काठमाडौं । जाडो मौसम छालाको लागि अनुकूल मानिंदैन । यसबेला बाहिरी वातावरण सुक्खा हुने भएकाले सोझो असर छालामा पर्छ । बाहिर चिसो र भित्र तातोको सन्तुलन नमिल्दा पनि त्यसको प्रभाव छालामा देखिन्छ । त्यसैले जाडोयाममा छालाको सौन्दर्य कायम राख्न बढी सजग हुनुपर्छ ।
यस्तोमा जाडोमा छालामा के कस्तो समस्या देखा पर्छ ? चिसोमा छालाको विशेष ध्यान राख्न के-के कुरामा ध्यान दिनुपर्छ ? यिनै विषयमा केन्द्रित रहेर छाला तथा कपाल सौन्दर्य विशेषज्ञ निरु श्रेष्ठसँग अनलाइनखबरकर्मी सुमित्रा लुईटेलले गरेको कुराकानीको सम्पादित अंश :
जाडोमा छालामा देखा पर्ने समस्या के–के हुन् ?
जाडोयामा खासगरी छाला रुखो हुने, फुट्ने, सुक्खा हुने समस्या हुन्छ । त्यस्तै छाला चिलाउने, हातगोडा फुट्ने, छालाको पत्र निस्कने, अनुहारमा चायापोतो आउने तथा बढ्ने र रुखो हुने समस्या हुन्छ । अर्कोतिर टाउकोमा पनि चाया पर्ने गर्छ ।
जाडोमा छालाको हेरचाह गर्ने उपाय के–कस्तो छ ?
छाला सुक्खा हुने समस्याबाट बच्न मोइस्चराइजिङ क्रिम पनि प्रयोग गर्नुपर्छ । यद्यपि आफ्नो छालाको प्रकृति अनुसार त्यसको छनोट गर्नुपर्छ । त्यसका लागि दक्ष ब्युटिसियन तथा छालारोग विशेषज्ञको सल्लाह लिन सकिन्छ ।
गर्मीमा जति सन्सक्रिमको प्रयोग हुन्छ, उति नै जाडोमा पनि सन्सक्रिमको प्रयोग गर्नुपर्छ । किनकि जाडो मौसममा घाममा धेरै बसिने हुँदा घामको हानिकारक विकिरणले छालालाई असर पार्न सक्छ । त्यसैले घाममा निस्कनु करिब आधा घण्टा पहिले अनुहार तथा हातमा ब्रान्ड स्पेक्ट्रम सन्सक्रिमको प्रयोग गर्नुपर्छ । यदि घाममा धेरैबेर बस्नुपर्छ भने उक्त सन्सक्रिमलाई पुन: दुई पटक प्रयोग गर्नुपर्छ ।
जाडोमा नियमित मालिस छालाका लागि राम्रो मानिन्छ । छालाको नियमित मालिसका लागि नरिवलको तेलको प्रयोग गर्न सकिन्छ । यसले छाला नरम बनाउनुका साथै छालालाई चम्किलो बनाउँछ ।
जाडोमा न्यानो हुन आगो ताप्ने, हिटर ताप्ने, एसीमा बस्ने गरिन्छ । यसले हाम्रो छालाको मोइस्चर सोसेर छालालाई सुक्खा बनाउँछ । त्यसैले आगो हिटर एसीबाट अलि टाढा बस्नुपर्छ । साथै जाडोमा अनुहारमा पानीको बाफ लिने प्रचलन पनि हुन्छ । लामो समय बाफ लिइयो भने यसले पनि छालालाई सुक्खा बनाउँछ, त्यसैले बाफ लिनुअघि राम्ररी मोइस्चराइजरको प्रयोग गर्नुपर्छ ।
डण्डीफोरको समस्या कुन उमेर समूहमा बढी देखिन्छ ?
डण्डीफोरको समस्या किशोरावस्थामा बढी देखा पर्छ । किशोरावस्थामा हुने हर्मोनल परिवर्तनले त्यो बेलामा छालामा हुने तेल बनाउने ग्ल्यान्जहरू ठूलो भएर तेलीय पदार्थ बढ्छ, जसले गर्दा डन्डीफोर आउँछ । तर आजभोलिका किशोरकिशोरीहरू अनुहारमा जथाभावी कस्मेटिकको प्रयोग गर्छन् । त्यसले पनि उनीहरूमा डण्डीफोरको समस्या बढाएको पाइन्छ ।
चायापोतोको समस्या कसलाई बढी हुन्छ ?
