जासुस, ड्रोन र ब्लोटर्च : अमेरिकाले मदुरोलाई कसरी गिरफ्तार गर्‍यो ?



२० पुस, एजेन्सी । पछिल्लो केही महिनादेखि अमेरिकी जासुसले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको हरेक गतिविधिमा निगरानी गरिरहेका थिए ।

भेनेजुएला सरकारभित्रैको एक सूत्रसहितको सानो समूहले ६३ वर्षीय मदुरो कहाँ सुत्छन्, के खान्छन्, के पहिरिन्छन् जस्ता विवरण संकलन गरिरहेका थिए । यहाँसम्मकी मदुरोले घरपालुवा जनावर के के छन् भन्नेबारेमा समेत अमेरिकी जासुसले सूचना बटुलेका थिए ।

डिसेम्बरको सुरुआतमा ‘अपरेशन एब्सोल्यूट रिजल्भ’ नाम दिइएको एक गुप्त मिसन योजनालाई अन्तिम रूप दिइयो । भेनेजुएलाका राष्ट्रपतिलाई उनकै सुरक्षित आवासबाट पक्राउ गर्न अमेरिकी सैनिकले महिनौं गुप्त अभ्यास गरेका थिए । मिसनलाई सफल बनाउन विशिष्ट अमेरिकी सैनिकले कराकसस्थित मदुरोको सुरक्षित आवासकै हुबहु नक्कली घर नै बनाएर प्रवेशमार्गको अभ्यास गरेका थिए ।

शीत युद्धपछि ल्याटिन अमेरिकामा भएको यो नै ठूलो अमेरिकी सैन्य हस्तक्षेप हो, जसलाई पूर्ण गुप्त राखियो ।

भेनेजुएलाका राष्ट्रपति मदुरोमाथि अमेरिकी प्रशासनले लागुऔषध तस्करीलाई वैधता दिएको आरोप लगाउँदै आएको छ । तर, मदुरोलाई उनकै देशभित्र सैन्य हस्तक्षेप गरेर पक्राउ गरिने योजनाको जानकारी ट्रम्प प्रशासनले अमेरिकी कंग्रेसलाई समेत दिएको थिएन । ट्रम्प प्रशासनले मदुरोको गिरफ्तारीबारे मिसनपूर्व कंग्रेसमा कुनै परामर्श समेत गरेको थिएन ।

जासुस र अमेरिकी सैनिकले संकलन गरेको विवरणको सटिकता तय गर्दै शीर्ष अमेरिकी सैन्य अधिकारी मिसन सुरु गर्न अनुकूल परिस्थितिको प्रतिक्षा गरिरहेका थिए ।

शनिबार सैन्य अधिकारीहरूले बताए अनुसार उनीहरू मिसनलाई सफल तुल्याएर विश्वलाई अधिक आश्चर्यचकित तुल्याउन चाहन्थे ।

चार दिनअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मिसनलाई स्वीकृति दिएका थिए । तर, खराब मौसम र बादलका कारण रोकिएको थियो ।

‘क्रिसमस र नयाँ वर्षको दौरान कयौं हप्तासम्म अमेरिकी सैनिक धैर्यपूर्वक सही  समय र राष्ट्रपति ट्रम्पको कारबाही आदेशको प्रतिक्षा गरिरहेका थिए,’ अमेरिकी सेनाका सर्वोच्च सैन्य अधिकारी जनरल ड्यान केनले शनिबार बिहान पत्रकार सम्मेलनमा भने ।

मिसनमा गएका सैनिकलाई ट्रम्पको शुभकामना

राष्ट्रपति ट्रम्पले शुक्रबार राति (भेनेजुएलाको स्थानीय समयअनुसार) १०: ४६ बजे आक्रमणको आदेश दिए ।

‘हामी यसलाई चार दिन पहिले, तीन दिन पहिले, दुई दिन पहिले गर्नेवाला थियौं तर, यो अचानक भयो । र मैले भने– जाऊ (गो),’ भेनेजुएलामा अमेरिकी सैनिकले रातभर छापामारी र आक्रमण गरेपछि ट्रम्प आफैंले शनिबार भनेका थिए ।

जनरल केनका अनुसार राष्ट्रपति ट्रम्पले मिसनका लागि शुभकामना दिएका थिए । ‘उहाँले हामीसँग भन्नुभयो– शुभकामना र भगवानले तपाईंलाई साथ दिउन भन्ने कामना्,’ ट्रम्पको भनाइ उद्धृत गर्दै जनरल केनले भने ।

