जीवन इतिहासको साहित्यिक पुनर्संरचना ‘बखान’


जनकवि धरणीधर कोइरालाको भनाइमा साहित्य समाजको ऐना हो। जसमा समाजका बहुआयामिक पक्षहरू अनुभव, विचार, भावना, कल्पना र जीवनका विविध पक्षलाई सौन्दर्यपूर्ण र सिर्जनात्मक भाषामा अभिव्यक्त गरिएको हुन्छ।

उपन्यासकार एवं सञ्चारकर्मी वसन्त पराजुलीकाे उपन्यास ‘बखान’ ले पनि नेपालको राजनीतिक विकासक्रम र खासगरी चितवनको राजनीतिका अतिरिक्त सामाजिक, आर्थिक, पर्यापर्यटन, वातावरणका अतिरिक्त बसाइँसराइ र यसका प्रभावहरूलाई अत्यन्त सरल र सहज किसिमबाट उजागर गर्न सफल भएको छ।

व्यक्तिव्यक्ति मिलेर समाजको निर्माण भएको हुन्छ भने समाजले व्यक्तित्व निर्माण गर्दछ। समाजको सदस्यको रूपमा व्यक्तिले अनेकौँ भूमिका निर्वाह गरेको हुन्छ। जब कुनै व्यक्तिले समाजलाई कसरी अगाडि बढाउने र समाजको परिवर्तन मार्फत नयाँ संसारको परिकल्पना गर्दछ त्यसलाई नै वास्तवमा नेता मानिन्छ। नेता त्यो हो, जसले असामान्य परिस्थितिमा सामान्य तरिकाले असामान्य समस्याको सामान्य समाधान निकाल्न सक्छ। सामान्य परिस्थितिमा जो कसैले पनि काम गर्न सक्छ तर सामान्य नागरिकले गरेभन्दा भिन्न र सहज तरिकाले जुनसुकै समस्याको पनि हल गर्न सके मात्रै व्यक्ति वास्तविक नेता ठहरिन्छ। यसलाई पुस्तौँ पुस्तासम्म सफल नेतृत्वदायी व्यक्तिका रूपमा सम्झिन्छ।

भनिन्छ, इतिहास जित्नेहरूको मात्र लेखिन्छ र हारेकाहरूको खोजी तथा लेखन साहित्यका विभिन्न विधाबाट प्रस्फुटन भएको हुन्छ। बखानसिंह गुरुङ राजनीतिक नेताको अतिरिक्त एक सामाजिक अभियन्ताका रूपमा उक्त कालखण्डमा स्थापित व्यक्ति हुन्। बखानसिंह सफल भए वा भएनन् उनले जिते वा जितेनन् छुट्टै बहसको विषय होला तर उनको जीवनभरको लडाइँ विचार आदर्शले जितेका कारण नै अहिलेको पुस्ताले प्रजातन्त्र (लोकतन्त्र)को भरपूर उपयोग गर्न पाएको छ।

जीवनको उतरार्द्धमा राजनीतिक रूपमा नेपाली कांग्रेसको मूलधार छाडेकाले कांग्रेसको इतिहासमा उनको नाम छाया परे पनि वा पारिए पनि उनको समग्र जीवन र त्यागतपस्या नयाँ पुस्ताका माझ सशक्त रूपमा उजागर गरिदिन बखान उपन्यास सफल भएको छ।

जीवनका घटनाहरूबारे प्रत्यक्ष संलग्न भई सूचना सङ्कलन गरी जीवन इतिहास तयार पारिन्छ। बखानसिंह गुरुङको जीवनका विविध पक्षहरूलाई कल्पना र यथार्थको संयोजनद्वारा पराजुलीले सिङ्गो बखानको सृजना गरेको पाइन्छ।

पराजुलीले आफैं बखानसिंह गुरुङसँग साक्षात्कार गर्न पक्कै पाएनन् होला तर उनको जीवनीबारे अध्ययन, अनुसन्धान गरी नाति पात्र खडा गरी हजुरबुबाकै डायरीबाट लेखिएका विषय प्रसङ्गको रूपमा जुन परिदृष्य खडा गरी लमजुङबाट राजनीतिक यात्राको सुरुआतसँगै चितवनको बसाइँसराइ, गुरुङ समुदायको प्रचलनहरू, चितवनको कांग्रेस राजनीति, भारतमा निर्वासित जीवन, पारिवारिक अवस्था, थारू समुदायका रीतिरिवाज, परम्परा, संस्कारहरूलाई सशक्त रूपमा देखाउन सफल भएका छन्।

