चुरे संरक्षण : चुनौतीका चाङ, के होला भविष्य ? : RajdhaniDaily.com


नेपालको तराई भूमिलाई उत्तरबाट एउटा हरियो मालाले घेरेझैं पूर्वदेखि पश्चिमसम्म फैलिएको कोमल र संवेदनशील पहाडी शृंखला हो– चुरे । यसलाई ‘शिवालिक पर्वत’का नामले पनि चिनिन्छ । यसले देशको कुल भूभागको लगभग १२ दशमलव ७७ प्रतिशत हिस्सा ओगटेर बसेको छ । तर, यसको भौगोलिक क्षेत्रफलभन्दा कयौं गुणा ठूलो यसको पारिस्थितिकीय, सामाजिक र आर्थिक महत्व रहेको छ । तर, यस चुरेलाई तराईको पानी ट्यांकी वा मधेशको जीवनरेखाजस्ता उपमाले चिनिन्छ । जसले यसको महत्व स्वतः उजागर गर्छ । जुन तराईका करोडौं मानिसको खानेपानी, सिँचाइ, जैविक विविधता र समग्र जीवनपद्धति यही चुरेको स्वास्थ्यमा निर्भर रहेको छ ।

यसमा भन्ने नै हो भने हिमालय पर्वत शृंखलाको सबैभन्दा कान्छो, कमजोर र भर्खरै बन्दै गरेको पहाड भएकाले यसको भू–बनोट अत्यन्तै संवेदनशील रहेको छ । यसमा खासगरीकन खुकुलो माटो, पत्रे चट्टान र ठाडो भिरालो जमिन यसका विशेषताहरू हुन् । यही संवेदनशीलताका कारण चुरे आज गम्भीर संकटको डिलमा उभिएको छ । जसलाई भन्ने नै हो भने प्राकृतिक रूपमा नै कमजोर यस क्षेत्रमाथि बढ्दो मानवीय चाप र अव्यवस्थित विकासका क्रियाकलापले यसको विनाशलाई तीव्र गति दिएको छ । यसर्थ, वन विनाश, अनियन्त्रित खोला उत्खनन, अव्यवस्थित पूर्वाधार निर्माण र जलवायु परिवर्तनका असरले चुरेलाई दिन प्रतिदिन क्षतविक्षत बनाइरहेका छन् ।

फलतः चुरे विनाश भनेको केवल केही पहाडको विनाश होइन, यो तराई–मधेशको मरुभूमीकरणको सुरुवात हो र समग्र नेपालको पारिस्थितिकीय सन्तुलनमाथिको गम्भीर प्रहार पनि हो । यस अर्थले भन्ने नै हो भने चुरे संरक्षणका बहुआयामिक चुनौतीमा गहिरिएर विश्लेषण गर्नमा केन्द्रित हुनेछ । यसले चुरेले सामना गरिरहेका प्राकृतिक, मानव सिर्जित, नीतिगत र संस्थागत चुनौती विस्तृत चिरफार गर्नेछ । साथै, संरक्षणका लागि भइरहेका प्रयासको समीक्षा गर्दै भविष्यमा अपनाउनुपर्ने दिगो संरक्षणको मार्गचित्र प्रस्तुत गर्ने प्रयास गर्नेछ । हाम्रो देश प्राकृतिक विविधता, भौगोलिक विशिष्टता र पर्यावरणीय महत्वले भरिएको अनौठो देश हो । जहाँ हिमाल, पहाड र तराई तीनवटै भू–भाग समेटिएको राष्ट्रको भू–गठनमा चुरे क्षेत्र एक विशेष र संवेदनशील क्षेत्रका रूपमा रहेको छ । वस्तुतः चुरे क्षेत्र, जसलाई शिवालिक शृंखला पनि भनिन्छ, तराई र पहाडी भू–भागबीच पर्ने भौगोलिक क्षेत्र हो । यो भू–भाग केवल पर्यावरणीय दृष्टिले महत्वपूर्ण मात्र नभएर मानव अस्तित्व र दिगो विकासका लागि पनि अत्यावश्यक क्षेत्र पनि हो । तर, विडम्बना † विगत केही दशकदेखि चुरे अन्धाधुन्ध दोहन, वन विनाश, उत्खनन, अवैध दोहन, जलवायु परिवर्तन र जनसंख्याको चापजस्ता चुनौतीबाट जुधिरहेको छ ।

