जहाँ आँपको सिजनमा मलामी जान समेत तँछाडमछाड हुन्थ्यो

जहाँ आँपको सिजनमा मलामी जान समेत तँछाडमछाड हुन्थ्यो


हामीकहाँ आँपसँग जोडिएको अनेकन् लोकमान्यता छन् । आँप कोसेली पुर्‍याउने चलन छ । सरुवा बढुवा, नोकरी, चाकरीका लागि ‘आँपको टोकरी’ लगिने वा पठाइने परिपाटी पनि विद्यमान छ । ‘आँप पाकेकै बेला पारेर कोही मरिदेओस्, अनि मलामी जान पाइयोस्’ भन्ने एकसाथ मिठासपूर्ण र विसंगतिपूर्ण अभिव्यक्ति चाहिं सित्तिमिति भेटिंदैन ।

यो भेगीय बोलीले आँपको रसमा दूध र चिनी मिलाएर बनाइने ‘मेङ्गो शेक’ पिइरहेका सहरवासीलाई मात्रै होइन, रैथाने बीउबिजन एवं माटो संरक्षणमा बोलिरहने सम्पूर्ण संरक्षणकर्मीहरूलाई हच्काउँछ । ‘आच्या, कुनै आँप यति मीठो पनि हुन्छ र भन्या ?’ भन्ने भावाभिव्यक्ति निकालेरै छाड्छ । र, हामी आज त्यही आँपको किस्सा सुनाउँदैछौं ।

नेपालमा जेठको सुरुदेखि भदौ महिनाको अन्तिमसम्म आँपको सिजन हो । वसन्त ऋतु (चैत र वैशाख)भर मुजुरा हाल्ने र चुकिन (अमिलोपन) थाल्ने आँपहरूले आकार लिंदै ग्रीष्म (जेठ असार) लागेसँगै छिप्पिन र सुगन्धसहित स्वादपूर्ण देखिन थाल्छन् । अनि त्यसपछि ऋतुहरूको राजा ‘वसन्त’, फलफूलको राजा आँपलाई आफ्नो सौन्दर्य सुम्पिएर लापता हुन्छन् ।

धादिङ र गोरखाको कम्मरमा काउकुती लगाएर बगिरहेकी बूढीगण्डकी नदी तरेर हामीलाई गोरखास्थित शहीदलखन-९ मा रहेको ऐतिहासिक एवं धार्मिक भीमवीरेश्वर मन्दिर (सत्तल) जानु थियो । जाँदै गर्दा हपक्क गर्मीमा शीतल बतास दिइरहेका, चराहरू बोलाएर हाम्रा कानलाई सुमधुर बनाइदिने विशाल डेढ दर्जन बढी आँपका वृक्षहरूसँग हाम्रो जम्काभेट भयो ।

र, यस जम्काभेटले हामीले आँप फगत एक सर्वप्रिय फल मात्रै नभई सामाजिक, सांस्कृतिक आयामको लोभलाग्दो किस्सा बताउने कथावाचक रहेछ भन्ने बोध भयो । र, यो कथा यहाँ सुनाउने मन भयो ।

हामी कुरा गर्दैछौं, धादिङस्थित ज्वालामुखी गाउँपालिका वडा नम्बर ५ मा पर्ने विभिन्न जात तथा थरीका ठूला–ठूला आँपका वृक्षहरूसहितको आँप बगानको, जसलाई ‘भीमसेन आँप बगैंचा’ भन्ने गरिन्छ । एक समानका भीमकाय डेढ दर्जन बढी यी बूढा रुखहरूले एकै समयकालमा लगाइएको र त्यो लगाउने काम भीमसेन थापाबाट भएको जनश्रुति बोकेर बसेका छन्, जसको पुष्ट्याइँका लागि बूढीगण्डकी नदीपारि रहेको भीमवीरेश्वर मन्दिर एवं भीमसेन थापासँग सम्बन्धित ऐतिहासिक स्रोतहरू हेरे पुग्छ । उनको समयकालमा सत्यरुपा र भक्तकुमारी नाम गरेका दुई महिलाले बेर्ना सारेका हुन् भन्ने कथन पनि छ, जस सम्बन्धमा प्रामाणिकता जुटाउँदा भुईंमान्छेको इतिहास लेखनमा बल पुग्छ ।

