार बनाउने होइन कि, यो क्षेत्रलाई प्रभावकारी तथा विश्वसनीय बनाउने दिन छिट्टै आओस् भन्ने चाहना त कसलाई छैन होला र ! अब पनि पत्रकारिताको जुहारीमै रमाएर बस्नुपर्ने ?