चुरे विनाश भनेको केवल केही पहाडको विनाश होइन, यो तराई–मधेशको मरुभूमीकरणको सुरुवात हो र समग्र नेपालको पारिस्थितिकीय सन्तुलनमाथिको गम्भीर प्रहार पनि हो । यस अर्थले भन्ने नै हो भने चुरे संरक्षणका बहुआयामिक चुनौतीमा गहिरिएर विश्लेषण गर्नमा केन्द्रित हुनेछ

चुरे क्षेत्र नेपालको भूगोलमा दक्षिणी सीमानजिकको पहाडी भाग हो, जुन पूर्वको इलामदेखि पश्चिमको कञ्चनपुरसम्म फैलिएको छ । यसको लम्बाइ करिब ८ सय किलोमिटर र चौडाइ १० देखि ५० किलोमिटरको बीचमा रहेको छ । कुल भू–भागको लगभग १२ दशमलव ७७ प्रतिशत क्षेत्रफल (५ हजार ८ सय वर्ग किमी) चुरे क्षेत्रमा पर्छ । यसरी चुरेको प्राकृतिक स्रोत संरक्षण, दिगो व्यवस्थापन, पारिस्थितिकीय सेवा संवर्धनद्वारा गरिबी न्यूनीकरणमा टेवा पु¥याउने लक्ष्यसाथ समिति स्थापना २ असार २०७१ मा भएको थियो । त्यसको स्थापना भएयता समितिले हालसम्म १ हजार ४ सय ५९ स्थानमा गल्छी, पहिरो, खहरे नियन्त्रण, १ सय ६६ हेक्टर भिरालो कृषिभूमिमा बहुवर्षीय बाली विस्तार गरेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।

त्यस्तै, ५ हजार २ सय ३० हेक्टरमा हरियाली प्रवर्धन कार्यक्रम गरेको र २ करोड ९३ लाख ४९ हजार बिरुवा उत्पादन र वितरण गरेको समितिको उपलब्धि विवरणमा उल्लेख गरेको छ । यसैगरी, हालसम्म नदी खोला किनारा ४ सय १२ किमी तटबन्ध निर्माण, १ सय ६२ हेक्टर हरित पेटिका निर्माण, १ सय ३९ सिमसार तालतलैया संरक्षण, पुनर्निर्माण, ६ सय २८ वर्षात्को पानी संकलन पोखरी निर्माण र ५ सय ४८ पानीका मुहान संरक्षण गरिएको छ ।

यसैगरी, समिति स्थापना भएयताको अवधिमा चुरे संरक्षणका नाममा झन्डै १५ अर्ब खर्च भइसकेको छ । समितिले जनाएअनुसार आव २०८०÷८१ सम्म १४ अर्ब ९६ करोड खर्च भएको छ । यस अवधिमा वित्तीय प्रगति ८८ दशमलव ९३ र भौतिक प्रगति ९१ दशमलव ८४ प्रतिशत भएको छ । यो क्षेत्र चार प्रमुख नदी प्रणालीमा कोशी, गण्डकी, कर्णाली र महाकालीबाट बग्ने थुप्रै नदीद्वारा छिन्नभिन्न छ । जसमा चुरे क्षेत्रमा जैविक विविधता, जल स्रोतको मूल, वन्यजन्तुको बासस्थान तथा तराई क्षेत्रको जीवन र कृषिका लागि अत्यावश्यक प्राकृतिक सम्पदा पाइन्छ । चुरे संरक्षणका चुनौतीलाई मुख्यतया तीन भागमा बाँडेर विश्लेषण गर्न सकिन्छ– प्राकृतिक र भू–वैज्ञानिक चुनौती, मानवले निम्त्याएको चुनौती र नीतिगत तथा संस्थागत चुनौती उल्लेखित बु“दागत रूपमा प्रस्तुत गरिएको छ ।

