जुम्लाका पाखामा फुल्न थाले लालीगुराँस

जुम्लाका पाखामा फुल्न थाले लालीगुराँस


चैत महिना सकिनै लाग्दा जुम्लाका उच्च पहाडी क्षेत्रमा लालीगुराँस ढकमक्क फुलेका देखिन्छन्। गुराँस फुलेपछि बन क्षेत्रको सौन्दर्य आकर्षक देखिएको छ। यो सिजनमा गुराँस अवलोकन गर्न र मनोरञ्जन गर्न आन्तरिक तथा बाह्य पर्यटकको बाक्लो उपस्थिति देखिने गरेको छ।

जुम्लाका एक नगरपालिका र सात वटा गाउँपालिकालगायत आठवटै स्थानीय तहका उच्च पहाडी क्षेत्रमा लालीगुराँस फुलिरहेको छ। स्थानीयहरू  यहाँ आउने हरेक आगन्तुक तथा अतिथिलाई लालीगुराँसको फूल टिपेर माला लगाइदिने गर्छन्।

लालीगुराँस नफुल्दै चुँडिदिनाले अवलोकनका लागि टाढासम्म जानुपर्ने बाध्यता रहेको स्थानीय अगुवाहरू बताउँछन्। जुम्लाको पातारासी गाउँपालिका– ७ पट्मारा गाउँकी रीता बुढा ( खड्का) का अनुसार पहिले लालीगुराँस फूल हेर्न घरनजिकै पाइन्थ्यो। अचेल टाढा जानुपर्ने भएको छ।

समुद्री सतहदेखि १ हजार ५ सय मिटरदेखि ३ हजार मिटरसम्मको उचाइमा पाइने गुराँस जुम्लाका अधिकांश उच्च क्षेत्रमा जंगल नै पाइन्छ। पछिल्लो समय जंगलै नभए पनि प्रायः गाउँआसपासमा यसै सिजनमा गुराँस फुल्ने गरेको पाइन्छ। विशेषगरी गुराँसको जंगल मासेर खोरिया खन्न थालेपछि गुराँस हेर्न निकै टाढा जानुपरेको बुढा बताउँछिन्।

यस क्षेत्रमा प्रायः रातो तथा सेतो चिमाल, सुनपाती, भाले सुनपाती प्रजातिका गुराँस पाइन्छ। नयाँ वर्ष मनाउने क्रममा यहाँ गुराँस हेर्न आउनेको भीड नै लाग्ने गर्दछ।

जुम्लाका उच्च लेकमा गुराँस फुल्न थालेपछि निकै रमाइलो देखिएको बताउँछिन् सिंजा– ६ भाडागाँकी गीता रावत। गुराँस फुलेको देखेपछि सबैलाई त्यहाँ जाऊँजाऊँ लाग्छ’, उनले भनिन्। फागुनपछि नै वनजंगलमा रङ्गीचङ्गी लालीगुराँस फुल्न सुरु हुन्छ।  

विज्ञहरूका अनुसार लालीगुराँस फुलेपछि वनपाखा त आकर्षक देखिन्छ नै, औषधिका रुपमा पनि यसको प्रयोग गर्न सकिन्छ। रातो रंगको गुराँस औषधीय दृष्टिले महत्वपूर्ण मानिन्छ। औषधिका रुपमा प्रयोग गर्ने उद्देश्यले घरमा लालीगुराँसको फूल सुकाएर राख्ने चलन गाउँघरमा अझै छ।  

घाँटी दुखेका बेला, घाँटीमा केही अड्किए खुलाउनका लागि गुराँसको फूल खाने गरिन्छ। यसैगरी कलेजो तथा मिर्गौलाको समस्या भएका बिरामीले गुराँस सेवन गर्नु अति उपयोगी मानिन्छ।

जुम्लाको चेरे, कर्णाली प्राविधिक शिक्षालयको जंगल, रडिखल्ला क्षेत्र, धिमी, डाँफे लेक, खाली, पटमारा छकलेपानीका लेक क्षेत्रमा लालीगुराँस बढी मात्रामा फुल्ने गर्छ। लालीगुराँस नेपालको राष्ट्रिय फूल हो।

प्रकाशित: २९ चैत्र २०८० १२:२३ बिहीबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School