जीवन इतिहासले व्यक्तिको व्यक्तिगत ऐतिहासिक पक्षको अध्ययन गर्दछ। एउटा व्यक्तिको जीवन कहानीबाट नै समाजको समग्र इतिहासको प्रतिनिधित्व गर्न वा गराउन सक्नुपर्छ जुन कुरामा स्रष्टा पराजुली सफल भएका छन्। समाजशास्त्र, मानवशास्त्र, राजनीतिशास्त्र, मनोविज्ञानको अनुसन्धान पद्धतिमा जीवन इतिहास सशक्त माध्यमका रूपमा रहे पनि पराजुलीले साहित्यको माध्यमबाट उक्त पद्धतिलाई अवलम्बन गरेका छन्।

कुनै घटनाको सुरुआत वा सृजना हुनुमा विगतमा भए/गरेका घटना प्रक्रिया, सामाजिक, सांस्कृतिक अवस्था, राजनीतिक र भौगोलिक धरातलको अत्यन्त महत्त्वपूर्ण भूमिका रहेको हुन्छ। यसैले आजको विद्यमान समाज र संस्कृति जान्न वा विश्लेषण गर्न विगतको सामाजिक संरचना, प्रभाव र परिवर्तनलाई बुझ्नु जरुरी छ।

आजको नयाँ पुस्ताले आफ्नै संस्कृति बिर्सिंदै गएको अवस्था छ। गुरुङ, थारू, नेवार लगायतका जातजातिको रैथाने भाषा, शब्दावली, परम्परा, संस्कारहरूलाई उपन्यासकार पराजुलीले उपन्यासमा जीवन्त रूपमा प्रस्तुत गरेका छन्।

थारू समुदायमा फागुपूर्णिमामा गाइने फगुवा गीत, नेवार समुदायको गाईजात्रा र रामायण निकाल्ने परम्परा तथा गुरुङ समुदायको मृत्यु संस्कार, देवघाटको महत्त्व र सोमेश्वरको आध्यात्मिक पक्षजस्ता विषयहरूको गहिराइमा पुगेर गरिएको प्रस्तुति सोही समुदायका नयाँ पुस्तालाई मात्र होइन समाज र संस्कृतिको ज्ञान लिन चाहने अध्येताहरूका लागि समेत महत्त्वपूर्ण स्रोतका रूपमा रहन सक्ने अवस्था छ।

कुनै समयमा घटेका वास्तविक घटना नै पछि गएर इतिहास बन्दछन्। सरल, प्रभावकारी र जीवन्त भाषामा लेखिएको यस उपन्यासमा बखानसिंह र उनको परिवारलाई पात्रको रूपमा लिई जन्मदेखि मृत्युपर्यन्त सम्पूर्ण पक्षको अध्ययन र जानकारी प्रस्तुत गरिएको छ।

चितवनको वर्तमान समाजको स्वरुप किन, कसरी, कहिलेबाट, के कस्तो आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक पृष्ठभूमिबाट विकसित भएको भन्ने विषय बखान उपन्यासले प्रष्ट पारेको छ।

कार्यकारण सम्बन्ध र प्रभावलाई सूक्ष्म रूपमा एक पात्रको माध्यमबाट विश्लेषण गरिएको छ। पहाडबाट बसाइँसराइका आयामहरू, निकुञ्ज स्थापनाकालका जटिलताहरू, चितवनको बस्ती विकासका विविध पक्ष प्रष्टसँग देखाइएको छ। कसैको विचार, भावना, दृष्टिकोणलाई काल्पनिक पात्र खडा गरी प्रस्तुति गरिए पनि पराजुलीको बखान उपन्यासमा कुन कुरा वास्तविक तथ्य हो र कुन काल्पनिकता हो भनी छुट्याइ हेर्न मुस्किल छ।

नेपालमा सहकारी अभियानलाई सुरुआत गराउने व्यक्तिको सीमित परिचय पाएका बखानसिंह गुरुङका राजनीतिक सामाजिक पाटाहरू समेत केलाउने प्रयत्न गरिएको छ। बखान उपन्यासले नयाँ लेखकहरू तथा अध्येताहरूलाई समाजमा गुमनाम हुन पुगेका व्यक्तित्वहरूको खोजअनुसन्धानमा प्रेरित गरेको छ। जुन घटना अवलोकन गर्न वा प्रत्यक्ष साक्षात्कार गर्न सकिँदैन त्यस्ता घटनाहरू वैयक्तिक अध्ययनबाट उजागर गर्न सकिन्छ। यस खालका पढ्नमा सरल कृतिहरूबाट समाज र राजनीतिको इतिहास खोजतर्फ नयाँ पुस्तालाई आकर्षित गराउने कुरामा कुनै सन्देह हुन सक्दैन।

