च्यातिएको डायरी-२


‘सर ! हजुरलाई भेट्न एकजना म्याम आउनुभएको छ,’ प्रहरीवृत्त, गौशाला मेरो अफिसमा सहयोगी प्रहरी जवानको आवाजले म झसङ्ग हुन्छु। ‘को रे ?’ म अचम्म मानेर उसलाई सोध्छु। ‘कोटेश्वरदेखि आउनुभएको भन्दै हुनुहुन्छ।’ मैले झट्ट सानीलाई सम्झेँ। ‘ल पठाऊ’ मैले भनेँ।

सँगै ढोकामा साधारण पहिरनमा पातलो शरीर अनि मलिन अनुहार लाएर उभिएकी युवती देखेँ। ‘नमस्कार सर !’ उनले दुई हात जोड्दै मलाई सम्बोधन गरेर भनिन्। ‘नमस्कार, बस्नुस्,’ मैले मअघिको सोफातर्फ इंगित गर्दै भने। उनी सोफामा बसिन्।

काठमाडौंमा गर्मी बढिसकेको थियोे। ‘हजुर भन्नुस्,’ मैले भनेँ। ‘सर म शीतल, कोटेश्वरबाट आएकी हजुरलाई भेट्न !’

‘ओहो ! के कति कामले होला ?’ मैले बिनासम्बोधन प्रश्न गरेँ। ‘सर, म तपाईंको नाममा लेखिएको डायरी लिएर आएकी छु।’

‘कसले लेखेको ? कस्तो डायरी ?’ म छक्क पर्दै प्रश्नमाथि प्रश्न गर्छु। ‘मेरी आमा टिचिङ अस्पतालमा सरसफाइको काम गर्नुहुन्छ। म नर्सिङ पढ्दै छु। घर झापा, हाल कोटेश्वर बस्छौं आमा र म। बुबा झापातिरै बस्नुहुन्छ।’ उनी मलाई नहेरी भन्छिन्। म चुपचाप सुनिरहन्छु।

‘आजभन्दा तीन महिनाअघि मेरी आमाले एक दिन अस्पतालबाट एउटा पुरानो च्यातिएको डायरी बोकेर आउनुभएको थियो। सुरुमा त मलाई झर्को लागेको थियोे तर पछि पढेँ अनि यो डायरीलाई मैले जसरी पनि तपाईंको हातमा पुर्‍याउनुपर्छ भन्ने लाग्यो। त्यसैले यहाँ आइपुगेकी छु सर,’ उनले भनिन्। मेरो मुटुको ढुकढुकी बढ्दै गयो। एउटा चिसो, अप्रत्याशित घटनाको भयले म खङ्ग्रङ्ङ भएँ।

उनले ब्यागबाट हल्का रातो गाता भएको पुरानो डायरी निकालेर हातले सुमसुम्याइन्। एक पटक छातीमा टाँसेर मेरा अगाडि राखिदिइन् अनि दुई हातले अनुहार अगाडि आएको कपाल मिलाइन् र लामो सास फेरिन्। मैले डायरीहरूलाई हातमा लिएँ अनि पाना पल्टाएँ। सानी आज वर्षौंपछि त्यो डायरी बनेर मेरो अगाडि आइपुगेकी थिइन्। धनकुटाबाट सरुवा भएपश्चात् उनीसँग भेट भएको थिएन।

‘सानी !’ उनको डायरी एक पटक सुमसुम्याउँछु। मुटु चिसो हुन्छ। अपराधीका झैं आँखा झुक्छन् मेरा। आँखा तिरमिराउँछन्। अलिकति डर, अलिकति खुसी, अलिकति आश्चर्य र पीडाले चारैतिरबाट समाएको जस्तो लाग्यो।

मैले यसो डायरीहरूलाई हातमा लिएँ। पानाहरू पल्टाउनुअघि हृदयमा उथलपुथल भएजस्तो भयो। एउटा डायरी हातमा लिएर पहिलो पाना पल्टाएँ। उनले पहिलो पानामा लेखेकी रहिछिन्, ‘निराजन !’

