यो हारले स्टेडियममा उपस्थित सारा नेपाली समर्थक नेपाली टिम पनि स्वभाविक रूपमा दु:खी थिए । राम्रो खेल्दै अन्तिम ओभरसम्म पुर्याएपनि जित्न नसक्दा लोकेश आफैं पनि यो हारबाट दु:खी छन् ।
News Summary
Generated by OK AI. Editorially reviewed.
- नेपालले इंग्ल्यान्डविरुद्ध टी-२० विश्वकपमा १८५ रनको लक्ष्य पछ्याउँदै ६ विकेट गुमाएर १८० रन बनायो तर ४ रनले हार्यो।
- लोकेश बमले २० बलमा ३९ रन बनाएर अन्तिम ओभरसम्म खेललाई लिएर गए पनि जित दिलाउन सकेनन्।
- इंग्ल्यान्डका साम करानले अन्तिम ओभरमा दबाबमा उत्कृष्ट बलिङ गर्दै जित सुनिश्चित गरे।
२५ माघ, मुम्बई । मुम्बईको वानखेडे स्टेडियम । करिब १८ हजार नेपाली दर्शक नेपालको जर्सी लगाएर नेपालको झण्डा लिएर नेपाल र इंग्ल्यान्डबीचको टी-२० विश्वकप खेल हेर्न उपस्थित थिए ।
नेपाललाई इंग्ल्यान्ड विरुद्ध ऐतिहासिक जित हात पार्न अन्तिम ओभरमा १० रन आवश्यक थियो । क्रिजमा थिए लोकेश बम । लोकेश यसै खेलबाट टी-२० विश्वकपमा पनि डेब्यु गरेका थिए । यस्तै अर्को एण्डमा नेपालका भ्यालेन्टाइन ब्वाय करण केसी थिए ।
इंग्ल्यान्डका साम करानले बलिङमा आए । अन्तिम ओभरमा इंग्ल्यान्ड पनि निकै तनावमा थियो । करानको पहिलो बलमा लोकेशले डट खेले । दोस्रो बलमा करण र तेस्रो बलमा पनि लोकेशले एक रन नै लिएपछि नेपाललाई जितका लागि ३ बलमा ८ रन आवश्यक थियो ।
स्ट्राइकमा लोकेश बम नै आए । चौथो बलमा लोकेशले २ रन लिएर नेपालको सम्भावना जीवित नै राखे । तर पाँचौं बलमा डट खेले । करण केसी सिंगलका लागि अर्को छेउबाट दौडिन लागेका थिए । तर लोकेश रोकिए । त्यसपछि जितका लागि अन्तिम बलमा ६ रन आवश्यक थियो । यस्तोमा छक्का प्रहार गर्नुको विकल्प थिएन । तर लोकेशले सिंगल मात्र लिन सके ।
एक समय नेपालको हातबाट करिब टाढिइसकेको गेमलाई लोकेशले केही बाउन्ड्री प्रहार गर्दै नेपालको पक्षमा मोडेका थिए र अन्तिम ओभरको अन्तिम बलसम्म खेललाई लगेका थिए । तर सेकेन्ड लास्ट बल डट हुँदा पनि अन्तिम बलमा केही दबाब देखियो ।
दुई पटकको टी-२० विश्वकप विजेता इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभर खेल्दै ६ विकेट गुमाएर १८० रन त बनायो तर जित हात पार्न भने सकेन ।
इंग्ल्यान्डले ४ रनले खेल जित्यो र २ अंक जोडदै विजयी सुरुवात गर्यो । सुपर एट पुग्ने लक्ष्यमा नेपालका लागि यो २ अंक महत्वपूर्ण हुन सक्थ्यो तर नेपालले अंक जोड्न सकेन । १२ वर्षपछि विश्वकपमा खेल जित्ने अवसर पनि गुम्यो ।
छैटौं नम्बरमा ब्याटिङ गरेका लोकेशले अविजित ३९ रन बनाए । उनले २० बल खेल्दै ४ चौका र २ छक्का प्रहार गरेका थिए । नेपालका लागि उपकप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४४ रन बनाए । कप्तान रोहित पौडेलले ३९ र कुशल भुर्तेलले २९ रन जोडे ।
यो हारले स्टेडियममा उपस्थित सारा नेपाली समर्थक नेपाली टिम पनि स्वभाविक रूपमा दु:खी थिए । राम्रो खेल्दै अन्तिम ओभरसम्म पुर्याएपनि जित्न नसक्दा लोकेश आफैं पनि यो हारबाट दु:खी छन् ।

