१ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (नेपाल) ले कृषि क्षेत्रलाई जोड दिँदै पाँच वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छ ।
जसपा नेपालले शुक्रबार चुनावी घोषणापत्र सार्वजनिक गर्दै भर्टिकल फार्मिङ प्रवर्धन गर्दै पाँच वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने उल्लेख छ । यस्तो फार्मिङको विधि के हुने भन्ने चाहिँ छैन ।
जसपा नेपालले संविधान पुनर्लेखन हुनुपर्ने विषयलाई पुनः उठाएको छ । २०७२ सालमा संविधान बनेसँगै पुनर्लेखक मुद्धा चर्कोसँग उठाएका उपेन्द्र यादवको नेतृत्वमा रहेको जसपा नेपालले घोषणापत्रमा उक्त मुद्धालाई पुनः जोड दिएका छन् ।
आसन्न प्रतिनिधि सभाका लागि शुक्रबार सार्वजनिक गरिएको घोषणापत्रमा संविधान संशोधन/परिमार्जन/ पुनर्लेखनका लागि विज्ञहरू सम्मिलित उच्चस्तरीय संविधान पुनरावलोकन आयोग गठन गर्नुपर्ने उल्लेख गरिएको छ ।
उक्त आयोगको सुझावको आधारमा संविधान संशोधन र परिमार्जन तथा पुनर्लेखन गर्नुपर्ने जसपा नेपालले जनाएको छ ।
प्रमुख दलहरूले पहिचान र सामर्थ्यका आधारमा राज्य पुनर्संरचना गर्ने प्रतिबद्धता जनाएपनि त्यसबाट उनीहरुपछि हटेको जसपा नेपालको निष्कर्ष छ ।
‘आफैँले घोषणा गरेका तथा पहिलो संविधानसभाले पारित गरेका राज्य पुनर्संरचना लगायत महत्त्वपूर्ण प्रावधानहरूलाई उल्ट्याईएको छ । मुलुकको विद्यमान शासकीय स्वरूप, निर्वाचन प्रणाली तथा न्याय प्रणालीलाई यथावत् राखेर संघीय समाजवादी व्यवस्थाको आधारशिला खडा हुन सक्दैन,’ घोषणापत्रमा भनिएको छ ।
अपूर्ण संविधानलाई पूर्णता दिएर सर्वस्वीकार्य बनाउने दिशामा प्रमुख दलले पहल नगरेको जसपा नेपालले जनाएको छ ।
शासकीय स्वरूपमा परिवर्तन, राष्ट्रिय पहिचानमा आधारित संघीयता र प्रादेशिक संरचनाको निर्माण संविधान संशोधनको आवश्यकता रहेको जसपा नेपालले घोषणापत्रमा स्पष्ट पारेको छ । संविधान पुनर्लेखन गर्नुपर्ने आवश्यकतामा न्याय प्रणालीलाई संघीय स्वरूपमा पुनर्संरचना गर्न, संवैधानिक निकायहरूलाई बलियो बनाउन, जनलोकपाल जस्ता निकायहरूको गठन गर्नुपर्ने उल्लेख गरिएको छ ।
संविधानको संघीय पुनर्संरचना, शासकीय स्वरूप, जनसङ्ख्याको आधारमा समानुपातिक प्रतिनिधित्व, निर्वाचन प्रणाली, न्यायप्रणाली लगायतका विषयहरू त्रुटिपूर्ण रहेको जसपा नेपालको ठहर छ ।
घोषणापत्रमा जसपा नेपालले नेपाली कांग्रेस र कम्युनिस्ट दल प्रतिको राजनीतिक दृष्टिकोण पनि प्रस्तुत गरेको छ ।
यी दुवै शक्तिमा राजनीतिक चरित्र सत्ता प्राप्ति गर्ने, सत्ताको बलमा शक्ति आर्जन गर्ने, शक्तिले साधन स्रोतमाथि आफ्नो आधिपत्य जमाउने प्रवृत्ति रहेको जसपा नेपालले आरोप लगाएको छ ।