आधा मुटु त्यही शब्दमा अड्कियो। दोस्रो पानामा लेखेकी रहिछिन्, ‘आमा, मलाई त्यही गुलाबी रंगको पछ्यौरी ओढाएर पशुपति आर्यघाटमा जलाउनू है, जुन पछ्यौरी ओढेर म सधैं बस्ने गर्थें।’

एक्कासि ढुकढुकी रोकिएजस्तो लाग्यो। ‘बाँचुन्जेल त तिमीलाई फेरि एक पटक पनि अँगाल्न सकिनँ तर म मरेपछि चितामा जलिरहँदा तिमी संसारको जुनै कुनामा भए पनि धुवाँ बनेर अँगाल्न आइपुग्नेछु ! म मरेको खबर त तिमीले पाउँदैनौ होला। यदि खबर पाइहाले पनि तिमी आर्यघाटमा आउँदैनौ होला। मेरो मलामी बन्न तिमीलाई छुट्टी (बिदा) मिल्दैन होला ! म खरानी बनेको हेर्न समय पक्कै हुँदैन होला तिमीसँग ! एक पटक तिमीलाई हेर्न मन थियो, छुन मन थियो।

तिमीमा मेरो भनेर हक जताउन मन थियो किनकि तिमी मात्रै मेरा हौ जस्तो लागिरहन्थ्यो निराजन।’ सानीका शब्द शब्दमा म रित्तै भएको छु जस्तो लाग्यो। थरर हातगोडा काँपे मेरा। डायरीका प्रत्येक शब्दमा सानीका ठुल्ठुला आँखा चम्किए। पातलो गुलाबी ओठ, लामो कपाल र हँसिलो मुहार देखेँ। ‘सानी’ मैले पुनः त्यो पुरानो, च्यातिएको डायरी सुमसुम्याएँ। म अमेरिकाबाट फर्केपछि सानीको कुनै खबर पाएको थिइनँ।

‘सानी अहिले कहाँ छिन् ? अलि बिरामी थिइन्। कस्तो छ? मैले त उनको केही खबर पाउन सकिरहेको थिइनँ। मोबाइल अफ छ। मेसेज कति लेखेँ तर रिप्लाई आएको छैन। फेसबुकमा पनि केही अपडेट छैन,’ म चिसिँदै गएको मुटुमा एउटा आशाको दियो बालेर तातोपन खोज्दै बोलिरहेको थिएँ।

‘यसो भनिरहँदा तपाईंलाई लाज लाग्नुपर्ने सर !’ शीतलले अलि ठुलो स्वरमा भनिन्। केही बोल्न सकिरहेको छैन। ‘मलाई यसरी भन्न त मन थिएन तर सर, भन्न बाध्य छु स्वार्थी मान्छेका स्वार्थी कुरा !’

म सानीका सुन्दर अक्षरहरू सुमसुम्याइरहन्छु।

‘तपाईंको व्यवहारले जनाएको छ तपाईं स्वार्थी भनेर !’

‘म तपाईंको कुरालाई कुन अर्थमा बुझौं त बहिनी?’ मैले शीतललाई बहिनी सम्बोधन गरेर भनेँ। उनी त्यसै बसिरहन्छिन्। मलाई बेचैनी हुन्छ। ‘भन्नुस् त बहिनी, सानी कहाँ छिन्न् ?’