भेनेजुएलामा मध्यरात हुन केही समयअघि ट्रम्पको आदेश आएको थियो । जस कारण अमेरिकी सेनालाई रातभर अँध्यारोमै कारबाही गर्न समय पुग्दो रह्यो ।

हवाई,जमीन र समुद्री मार्गबाट दुई घण्टा २० मिनेटको अन्तरालमा अमेरिकी सेनाले वाशिंग्टन र पूरै विश्वलाई स्तब्ध बनायो ।

एक स्वतन्त्र राष्ट्रमाथि सैन्य हस्तक्षेप गरेर पदासिन राष्ट्रपतिलाई गिरफ्तार गरेर अमेरिका लैजानुले विश्व तरंगित बनेको छ । भेनेजुएलामाथिको आक्रमण र मदुरोको गिरफ्तारीबारे क्षेत्रीय शक्ति राष्ट्रहरूले निन्दा गरेका छन् । ब्राजिलका राष्ट्रपति लुला दा सिल्भाले भेनेजुएलाका राष्ट्रपति मदुरोको हिंसक गिरफ्तारीले पूरै अन्तर्राष्ट्रिय समुदायका लागि एक भयानक नजिर स्थापित गरेको बताए ।

अमेरिकी राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसको सिचुएसन रुमबाट मिसन लिइरहेका थिएनन् । ट्रम्प फ्लोरिडाको पाम बीचस्थित आफ्नो मार–ए–क्लबमा सल्लाहकारसँगै थिए । त्यहाँ उनीसँगै सीआई निर्देशक जोन र्याटक्लीफ र अमेरिकी विदेशमन्त्री मार्को रुबियो सँगै बसेर अपरेशनको लाइभ स्ट्रिम हेरिरहेका थिए ।

शनिबार ट्रम्पले भने, ‘यो अवलोकन गर्नु अविश्वसनीय थियो, यदि तपाईंले हेरेको भए के हुन्थ्यो होला, मैले त यसलाई बिल्कुल टीभी शो जसरी हेरें । यदि तपाईंले गति र हिंसा देखेको भए यो निकै अदभुद थियो । उनीहरू (अमेरिकी सैनिक) ले निकै गज्जबको काम गरे ।’

हालैका महिनामा हजारौं अमेरिकी सैनिक ल्याटिन अमेरिका र विशेषतगरी भेनेजुएलाको तटीय समुद्री क्षेत्रमा तैनाथ गरिएका थिए । दशकौंपछि विमानवाहक युद्धपोत र दर्जनौं युद्धपोत एकै क्षेत्रमा यति ठूलोस्तरमा परिचालन गरिएका थिए ।

अमेरिकी राष्ट्रपति ट्रम्पले मदुरोमाथि मादक पदार्थको तस्करी र लागुऔषध आतंकवादको आरोप लगाएका छन् । लागुऔषधको तस्करीको आरोपमा अमेरिकाले दर्जनौं साना डुङ्गालाई नष्ट गरेको छ ।

तर, अपरेशन एब्सोल्युट रिजल्भको पहिलो संकेत आकाशमा देखियो । अमेरिकी अधिकारीका अनुसार बमवर्षक विमान, लडाकू विमान र क्यामेरासहित सुसज्जित विमान समेत गरी यो मिसनमा १५० भन्दाबढी विमान प्रयोग भएका थिए ।

ट्रम्पले फक्स न्यूजसँग भने, ‘यो निकै जटिल थियो, निकै नै जटिल, पूरा युद्ध अभ्यास, ल्यान्डिङ र विमानको संख्या । हामीसँग हरेक सम्भावित स्थितिका लागि एक लडाकू विमान थियो ।’

स्थानीय समय अनुसार २ बजे कराकसमा भयानक विस्फोटको आवाज सुनियो । शहरको आकाशमा कालो धुँवा मडारिएको देखियो । बीबीसी संवाददाता एना वेनेसाले आफूले निकै ठूलो विस्फोटको आवाज सुनेको बताउँदै आक्रमणका बेला काराकसको त्यो बेलाको स्थिति वर्णन गरिन् । ‘यसले सबै झ्याल ढोका हल्लिए, तुरुन्तै आकाशमा मैले धुँवाको ठूलो मुस्लो देखें,’ उनले भनिन् ।

मिसनका दौरान शहरभर विमान र हेलिकप्टर उडेको देखेको उनले बताइन् ।

आक्रमण पश्चात सामाजिक सञ्जालमा भाइरल भएका भिडियोमा पनि कराकस अमेरिकी सैन्य हस्तक्षेपको चपेटमा परेको देख्न सकिन्छ ।

