जीवन र मृत्युको संघर्ष : चौथो स्टेजका क्यान्सर बिरामीको चामत्कारिक यात्रा


News Summary

Generated by OK AI. Editorially reviewed.

  • बालप्रसाद खनालको स्टेज फोरको क्यान्सर उपचार गरेको तीन महिनामा शरीरबाट पूर्ण रूपमा हराएको छ।
  • चिकित्सकका अनुसार पित्तथैलीको क्यान्सर एकदमै आक्रामक र कठिन क्यान्सर हो ।
  • डा. शाहीले यो घटनालाई अत्यन्त दुर्लभ बताएका छन् । उनका अनुसार, तर पूर्ण निको हुने सम्भावना अत्यन्त कम छ।

३ असार, काठमाडौं । कहिलेकाहीँ एक शब्दले जिन्दगीको आधारशिला हल्लाइदिन्छ । जोरपाटीका ६२ वर्षीय बालप्रसाद खनालको जीवनमा पनि यस्तै भयो ।

काठमाडौंको चिसो हावामा सामान्य जीवन बिताइरहेका बालप्रसादका लागि गत मंसिरको एक दिन असामान्य बन्न पुग्यो ।

मंसिर तेस्रो साता पित्तथैलीमा ट्युमर भएको पत्ता लागेपछि शल्यक्रियाको तयारी भइरहेको थियो । डाक्टरको कोठामा बसेर सुनेका शब्दहरू उनलाई हल्लाउन पर्याप्त थिए ।

डाक्टरले भनेका थिए, ‘क्यान्सर हुन सक्ने संकेत छ । यकिन चाहिँ बायोप्सी रिपोर्टले बताउँछ ।’

क्यान्सर ? त्यो त मृत्युको दोस्रो नाम भन्ने सुनेका थिए बालप्रसादले । अब बाँचिदैन क्या हो भन्ने अनुभूतिले उनी भित्रैसम्म कामे । झट्ट हेर्दा शान्त देखिए पनि रिपोर्ट आउनुअघिका दिनहरू बालप्रसादका लागि युगजस्तै लामा भए । घरमा रातदिन त्यही रिपोर्टको वरिपरि कुरा चलिरहन्थ्यो । रातको निद्रा हराएको थियो । खाना खान मन लाग्दैनथ्यो ।

‘केही नहोस् भगवान्,’ श्रीमतीले मन्दिरमा दैनिक प्रार्थना गर्थिन् । छोरा रामनाथले हरेक दिन अस्पतालमा फोन लगाउँथे । ‘रिपोर्ट अझै आएको छैन,’ उत्तर सुनेर उनी निराश हुन्थे । तर मनको कुनामा झिनो आशा थियो ।

२८ मंसिर । त्रिवि शिक्षण अस्पतालका ग्यास्ट्रो सर्जन डाक्टर रमेशसिंह भण्डारी सहितको टिमले शल्यक्रिया सम्पन्न गरेको २२ दिनपछि आएको त्यो रिपोर्टले खनाल परिवारका सबै आशाहरू एकैचोटि चकनाचुर पारिदियो ।

६२ वर्षीय बालप्रसाद खनाल।

चौथो स्टेजको क्यान्सर बालप्रसादको पित्तथैली हुँदै कोशिकाको रक्तनलीमार्फत कलेजोसम्म फैलिसकेको थियो ।

‘२२ दिनपछि आएको त्यो रिपोर्ट हातमा लिँदा शरीर झसङ्ग भयो, ‘रामनाथ कहाली लाग्दो क्षण सम्झिँदै भन्छन्, ‘पिता–पुर्खा कसैले सामना नगरेको क्यान्सर बुबालाई भएको सुन्दा आकाश नै खसे जस्तो भयो ।’

खबर फैलिनासाथ आफन्तहरू आउन थाले । तर उनीहरूका मुखबाट निस्केका शब्दहरूले खनाल परिवारलाई झनै निराश बनायो ।

‘अब उपचारमा त्यति जोड नदिए हुन्छ । यस्तो मानिसको आयु त आज हो कि भोली नै हुन्छ ।’

२८ मंसिर । त्रिवि शिक्षण अस्पतालका ग्यास्ट्रो सर्जन डाक्टर रमेशसिंह भण्डारी सहितको टिमले शल्यक्रिया सम्पन्न गरेको २२ दिनपछि आएको त्यो रिपोर्टले खनाल परिवारका सबै आशाहरू एकैचोटि चकनाचुर पारिदियो ।