‘उनी अब यो डायरीका पानाहरूमा मात्रै भेटिने छिन्। डायरीमा भएका शब्दमा, पीडामा, सुस्केरामा ! सर, म यी डायरी जिम्मा लगाउन यहाँ आएकी।’

म चिसो भएँ। ‘आमासँग म सानीको सातौं दिनको पुण्यतिथिमा उनको मामाघर गएकी थिएँ। त्यहींबाट यो एउटा डायरी लिएर आएकी हुँ। बेवारिसे अवस्थामा थियोे। अर्को चाहिँ आमाले टिचिङ अस्पतालबाट लिएर आउनुभएको थियो।’ शीतलले सबै घटनाक्रम भनिन्।

आँसु बनेर खसिन् सानी। म निःशब्द भएँ।

‘डायरी पढ्दै जाँदा अन्तिममा तपाईंको नम्बर जस्तो लाग्यो। सयौं पटक फरकफरक अंक अन्दाजमा डायल गर्दै जाँदा अस्ति तपाईंको स्टाफले फोन रिसिभ गरेपछि तपाईंको ठेगाना पाएर आएकी,’ शीतलले पुनः आँखा पुछ्दै भनिन्। मैले डायरीको अन्तिम पानामा हेरेँ। सानीले त्यहाँ मेरो नाम र मोबाइल नम्बर लेखेर फेरि नम्बर केरमेट गरेकी रहिछिन्। मुटु हजार टुक्रा भयो।

डायरीका पाना एक पटक फररर पल्टाउँछु। ‘सानी’ म धेरै बेरसम्म बोल्न सकिनँ, न त शीतल नै बोल्न सकिरहेकी थिइन्।

‘एउटा कुरा सोधूँ सर ?’ शीतलले हाम्रो मौनता चिर्दै भनिन्। ‘सोध्नुस् न,’ मैले भनेँ। हृदय गह्रौं भएको थियो।‘उनको एक पटक पनि याद भएन है तपाईंलाई?’

उनको प्रश्नअगाडि म नाजवाफ भएँ। ‘मृत्युसँग पल पल तपाईंको एक झल्को पाउने आशामा जुधिरहेकी ती सानीक‍ो अलिकति पनि माया लागेन ? कति कठोर मन तपाईंको ?’ शीतलले लामो सास फेर्दै भनिन्। म अपराधीझैं टाउको निहुराएर बसिरहन्छु, सानीको च्यातिएको डायरी हातमा लिएर। खुब रुन मन लाग्छ तर सक्दिनँ।

‘म तपाईंलाई कहिल्यै पनि माफ गर्न सक्दिनँ सर,’ शीतलले भनिन्।

‘समय र परिस्थितिलाई समायोजन गर्न नै सकेनछु तर मैले सानीलाई कहिल्यै धोका दिएको छैन। साथ मात्रै दिन नसकेको बहिनी ! मैले अलि बेवास्ता गरेको नै हो।’ शीतल एकोहोरो हेरिरहेकी थिइन्। मैले तत्काल अरू भन्ने शब्द नै पाइन र थिएन पनि।

मेरो स्टाफले चिसो पानी हाम्राअगाडि राखिदियो। हात कपाउँदै मैले एक घुट्की पानी पिएँ। घाँटीमा केही अड्केजस्तो लागिरह्यो धेरै बेरसम्म।

‘जान्छु पनि सर। आमाले मार्नुहुन्छ समयमा घर पुगिनँ भने।’

म शीतलप्रति कृतज्ञ भएँ। सायद उनी नभएकी भए मेरो हातमा सानीको डायरी हुने थिएन। उनलाई ‘धन्यवाद !’ भनेर कोटेश्वर पुग्ने व्यवस्था मिलाउनबाहेक अरू केही गर्न सकिनँ। अन्तिम पटक मलाई हेर्दै हात जोडेर बिदा भइन् उनी। म आफ्नो कोठामा फर्कें।

_ – –

‘प्रिय निराजन !

पर्खिरहने म अनि बिर्सिएर जाने तिमी। तिम्रो र मेरो प्रेम पनि कस्तो है ? फर्किएर नहेर्ने तिमी अनि पछ्याउँदै हिँडिरहने म। अचम्म लाग्छ। कहिलेकाहीं हाम्रा पुराना दिन सम्झन्छु, खुब माया गर्नेछु भनेर खाएका कसम अनि कहिल्यै नछुट्ने भनेर गरेका बाचाहरू !