राजनीति भनेको राज्य सरकार वा राजनीतिक दल मात्र होइन। एउटा परिवार र समुदाय र त्यसभित्रका परिवार र समुदायको सर्वाङ्गीण विकासका लागि गरिने व्यवहार, शक्ति सम्बन्ध, निर्देशन, आदर्श तथा कार्यप्रणालीहरू सबैलाई राजनीतिक संस्थाको रूपमा मान्नुपर्ने हुन्छ। तत्कालीन चितौने समाजको शक्ति संरचना, राजनीतिक, सामाजिक जीवन र द्वन्द्वलाई आदिवासी थारू समुदायका माध्यमबाट उजागर गर्न खोजिएको छ।

एउटै कृतिका माध्यमबाट गुरुङ, नेवार, थारू, बाहुन लगायत समुदायको सामाजिक, सांस्कृतिक पक्षहरूको उजागर गर्नुका साथै राजनीति, वन्यजन्तु र पर्यापर्यटनको महत्त्व, बसाइँसराइ र त्यसको प्रभाव, तत्कालीन राजा महेन्द्रको राजनीतिक तथा वैयक्तिक पारिवारिक जीवन, चितवनको बस्ती विकास, देवघाट सोमेश्वर नारायणी जस्ता पवित्र तीर्थस्थलहरूको परिचय, चीन र भारतसँगको नेपालको भूराजनीतिक धरातलीय अवस्थाका सम्बन्धबारे खोज विश्लेषण गरिएको छ र त्यसमा सशक्त तरिकाबाट साहित्यिक लेपन लगाइएको छ।

उपन्यास भन्नासाथ मायाप्रेमका सुखान्त र दुःखान्तका पक्षहरूमा बढी पाठकको ध्यान जानु स्वाभाविक हो। स्रष्टा पराजुलीले यस उपन्यासमा हात्ती, गैडा जस्ता जनावरको सहवास वा यौनक्रीडा प्रस्तुत गरी त्यो मिठास दिने प्रयास गरिएको छ।

कताकता हात्ती, गैडाको उदाहरण दिई प्राकृतिक रूपमा नै पोथीभन्दा भाले शक्तिशाली हुन्छ भन्ने सन्देश दिन खोजेको आभास पनि उपन्यासमा पाइन्छ। बहुविवाह गरी चितवन र काठमाडौंमा दुई घरबार बसालेका पात्र बखानसिंह गुरुङबाट सो कार्यको बचाउ गर्न खोजिएको छ।

गुरुङ समुदायको मृत्यु संस्कारबाट विषयवस्तुको उठान गरी थारू समुदायको भताही संस्कारबाट उपन्यासको सांस्कृतिक पाटोलाई बिट मार्न खोजिएको छ। उपन्यासको पछिल्लो भाग पढ्दै जाँदा भने साहित्यिक उपन्यासभन्दा पनि वैयक्तिक जीवनी पढेको आभास बढी हुन्छ।

उपन्यासले गुरुङ परिवारको महत्त्वपूर्ण पात्र मनकुमारीको देहान्तसम्म पुगे पनि स्वयं बखानसिंह गुरुङको अन्त कहिले र कसरी भयो तथा सर्वस्वहरणमा परेको सम्पत्तिको पुनः प्राप्ति भयो/भएन, रुग्ण अवस्थामा रहेको सहकारीलाई कसरी पुनर्संरचना गरियो भन्ने कुराको जानकारी अधुरै छाडेको छ।

गुरुङले दुईपटकसम्म न्याय तथा कानुनमन्त्रीको जिम्मेवारी लिएको देखिन्छ। उनले मन्त्री जीवनमा गरेका कार्य वा चितवनको न्यायिक इतिहासमा तत्कालीन नेतृत्वको कुनै भूमिका रह्यो वा रहेन भन्ने विषयमा समेत मौनता रहेको पाइन्छ।

चितवनले नसम्झेको पात्र बखानसिंह गुरुङलाई पुराना पुस्तामाझ स्मरण गराउन र नयाँ पुस्तामाझ परिचित गराउन सफल प्रस्तुत बखान उपन्यासको ‘कभर डिजाइन’ वा कहीँ कतै बखानसिंह गुरुङको वास्तविक तस्बिर पनि राखिदिएको भए विषयगत रूपमा अझै जीवन्त हुन सक्थ्यो होला।

– रासस/ रमेश काफ्ले 

प्रकाशित: २६ आश्विन २०८२ ११:५२ आइतबार





Source link

Leave a Comment