जर्जियामा सहर नजिक आप्रवासन हिरासत केन्द्र बनाउने प्रस्तावमा स्थानीयको  अवरोध, ट्रम्प समर्थक पनि विरोधमा



प्रकाशित मिति : २१ चैत्र २०८२, शनिबार

जर्जियामा सहर नजिक आप्रवासन हिरासत केन्द्र बनाउने प्रस्तावमा स्थानीयको  अवरोध, ट्रम्प समर्थक पनि विरोधमा

अमेरिकाको जर्जिया राज्यमा आप्रवासन हिरासत केन्द्र बनाउने तयारी गरिएपछि स्थानीयले कडा विरोध गरेका छन्। जर्जियाको सानो सहर ‘सोसियल सर्कल’मा यस्तो केन्द्र बनाउने प्रस्ताव आएपछि बासिन्दाहरूले यस योजनाको चर्को विरोध गरेका हुन्।

फरक राजनीतिक विचार भएका दुई छिमेकी गेरेथ फेनली र जोन मिलर पछिल्ला केही महिनादेखि एउटै उद्देश्यका लागि जुटिरहेका छन्। उनीहरू हरेक बिहान सहरभन्दा केही टाढा रहेको एउटा ठूलो खाली गोदाममा पुगेर निर्माण कार्य सुरु भयो कि भएन भनेर नियाल्ने गर्छन्। गोदाम जस्ताको तस्तै देख्दा उनीहरूलाई केही राहत महसुस हुने गरेको छ।

करिब १० लाख वर्गफुट क्षेत्रफल भएको उक्त गोदाम अमेरिकी ‘डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी’ (डिएचएस  ले केही समयअघि खरिद गरेको हो। यो अमेरिकाभरि धेरै आप्रवासन हिरासत केन्द्रहरू खोल्ने वृहत् योजनाको एक हिस्सा हो। तर, यो योजना त्यहाँका बासिन्दाहरूलाई भने स्वीकार्य छैन। अचम्मको कुरा त, डोनाल्ड ट्रम्पका समर्थकहरू समेत यसको विरोधमा उत्रिएका छन्।

स्थानीयका अनुसार हिरासत केन्द्र बनेमा सहरको जनसङ्ख्या एक्कासि बढ्नेछ, जसले पानी र ढल जस्ता आधारभूत सेवाहरूमा ठूलो दबाब सिर्जना गर्नेछ। सानो र शान्त सहर “जेल सहर” मा परिणत हुने डर उनीहरूमा देखिन्छ।

यसै कारण सहरका प्रशासकीय प्रमुख एरिक टेलरले उक्त गोदाममा पानी आपूर्ति बन्द गरिदिएका छन्। उनले परियोजनाको प्रभावबारे स्पष्ट जानकारी नभई यस्तो ठूलो कामलाई अनुमति दिन नसकिने बताएका छन्।

करिब १० हजार मानिस राख्ने क्षमताको भनिएको यो केन्द्रको निर्माण कार्य अहिलेका लागि रोकिएको छ। सम्बन्धित निकायले पनि केही समयका लागि योजनाको समीक्षा भइरहेको जनाएको छ। स्थानीयहरू भन्छन् “हाम्रो सहरको जनसङ्ख्या करिब ५ हजार मात्र छ, तर उक्त केन्द्रलाई मात्र दैनिक १० लाख ग्यालन पानी चाहिन्छ, जुन आपूर्ति गर्न सम्भव छैन।”

अमेरिकाका अन्य क्षेत्रमा पनि यस्ता परियोजनाविरुद्ध आवाज उठिरहेको छ। केही बासिन्दाका लागि यो स्रोतको अभाव मात्र नभई मानव अधिकारको विषय पनि बनेको छ। हिरासत केन्द्रहरूमा हुने व्यवहारबारे सार्वजनिक रिपोर्टहरूले उनीहरूलाई चिन्तित तुल्याएको छ।

प्रस्तावित केन्द्र विद्यालय नजिकै भएकाले अभिभावकहरू आफ्ना बालबालिकाको सुरक्षालाई लिएर चिन्तित छन्। कतिपयले आप्रवासन नियन्त्रण आवश्यक भए तापनि आफ्नै सहरमा यस्तो केन्द्र राख्न नहुने तर्क गरेका छन्।





Source link

Leave a Comment