तिमीलाई कहिलेकाहीं ती कसमले जिस्काएजस्तो लाग्दैन ? म बेलाबखत रुन्छु। गुनासो लाग्छ तिमीप्रति तर सम्झन्छु रुक्मिणी देखेपछि राधा भुल्ने भगवान् कृष्ण र अरूको कुरा सुनेर सीता त्याग्ने भगवान राम!

भगवान्का त आफ्नै कथा र व्यथा, परिस्थितिहरू थिए भने हामी त मान्छे है ? मन रहेछ, कहिलेकाहीं बेस्सरी दुख्छ। बेस्सरी रुन्छ। निराजन, म थाकिसकें, मेरा दुवै मिर्गौलाले काम गर्न छाडिसके ! बस्, एक पटक तिमीलाई भेट्न, तिमीलाई हेर्न मन थियो। त्यो रहर पनि अधुरै रह्यो।’

सानीको डायरीमा लेखिएका अक्षरमा उनका आँखा नै बोलिरहेजस्तो लाग्यो। उनका प्रत्येक शब्दले मेरो घाँटीमा पासो कसिरहेजस्तो लाग्यो। फेरि अर्को पाना पल्टाउँछु, केही हरफहरू रहेछन् कतै केरमेट गरिएका।

‘निराजन !

तिम्रो सम्झनाले मात्रै पनि मेरो ओठमा मुस्कान छाउँछ र आँखा रसाउँछन्। तिमी साथ छैनौ तर तिम्रो स्पर्श र याद मसँगै छन्।

खुसी छौ। हाँसिरहेको, बोलिरहेको देख्छु समाचारहरूमा। कति खुसी लाग्छ। तिमी बसेको सहर सुरक्षाका दृष्टिले धेरै खतरा, बारम्बार झडप भइरहने। साह्रै पिर लाग्छ। तैपनि तिमी बसेको सहरप्रति हृदयमा प्रेम जागेको छ। निराजन ! दिनमा पटक पटक तिमी बसेको सहरबारे सोधीखोजी गर्न मन लाग्छ।

– – –

मुसुक्क हाँस्दा हिमशृङ्खलाझैं उसका दन्तलहर आँखामा चम्किए। छोटो कपालले निधार त कहाँ छोपिन्थ्यो र ? तर पनि ऊ बेला बेला कपाल माथितिर फर्काउने गथ्र्यो।

संसारकै सुन्दर मुहार अनि चम्किला दुई आँखा! केल्मी ब्रान्डको कालो क्याप टोपी खोलेर मेरो अघि भएको टेबुलमा राखेपछि उसैगरी कपाल मिलायो अनि मुसुक्क हाँस्यो मतिर फर्केर। म अर्को दुनियाँमा रहेछु जस्तो लाग्यो। ऊ हाँस्दा ओठमा राखेको अलि अलि जुँगा र चिउँडाको कोठी खुब खुल्थ्यो।

म विगत केही समयदेखि बिरामी भएर ओछ्यान परेकी छु। उठ्न सक्दिनँ, सुतिरहन्छु। आज ऊ मलाई भेट्न, हेर्न आएको छ। म खुसी छु। कोठामा हिटर बालेकाले वातावरण तातो छ। उसले निलो रङको एडिडास ब्रान्डको ज्याकेट खोलेर ह्यांगरमा राख्यो।

मलाई उसको त्यो ज्याकेट खुब मन पर्छ। धर्के सेतो भेस्टले उसको रेडियो सेट (नेपाल प्रहरीको आन्तरिक सञ्चार सेट) छोपिएको रहेछ। अलिकति हाँस्दै रेडियो सेट कम्मरबाट निकालेर टेबुलमा राख्यो। यसरी ऊ आएको देखेर मेरा गह भरिए। रेडियो सेटको आवाज आइरहेको थियो, म रुन थालेँ। ‘सानी, किन रोएकी? अब त म यहीं तिमी बसेको नजिकै प्रहरी वृत्त, गौशाला सरुवा आएको छु,’ उसले मलाई बेसरी छातीमा टाँसेर निधारमा चुम्दै भन्यो। म झन् रोएँ। म झसङ्ङ भएँँ। सपना पो रहेछ निराजन !’