तर परिवारका सदस्यहरूमा सास रहञ्जेल आशा त रहने नै भयो । त्यही झिनो आशा लिएर महाराजगञ्जको अंकोलोजी विभागबाट उपचार सुरू भयो ।

शल्यक्रियापछि बालप्रसादको शरीरको घाउ पाकेर थप समस्या निम्तियो । घाउ निको नभएकाले केमोथेरापी सुरू गर्न विलम्ब भयो । यसैबीच भारत पठाइएको जेनेटिक सिक्वेन्सिङ रिपोर्ट आएपछि त्रिविका अंकोलोजी विभागले ओरल औषधि सुरू गराए पनि अपेक्षित सुधार देखिएन ।

निराशामा डुबेका रामनाथले दोस्रो परामर्शका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान जाने निर्णय गरे । त्यहाँ उनले भेटे क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीलाई ।

डा. शाहीको टोलीले बालप्रसादको केस ध्यानपूर्वक अध्ययन गर्‍यो । तीन महिनाको उपचार योजना बनाइयो । महिनामा दुई पटक केमो र १४ दिन विश्रामको तालिका तय गरियो ।

यो उपचार योजना सुन्दा खनाल परिवारमा पहिलो पटक आशाको किरण देखियो । डाक्टरहरूको व्यवहारमा विश्वास थियो । तीन महिना नियमित केमोथेरापी चल्यो । जसको ‘साइड इफेक्ट’ले बान्ता लाग्थ्यो, कमजोर हुन्थे । तर उनले हार मानेनन् । परिवारले हिम्मत गुमाएन ।

तीन महिनापछि गरिएको सिटी स्क्यानको नतिजाले सबैलाई आश्चर्यमा पार्‍यो । शरीरभरि रहेका क्यान्सर कोशिकाहरू गायब भएको देखियो ।

‘चौथो चरणको क्यान्सरमा यस्तो सुधार आउँछ भन्ने हामीलाई विश्वास थिएन,’ रामनाथ खुशीका आँसु पोख्दै भन्छन्, ‘यो हामीलाई दैवी चमत्कार जस्तै लाग्यो ।’

हिजोआज बालप्रसाद शारीरिक रूपमा तन्दुरुस्त छन् । घरमा पूजाआजा गर्नेदेखि यजमानकहाँ जाने काममा समेत सक्रिय भइरहेका छन् ।

‘बुबाको आत्मबल पहिलादेखि नै बलियो थियो । उपचारसँगै मान्छेको आत्मबल आँच नआउने हो भने धेरै हदसम्म क्यान्सरलाई जित्न पनि सकिने रहेछ,’ छोरा रामनाथले भने ।

रोगले जिन्दगीमा ल्याएको नयाँ मोड

बालप्रसाद २०८० सालको कात्तिकमा सानो छोराका परिवारलाई भेट्न अष्ट्रेलिया गएका थिए । जुन यात्रा खुशीको क्षणहरू बिताउन सुरू भएको थियो, त्यो गम्भीर स्वास्थ्य समस्याको पहिचानमा परिणत भयो ।

नेपालमै बस्दा उनलाई पेट दुख्ने र पेट फुल्ने समस्या थियो । तर उनले सामान्य ग्यास्ट्रिकको समस्या ठाने । मेडिकलबाट औषधि लिएर घरेलु उपचारमा भर परे ।

उनले सोचेका थिएनन् – साधारण देखिने समस्याको पछाडि कुनै गम्भीर रोग लुकेर बसेको छ ।

अस्ट्रेलिया पुगेपछि यही समस्या जारी रह्यो । हात–खुट्टा दुख्ने समस्या पनि थपियो ।

योगाभ्यास र प्राकृतिक उपचार विधिमा निपूण भाञ्जा राजन शर्माको उपचारले केही समयका लागि राहत दिलायो ।

बाल प्रसादको मनमा आशा जाग्यो, ‘ठीक हुँदैछ, केही गम्भीर कुरा होइन ।’

२०८१ वैशाखमा नेपाल फर्किएपछि उनी खेतबारीको काममा सक्रिय भए । केही महिनासम्म कुनै समस्या देखिएन ।