यस आँपको अनगिन्ती किस्साहरू यस भेगका धादिङ र गोरखाका हरेक स्थानीयको जिब्रो-जिब्रोमा बसेको छ । हरेकको मुखमै झुन्डिएको छ आँपको स्वाद । गलाभरि छ आँपको सुगन्धको महिमागान । यहाँको आँपको गुणगान गएर स्थानीय गोठाला, मेलापात गर्ने खेताला, भीमविरेश्वर महादेव मन्दिर र पशुपति मन्दिर आउने जात्रालु तथा भक्तजन, बटुवाहरू थाक्दैनन् ।

अझ, लास जलाउने घाट समेत यहाँ रहेको हुँदा आँप फल्ने सिजनमा मलामी जानका यस भेगका स्थानीयहरूबीच तँछाडमछाड नै चल्थ्यो ।

मैधीका मानिसलाई दरुमफाँट लगेर जलाउने हुँदा ऊ यो सौभाग्यबाट ठगिएको थियो । सुनेको तर चाख्न नपाएको यस आँपको किस्सा कसले भनिदेला भनेर हामी धेरैबेर ती विशाल आँपका वृक्षमुनि टहलियौं ।

जहाँ आँपको सिजनमा मलामी जान समेत तँछाडमछाड हुन्थ्यो

स्वाद र सुगन्धमा विविधता छ, भएका यी डेढ दर्जन बढी आँपका विशाल वृक्षहरू उचाइमा समान छन् । वरपीपलका झैं लामा-लामा हाँगा फैलाएर बगिरहेकी बूढीगण्डकीलाई छोउछोउ गरिरहेका छन् र त्यो हलचलसँगै बहुरंगी चराहरू उफ्राउफ्री गरिरहेका देखिए । हामी सम्झिंदै रह्यो जेठ-असारमा जब यी आँप लटरम्म भएर पाक्नेछन्, त्यो बेला यो दृश्य कस्तो देखिंदो हो ? यो माटो कति बाँस आउँदो हो ?

अब हामीलाई सिजन अगावै पुगेर मुजुरा हालेका (फुलेका) यी आँपका बारेमा किस्सा हाल्ने व्यक्तिको पर्खाइ थियो । अझ यो भेग जलाशययुक्त बुढीगण्डकी आयोजनाको डुबान क्षेत्र समेत भएकाले यहाँबाट मुआब्जा पाईवरी धेरै गाउँले अन्यत्र भास्सिसकेका छन् । यो सब सम्झिरहँदा हामीले अघि रामपुर गाउँमा बिताएको क्षण सम्झियौं । त्यहाँ कसै नभए पनि १५ जना जति स्थानीय वयोवृद्धहरूलाई हामीले भेटेका थियौं ।

हामी दुवै अपराह्नको ४ बजे आसपास मृदुभाषी, सरल स्वभावका मेहनती गाउँलेहरूसँग नै बुङकोटघाट भीमवीरेश्वर महादेवको मन्दिर जाने बाटो सोध्दै पल्सर १५० मा तलतिर हुइँकिएका थियौं । त्यतिबेला रामपुर निवासी कसैले पनि यसबारे केही बताएनन् । अब गाउँ सकिएर सुनसान ठाउँमा आएपछि यस आँपसँग जम्काभेट भयो । कसैले सोध्न मन भयो, तर मान्छे मरु !

