प्रकाशित मिति : पुस १, २०८१ सोमबार
जर्जियामा ११ जना भारतीय नागरिक मृत अबस्थामा फेला परेका छन । मृत्यु भएको घटनाबारे राजधानी तिब्लिसीस्थित भारतीय दूतावासले आफ्नो सञ्जाल एक्स मार्फत जानकारी दिएको छ ।
जर्जियाको गुदौरीमा ११ जना भारतीय नागरिकको मृत्यु भएको दुतावासले जानकारी दिएको हो ।
दूतावास स्थानीय अधिकारीहरूसँग सम्पर्कमा रहेको र मृतकहरूसम्बन्धी थप जानकारी संकलन भइरहेको छ । आवश्यक सबै सहयोग प्रदान गरिने दुतावासले बताएको छ ।
जर्जियाको एक स्की रिसोर्टमा कार्बन मोनोअक्साइडका कारण १२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
अधिकारकर्मीका अनुसार गुदौरीको एक रेस्टुरेन्टको सुत्ने ठाउँमा ११ विदेशी नागरिक र एक जना जर्जियाली नागरिकको शव फेला परेको हो । गुदौरी पूर्व सोभियत राष्ट्रको सबैभन्दा अग्लो र ठूलो स्की रिसोर्ट हो ।
प्रहरीले प्रारम्भिक अनुसन्धानमा शवहरूमा कुनै हत्याका संकेत नभेटिएका बताएको छ । यो दुर्घटना जस्तो देखिन्छ प्रहरीले भनेको छ ।
शुक्रबार विद्युत आपूर्ति बन्द भएपछि तेलबाट चल्ने जेनेरेटर प्रयोगमा ल्याइएको थियो । अर्कोदिन एक भारतीय रेस्टुरेन्टको भवनको दोस्रो तलामा शवहरू फेला पारिएको थियो ।