प्राकृतिक तथा भू–वैज्ञानिक चुनौती
चुरेको सबैभन्दा ठूलो र आधारभूत चुनौती यसको आफ्नै भू–बनोट हो । यसरी हिमालय निर्माणक्रममा नदीहरूले थुपारेको गेगर, बालुवा, पाँगो माटो र खुकुलो चट्टान जमेर बनेको हुनाले यो अत्यन्तै कमजोर छ । यहाँको माटोमा चट्टानको मात्रा कम र खुकुलो पदार्थको मात्रा बढी हुन्छ । यसरी ठाडो भिरालो जमिन र कमजोर भू–बनोटको यस संयोगले यस क्षेत्रलाई भू–क्षय र पहिरोको उच्च जोखिममा राखेको छ । यसमा सानो पानी पर्दा वा सामान्य मानवीय गतिविधि हुँदा पनि यहाँ सजिलै पहिरो जान सक्छ ।

जलवायु परिवर्तनको असर
विश्वव्यापी जलवायु परिवर्तनको प्रत्यक्ष र गम्भीर असर चुरे क्षेत्रमा देखिन थालेको छ ।

तसर्थ, वर्षात्को प्रवृत्तिमा आएको परिवर्तन यसको ज्वलन्त उदाहरण हो । पहिले धेरै दिनसम्म रिमझिम पर्ने पानी अब छोटो समयमा मुसलधारे वर्षाका रूपमा पर्न थालेको छ । यस्तो भीषण वर्षाले कमजोर चुरेको जमिन सजिलै बगाउँछ । जसले पहिरो र बाढीको प्रकोप ह्वात्तै बढाएको छ । अर्कोतर्फ लामो समयसम्म खडेरी पर्ने (अनावृष्टि) समस्या पनि बढेको छ । जसले गर्दा वन डढेलोको जोखिम बढाएको छ र भूमिगत जल पुनर्भरणमा समेत नकारात्मक असर पारेको छ ।

मानवले निम्त्याएको चुनौती
मानव आफैंले निम्त्याएका चुनौती नै आज चुरे विनाशका सबैभन्दा मुख्य कारण हुन् । यी चुनौती एकअर्कासँग जेलिएका छन् । चुरे विनाशको कथा वन विनाशबाट सुरु हुन्छ । बढ्दो जनसंख्याको चाप, गरिबी र वैकल्पिक जीविकोपार्जन अभावमा स्थानीय दाउरा, घाँस, काठ र खेतीयोग्य जमिनका लागि जंगल फँडानी गर्न बाध्य छन् । पहाडी क्षेत्रबाट तराईमा बसाइँ सर्ने क्रमले पनि चुरे क्षेत्रमा अतिक्रमण बढाएको छ । राजनीतिक संरक्षणमा सुकुम्बासीका नाममा वा व्यक्तिगत स्वार्थका लागि गरिने अतिक्रमणले चुरेका जंगल तीव्र गतिमा सखाप भइरहेका छन् । जंगल नासिएपछि नांगो जमिन भू–क्षयको चपेटामा पर्छ र पानी सोस्ने क्षमता गुमाउँछ ।

अनियन्त्रित उत्खनन र डोजरे आतंक
चुरेले सामना गरिरहेको सबैभन्दा भयावह र विनाशकारी चुनौती हो, अनियन्त्रित उत्खनन र डोजरे आतंक । तराई र सहरी क्षेत्रमा बढेको अनियन्त्रित सहरीकरण र पूर्वाधार निर्माणले गिट्टी, बालुवा र ढुंगाको माग ह्वात्तै बढाएको छ । यही माग पूरा गर्न चुरेका खोलानाला र पहाड अवैध रूपमा उत्खनन गर्ने होडबाजी चलेको छ । शक्तिशाली क्रसर उद्योगहरूले खोलाको पिँध र किनार मात्र होइन, पहाडका फेदीसमेत खोतल्न थालेका छन् । यसले नदीको प्राकृतिक बहाव नष्ट गरेको छ, जलचरका बासस्थान सखाप पारेको छ र नदी गहिरो बनाउँदा सिँचाइका लागि बनाइएका पुराना नहर काम नलाग्ने भएका छन् । यसैगरी, स्थानीय तहमा विकासका नाममा चलेको डोजरे आतंकले चुरेलाई थप क्षतविक्षत बनाएको छ । कुनै पनि वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) बिना, प्राविधिक अध्ययनबिना र नाप–नक्साबिना डोजर लगाएर गाउँगाउँमा सडक खन्ने प्रवृत्तिले चुरेको कमजोर भिरालो जमिनलाई अस्थिर बनाएको छ । यसरी खनिएका सडक विकासका संवाहकभन्दा बढी पहिरोका स्रोत बनेका छन् ।