अलिबेरमा कुखुरो च्यापेर जीर्ण अवस्थामा रहेको पशुपति मन्दिरबाट अगाडि चैनपुरको उकालो चढ्नै लागेका स्थानीय रामबहादुर कुमाल देखिए । हामी उनलाई ‘ए रोक्नुस्, रोक्नुस्’ भन्दै उनको पछिपछि कुद्यौं । हामीले आफ्नो परिचय र आउनुको उद्देश्य खुलाएपछि उनी धाराप्रवाह आँपको किस्सा सुनाउन तम्तयार भए ।

वैदेशिक रोजगारी र सहरकेन्द्रित बसोबासका कारण गाउँघरमा मान्छे कम हुँदा एवं मलामीकै अभावमा बुङ्कोटघाट क्षेत्रका यी आँपका वृक्षहरूमा पाकेको आँप सिजनको बेला भुईंभरि हुने गरेको बुढीगण्डकी नदीमा माछा मारिरहेका चैनपुर निवासी स्थानीय रामबहादुर कुमालले हामीलाई बताए । ‘यहाँको आँप खान एवं घरमा लिएर जानका लागि धादिङ र गोरखाका विभिन्न स्थानका बासिन्दाहरू आउने क्रम अब पातलिएको छ,’ उनले भुईंमा राखिएको ढकिया उठाउँदै भनिभ्याए ।

उनी चैनपुरको उकालो लागेपछि हामी बुङ्कोटघाटको पुल तरेर नाम्जुङ–९, भीमवीरेश्वर महादेवको मन्दिर (सत्तल, जनबोलीमा)तर्फ लाग्यौं । नेपालको इतिहासको प्रथम प्रधानमन्त्री (मुख्तियार) भीमसेन थापाले वि.सं. १८८८ मा लालमोहर लगाई निर्माण गरेका भीमविरेश्वर मन्दिरको खण्डहर स्वरूपले हाम्रो ऐतिहासिक एवं पुरातात्त्विक चेतलाई गिज्याइरहेको भेट्यौं । हाल वरपर झाडी सफा गरेर फराक बनाइएको भएपनि थापाले मन्दिरको चारैतिर बनाएका सत्तल घरहरू, पूजा गर्नका लागि बनाइएको मठमन्दिर, घाट एवम् आँपबगैंचाको ज्यादातर हिस्सा इतिहासको गर्तमा बिलाइसकेको छ भने रहिबसेका कलाकृतिहरूको रेखदेख भएको पाएनौं । जलाशययुक्त बूढीगण्डकी आयोजनाले भीमविरेश्वर महादेवको मन्दिर पनि डुबानमा पर्ने भएकाले मन्दिर स्थानान्तरणका लागि जग्गा खरिदका लागि २०७८ सालमा भीमविरेश्वर आध्यात्मिक महोत्सव तथा श्रीमद्भागवत ज्ञान महायज्ञ लगाइएको रहेछ, तर दुई वर्ष बितिसक्दा पनि कार्य प्रगति भने देख्न पाइएन ।

जहाँ आँपको सिजनमा मलामी जान समेत तँछाडमछाड हुन्थ्यो

माछा मारेर फर्किरहेका स्थानीय मानबहादुर कुमाल आफू सानो हुँदा हजुरबुबासँग खेतबारीमा आउँदा खाएको आँपको स्वादमा र आजभोलिको स्वादमा फरक रहेको तथा सो अनुपातमा आँप फल्न समेत छोडेको गुनासो गरे । ‘पहिला पहिला रुखले थाम्न नसक्ने गरी लटरम्म भएर आँप फल्ने गर्दथ्यो । फूल नलागेको रुख देख्न मुस्किल पर्थ्यो । तर अहिले पातलोसँग दाना लाग्छ । त्यतिबेला जस्तो तिक्खर स्वाद पनि छैन । आँप फलेको बेलामा उतिबेला जस्तो चराहरू पनि देखिंदैन,’ उनले भने ।