‘अन्तिम ओभरमा केही पनि थिएन माइन्डमा । सिम्पल थियो एउटा बल हान्यो भने हुन्थ्यो । जहिले पनि करिब नजिक पुगेर टेष्ट राष्ट्रसँग चुकेका छौं । आज पनि चुक्यौं । म पनि दु:खी छु’ लोकेशले भने ।
अन्तिम बल खेलेपछि लोकेश आफैं मैदानमा निहुरिएका थिए । मैदान बाहिर आउँदा सबैले राम्रो प्रतिक्रिया दिएपनि उनी आफू खुशी थिएनन् । ‘सबैको रेसपोन्स रामरो थियो म चाँही खुशी थिएन मैले एक दुई चान्स मिस गरें।’
आफ्नो पहिलो विश्वकपमा निकै उत्सहित भएपनि अनुभवका हिसाबले कमी भएको लोकेशले बताए । ‘मेरो पहिलो विश्वकप थियो र पहिले देखि हेरिरहेको थिएँ र एक्साइटमेन्ट पनि थिए । अनुभवको हिसाबमा एक्जुकेट गर्न मिस भयो जस्तो लाग्छ, लोकेशले खेलपछि सञ्चारकर्मीहरुसँग भने, ‘सामान्य थियो एक बल मिस भयो भने एउटा हिटको कुरा हो । एउटा हिट भयो भने हुन्छ भन्ने थियो ।’
सेकेन्ड लास्ट बलमा लोकेशले किन सिंगल नलिएको विषयमा पोष्ट म्याचमा नन्दनलाई यादवलाई प्रश्न गरिएको थियो । नन्दनले लोकेशल बल राम्रो हानिरहेकोले हान्न सक्ने क्षमता भएको बताए ।
‘लोकेश निकै राम्रोसँग हिट गरिरहेका थिए । एक समय हामी खेलबाट बाहिरजस्तै देखिएका थियौं, तर लोकेश आएपछि उनले तीन–चारवटा छक्का हानेर खेललाई फेरि फर्काइदिए, जुन वास्तवमै उत्कृष्ट थियो । त्यसैले करणभन्दा धेरै छक्का हान्न सक्ने ब्याट्सम्यान स्ट्राइकमा हुनु राम्रो थियो । हामीलाई थाहा छ करणसँग पनि त्यो पावर छ, तर त्यो दिन लोकेशकै थियो । त्यसैले उनलाई नै स्ट्राइकमा राख्नु राम्रो विकल्प थियो’ नन्दनले खेलपछि भने ।
इंग्ल्यान्डका अलराउन्डर विल ज्याक्सले भने अन्तिम ओभर भइरहेका बेला आफू पनि नर्भस रहेको तर साम करानमाथि विश्वास रहेको बताए । ‘हो, वास्तवमै म निकै नर्भस थिएँ । बाउन्ड्रीमा उभिँदा मेरो मुटु जोडसँग धड्किरहेको थियो । तर साममाथि मलाई पूरा भरोसा थियो । उनले यसअघि पनि त्यस्तो परिस्थिति निकै राम्रोसँग सम्हालेका छन्’ ज्याक्सले पोस्ट म्याच कन्फेरेन्समा भने, ‘मैले उनीसँग “इन्भिन्सिबल्स”बाट सँगै खेलेको छु र उनले अन्तिम ओभर जोगाउने काम धेरै पटक सफलतापूर्वक गरेका छन् । त्यसका लागि उनलाई पूरा श्रेय जान्छ । उनले योर्करहरू एकदमै सटीक ढंगले फ्याँके र दबाबमा पनि आफ्नो धैर्य कायम राखे । त्यो साँच्चिकै शानदार थियो’
इंग्ल्यान्डका लागि अलराउन्ड प्रदर्शन गर्दै प्लेयर अफ दि म्याच बनेका विल ज्याक्सले पनि खेल जित्नु सबैभन्दा महत्वपूर्ण कुरा भएको बताए । ‘हो, नि: सन्देह सबैभन्दा महत्वपूर्ण कुरा जित नै हो, जुन हामी खेलको सुरुवातदेखि नै हासिल गर्ने लक्ष्य राखेका थियौं’ विल ज्याक्सले पोस्ट म्याच कन्फेरेन्समा भने ‘खेल अत्यन्तै कडा र रोमाञ्चक रह्यो । नेपाललाई पूरा श्रेय जान्छ । उनीहरू ब्याटिङ, बलिङ, फिल्डिङ र रनिङ विटविन दी विकेट सबै पक्षमा असाधारण रूपमा उत्कृष्ट थिए । उनीहरूले हामीलाई अन्तिमसम्म धकेलेका थिए।’