चायापोतोको समस्या मुख्यतया महिलामा देखा पर्ने समस्या हो । ३० देखि ४५ वर्षको उमेर समूहमा यो समस्या बढी देखिन्छ । अनुहारमा चायापोतो आउनुका विशेषगरी तीन-चार कारण छन् । सबैभन्दा पहिलो सामान्य तर प्रमुख कारण घाम हो । अर्को कारणमा गर्भावस्थामा पनि चाया पोतो आउँछ जसलाई कोलाज्मा भनिन्छ । अन्य कारणले आउने चाया पोतोलाई मेलाज्मा भनिन्छ । हर्मोनको प्रयोग र शरीर भित्रका कमजोरीले पनि चाया पोतो आउने गर्छ ।
चायापोतोको समस्यालाई जरैबाट हटाउन त सकिंदैन । तर यसलाई बढ्न नदिन भने सकिन्छ । समस्या एकदमै धेरै छ भने चिकित्सकको सल्लाह लिनुपर्छ ।
फेसप्याकको प्रयोग गर्दा पनि छाला सुक्खा हुन्छ भनिन्छ नि ?
अहिले बजारमा अनुहारको चमक बढाउन विभिन्न प्रकारका फेसप्याक पाइन्छ । त्यसको प्रयोग गर्ने सही तरिका थाहा नहुँदा पनि अनुहारमा विभिन्न समस्या निम्तिन सक्छ । फेसप्याक गर्नुअघि अनुहारलाई राम्ररी क्लिन्जिङ गर्नुपर्छ र फेसप्याकपछि मोइस्चराइजर लगाउनुपर्छ । जसले गर्दा छाला सुक्खा हुँदैन ।
अनुहारको छालालाई चम्किलो बनाउन होममेड फेसप्याक बनाएर लगाउन सकिन्छ ?
आजभोलि धेरैको छालामा डन्डीफोर, चायापोतो, ओपन पोर लगायत विभिन्न समस्या हुन्छ । यस्तो समस्या भएका व्यक्तिले जथाभावी होममेड फेसप्याक प्रयोग गर्नु हुँदैन । त्यसले समस्या झन् बढाउन सक्छ । कागती, घिउकुमारी जस्ता कुरालाई छालामा सिधै लगाउनु हुँदैन ।
कसैको छालामा केही पनि समस्या छैन भने मुलतानी माटोमा थोरै गुलाबजल मिसाएर बनाएको फेसप्याक लगाउन सकिन्छ । साथै बेसनको पिठो, थोरै बेसार र गुलाबजल वा काँचो दूध मिसाएर बनाएको फेसप्याक लगाउन सक्छन् । यस्तो होममेड फेसप्याक १० मिनेट जति अनुहारमा राखेर सादा पानीले धुन सकिन्छ ।
फेसियल किन गर्ने ?
छालामा चमक छैन, सुक्खा भएको छैन भने फेसियल गर्न सकिन्छ । फेसियलले अनुहारको छालाको गहिराइसम्म पुगेर निखार्छ । फेसियल क्रिमसँगै गरिने मसाजले अनुहारमा पर्याप्त मात्रामा रक्तसञ्चार गराउँछ । जसले अनुहारमा पोषण, अक्सिजन र प्रोटिन पुर्याउँछ ।
फेसियल विभिन्न प्रकारका हुन्छन् । फेसियल छालाको समस्या कस्तो छ त्यहीअनुरूप गरिन्छ । सबै जनालाई एउटै प्रकारको फेसियल उपयुक्त नहुन सक्छ । पछिल्लो समय धेरैजसोमा चायापोतोको समस्या छ । छालाको प्रकार तथा उमेरअनुसार फेसियलको छनोट गर्नुपर्छ । चिल्लो छाला भएकाहरूमा डन्डीफोर, आउने समस्या देखिन्छ । यस्तो छाला भएकाहरूलाई त्यही किसिमको सौन्दर्य सामग्रीको प्रयोग गर्नुपर्ने हुन्छ । त्यस्तै छाला रुखो र सुक्खा भएकाहरूलाई छालाको मोइस्चर बढाउने किसिमका फेसियल गराउनुपर्छ । सामान्य छाला भएकाहरूले फ्रुट फेसियल गराउन सकिन्छ । यो प्राकृतिक भएकाले छालालाई असर गर्दैन । ताजा फलफूलमा इन्जाइम, एन्टिअक्सिडेन्ट र भिटामिन सी ले छालामा भएका दाग–धब्बा हटाएर अनुहारलाई चम्किलो बनाउँछ । कम्बिनेसन छाला भएकाहरूलाई सोहीअनुसारको फेसियल किटको प्रयोग गर्न सकिन्छ ।
‘गोल्ड फेसियल’ छालालाई चम्किलो बनाउन उपयोगी मानिन्छ । यसले तत्कालै रिजल्ट दिन्छ । यो फेसियलले छालालाई कोमल एवं मुलायम बनाइराख्छ । बढ्दो उमेरलाई रोक्न रोक्न ‘एन्टी एजिङ फेसियल’को प्रयोग गर्नुपर्छ । यसले छालालाई कसिलो बनाउने काम गर्छ र बूढोपनलाई रोक्छ ।
सानै उमेरमा फेसियल गर्दा छाला झन् बिग्रिन्छ भनिन्छ नि ?
