प्रकाशित मिति : पुस १८, २०८२ शनिबार

तस्वीर स्रोत : एफबीआई
सन् २०२१ जनवरी ६ मा अमेरिकी क्यापिटलमा भएको आक्रमणको अघिल्लो रात वासिङ्टन डी.सी.मा पाइप बम राखेको आरोप लागेका व्यक्तिलाई संघीय अदालतले थुनामै राख्न आदेश दिएको छ।
अमेरिकी जिल्ला अदालतका न्यायाधीश म्याथ्यु शारबफले शुक्रबार ३० वर्षीय ब्रायन कोललाई धरौटीबिनै थुनामा राख्न आदेश दिएका हुन्। कोलमाथि डेमोक्रेटिक नेशनल कमिटी र रिपब्लिकन नेशनल कमिटीको मुख्यालय नजिक पाइप बम राख्ने प्रयाससँग सम्बन्धित दुईवटा आपराधिक अभियोग लगाइएको छ। उनले अहिलेसम्म ती अभियोगबारे दोष स्वीकार वा अस्वीकार गरेका छैनन्।
न्यायाधीश शारबफले वासिङ्टनको स्थानीय ग्रान्ड जुरीबाट दायर गरिएको अभियोगपत्रलाई पनि स्वीकार गरेका छन्। बचाउ पक्षले संघीय मुद्दाका लागि स्थानीय ग्रान्ड जुरी प्रयोग गरिएकोमा आपत्ति जनाए पनि अभियोजकहरूले छिट्टै संघीय ग्रान्ड जुरीबाट पनि अभियोग अनुमोदन गराइने बताएपछि अदालतले अभियोगपत्र मान्य गरेको हो।
अदालतको फैसलामा न्यायाधीश शारबफले कोलविरुद्ध सरकारसँग बलियो प्रमाण रहेको उल्लेख गरेका छन्। पाइप बम विस्फोट नभए पनि ती उपकरणहरूले कंग्रेसमा निर्वाचन प्रमाणीकरण हुने महत्वपूर्ण प्रक्रियाअघि डर र त्रासको वातावरण सिर्जना गरेको अदालतको ठहर छ।
“यदि योजना सफल भएको भए, उच्च सुरक्षा रहेको कंग्रेसको कार्यवाहीको अघिल्लो दिन गम्भीर आतंक फैलिन सक्थ्यो, ठूलो सम्पत्ति क्षति हुन सक्थ्यो र निर्दोष व्यक्तिहरू गम्भीर रूपमा घाइते हुन सक्थे,” फैसलामा उल्लेख गरिएको छ।
डिसेम्बर ३० मा भएको सुनुवाइमा कोलका वकिलले उनको कुनै आपराधिक इतिहास नभएको र परिवारको समर्थन रहेको दाबी गर्दै कडा सर्तसहित रिहा गर्न माग गरेका थिए। बचाउ पक्षले पाइप बम विस्फोट गर्न नसक्ने दाबी गरे पनि एफबीआईले ती उपकरणहरू विस्फोट गर्न सक्षम रहेको निष्कर्ष निकालेको छ।
संघीय अभियोजकहरूका अनुसार, कोलले अनुसन्धानका क्रममा पाइप बम आफूले नै राखेको स्वीकार गरेका छन्। उनले सन् २०२० को अमेरिकी राष्ट्रपति निर्वाचन ‘छेडछाड गरिएको’ ठानेको बयान दिएको पनि अभियोजन पक्षको दाबी छ। उक्त निर्वाचनमा पराजित भएका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले पनि निर्वाचनमा धाँधली भएको निराधार दाबी गर्दै आएका थिए।
अभियोगपत्रअनुसार, कोलले आफूलाई कुनै पनि राजनीतिक दल मन नपर्ने बताएका छन्। ती पाइप बमहरू जनवरी ६ का दिन दिउँसो करिब १ बजे मात्र फेला परेका थिए, जसका कारण ट्रम्प समर्थकहरूको भिड क्यापिटल भवनतर्फ बढिरहेका बेला प्रहरी स्रोतहरू अन्यत्र मोडिन पुगेका थिए।