तर, दशैंको समय नजिकिँदै गर्दा, पुराना पेट दुख्ने व्यथा फेरि सुरू भयो । यसपटकको दुखाइ खेप्न नसकिने थियो ।

जोरपाटी नगरपालिकाको स्वास्थ्य सुविधा र बिमाको फाइदा उठाउँदै मंसिरको पहिलो हप्तामा उनी गोकर्ण नगर अस्पताल पुगे ।

चिकित्सकको सुझावमा गरिएको अल्ट्रासाउन्डले पित्तथैलीमा ट्युमर भएको पत्ता लाग्यो ।

त्यो क्षण कस्तो होला उनका लागि ? जुन समस्यालाई उनी सामान्य ग्यास्ट्रिक ठानेर बसेका थिए, त्यसले अकस्मात् एक गम्भीर रूप लिएको थियो ।

नगर अस्पतालमा शल्यक्रियाको सुविधा नभएकाले बालप्रसादले त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज रेफर माग गरे । ग्यास्ट्रो विभागका डा. रमेशसिंह भण्डारीसहितको टिमले सिटी स्क्यानलगायतका थप परीक्षणको सुझाव दियो ।

जीवन र मृत्युको संघर्ष : चौथो स्टेजका क्यान्सर बिरामीको चामत्कारिक यात्रा
त्रिवि शिक्षण अस्पतालमा क्यान्सर पुष्टि भएको रिपोर्ट र हाल पाटन अस्पतालले दिएको क्यान्सर शरीरबाट हराएको रिपोर्ट ।

अल्ट्रासाउन्ड र सिटी रिपोर्ट विश्लेषणपछि चिकित्सकले पित्तथैलीमा क्यान्सर कोशिका भएको आशंका गर्दै तुरुन्त शल्यक्रियाको सुझाव दिए ।

तर बिरामीको चाप र अन्य जटिलताका कारण दुई सातापछि मात्र शल्यक्रियाको पालो आयो । मंसिर २८ गते डा. भण्डारीसहितको टिमले पित्तथैलीसहित कलेजोको शल्यक्रिया गरे ।

शल्यक्रियाकै दिन चिकित्सकले क्यान्सर भएको प्रारम्भिक निष्कर्ष निकाल्दै बायोप्सी रिपोर्टको प्रतीक्षा गरे । त्रिविकै अंकोलोजी विभागमा पठाइएको नमूनाको रिपोर्टले क्यान्सर कलेजोसम्म फैलिएको र लिम्फ नोड्समा पुगेको पाइयो । यसलाई स्टेज फोरको क्यान्सर भनिन्छ । चिकित्सा विज्ञानको भाषामा, यो अन्तिम चरणको क्यान्सर हो ।

तर समस्या यतिमै सीमित थिएन । शल्यक्रियापछि घाउ पाकेर समस्या भयो । शल्यक्रियाको घाउ निको नभएको र बीचबीचमा संक्रमण भएर दुःख दिइरहेकाले तत्काल केमो सुरू गर्न सम्भव भएको थिएन ।

‘अहिले गह्रौं भारी उचाल्ने जस्ता काम गनुभएको छैन । तर शंख बजाउन थाल्नुभएको छ । पूजाआजा, यजमानकहाँ पनि जान थाल्नुभएको छ,’ छोरा रामनाथले बुबाको दैनिकी सुनाए ।

माघको दोस्रो सातातिर घाउ सुक्दै गइरहेको थियो । चिकित्सकले नयाँ सुझाव दिए, ‘शल्यक्रियाबाट निकालिएको कोशिकालाई पुनः नेक्स्ट जेनेरेशन जेनेटिक सिक्वेन्सिङका लागि पठाउनुपर्छ ।’

आधुनिक चिकित्सा विज्ञानमा यो एक नयाँ आशाको किरण हो । जेनेटिक परीक्षणले क्यान्सरको प्रकृति र उपचारको सम्भावनालाई थप स्पष्ट बनाउँछ ।

चिकित्सकको सुझाव अनुसार बालप्रसादको परिवारले त्यो कोशिका निजी प्रयोगशालामार्फत् परीक्षणका लागि भारत पठाए ।

झन्डै एक महिना लगाएर रिपोर्ट आयो । त्यही रिपोर्टका आधारमा चिकित्सकले ओरल (मुखबाट खाने) ५०० एमजीको औषधि सुरू गराएका थिए ।