फेसियल गरेर छाला बिग्रिने भन्ने हुँदैन । हरेक उमेर समूहका लागि छुट्टा-छुट्टै फेसियल गरिन्छ, त्यसैले त्यसले छालामा कुनै असर गर्दैन । फेसियल गर्दा छाला अझै बिग्रिनबाट रोक्न सकिन्छ ।
जाडोमा अनुहारको छालासँगै हातखुट्टाको छाला पनि सुक्खा हुने, फुट्ने हुन्छ । त्यसबाट कसरी जोगिने ?
जाडोमा हातखुट्टा फुट्ने समस्याले धेरैलाई सताएको पाइन्छ । यस्तो समस्याबाट बच्न दैनिक रुपमा बडी लोसनको प्रयोग गर्नुपर्छ । साथै राति सुत्ने बेला हातखुट्टामा नरिवलको तेल लगाएर मालिस पनि गर्न सकिन्छ ।
जाडोमा कपालमा चाया पर्ने समस्याबाट बच्न के गर्ने ?
कपालमा चाया पर्ने समस्याबाट बच्न नियमित कपालको सरसफाइमा ध्यान दिनुपर्छ । टाउको कम्तीमा हप्तामा तीन पटक नुहाउनुपर्छ । राम्रो खालको एन्टिडयान्ड्रफ स्याम्पुको प्रयोग गर्नुपर्छ ।
धेरै तातो पानीले नुहाउँदा कपालको जराको मोइस्चर गएर कपालको जरा सुक्खा भएर पनि चाया पर्छ । त्यसैले चाया पर्ने समस्याबाट बच्न धेरै तातो पानीले नुहाउनु हुँदैन, मनतातो पानीको प्रयोग गर्नुपर्छ ।
राति सुत्ने बेला मेकअप हटाइएन भने के हुन्छ ?
कतिपयले मेकअप हटाउन अल्छी मान्छन् र त्यसै सुत्ने गर्छन् । जबकि यस्तो बानीले अनुहारमा मात्र नभई छालामा समेत असर पर्न सक्छ र छाला खराब हुनसक्छ । मेकअप सफा नगरी सुत्नाले छालाले चिल्लो र धुलो जम्मा पार्नुका साथै छालाले बाहिरबाट पाउने अक्सिजन पाउन सक्दैन । जसले गर्दा छाला चाउरी पर्नेजस्ता समस्या देखा पर्छ । त्यसैले राति सुत्नुअघि मेकअप हटाएर क्लिन्जिङ गरेर मोइस्चराइजरको प्रयोग गर्नु राम्रो हुन्छ ।
के पानीले पनि छाला र कपाललाई खराब बनाउँछ ?
सबै पानी त होइन, बोरिङ गरिएको जमिनमुनिको पानीमा आइरनको मात्रा बढी हुन्छ त्यस्तो पानीले भने छाला र कपाललाई असर गर्छ । यस्तो पानीले छालालाई सुक्खा बनाउन र कपाल टुक्राउन सक्छ ।
तस्वीर, भिडियो : शंकर गिरी/अनलाइनखबर