ज्याक्सले विश्वकप क्रिकेटमा केही सजिलो नहुने र आजको खेल पनि कठिन भएको बताए । ‘यही नै विश्वकप क्रिकेट हो । यो सजिलो हुँदैन । हामीले हिजोका सबै खेलहरू हेर्दा पनि अत्यन्तै प्रतिस्पर्धात्मक देख्यौं । धेरै खेल दुवै टोलीको पक्षमा जान सक्थे, आज पनि त्यही देखियो । त्यसैले प्रतियोगिताको सुरुआत यसरी (जितबाट) हुनु राम्रो संकेत हो’ उनले भने ।
टेस्ट राष्ट्रसँग कडा प्रतिस्पर्धा, नतिजा उस्तै
नेपालले पछिल्लो समय टेस्ट राष्ट्रविरुद्ध खेल्दा उत्कृष्ट प्रदर्शन त गर्दै आएको छ । केही समयअघि वेस्ट इन्डिज विरुद्धको ऐतिहासिक टी-२० सिरिजमा २-१ ले जित्नु बाहेक विश्वकप जस्तो ठूलो मञ्चमा नेपालले टेस्ट राष्ट्रविरुद्ध खेल्दा जहिले पनि यस्तै अवस्था भोग्नु परेको छ ।
चाहे त्यो सन् २०२३ मा चीनको हान्झाउमा भएको १९औं एसियन गेम्स भारत विरुद्ध होस् या चाहे सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा भएको टी-२० विश्वकपमै दक्षिण अफ्रिका विरुद्ध १ रनको हार । त्यसपछि बंगलादेशसँगको हार र अहिले आएर इंग्ल्यान्डसँगको हार ।
२०२४ मा क्यारेबियनमा भएको खेलमा नेपालले दक्षिण अफ्रिकालाई लगभग पराजित गरिसकेको अवस्थामा १ रनले चुकेको थियो । अन्तिम दुई बलमा जितका लागि २ रन आवश्यक हुँदा गुल्सन झाले दुवै बल डट खेलेपछि नेपाल जितबाट वञ्चित भएको थियो ।
यस पटक फेरि त्यही कथा दोहोरियो । लोकेशले भनेजस्तै नेपालले राम्रो खेल्दा खेल्दै जित नजिक पुगेर पनि नतिजा ल्याउन नसक्दा धेरै दु:खी छन् ।

खेलपछि नन्दनलाई टेस्ट राष्ट्र र एसोसिएट राष्ट्रबीचको ग्याप धेरै नभएरहेको चर्चा भइरहँदा नेपालको अवस्था के छ भनेर सोधिएको थियो । त्यसमा नन्दनले सुरुमै यो निकै गाह्रो प्रश्न भन्दै जवाफ दिएका थिए । ‘मलाई लाग्छ यो निकै गाह्रो प्रश्न हो, किनभने हामी टेस्ट राष्ट्रहरूसँग प्रतिस्पर्धा गरिरहेका छौं वा हामी टेष्ट राष्ट्र बन्ने प्रयास गरिरहेका छौं’ नन्दनले भने, ‘त्यसका लागि सबैभन्दा पहिले हामीले हाम्रो घरेलु संरचना सुधार्नुपर्छ । विशेष गरी रेड–बल क्रिकेट, जुन अहिले हामीसँग पर्याप्त रूपमा छैन । टेस्ट राष्ट्र बन्नु मेरो पनि सपना हो, तर अहिलेको अवस्थामा यो निकै चुनौतीपूर्ण काम जस्तो लाग्छ ।’
आजको खेलमा नेपाल पराजित भएपनि धेरै सकरात्मक कुराहरु भए । शेर मल्लको डेब्यूमै विकेटदेखि चार खेलाडीको विश्वकप डेब्यु दीपेन्द्रको टी-२०आईमा दुई हजार रन पूरा जस्ता क्षण भए ।
तर आगामी खेलमा नेपालले इंग्ल्यान्डजस्तै प्रदर्शन गर्न सक्ने जित हासिल गर्ने आत्मविश्वास पनि देखायो । नन्दनलाई पनि आजको साँघुरो हारले आउने खेलका लागि के पाठ सिकायो भन्ने प्रश्न गरिएको थियो । उनले महेन्द्र सिंह धोनीले जस्तै छक्का हान्नुपर्ने प्रतिक्रिया दिए । ‘सिकाइ भनेको, हामी धेरैजसो छक्का हान्नुपर्छ, महेन्द्र सिंह धोनीजस्तै’ नन्दनले हाँसोसहित जवाफ दिएका थिए ।
