जलवायु र विश्व शान्तिमा संयुक्त राष्ट्रसंघ


जलवायु परिवर्तनको समस्या समाधान र शान्ति कायम गर्ने विषय अहिले विश्वमा देखिएका दुई प्रमुख चुनौती हुन्। जलवायु परिवर्तनको समस्या समाधानका उपायको खोजीमा २०२५ नोभेम्बर १० देखि २१सम्म विश्वका १९० देशका राजनीतिक नेता, जलवायु वैज्ञानिक, वातावरण विज्ञ, अभियन्ता, नागरिक समाजका व्यक्तित्व, सञ्चारकर्मीलगायत जलवायु परिवर्तन सम्बन्धी ३० औंसम्मेलनका लागिब्राजिलमा भेला भएर ठोस रणनीति तर्जुमा गर्ने जमर्को गर्नेछन्। यसका लागि विश्वका विभिन्न देशबाट करिब ४०–४५ हजार मानिस ब्राजिलतर्फ प्रस्थान गर्नेछन्। सन् २०२३ मा दुबईमा भएको कोपको २८ औं सम्मेलनमा ८६ हजार मानिस भेला भएका थिए भने गतवर्ष सन् २०२४ मा अजरबैजानमा भएको २९ औं सम्मेलनमा ४०–५० हजार मानिस भेला भएका थिए।

जलवायु परिवर्तन सिद्धान्त र व्यवहारमा बेमेल

जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानलले जलवायु परिवर्तन हुनुका तीन मुख्य कारणमध्ये उद्योगबाट उत्सर्जित प्रदूषित ग्यास र जीवाश्म इन्धनको प्रयोगका कारण७० प्रतिशत, वन विनाश र वनको क्षयीकरणका कारण २० प्रतिशत र हवाई उड्डयनका कारण पाँच प्रतिशत भाग ओगट्छन् भन्ने तथ्याङ्क छ।

उदाहरणका लागि एक जना सहभागी नेपालबाट ब्राजिल पुगेर नेपाल फर्कंदा करिब तीनदेखि ६ टन कार्बन उत्सर्जन गर्दोरहेछ। यस आधारमा जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा सहभागी संख्या अत्यन्तै ठुलो हुँदा यस वर्ष ४० हजार सहभागी ब्राजिल पुगेर फर्कंदा उत्सर्जन हुने कार्बन करिब एक लाख २० हजारदेखि दुई लाख ४० हजार टन हुन्छ।

सहभागी संख्या घटाएर प्रत्येक देशबाट ५०जनाका दरले नौ हजार पाँच सय र आयोजक टोली पाँच सयसमेत १० हजार सहभागीबाट उत्सर्जन हुने कार्बन ३० हजारदेखि ६० हजार टन मात्रै हुँदोरहेछ। यसो गर्दा ९० हजारदेखि एक लाख ८० हजार टन कार्बन उत्सर्जन घट्छ। प्रत्यक्ष सहभागी हुन छुटेका विज्ञ, अभियन्ता, राजनीतिज्ञ, सञ्चारकर्मी आदिलाई प्रविधिको प्रयोग गरेर वातावरणमैत्री सहभागिताको व्यवस्था गर्न सकिन्छ।

जलवायु परिवर्तनको दोस्रो मुख्य कारण वन विनाश र वनको क्षयीकरण हो। विश्वमा वन विनाश हुनुमा मुख्य कारणमध्ये अत्यधिक मांसाहार, मद्यपान, चुरोट, बिँडी, चिया, कफी मुख्य हुन्। मासु, जाँड–रक्सी, वाइन उत्पादनका कारण हुने वन विनाश भयानक छ। विश्वको करिब पाँच अर्ब हेक्टर (३८ प्रतिशत) जमिन कृषि क्षेत्रमा पर्छ। एक हेक्टर जमिनमा औसत ३५ सय केजी अन्न उत्पादन हुन्छ। वन, वन्यजन्तु, वातावरण संरक्षणकर्मी र जलवायु परिवर्तनको चिन्ता गर्नेहरूले ख्याल गर्नुपर्ने विषय के हो भने ८–१० किलो अन्न, गेडागुडी, फलफूल, सागपात पशुलाई खुवाएपछि एक किलो मासु उत्पादन हुन्छ। विश्वमा वार्षिक तीन खर्ब ५० करोड किलो मासु खपत हुन्छ।