आधिपत्य जमाउनका लागि कांग्रेस र कम्युनिस्ट दलहरुले राजनीतिक अस्थिरता निम्त्याएको जसपा नेपालको बुझाई छ ।
स्वास्थ्य, शिक्षा, कानुन लगायतका आधारभूत क्षेत्रहरू बजारीकरण भएको जसपा नेपालले निचोड छ ।
आधारभूत सेवाहरु बजारीकरण हुँदा समाज ‘किन्न सक्ने’ र ‘किन्न नसक्ने’ गरी दुई वर्गमा विभाजित हुन पुगेको जसपाको निचोड छ ।
राष्ट्रिय सुरक्षा र अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा जसपा नेपालको घोषणापत्रमा सबै मित्रराष्ट्रहरूसँग सु-सम्बन्ध कायम गर्दै शान्ति, स्थायित्व, आर्थिक विकासको रूपान्तरण र समृद्धिको दिशामा अघि बढ्न द्विपक्षीय वा बहुपक्षीय सम्बन्ध विस्तार गर्नुपर्ने जसपा नेपालको जोड छ ।
जसपा नेपालले जेनजी विद्रोहका पक्षमा पनि आफ्नो धारणा घोषणापत्र मार्फत राखेको छ । युवाहरु जागरुक हुँदा र सडकमा आउँदा इतिहासले नयाँ बाटो बनाउने जसपा नेपालले बुझाइ छ ।
जेनजी विद्रोह र नवयुवाहरूबारे घोषणापत्रमा भनिएको छ,‘सपना देख्ने र त्यसलाई पूरा गर्ने शक्ति युवा नै हुन् । यही पृष्ठभूमिमा नयाँ पुस्ता देशको राजनीतिक र सामाजिक बहसमा निर्णायक शक्ति बन्दै गएको छ। यो पुस्ताको चेतना परिवर्तनको संकेत हो ।’
जसपा नेपाल सरकारमा रहेको बेला नागरिकका दैनिक आधारभूत आवश्यकताका लागि आफ्नो दलले गर्ने कार्यहरु घोषणापत्रमा उल्लेख गरिएको छ ।
नागरिकहरूको लागि प्रदान गरिने सेवा समान, गुणस्तरीय, पहुँचयोग्य बनाउने जसपाले नेपालको प्रतिबद्धता छ । जसपा नेपालले प्रतिबद्धता जनाउँदै लेखेको छ,‘सार्वजनिक सेवा प्रणालीको नेतृत्व गर्नैपर्छ। यसका लागि वित्तीय क्षेत्र लगायत आवश्यक सबै क्षेत्रहरूलाई व्यवस्थित तथा सुधार गर्दै लगिनेछ ।’
स्वास्थ्यलाई उच्च प्राथमिकताको सार्वजनिक सेवाका रुपमा समयसीमासहितको स्वास्थ्य नीतिमा व्यावहारिक सुधार लागू गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
स्वास्थ्य सेवालाई पूर्णरूपमा नागरिक केन्द्रित, निःशुल्क र गुणस्तरीय सेवा बनाउने जसपा नेपालले वाचा गरेको छ ।
हरेक प्रदेशमा कम्तिमा एउटा अत्याधुनिक वहुविशिष्टिकृत सेवाप्रदायक अस्पताल बनाउने महत्वकांक्षी योजना जसपा नेपालले प्रतिबद्धता जनाएको छ ।
‘हरेक स्थानीय तहमा एउटा सुविधासम्पन्न अस्पताल स्थापना गरिनेछ । स्वास्थ्य बीमा कार्यक्रमलाई सहज र आम नागरिकको पहुँचमा ल्याईनेछ,’ स्वास्थ्य क्षेत्रमा गरिएको प्रतिबद्धतामा भनिएको छ ।
शिक्षा क्षेत्रमा व्यापारीकरण भएको निष्कर्षमा रहेको जसपा नेपालले नागरिकको मौलिक अधिकारका रूपमा स्थापित गर्ने उल्लेख गर्दै शिशु कक्षादेखि उच्च शिक्षासम्म एकरूपता ल्याउने प्रतिबद्धता गरेको छ ।