सानीको डायरीमा तप्प आँसु खसे।

‘निराजन ! म थाकिसकेँ जिन्दगी अनि शारीरिक पीडा र मानसिक पीडाले। बस् एक पटक तिमीलाई भेट्न, तिमीलाई हेर्न मन थियो। त्यो रहर पनि अधुरै रह्यो।’

सानीको डायरीमा लेखिएका अक्षरमा उनको आँखा नै बोलिरहेजस्तो लाग्यो। उनका प्रत्येक शब्दले मेरो घाँटीमा पासो कसिरहेजस्तो लाग्यो। फेरि अर्को पाना पल्टाउँछु। केही हरफ लेखेकी रहिछन् सानीले।

एकै छिन निदाएँ भने पनि तिमीलाई सपनामा देख्ने गर्छु।

‘सानी ! रुनु हुन्न के यसरी, आँखाको गाजल लतपतिन्छ,’ तिमी जिस्क्याउँदै थियौ। म तिम्रो निलो एडिडास ब्रान्डको ज्याकेटले मुख छोपेर रुँदै थिएँ। ‘म तिम्रै त हुँ नि,’ तिमी बारम्बार भनिरहेका थियौ।

समय बित्दै गयो। तिमी बदलिँदै गयौ। म भने तिम्रो प्रेममा झन् गहिरिँदै थिएँ। हामी टाढा थियौं। म चाहेर पनि तिमी भएको ठाउँमा पुग्न सक्दिनथेँ। तिमी त मकहाँ आउन सक्थ्यौ तर तिमीलाई फुर्सद थिएन। तिमी नआए पनि मुटु रेट्ने यादहरू पठाइरहन्थ्यौ।

मलाई रुवाउन तिम्रा यादहरू नै काफी थिए। वचन त तिमीले कहिल्यै लाएनौ तर तिम्रो मौनताले खुबै बिझाउँथ्यो। म तिम्रो बेवास्ताले पल पल मरिरहेकी थिएँ तर पनि तिमीप्रति अथाह प्रेम थियो।

थाहा छ निराजन, कहिलेकाहीं झुक्किएर तिमीले कल गरेको बेला मेरो शब्दभन्दा बढी म रोएको हिक्क हिक्क आवाजले तिमीलाई कस्तो लाग्थ्यो ? एक पटक सोध्न मन थियो।

निराजन, मलाई मृत्युसँग पटक्कै डर छैन तर मेरी आमालाई जब मेरो आँखा छलेर रोइरहनुभएको देख्छु, आफ्नै जन्मप्रति गुनासो लाग्छ। आमालाई रुवाउन म किन जन्मेछु ? जस्तो लाग्छ। मपछि मेरी आमा एक्लै हुनुहुन्छ भन्ने कुराले पनि मन बोझिलो बन्छ। रोइरहनुभएकी आमालाई देखेपछि मलाई बाँच्न मन लाग्छ तर म बाँच्न सक्दिनँ। मनै मरिसक्यो।

मेरो यो दुनियाँमा आमा र तिमीबाहेक कोही थिएन। म आमाको सहारा थिएँ, आशा र भरोसा थिएँ। अब म नै नरहेपछि मेरी आमा कसरी बाँच्नुहोला ? कसरी हाँस्नु होला ? पीर लागिरहेको छ। आमा अनि तिमीमा बाँडिएर खुब बाँच्न मन थियो मलाई।

‘तिमीलाई खुब सम्झन्छु सानी,’ तिमीले यसो भन्दा म साह्रै टुट्थेँ निराजन।’

