२६ वर्षीया पार्वती सुवेदीको अझै मन सम्हालिएको छैन । उनलाई गत भदौ २४ गतेको त्यो दिनले अहिले पनि एक्लै बस्न दिँदैन । त्यो दिन सम्झँदा अहिले पनि उनी भक्कानिन्छिन् । २७ वर्षका श्रीमान् देवकुमार सुवेदीको जेन-जी आन्दोलनको क्रममा गोली लागेर मृत्यु भएपछि उहाँका हरेक दिनहरू पीडामा बितेका छन् ।
आफूनो जीवनको खुसी खोसिएको भदौ २४ गतेले आफूलाई बेलाबेलामा झस्काउने गरेको उनले सुनाइन । ‘दिनभरि यताउता गरेर बित्छ, जब साँझ पर्छ, श्रीमान् आउनु हुन्न भन्ने मनमा पर्दा मन भक्कानिएर आउँछ’ आफू र श्रीमानले भएको ऋणधन तिरेर छोरीको भविष्य बनाउन देखेको सपनाले सताइरहेको छ उनलाई ।
भदौको तेस्रो हप्ता जेन-जी आन्दोलन हुने हल्ला सुरु भयो । आन्दोलन कस्तो होला ? अन्योल थियो । देवकुमार पनि श्रीमती र छोरीसहित ललितपुरको सानेपामा रहेको सडक डिभिजन कार्यालयमा ज्यालादारी कर्मचारीको रुपमा कार्यरत थिए । कार्यालय सहयोगी, चालकदेखि सुरक्षा गार्डसम्मको काम गर्ने भएकाले उनी कार्यालय परिसरमै रहेको क्वाटरमा बस्ने गर्थे ।
पहिलो दिनको आन्दोलनमा केही विद्यार्थीको गोली लागेर ज्यान गएपछि भोलिपल्टको अवस्था थप जटिल बन्यो । भदौ २३ गते आन्दोलन हुँदासम्म काठमाडौंका अधिकांश कार्यालय सञ्चालनमै थिए । त्यसकारण देवकुमार पनि कार्यालयमै व्यस्त भए । तर, दिउँसो भएको आन्दोलन अनियन्त्रित भएपछि काठमाडौंमा कर्फ्यू आदेश जारी भयो ।
अधिकांश मानिस अघिल्लो दिनको बर्बरतापूर्ण दमनको प्रतिकारमा उत्रन आतुर देखिएका थिए । सोही हुटहुटीले देवकुमारलाई पनि सडकसम्म ल्यायो । ‘बिहानै अफिसको मोटामोटी काम सकेर उनी कोठामा फर्किए’, पार्वतीले भनिन्, ‘मैले आज अफिस खुल्छ त ? भनेर सोधेँ । उहाँले खै भन्ने जवाफ दिनुभयो ।’
‘हामी कोठामा नियमित काममा लाग्यौँ । हाम्रो नौ वर्षकी छोरी छिन् । उनी मसँगै थिइन् । उहाँको कामबाट आएको तलबले मात्र हामीलाई खर्च कम हुन्थो । थोरै भए पनि सहयोग हुन्छ, भनेर मैले पनि बिहानको समयमा काम गर्ने गरेको थिएँ । यसरी पनि नहुने भयो भनेपछि उहाँले एकजना दाजुसँग मिलेर बिहान–बेलुका कालीमाटीमा तरकारी व्यापार गर्ने योजना बनाउनुभयो,’ घटनाको दिन स्मरण गर्दै पार्वती भनिन ।
घटनाबारे बताउँदै उनले भनिन्, ‘त्यो दिन सडक विभागको कार्यालय बन्द हुने भएपछि तरकारी व्यापार साझेदारसँग भेटेर फर्पिङमा लप्सीका लागि अपुग पैसा पुर्याउन जाने भनेर ३५ हजार रुपैयाँ बोकेर निस्कनुभयो । उहाँले जाने बेलामा साझेदार दाजुकोमा खाना खाने योजना छ भनेर सुनाउनु पनि भयो । त्यसपछि हामी आमाछोरी खाना खान बस्यौँ । तर, उहाँले गाडी नपाएपछि घर फर्कनु भएछ । पैसा पठाई दिएँ तर जान मिलेन भनेर घर आउनु भएपछि मैले खान खानु न त भनेँ, उहाँले मान्नु भएन । आन्दोलन हेरेर आउँछु भनेर निस्कनुभयो । आन्दोलनमा होमिएकाहरुलाई उहाँले खाना फलफूल बाँडेर आउनुभएको रहेछ । मैले पनि त्यही खाएँ भनेर, खान खान मान्नु भएन । ब्याग र नयाँ जुत्ता कोठामै राखेर पुरानो जुत्ता लगाएर फेरि जान्छु भनेर हिँड्नुभयो ।’