‘हामी लगभग बिहानको १:५५ बजे विस्फोटको गडगडाहट र कराकसको आकाशमा उडिरहेका विमानको आवाजले ब्युँझियौं,’ एक प्रत्यक्षदर्शी डेनिएलाले बीबीसीसँग भने, ‘चारैतिर अँध्यारो छाएको थियो, नजिक भएका विस्फोटको उज्यालो मात्र देखिन्थ्यो ।’

उनले अगाडि भने, ‘छिमेकीहरूले ग्रुप च्याटमा म्यासेज गरिरहेका थिए, सबै भ्रमित थिए र उनीहरूलाई थाहा थिएन कि के भइरहेको हो भन्ने । विस्फोटको आवाजले सबै डराएका थिए ।’

जासुस, ड्रोन र ब्लोटर्च : अमेरिकाले मदुरोलाई कसरी गिरफ्तार गर्‍यो ?

बीबीसी भेरिफाइले कराकसको आसपासका स्थानमा भएका विस्फोट, आगजनी र धुँवाको मुस्लो देखिने भिडियोको जाँच गरेर अमेरिकी सैनिकले निशाना बनाएको स्थल पत्ता लगाएको छ ।

अहिलेसम्म पत्ता लागेअनुसार जनरलिसिमो फ्रान्सिस्को डी मिरान्डा एयर बेस, ला कार्लोटा नामले चिनिने एक विमानस्थल र बन्दरगाह ला गुइरासहित पाँच स्थानलाई निशाना बनाइरहेको पुष्टि भएको छ  । यी स्थानहरू कराकसदेखि क्यारेबियन सागरसम्म पुग्ने मुख्य मार्ग हो ।

अमेरिकी सैन्य अधिकारीहरूका अनुसार केही हवाई रक्षा प्रणाली र सैन्य अड्डालाई निशाना बनाइएको थियो ।

भेनेजुएलामा आक्रमण गर्नुअघि अमेरिकी जासुसले त्यहाँको विद्युत आपुर्ति नै बन्द गरिदिएको थियो । यसको संकेत स्वयं ट्रम्पले गरेका थिए तर, उनले त्यो कसरी भन्ने खुलाएनन् । साइबर आक्रमण गरेर कराकसको विद्युत प्रणालीलाई निशाना बनाएको बुझिएको छ ।

ट्रम्पले भने, ‘हामीसँग भएका विशेष विशेषज्ञताका कारण कराकसको बत्ती धेरै हदसम्म निभाउन सफल भएका थियौं, अँध्यारो थियो र स्थिति निकै खतरनाक थियो ।’

‘उनीहरूलाई थाहा थियो हामी आउँदैछौं’

कराकसमा आक्रमण सुरु हुनुअघि नै अमेरिकी सेना शहरम प्रवेश गरिसकेका थिए । स्रोतले बीबीसीको अमेरिकी साझेदार सीबीएसलाई दिएको जानकारी अनुसार कारबाही टोलीमा अमेरिकी सेनाको शीर्ष विशेष मिसन इकाई, एलीट डेल्टा फोर्सका सदस्य सामेल थिए । उनीहरूसँग खतनाक हतियार थिए ।

कतिसम्म भने सैनिक टोलीले एक ब्लोटर्च समेत साथै लिएर गएका थिए । किनभने मदुरो निकै बलियो धातुको ढोका लगाएर बस्ने गरेको सूचना अमेरिकी सेनासँग थियो । मदुरोको कोठाको ढोका काटेरै भएपनि फोड्न ब्लोटर्च समेत लगिएको थियो ।

अमेरिकी सेनाका जनरल केनका अनुसार स्थानीय समय अनुसार बिहान २:०१ बजे आक्रमण सुरु भएको केही समयमै मै अमेरिकी सैनिकको टोली मदुरोको बासस्थानमा पुगे । ट्रम्पले मदुरो बसिरहेको स्थललाई सैन्य अड्डाको रूपमा वर्णन गरे । उनले भने, ‘उनीहरू (मदुरोसहितको पक्ष) तयारी अवस्थामा थिए, हामी आउँदैछौं भन्ने उनीहरूलाई थाहा थियो ।’

अमेरिकी सैनिक मदुरो बसिरहेको भवनमा जबरजस्ती भित्र बसेको बताउँदै ट्रम्पले भने, ‘उनीहरू (सैनिक) यस्तो ठाउँमा प्रवेश गरे जहाँ जान सम्भव थिएन, स्टिलको ढोका कोही पस्न नसकोस् भनेरै लगाइएको थियो ।’