विश्वमा आपूर्ति भएको मासु उत्पादन गर्न २८ खर्बकिलो अन्न र त्यति अन्न उत्पादन गर्न एक अर्ब हेक्टर जमिनमा अन्न उत्पादन गरिएको छ। मासु उत्पादनका लागि आवश्यक २८ खर्बकिलो अन्नले १९ अर्ब १७ करोड मानिसलाई वर्षभरि दुई छाक पेटभरि खान पुग्छ। यसको अर्थ जति अन्न उत्पादन हुन्छ, विश्वका सबै आठ अर्ब मानिसले वर्षभरि खाएर पनि अन्नको बचत हुन्छ तर तेस्रो विश्व भयानक भोकमरीबाट आक्रान्त छ।

१० केजी अन्नले ४० जनालाई एक छाक पेटभरि खान पुग्छ। अमेरिका र अस्ट्रेलियाका एक व्यक्तिले वार्षिक औसतमा १०० केजी मासु खाने गर्छन्। उनीहरूले मासुका लागि मात्रै एक हजार केजी अन्न एउटैले खाइदिने रहेछन्। एक हजार केजी अन्न पकायो भने चार हजार जनालाई एक छाक पेटभरि खान पुग्छ।

भरपेट खाना नपाएर मृत्यु हुने र कुपोषणले ग्रस्त बालबालिकाको भिडियो र तस्बिर हेरेर गोहीका आँसु झार्ने पश्चिमाहरू नै तेस्रो विश्वमा यो अवस्था सिर्जना गर्ने मुख्य दोषी हुन्। यसका आधारमा पृथ्वीको जलवायु परिवर्तनमा वन विनाश रोक्नका लागि अमेरिकी र अस्ट्रेलियन जो आफूलाई सबैभन्दा सभ्य ठान्नेहरूको खराब आचरणमा सुधार गर्नुपर्ने रहेछ। हामी उनीहरूको आचरण सुधारका लागि आग्रह गर्न सक्छौं तर हामीले पनि आफ्नो आचरण पहिले सुधार गर्नुपर्छ।

 ब्राजिलमा हुन गइरहेको जलवायु परिवर्तन सम्मेलनमा सहभागी हुने ४० हजार सहभागीले औसतमा दुई केजीका दरले खाँदा पनि ८० हजार केजी मासु उत्पादन गर्न ६ लाख ४० केजी अन्न आवश्यक पर्छ। त्यसका लागि १८२ हेक्टर वन क्षेत्रलाई कृषि भूमिमा परिणत गर्नुपर्छ।

घर र जिउधन रक्षाका लागि द्वारमा बस्ने कुकुरका कारण होइन, सौख र मनोरञ्जनका लागि घरभित्र पालिने कुकुर, बिराला, चराका कारण पनि जलवायु परिवर्तनमा ठुलो नकारात्मक भूमिका खेलेको छ।

विश्वमा अहिले करिब एक अर्बको संख्यामा घरपालुवा कुकुर, बिराला र चरा रहेकोमा एउटा कुकुरलाई महिनामा एक किलो मासुका हिसाबले पनि एक महिनामा एक अर्ब किलो मासु खपत हुन्छ। त्यसका लागि मासिक आठ अर्ब केजी अन्न प्रयोग भएको छ। रौं, मल, मूत्रका कारण वायु र जल प्रदूषणमा यसको ठुलो नकारात्मक भूमिका छ।

त्यसैगरी कृषि उत्पादनका लागि सिँचाइर पशुपालन गर्दा उत्सर्जन हुने फोहोर व्यवस्थापनका लागि पनि पानीको अत्यधिक प्रयोगले गर्दा भूमिगत जलभण्डारको सतह तल झर्दै गएको छ। अमेजन जंगलमा लागेको डढेलो, नाइजेरियालगायतदेशमा पटकपटक हुने कृषक र वस्तुपालकबिचको द्वन्द्व मानिसको अत्यधिक मासु खाने खराब आचरणका कारण उत्पन्न भएका कहालीलाग्दा घटना हुन्।

विश्वमा हाल अंगुर उत्पादनका लागि ७३ लाख हेक्टर जमिन प्रयोग गरिएको छ। ७० प्रतिशत अंगुर वाइन बनाउनका लागि प्रयोग हुन्छ। वाइनका लागि आवश्यक अंगुर उत्पादन गर्न मात्र ५१ लाख १० हजार हेक्टर जंगल कृषि भूमिमा परिणत गरियो।