पार्वतीले भनिन्, ‘मैले नजानुस् हिजो त्यस्तो घटना भएको छ । भनेर सम्झाउन खोजेँ तर उहाँले बाहिर देश परिवर्तनको आँधीबेहरी चलेको छ । हामी जस्तो युवा घरमा लुकेर बसेर हुन्छ ? देश लुटेराहरुले भ्रष्टाचार गरेर आफू मात्र बने, देश खोक्रो पारे । म कालीमाटीसम्म पुगेर हेरेर आउँछु, भन्दै उहाँ हिँड्नुभयो । म र छोरी खाना खाएर बसेका थियौँ । एकैछिनमा बल्खु तर्फबाट ठूलो सङ्ख्यामा आन्दोलनकारीहरु आए । त्यो देखेपछि मेरो मनमा पनि चिसो पस्यो । त्यतिबेलासम्म मेरो दिदी पनिसँगै हुनुहुन्थ्यो । दिदीलाई अनुरोध गरेर श्रीमान खोज्न हिँडेका हामी आन्दोलनकारीको भीडमा हराएपछि दिदीले सानो नानी बोकेर यस्तो भीडमा हिँड्नु हुन्न, उहाँ आउनुहुन्छ भनेपछि हामी कोठामा फर्कियौँ ।’
कोठामा फर्किएको केही बेरमै कोठा नजिकै होटल चलाउने दाजुले आएर बहिनी अस्पताल जनुपर्यो भन्दा पार्वतीको मनमा चिसो पस्यो । उनले भनिन्, ‘म त्यसबेला नै बेहोस हुन्छु कि जस्तो भइसकेको थिएँ । मैले के भयो दाजु ? भनेर सोधेँ, उहाँले भाइलाई खुट्टामा गोली लागेको छ, जानुपर्यो भन्नुभयो । उहाँले म सम्हालिन्न भनेर झुटो बोल्नुभएको रहेछ । यतिकैमा दिउँसोको ३ बजिसकेको थियो होला । हामी हस्याङफस्याङ गर्दै अस्पताल पुग्दा उहाँलाई शल्यक्रियाको लागि लैजाँदै रहेछन् । उहाँले हातको इसाराले मलाई केही हुन्न मलाई ठीक छ, तिमी जाउ भन्नुभयो ।’
श्रीमानको दायाँ कोखाबाट लागेको गोली बायाँ कोखाबाट निस्किएको थियो भन्ने सुनेपछि पार्वती बेहोस् बनिन् । भोलिपल्ट बिहान ९ बजेतिर उनको मृत्यु भयो भनेर डाक्टरहरुले भने त्यसपछि फेरि उनी मुर्छित भइन । पछि जेठाजुहरु आएर अस्पतालबाट शव निकालेर पशुपतिमा अन्त्येष्टि गरी सर्लाहीको घरमा काजक्रिया गरेको उनले बताइन ।
यो घटनापछि टुटेको मन छोरीलाई हेरेर सम्हाल्ने गरेको पार्वतीको भनाइ छ । श्रीमानले आफूसँग कठोर दुःख गरेर भए पनि छोरीको भविष्य राम्रो बनाउने सपना देखेको सुनाउने गरेको पार्वती बताउँछिन् ।
आफूले श्रीमान् गुमाए पनि बलिदानी खेर जानु नहुने माग उनको छ । ‘उहाँ जस्ता धेरैको ज्यान गयो । उहाँहरुले देशको भ्रष्टाचार र बेथितीविरुद्ध आफ्नो ज्यान दिनुभएको हो । त्यो अन्त्य भए मात्र उहाँहरुको बलिदानीले सार्थकता पाउँछ,’ उनले भनिन् । अब बन्ने सरकारले जेन-जीको एजेन्डाअनुसार नै काम गर्नुपर्ने उनको माग छ ।
जेन-जी आन्दोलनमा ज्यान गुमाएकासँगै पीडित बनेका परिवारको अवस्था बुझेर व्यवस्थापन गर्न राज्यसँग उनको अनुरोध पनि गरेकी छन् । ‘यहाँ एक व्यक्ति मरेको मात्र छैन् । बाआमाको सन्तान खोसिएको छ । श्रीमतीको सिउँदो पुछिएको छ । सन्तान टुहुरा बनेका छन् । राज्यले यति ठूलो क्षतिको नजरअन्दाज गर्न मिल्दैन । यो कसैलाई पद र प्रतिष्ठा प्राप्त गर्न बगेको रगत होइन,’ उनले भनिन् ।