मेरा आँखा रसाइरहे। यो त अब सम्झना मात्रै रहेछ।

सानीका हस्ताक्षरित डायरी प्रेमले चुम्छु। यसो दराजदेखि पुरानो फोटो एल्बम झिकेर हेर्छु। सानीसँग इलामको चियाबारीमा खिचेको एउटा तस्बिर जस्ताको तस्तै छ। हँसिलो मुहार, लामो कपाल, पातलो शरीर। सामान्य कुर्थामा मेरो छेउमा उभिएकी सानी। छातीमा गह्रौं पहाडले थिचेको भान हुन्छ।

उनी विराटनगरदेखि मलाई भेट्न इलाम आएकी थिइन्। हुन त इलाम उनका लागि नयाँ ठाउँ थिएन। उनी पनि जागिरका सिलसिलामा त्यहाँ बसिसकेकी थिइन्। सानी र मेरो पहिलोपटक भेट भएको जिल्ला प्रहरी कार्यालय, इलाम आज मेरो आँखामा झलझली नाचिरहेको छ। द्वन्द्वपीडित महिला तथा बालबालिकाको संरक्षण तथा सामाजिक पुनस्र्थापना कार्यक्रमको एउटा केसमा हामीले सँगै काम गरेका थियौं। उनी मानव अधिकार आयोगमा कार्यरत थिइन्।

त्यही केसको काममा कति पटक गाउँ गएका थियौं। एउटै बाटो हिँडेका थियौं। बिस्तारै हामी नजिकिएका थियौं। साँझ इलाम चोक बजारमा भेटेर ताम्राकार स्विट कर्नरमा चिया खानु हाम्रो रुटिन नै भएको थियो। भर्खरै त हामी करियरको खुट्किलो चढ्दै थियौं। एकअर्कालाई बुझ्ने, समय दिने भइसकेका थिएनौं। म पनि आफ्नै ड्यटीमा व्यस्त हुन्थेँ भने उनी पनि आफ्नो काममा व्यस्त हुन्थिन्।

उनीप्रति म त्यति धेरै तानिएको थिइनँ तर उनले मेरो धेरै ख्याल राख्थिन्। उनी विराटनगर सरुवा भएर गइसकेपछि मात्रै मेरो जीवनमा उनको खालीपन अनुभव भएको थियो। उनीसँग हिँडेका इलामका गल्लीले मलाई जिस्काएजस्तो लाग्न थालेको थियो। साँझ उनलाई सम्झेर म ताम्राकार स्विट कर्नरमा दुई कप चिया पिउने गर्थें। तर यी कुरा सानीलाई कहिल्यै भनिनँ। उनीबिनाको छटपटी के थियो, प्रेम अथवा आकर्षण ? छुट्याउन सकिरहेको थिइनँ।

काम गरिरहँदा, हिँडिरहँदा वा निदाइरहँदा झुलुक्क झुल्किने सानीले मलाई अँठ्याएकी, जिस्क्याएकीजस्तो लाग्थ्यो। म जति सानीदेखि टाढा भाग्न खोज्थेँ, त्यति नै उनले मलाई लखेटिरहेकी जस्तो लाग्थ्यो। हुन त मैले बिर्सन सकेको थिइनँ। मैले नजर अन्दाज चाहिँ गरेकै हो तर माया मारेको थिइनँ।

जीवन यात्रा जुन रूपमा अगाडि बढे पनि फर्केर टेक्ने सँघार उनकै मन थियो। अहिले सम्झन्छु।

म ढुक्क थिएँ, उनले मलाई जहिले पनि पर्खेर बस्नेछिन् भन्नेमा तर थाहा थिएन, विश्वासको पहाड यसरी ढल्छ भन्ने, धुलो हुन्छ भन्ने।

ड्युटी अनि प्रगति गर्नैपर्ने हुटहुटी, घर–परिवारप्रतिको जिम्मेवारीलाई आत्मसाथ गर्दागर्दै मैले सानीलाई समय दिन नसकेको हो तर म स्वार्थी थिइनँ।