प्रविधिमैत्री, निःशुल्क, सीपमूलक र गुणस्तरीय सार्वजनिक शिक्षा प्रणाली विकास गर्ने प्रतिबद्धता गरिएको छ ।
शिक्षामा धनी र गरिबबीचमा हुने विभेद हटाउने वाचा गरिएको छ ।
‘शिक्षाको पूर्ण सार्वजनिकीकरण गर्दै स्कूल, कलेज र विश्वविद्यालयहरू सार्वजनिक प्रणालीअन्तर्गत सञ्चालन गरिनेछन्,’ शिक्षा क्षेत्रमा जसपाले गर्ने वाचामा भनिएको छ,‘प्रत्येक प्रदेशमा कृत्रिम बौद्धिकता आधारित आधुनिक प्रविधियुक्त अध्ययन तथा अनुसन्धान केन्द्रको स्थापना गरिनेछ ।’
नागरिकलाई कानुनी सेवा नि:शुल्क प्रत्याभूति गरिने प्रतिबद्धता जसपा नेपालले गरेको छ । कानुनी सेवालाई राज्यको प्रत्यक्ष दायित्वका रूपमा स्थापित गर्दै निःशुल्क, छिटोछरितो र पहुँचयोग्य न्याय प्रणाली निर्माण गर्न दृढ प्रतिबद्धता व्यक्त गर्दछ,’ घोषणापत्रमा भनिएको छ ।
संघीय संरचना अनुरूप न्यायालयको पुनर्संरचना तथा न्याय प्रणालीमा सुधार गर्ने प्रतिबद्धता जाहेर गरिएको छ । । प्रहरी ऐन संशोधन गरी व्यावसायिक जनमैत्री, उत्तरदायी र अधिकार सम्पन्न सुरक्षा व्यवस्था स्थापित गर्ने जसपा नेपालले जनाएको छ । ‘संघीय निजामती ऐन ६ महिनाभित्र पारित गराउन प्रयास गरिनेछ। संघ, प्रदेश र स्थानीय तहबीच स्रोत र अधिकार बाँडफाँटको न्यायोचित कानुनी व्यवस्था गरिनेछ,’ घोषणापत्रमा लेखिएको छ ।
वित्तीय क्षेत्रमा शतप्रतिशत नगदरहित अर्थतन्त्रको पक्षमा जसपा नेपाल उभिएको छ । नगदरहित कारोबारले आर्थिक पारदर्शिता हुनुको साथै भ्रष्टचार घट्न सघाउने जसपा नेपालले जनाएको छ ।
बैंकिङ क्षेत्रलाई अत्यधिक नाफा कमाउने संस्थाको रुपमा जसपा नेपालले उल्लेख गरेको छ । बैंकिङ क्षेत्रलाई नाफा कमाउने बाट रूपान्तरण गरी सेवा केन्द्रित बनाउने प्रतिबद्धता जसपा नेपालले गरेको छ ।
सहकारी पीडितको रकम फिर्ता गर्ने महत्वकांक्षी अर्को वाचा पनि जसपा नेपालले गरेको छ ।
भ्रष्टाचार नियन्त्रणका लागि अख्तियार दुरुपयोग आयोगको विकल्पमा अर्को व्यवस्थामा जसपा नेपाल देखिएको छ । जनलोकपालको व्यवस्था हुनुपर्ने जसपा नेपालले जनाएको छ । भ्रष्टाचार नियन्त्रणलाई अझ प्रभावकारी बनाउन जनलोकपालको व्यवस्था गर्ने उल्लेख गर्दै प्रतिबद्धतापत्रमा भनिएको छ,‘२०४८ सालदेखि हालसम्म भएका निर्वाचित जनप्रतिनिधिहरू, प्रधानमन्त्रीलगायत मन्त्रीहरू, उच्च पदस्थ कर्मचारीहरू, सुरक्षा निकायका उच्च पदस्थ पदाधिकारीहरू र संवैधानिक आयोगहरूमा भएका पदाधिकारीहरूको सम्पत्ति छानबिन गरिनेछ ।’