विश्वमा बियर उत्पादन गर्न वार्षिक ३.६९ अर्ब केजी गहुँ, जौ, उवा प्रयोग हुन्छ र त्यसका लागि १० लाख कृषि भूमिमा अन्न उत्पादन आवश्यक रह्यो। ह्विस्की, रमको पनि त्यही हालत हो। सुर्ती उत्पादनका लागि ३२–४० लाख हेक्टर, कफीका लागि एक करोड नौ लाख हेक्टर र चियाका लागि ५० लाख हेक्टर जमिन प्रयोग हुँदै आएको छ।

वातावरण र जलवायु परिवर्तनसम्बन्धी विज्ञ, अभियन्ता बन्ने सर्तहरूमध्ये जलवायु परिवर्तन र वातावरण विनाश गर्ने कारक तत्त्व जाँड, रक्सी, माछा, मासु, अन्डा, सुर्ती, चुरोट, चिया, कफीसमेत खान छोड्नुपर्छ। सचेतना जागृत गर्ने सञ्चारकर्मीले पनि यो कुराको पालन गर्नुपर्छ। वैज्ञानिक, अभियन्ता, नेता, सञ्चारकर्मीलाई जलवायु परिवर्तनको चिन्ता छ भने कम्तीमा जलवायु परिवर्तन सम्बन्धी सभा सम्मेलनमा भाग लिँदा शाकाहारी भोजन ग्रहण गर्नुपर्छ। यस्तो नगर्ने हो भने जलवायु परिवर्तनसम्बन्धी वार्ता, छलफल गर्नु फगत क्षणिक आत्मतुष्टि मात्रै हुनेछ। आफू जलवायु परिवर्तनलाई उत्प्रेति हुने क्रियाकलापमा सक्रिय सहभागी हुनेले जलवायु परिवर्तनको कुरा गर्नु मासु व्यापारीले अहिंसाको प्रवचन दिएजस्तै हो।

संयुक्त राष्ट्रसंघ यसको मूल नाइके हो भने यस अन्तर्गतका निकायहरू सहायक र जलवायु विज्ञ तथा अभियन्ता यसका पाटपुर्जा हुन्। हुन त मैले पनि जीवाश्मा इन्धन प्रयोग हुने सवारीसाधन प्रयोग गरेर जलवायु परिवर्तनलाई प्रेरित गरिरहेको छु।

पृथ्वीमा सन् १९५७ देखि प्रदूषित ग्यास मापन भएकोमा सबैभन्दा बढी कार्बन डाइअक्साइड सन् २०२४ मा रेकर्ड गरियो। सन् १०६० को दशकमा ०.८ पाट्र्स पर मिलियन (पिपिएम) रहेकोमा सन् २०११–२०२० मा २.४ पिपिएम र २०२३–२०२४ मा ३.५ पिपिएम भएको थियो। नाइट्रस अक्साइडका साथै मिथेन ग्यास औद्योगिक युगपूर्वको तुलनामा १६६ प्रतिशतले वृद्धि भएको संयुक्त राष्ट्रसंघको निकायले प्रकाशन गरेको बुलेटिनमा उल्लेख छ।

विश्वमा राजनीतिक अस्थिरताका कारण हुने आन्दोलनमा आगलागी, प्राकृतिक स्रोतमाथि कब्जा जमाउनका लागि हुने युद्ध, कृषि भूमि र पशुपालनका लागि वन डढेलो आदिका कारण प्रदूषित ग्यास वृद्धि भएर पृथ्वी तात्दै गएको छ। जलवायु परिवर्तनको संकटलाई रोक्न पहिले संयुक्त राष्ट्रसंघ, विकसित देश, राजनीतिक नेतृत्व, विकासवादीहरू सच्चिनुपर्छ, उदाहरण बनेर देखाउनुपर्छ।

श्रीमद्भगवद्गीता ३.२१ माश्रीकृष्ण भन्नुहुन्छ– यद्यदाचरति श्रेष्ठस्तत्तदेवेतरो जनः। स यत्प्रमाणं कुरुते लोकस्तदनुवर्तते। अर्थात् समाजमा ठुला मानिसले जे जस्तो आचरण गर्छन्, सामान्य मानिसले त्यसैको अनुसरण गर्छन्। ठुला मानिसले अनुकरणीय कार्य गरेर जस्तो आदर्श स्थापित गर्छन्, सारा संसारले तिनै कुराको अनुसरण गर्छन्।