तर उक्त उपचार प्रणाली त्यति भरपर्दो नभएको महसुस गर्दै छोरा रामनाथ अन्य चिकित्सकसँग परामर्शमा जुटे ।

दोस्रो सुझाव लिँदै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान जाने निधो गरे । त्यहाँ जानपूर्व नै डा अरूण शाहीसँग भेट भएको थियो । उनकै सुझाव अनुसार खनाल परिवारले केमोको साइकल सुरू गरे ।

जीवन र मृत्युको संघर्ष : चौथो स्टेजका क्यान्सर बिरामीको चामत्कारिक यात्राडा. शाहीले सुरूमा तीन महिना, त्यसपछि चार महिनाको कार्ययोजना तयार पारे । त्यही अनुसार उपचार सुरु भयो ।

उनको न्यानो स्वर र दृढ आत्मविश्वासले फेरि एउटा आशाको डोरी बाँध्न मद्दत गर्‍यो ।

‘हामी तीन महिनाको योजना बनाउँछौं,’ शाहीले भने, ‘र त्यसपछि परिणाम हेरौंला ।’

‘त्यो बेला कुनै विकल्प थिएन । आशा नै हाम्रा लागि औषधि थियो,’ उनका छोरा रामनाथ भन्छन् ।

केमोसहित यात्रा सजिलो थिएन । महिनामा दुई हप्ता नियमित केमो लगाउने र १४ दिन विश्राम हुन्थ्यो । त्यसरी तीन महिना गुजारेपछि सिटी स्क्यान भयो । तर रिपोर्टमा शरीरमा क्यान्सरका कोशिका देखिएनन् ।

‘पहिलो चरणको केमोबाटै शरीरबाट क्यान्सरको कोशिका हराउँदा हामीले दैवी चमत्कार महसुस गरेको छौ,’ रामनाथ भन्छन्, ‘अकस्मात व्‍यहोर्नुपरेको सकसबाट राहत मिलेको मात्र होइन, यसलाई हामीले चिकित्सकीय चमत्कारकै उपमाको रुपमा लिएको छौं ।’

डा. शाहीले केमो होल्ड गरेर निगरानीमा राखेका छन् । ‘क्लिनिकल अब्जरभेसन’का आधारमा त्यो निर्णय लिएको उनका छोरा रामनाथ बताउँछन् ।

छोराका अनुसार केमो होलिडेपछि बालप्रसादको घाउ पनि सुक्दै गएको छ । ‘अहिले गह्रौं भारी उचाल्ने जस्ता काम गनुभएको छैन । तर शंख बजाउन थाल्नुभएको छ । पूजाआजा, यजमानकहाँ पनि जान थाल्नुभएको छ,’ छोरा रामनाथले बुबाको दैनिकी सुनाए ।

स्टेज फोरमा पनि उपचार सम्भव

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीले बालप्रसादको पित्त थैलीको क्यान्सरको उपचारमा उत्साहजनक प्रगति भएको बताउँछन् ।

डा. शाहीका अनुसार क्यान्सर एक ठाउँबाट सरेर अर्को ठाउँमा पुगेपछि त्यो स्टेज फोर क्यान्सर हो ।

उनी भन्छन्, ‘यो अवस्थामा क्यान्सर पूर्ण रूपमा निको हुँदैन तर नियन्त्रण हुन्छ ।’

‘स्टेज तीनसम्मको क्यान्सर उपचारपछि निको हुन्छ, तर स्टेज फोरको क्यान्सर सामान्यतया निर्मूल हुँदैन,’ डा. शाहीले स्पष्ट पार्दै भने ।

तर आशाजनक कुरा स्टेज फोरका केही बिरामीहरूमा केमोथेरापी, लक्षित चिकित्सा (टार्गेटेड थेरापी) र इम्युनो थेरापीपछि शरीरबाट क्यान्सर कोष पूर्ण रूपमा हराउन सक्छ ।

तर सबैलाई यस्तै नतिजा हात पर्छ भन्ने छैन । पाँच हजार केसमध्ये एक–दुई जना बिरामीको मात्र यस्तो सुखद नतिजा भेटिने डा. शाही बताउँछन् ।