अब एक्लै भएछु। हतारहतार उनको फेसबुक अकाउन्ट हेर्छु। उनका केही तस्बिर हाँसिरहेका थिए। सबै तस्बिर सेभ गर्छु। मन चिसो हुन्छ। अब मसँग उनका तस्बिर र सम्झना मात्रै थिए। उनको एउटा तस्बिर जुम गरेर हेर्छु। अनायासैै आँखा रसाउँछन्। उनका डायरी छातीमा टाँस्छु। उनैलाई अङ्गालो हालेजस्तो लाग्छ। शब्दहरू पढ्छु, उनी नै बोलिरहेकी छिन् जस्तो लाग्छ।

डायरीका पानाले मलाई हजारौं प्रश्न गरेर र्‍याखर्‍याखती पारेजस्तो लाग्छ। मनमा पछुतोबाहेक केही रहेन। मैले अलि अगाडि मात्रै सानीलाई बुझेको भए, म अमेरिका जानुभन्दा अगाडि एक पटक भेटेको भए !

मध्यरातमा ब्युँझेपछि निदाउन सक्दिनँ। सानीको तस्बिर हेर्छु। मन बोलिरहन्छ– ‘माया धेरै थियो सानी। मैले व्यक्त गर्न सकेनछु। सफलताका पछाडि दौडँदा दौडँदै तिमीसम्म फेरि फर्कन नै भुलेछु। थाहा थियो, तिमीले अति प्रेम गछ्र्यौ तर म फर्केर आउन बेर गरेछु। प्रगतिका पाइला रोकिन्छन् भनेर तिमीबाट तर्की हिँडेको म आज आफैंसँग तर्किन बाध्य छु सानी !

मेरा हरेक सफलताको कारण तिमी थियौ भनेर सुनाउन चाहन्थेँ। मैले पाएका सम्मान र सलाममा तिमी नै थियौ ! मेरो काँधमा थपिएका दज्र्यानी चिह्नमा तिम्रो प्रेम, विश्वास र आशा थियोे सानी !’ समय बित्दै गइरहेछ। अब मलाई एक्लै भएको महसुस अझ बढी हुन थालेको छ। जति समय बिते पनि सानीको झल्को घट्दै घटेन। लागिरहन्छ, कतैबाट उनी टुप्लुक्क आएर मलाई भन्ने छिन्– निराजन !

उनी हाँसिरहेका, बोलिरहेका तस्बिर हेर्छु। उनका केही भिडियो हेर्छु। उनले मलाई छोडेर गएजस्तो पटक्कै लाग्दैन। यताउता हेर्छु, जताततै देख्छु। मौसम बदलियो, परिस्थिति बदलियो तर उनलाई माया गर्ने मेरो मन बदलिएन। झरी पर्दा उनी रुझिन् कि जस्तो लाग्छ अनि घाम लाग्दा शीतलता खोज्दै हिँडिरहेकी छिन् जस्तो लाग्छ। फूल फुलेको देख्दा सानी जहाँ भए पनि हाँसिरहेकी छिन्, फूलहरू ओइलिएको देख्दा उनी पीडामा रहिछिन् जस्तो लाग्छ। यतिका दिन बितेर गए तर उनको झल्को र प्रेम घट्नुको साटो झन् बढिरहेको छ।

सानी हावामा छिन्, पानीमा छिन्, धरती अनि आकाशमा छिन्। जून र ताराको शीतलतामा भेट्छु अनि पारिलो घामको किरणमा उनलाई पाउँछु। दुनियाँको नजरले उनलाई देख्दैन तर मेरो नजरले उनलाई जताततै छरिएर बसेकी देख्छु। उनी मैसँग, मेरै वरिपरि छिन् जस्तो लाग्छ।

सानीको भौतिक शरीरले मलाई छोडेर गएको पनि वर्ष दिन भइसकेछ। गह्रौं पाइला बनाएर उनलाई खरानी बनाएको पशुपति आर्यघाटमा दिनभरि बसेर आएँ ! फर्कंदा हृदय भारी भएको थियो।



Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School