भविष्यमा एकातिर पशुका लागि अन्न उत्पादन गर्न र अर्कातिर बढ्दो जनसंख्याका लागि बास र गासका लागि थप जमिनको आवश्यकता पर्दा अत्यधिक वन विनाश हुनेछ। जनसंख्या र क्रयशक्तिको वृद्धिसँगै माछा, मासु, अन्डा, जाँडरक्सी, सुर्ती, चुरोट, चिया, कफीको माग पनि बढ्दै जानेछ। त्यसका लागि आवश्यक अन्न उत्पादनका लागि थप वन क्षेत्र कृषि क्षेत्रमा परिणत गर्नुपर्ने हुन्छ। यसले झन् जलवायु परिवर्तनमा असर पर्नेछ।

वन विनाशका कारण जमिनमा वनस्पतिले कार्बन डाइअक्साइड सोस्ने एवं विच्छेद गर्ने क्षमतामा ह्रास आएर जलवायु चक्रमा भयङ्कर र डरलाग्दो अवस्था सिर्जना हुनेछ। रुखले चर्को सूर्यको धूप सहेर प्राणी र मानिसलाई छहारी दिन्छ। आफ्नो फल आफूले कहिल्यै खाँदैन, मानिस र प्राणीका लागि प्रदान गर्छ। भूक्षय हुनबाट जोगाउँछ। जल सञ्चित गरेर खानेपानी र सिँचाइका लागि जल आपूर्ति गर्छ तर वन, जङ्गल, रुखप्रति नै मानिस किन यति धेरै नृशंस?

बाघ, चितुवाका लागि मासु बाहेक अन्य विकल्प छैन तर मानिस बाँच्नका लागि थुप्रै विकल्प मौजुद छन्। जस्तै आठ केजी अन्न, गेडागुडीबाट एक केजी मासु र एक लिटर दुध बन्छ। आठ लिटर दुधबाट एक लिटर घिउ बन्छ। त्यसैले मासुमा भन्दा आठ गुणा बढी शक्ति घिउमा पाइन्छ। यो कुरा चाणक्यले पनि आफ्नो नीति पद्यमा उल्लेख गरेका छन्। तसर्थ, मानिसको शारीरिक र मानसिक विकासका लागि आवश्यक पोषक तत्त्व प्राप्त गर्न माछा, मासु, अन्डाको सट्टा घिउ, दुध, दही, अन्न, गेडागुडी, फलफूल, सागपात, कन्दमूल सेवन गर्न सकिन्छ।

अबको मार्ग वा कार्यदिशा

अबको राजनीतिको सैद्धान्तिक र वैचारिक दृष्टिकोण मानव–प्रकृति संरक्षणमुखी हुनुपर्छ। मानव अस्तित्वको रक्षाका लागि अबको क्रान्ति प्रकृति संरक्षणको हो। सम्पूर्ण मानव जाति एकजुट भएर अबको लडाइँ प्रकृति विनाशविरुद्ध लड्नुपर्छ। पर्यावरणीय हिसाबले मानव समाजलाई जोगाउनप्रकृति संरक्षकले नै शासनको नेतृत्व गर्नुपर्छ। भौतिकवादको सिद्धान्त नै प्रकृतिको अत्यधिक दोहन र विनाश गर्नुहो। तसर्थ, विश्वमा शान्ति कायम गर्न र जलवायु परिवर्तनको जोखिमबाट बच्न प्रकृति संरक्षणवादको सिद्धान्त नै मुख्य मार्गदर्शक सिद्धान्त हुनुपर्छ।

ब्राजिलमा हुन गइरहेको ३० औं जलवायु परिवर्तनसम्बन्धी सम्मेलनले संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरूबिच विश्वमा माछा, मासु, अन्डा, जाँड, रक्सी, चुरोट, सुर्ती सेवन गर्ने प्रवृत्तिलाई घटाएर ५० प्रतिशतभन्दा कम गर्ने सम्झौता गर्नुपर्छ।

– लेखक चितवन राष्ट्रिय निकुञ्जका पूर्वचिफ वार्डेन हुन्।  

प्रकाशित: १० कार्तिक २०८२ ०९:०२ सोमबार





Source link

Leave a Comment