श्रीमतीसँगै कलकलाउँदो उमेरको सन्तान वियोगको वेदनाले देवकुमारका ८५ वर्ष उमेर पुगेका बुबा उजिरबहादुर र ६७ वर्षकी आमा यशोदाकुमारी पनि विक्षिप्त छन् । पाँच छोरा र दुई छोरीका मातापिता उजिरबहादुर र यशोदाको यो दोस्रो सन्तान वियोगको पीडा हो । २०७० सालतिर बिच्छीले टोकाइबाट काइलो छोरा बितेको पीडाले पनि पिरोलिरहन्छ ।
सानैदेखि अति मिलनसार स्वभावका देवकुमारले कक्षा २ सम्मको पढाइ कटारी र एसएलसीसम्मको अध्ययन सिन्धुलीको दुधौलीमा पूरा गरे । हक्की स्वभावका उनी छिट्टै भावनात्मक र आक्रामक हुने गरेको साइला दाजु भानुभक्तले सुनाए । जो कोहीसँग पनि छिट्टै घुलमिल हुनसक्ने स्वभावका देवकुमारलाई कार्यालयमा समेत सबैले रुचाउने गरेका उनको भनाइ छ । उदयपुरको कटारी नगरपालिका–११, हर्देनी पुर्खौली थातथलो रहेको सुवेदी परिवार आठ वर्षअघि मात्र सर्लाहीको लालबन्दी नगरपालिका–५, मेजरगञ्जस्थित शान्तिटोलमा बसाइँ सरेर आएको हो ।
गत साउनमा कार्यालयको कामले देवकुमार घर आएका थिए । त्यसबेलाको भेट नै उनका बुबा र आमासँगको अन्तिम भयो । साउन अन्तिममा घर पुगेका देवकुमारले छानो चुहिएको देखेका थिए। झ्यालमा पल्ला नहुँदा हिउँद् वर्षामा बस्न निकै समस्या भएकाले माघमा आएपछि छानो छाउने र झ्यालमा पल्ला लाउने भनेर गएको बुबा उजिरबहादुर सम्झन्छन् ।
हरेक पटक चुहिने छानो र झ्यालको पल्ला देख्दा छोरोको झझल्को आउने गरेको गहभरि आँसु पार्दै उजिरबहादुरले सुनाए । उजिरबहादुर कान सुन्दैनन भने आमा यशोदाको फोक्सोमा समस्या छ । अहिले पनि नियमितजसो उपचारको लागि काठमाडौं जाने गरेको उनले सुनाए ।
कान्छो छोरा बितेपछि पनि उनी काठमाडौं आएका रहेछन् । तर छोराको सम्झनाले पुरानो ठाउँ र अस्पताल जान सकेनन् ।
‘यसपटक साइलो छोराले अर्कै अस्पताल खोजेर उपचार गराएर पठायो । यताको सबै कुरा छोराहरुले हेरिरहेका छन् । महिनाको छ/सात हजार रुपैयाँसम्मको औषधि खानुपर्छ,’ उनले भने, ‘यो उमेरमा कलिला छोरा अघि लाएर बाँच्नु नै हाम्रो लागि ठूलो रोग भयो ।’
कान्छो छोराले देशका लागि ज्यान बलिदानी दियो भनेर छिमेकीले सुनाउँदा आफूलाई कोख खाली हुँदै गयो भन्ने चिन्ता लागिरहेको उनको दुःखेसो थियो ।
राष्ट्रका लागि ज्यान दिने श्रीमानको कृति रहनेगरी राज्यले सम्मान गरिदिनुपर्ने पार्वतको माग छ । सङ्घ सरकारले शहीद घोषणा गरेको भन्दै स्थानीय सरकारले समेत उनको योगदानको कदर गर्दै सालिक निर्माण गरिदिन उनले आग्रह गरेकी छन । राज्यले दिने राहतभन्दा पनि आफूहरुका लागि भाइले दिएको बलिदानीको उचित कदर सम्मान नै पीडित परिवारको मल्हमपट्टी हुने साइला दाजु भानुभक्त बताउँछन् ।
घटनापछि सरकारले गरेको घोषणअनुसार १५ लाख आर्थिक सहायता दिने निर्णयबमोजिम पीडित परिवारलाई रकम हस्तान्तरण भइसकेको छ । रासस
प्रकाशित: ८ मंसिर २०८२ १५:४६ सोमबार