डा. शाहीसँग यस्ता धेरै उदाहरणहरू छन् । उनका अनुसार स्तन क्यान्सर, फोक्सोको क्यान्सर, जिस्ट, सीएमएल र डर्माटोफाइब्रोसार्कोमा जस्ता क्यान्सरहरू स्टेज फोर भएपछि पनि उपचारले शरीरबाट पूर्ण रूपमा हटाउन सकिन्छ ।

एचपीभी खोपले पाठेघरको मुखको क्यान्सर हुनबाट बचाउँछ ?
वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाही

यस्तो अवस्थालाई चिकित्सा विज्ञानमा ‘रेमिसन’ भनिन्छ । डा. शाही भन्छन्, ‘ यसलाई चिकित्सकीय भाषमा रेमिसन भन्छौं ।’ अर्थात केही समयपछि शरीरबाट हराएको क्यान्सरका सेल देखा पर्छन् ।

उपचारको तीन महिनापछि ‘रेस्पोन्स इभ्यालुएसन’ गरिन्छ । यसमा उपचारको प्रभावकारिता मापन गरिन्छ, जस्तो : रोगको अवस्था कस्तो छ, कति घटेको छ वा बढेको छ ।

केही दुर्लभ केसमा पनि स्टेज फोरका बिरामीहरूमा क्यान्सर पूर्ण रूपमा हराउँछ । यसलाई चिकित्सकीय भाषामा ‘कमप्लिट रेस्पोन्स’ भनिन्छ ।

उनका अनुसार पित्तथैलीको क्यान्सर एकदमै आक्रामक र कठिन क्यान्सर हो । सामान्यतया स्टेज फोरका बिरामीहरूको जीवनकाल डेढदेखि दुई वर्ष मात्र हुन्छ । केही अनुसन्धानअनुसार यो एक वर्षभन्दा पनि कम हुन्छ ।

बालप्रसादलाई स्टेज फोरमा सबैतिर फैलिएको क्यान्सर उपचारको तीन महिनामा पूर्ण रूपमा हरायो । सिटी स्क्यान, रगतको जाँच गर्दा शरीरको क्यान्सर कोष देखिएको छैन-डा. अरुण शाही,वरिष्ठ क्यान्सर रोग विशेषज्ञ, पाटन अस्पताल

‘ बालप्रसादलाई स्टेज फोरमा सबैतिर फैलिएको क्यान्सर उपचारको तीन महिनामा पूर्ण रूपमा हरायो । सिटी स्क्यान, रगतको जाँच गर्दा शरीरको क्यान्सर कोष देखिएको छैन,’ डा. शाही भन्छन् ।

सिटी स्क्यान रिपोर्ट उपलब्धिमूलक आएपछि डा. शाहीले केही महिनाका लागि बालप्रसादलाई केमोथेरापी ‘होलिडे मा’ राखेको बताए ।

अर्को चरणको उपचार अब केही महिनापछि गरिने सिटी स्क्यानको अर्को रिपोर्टले तय गर्नेछ ।

क्यान्सर हराएपछि पनि केमोथेरापी जारी राख्नुपर्छ । यसले भविष्यमा क्यान्सर फिर्ता नआओस् भनेर सुनिश्चित गर्छ ।

‘कमप्लिटली रेमिशन भइसकेको कारणले गर्दा हामीले उहाँलाई किमो होलिडेमा राखेका छौं,’ डा. शाहीले भने, ‘बिरामीलाई अहिले कुनै औषधि दिइएको छैन र तीन महिनापछि फेरि फलो–अप बोलाइएको छ ।’

डा. शाहीका अनुसार यस्ता बिरामीहरूको औसत जीवनकाल डेढ देखि दुई वर्ष मात्र हुन्छ । तर, केही बिरामीहरू पाँचदेखि सात वर्षसम्म बाँच्न सफल भएका छन् ।

डा. शाहीले यो घटनालाई अत्यन्त दुर्लभ बताएका छन् । उनका अनुसार, तर पूर्ण निको हुने सम्भावना अत्यन्त कम छ ।

‘स्टेज १, २, ३ का बिरामीहरू ८ देखि २० वर्षसम्म पनि बाँचेका उदाहरणहरू नेपालमै छन्,’ डा. शाही भन्छन्, ‘स्टेज ४ का बिरामीहरूमध्ये पनि चार–पाँच जना सात–आठ वर्ष बाँचेका छन् र तिनीहरू नियमित फलो–अपमा आउँछन् ।’





Source link

Leave a Comment