अपरेशनमा अमेरिकी सैनिकले मदुरोकी पत्नी सिलिया फ्लोरेसलाई समेत गिरफ्तार गरेका थिए । अपरेशनकै दौरान विदेशमन्त्री मार्को रुबियोले सांसदहरूलाई कारबाहीबारे जानकारी गराए । भेनेजुएलामाथिको आक्रमणको निर्णयले अमेरिकी कंग्रेसका केही सांसद आक्रोशित भए ।

‘म यो स्पष्ट पार्न चाहन्छ, निकोलस मदुरो एक अवैध तानाशाह हुन्, तर कंग्रेसको अनुमति बिना र आगामी कारबाहीको विश्वसनीय योजनाबिनै सैन्य कारबाही सुरु गर्नु गैरजिम्मेवार कदम हो,’ कंग्रेसमा प्रतिपक्ष दल डेमोक्र्याटका शीर्ष नेता एवं सांसद चक सुमेरले भने ।

शनिबार भएको पत्रकार सम्मेलनका दौरान विदेशमन्त्री मार्को रुबियोले कंग्रेसलाई पहिल्यै जानकारी दिँदा मिसन खतरामा पर्थ्यो भन्दै बचाउ गरेका थिए ।

ट्रम्पले कंग्रेसमा जानकारी चुहाउने प्रवृत्ति रहेको भन्दै भेनेजुएला आक्रमणको पूर्व जानकारी दिनु ठीक नहुने बताए ।

अपरेशनबारे थप जानकारी दिँदै ट्रम्पले मदुरोको परिसरमा अमेरिकी डेल्टा फोर्सका सैनिकहरू प्रवेश गरेपछि मदुरो एक सुरक्षित कोठा (सेफ रुम) तर्फ भाग्न खोजेको बताए ।

‘उनी एक सुरक्षित ठाउँमा पुग्न खोज्दै थिए, जुन सुरक्षित थिएन, किनकि हामीले करिब ४७ सेकेन्डमै त्यो ढोका विष्फोट गराएर उडाइदिने थियौँ,’ ट्रम्पले भने ।

‘उनी ढोकासम्म त पुगे । तर उनले त्यसलाई बन्द गर्न सकेनन् । उनलाई यति चाँडो अमेरिकी सैनिकले झम्टिए कि उनी त्यो कोठाभित्र पस्नै पाएनन्,’ ट्रम्पले भने ।

भेनेजुएलाका राष्ट्रपति मदुरोले पछिल्लो समय क्युबाली अंगरक्षकहरूमाथिको निर्भरता बढाएका थिए ।

सन् २०१३ मा राष्ट्रपतिको कार्यभार सम्हालेका राष्ट्रपति मदुरोले यदि गिरफ्तारीको प्रतिकार गरेको भए के अमेरिकाले उनलाई मार्न सक्थ्यो त ? भन्ने प्रश्नमा ट्रम्पले भने, ‘त्यस्तो हुन सक्थ्यो ।’

ट्रम्पका अनुसार मिसनका क्रममा कुनै अमेरिकी सैनिक हताहती भएको छैनन् । अमेरिकी पक्षमा ‘दुई–चार जनालाई गोली लाग्यो,’ उनले भने, तर कुनै पनि अमेरिकी सैनिक सदस्यको मृत्यु भएन ।

भेनेजुएलाका अधिकारीहरूले हालसम्म हताहतको संख्या पुष्टि गरेका छैनन् । तर, त्यहाँ कम्तीमा ४० जनाको मृत्यु भएको विवरणहरू आएका छन् ।

अमेरिकाले यसअघि मदुरोको गिरफ्तारीमा सहयोग पुर्‍याउने सूचनामा दिनेलाई ५ करोड डलर पुरस्कारको घोषणा गरेको थियो । तर शनिबार स्थानीय समय अनुसार बिहान ४:२० बजेसम्ममा मदुरो र उनकी पत्नीलाई लिएर हेलिकप्टरहरू भेनेजुएलाको सिमानाबाट बाहिर निकाल्न सफल भयो ।

मदुरोलाई अमेरिकी न्याय विभागको हिरासतमा पुर्‍याइएको छ । जहाँ मदुरो दम्पत्तिले  फौजदारी अभियोगहरूको सामना गर्नेछन् ।

मदुरोको गिरफ्तारीको एकघण्टापछि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत् फोटो सार्वजनिक गरेर जानकारी दिएका थिए । ‘मदुरो र उनकी पत्नीले चाँडै नै अमेरिकी न्यायको पूर्ण शक्तिको सामना गर्नेछन्,’ ट्रम्पले भने ।

बीबीसीबाट





Source link

Leave a Comment