वैदेशिक रोजगारीमा जानेहरुको लागत रोजगरादाताले बेहोर्ने गरी आफ्नो दलले कार्य गर्ने जसपा नेपालले घोषणापत्रमा लेखेको छ । वैदेशिक रोजगारमा जाने श्रमिकहरूको लागि ‘फ्रि भिसा’ र ‘फ्रि टिकट’को नीति लागु गरिने जनाइएको छ।
जसपा नेपालको घोषणापत्र जलवायु परिवर्तनका सन्दर्भमा पनि बोलेको छ । हरित विकासलाई राष्ट्रिय प्राथमिकता बनाउने उल्लेख गर्दै जलवायु अनुकूल कृषि प्रवर्द्धन गर्ने प्रतिबद्धता गरिएको छ ।
चुरे संरक्षण हुन नसक्दा मधेस मरुभूमी बन्ने खतरा रहेको भन्दै घोषणापत्रमा चिन्ता व्यक्त गरिएको छ ।
वातावरणीय सन्तुलन कायम राख्न वन संरक्षण, नदी नियन्त्रण, भूसंरक्षण र स्थानीय जीविकोपार्जन सुधार कार्यक्रमलाई एकीकृत रूपमा अघि बढाउने दीर्घकालीन रणनीति अवलम्बन गर्ने प्रतिबद्धता व्यक्त जसपा नेपालले गरेको छ ।
जलस्रोत, खानेपानीका मुहान, वन संरक्षण र सम्बर्धनका अभियान सञ्चालन गर्ने जसपा नेपालले घोषणापत्रमा लेखेको छ ।
अघिल्लो सरकारले ल्याएको भूमि विधेयकप्रति रुष्ट बनेको जसपा नेपालले घोषणापत्रमा पनि उल्लेख गरेको छ ।
‘अव्यावहारिक भूमि विधेयक खारेज गरी नयाँ वैज्ञानिक भूउपयोग कानुन तर्जुमा गरिनेछ,’ प्रतिबद्धता पत्रमा भनिएको छ । कृषि क्षेत्रमा रोजगारी सिर्जना गर्ने अति महत्वकांक्षी प्रतिबद्धता समेत जसपा नेपालले गरेको छ ।
‘भर्टिकल फार्मिङ’ ले ५ वर्षमा पचास लाख रोजगारी सिर्जना हुने दाबी गरिएको छ । तर, त्यसबाट आगामी ५ वर्षभित्र पचास लाख रोजगारी सिर्जना गर्न सकिने विधिबारे केही उल्लेख गरिएको छैन ।
गरिबीको रेखामुनी रहेका जनसङ्ख्यालाई आगामी ५ वर्षभित्र १० प्रतिशतमा झार्ने अर्को प्रतिबद्धता गरिएको छ । मूलुकको साक्षरता दरलाई आगामी ५ वर्षभित्र ९० प्रतिशत पुर्याउने दाबी सहितको घोषणापत्र सार्वजनिक गरिएको छ ।
पूर्वाधारको क्षेत्रमा हुलाकी राजमार्ग परियोजना आगामी ५ वर्षभित्र सम्पन्न गर्ने प्रतिबद्धता गरिएको छ ।
पूर्व-पश्चिम रेलमार्ग निर्माणलाई उच्च प्राथमिकतामा राखेको जसपा नेपालले मधेशका जिल्लाहरूमा उत्तर-दक्षिण सडक सञ्जालसहित आर्थिक करिडोर विकास गर्ने जनतासामु बताएको छ । काठमाडौं-निजगढ द्रुतमार्गलाई आगामी २ वर्षभित्र संचालनमा ल्याउने दाबी गरिएको छ ।
प्रादेशिक औद्योगिक क्लस्टर विकास गर्ने र रूग्ण एवं बन्द रहेका सार्वजनिक उद्योगहरू सञ्चालन गर्ने प्रतिबद्धता गरिएको छ । सामाजिक सुरक्षा प्रणालीलाई जीवनचक्रमा आधारित बनाउने जसपा नेपालको वाचा छ ।
खेलकुदका क्षेत्रमा जसपा नेपालले सातवटै प्रदेशहरूमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट तथा फुटवल रंगशाला आगामी पाँच वर्षभित्र निर्माण गराउने प्रतिबद्धता गरेको छ ।