हामी भीमवीरेश्वर मन्दिरको पूर्वी गेट छेउ ग्लोबल होटेल सञ्चालन गर्दै आइरहेका आरविन श्रेष्ठकहाँ पुग्यौं । चाउमिन मगाएर खाँदै गर्दा उनीसँग आँपका किस्साहरू सुन्यौं । श्रेष्ठले आफू सानो हुँदा आँपको सिजनमा यस भेगमा राम्रै भीड हुने गरेको बताए । ‘आँपको काम केवल फलिदिनु, पाकिदिनु हो । खान जोसुकै आओस् । हाँगा लुछ्न जोसुकै आओस् । आँप खानेले आफैंलाई लात मारे पनि, काटे पनि उसले त केही भन्दैन । यही नियतिमा धेरै हिउँद–वर्षा बिताइसकेका यी बूढो आँपका बारेमा कसैले सोचेका छैनन् ।

यसपछि हामी स्वस्थ र फूर्तिला सेनकझैं टम्म मिलेर बसेका यी आँपहरूलाई सम्झिंदै राति पशुपति मन्दिर हुँदै अगाडि बढ्यौं । बुङ्कोटघाटको गर्मीमा समेत रमाइलो, घमाइलो, स्वच्छ हावापानीका बीच मानिसलगायत सेता, काला र रंगीविरंगी चराहरूलाई समेत शीतलता प्रदान गरिरहेका यी विशाल आँपका वृक्षहरू घरायसी प्रयोजनका लागि काटिएको, हावाहुरी–असिनापानीले ढलाएको, गलत भूउपयोगको वृद्धि, बूढीगण्डकीको बाढी एवं स्याहार नपाएर मासिएको अनुमान गर्दै चैनपुरबाट खरी जाने बाटो समात्यौं । अझ, पछिल्लो समयमा आएर सडक विस्तार र अन्धाधुन्ध भौतिक पूर्वाधार निर्माणले पनि यी आँपका वृक्षहरू मासिन पुगेको होला भन्ने अनुमान गर्दै खरीबाट मैधीतर्फ लाग्ने बाटोमा अगाडि बढ्यौं । ९ बजे आसपास मैधी पुग्यौं ।

धादिङबेंसी झरिसकेपछि हाम्रो पहिलो भेट ज्वालामुखी गाउँपालिका वडा नम्बर ४ का नरेन्द्र भट्टसँग भयो । भेटमा उनले यस किस्सालाई अझ तन्काए । ‘हिन्दु परम्परामा मृतकको लासलाई नदी किनारमा जलाउने परम्परा यद्यपि छँदैछ । हामी खरी–ढोलानिवासीहरू ४-५ घण्टा पैदल हिंडेर मृतकको देहलाई बुङ्कोटघाट बिसाई अग्निद्वारा विधिपूर्वक दाहसंस्कार गर्दै आइरहेकै छौं । गलत अर्थ नलागोस् तर उतिबेला मलामीहरू आँप पाक्ने सिजनमा मलामी जान पाउँदा पुलकित हुन्थ्यौं । हामी मलामीमा आँपको त्यतिविधि ‘टस’ बसेको थियो,’ भट्टले यो बताइरहँदा ती आँपको स्वाद सम्झिरहेको उनको मुखाकृतिमा प्रष्ट झल्किन्थ्यो ।

यो क्रम यतिमै रोकिएन । हामीले धादिङबेंसीबाटै माटो विज्ञ एवं रैथाने बीउबिजनका जानकार त्रिभुवन विद्यालय प्रा. डा. चन्द्रप्रकाश पोख्रेललाई फोन गर्‍यौं । उनले सारभर जति पनि मीठा, ठूला र स्वादिला आँपहरू पाइन्छन्, तिनीहरू रैथाने बीउको जेनेटिक मोडिफाइ गरेर नै बनाइएका हुनाले यस्ता बीउहरू संरक्षण गरिनुपर्ने बताए ।

भीमसेन थापाको गौरव नेपालको इतिहासका पाना-पानामा अंकित छ तर त्यस क्षेत्रका किसानका पौरख भने नदी बगरमा यी आँपका वृक्ष झैं त्यसै खेर गइरहेको छ ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School