अव्यवस्थित पूर्वाधार निर्माण
राष्ट्रिय गौरवका आयोजना जस्तै– पूर्व–पश्चिम राजमार्ग, हुलाकी राजमार्ग र अन्य सडक सञ्जाल निर्माण र विस्तारले चुरे क्षेत्रलाई चिरेर गएको छ । विकास पूर्वाधार आवश्यक भए पनि त्यसको निर्माण गर्दा अपनाउनुपर्ने वातावरणीय संवेदनशीलतामा ध्यान नदिइँदा यसले विनाश निम्त्याएको छ । सडक निर्माण गर्दा निस्किएको माटो र गेगर सिधै खोला वा भिरालोमा फालिदिने, पानीको प्राकृतिक निकासलाई अवरुद्ध गर्ने र जैविक इन्जिनियरिङजस्ता विधि प्रयोग नगर्ने गर्दा विकास नै विनाशको कारक बनेको छ ।

वन डढेलो
हरेक वर्ष हिउँद र सुक्खायाममा चुरेका जंगल डढेलोको चपेटामा पर्ने गरेका छन् । अधिकांश डढेलो मानवीय कारण लाग्ने गर्छ । कसैले जानीजानी नयाँ घाँस पलाउने आशामा आगो लगाउँछन् भने कसैको सानो लापर्बाहीले जंगल सखाप हुन्छ । डढेलोले साना बिरुवा र बोटबिरुवाका बीउलाई नष्ट गर्छ । जसले गर्दा जंगलको प्राकृतिक पुनरउत्पादन प्रक्रिया अवरुद्ध हुन्छ । यसले माटोको उर्वराशक्ति घटाउँछ, वन्यजन्तुलाई विस्थापित गर्छ र नांगो जमिनलाई भू–क्षयका लागि थप जोखिमपूर्ण बनाउँछ ।

समग्रमा देशको चुरे संरक्षण कार्य जटिल, बहुआयामिक र अत्यावश्यक छ । यो राष्ट्रको जैविक सम्पदा, स्थानीय समुदायको आर्थिक भविष्य र हिमालयको नाजुक पारिस्थितिकी सन्तुलनको प्रश्न पनि हो । जसमा हेर्ने हो भने चुनौती ठूला छन् । अवैध दोहन र व्यापारको छत्रछाया, जलवायु परिवर्तनको खतरा, काननी कार्यान्वयन कमजोरी, स्थानीय द्वन्द्व र टिकाऊ विकल्प खोजी गरिरहेका छन् । तर, आशाका किरण पनि छन् । जसमा भन्ने नै हो भने सशक्त सामुदायिक व्यवस्थापनका उदाहरण, बढ्दो जनचेतना र सरकारीस्तरमा संरक्षणप्रति बढ्दो चासो पनि रही नै रहेको छ ।

मूलतः चुरे क्षेत्र नेपालको पर्यावरणीय मेरुदण्ड हो । यसले देशको जनजीवन, कृषि, जलस्रोत र जैविक विविधताको सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्छ । तर, आज चुरे संकटमा छ । यसमा पनि दिन प्रतिदिन बढ्दो अवैध दोहन, जनसंख्या चाप, कमजोर नीति कार्यान्वयन र जलवायु परिवर्तनले चुरेको अस्तित्व नै संकटमा पारेको छ । अब यस कार्यमा ढिलो गर्नुहुँदैन । तर, चुरे संरक्षणका लागि सबै तह र तप्काबाट एकजुट प्रयास आवश्यक छ । जसमा भन्ने नै हो भने नीति निर्माण, जनसहभागिता, शिक्षा, दिगो विकास र पर्यावरणीय चेतनासहित चुरेको दीर्घकालीन संरक्षण मात्र यस संकटको समाधान हो । यसकारण चुरे जोगियो भने मात्र ‘हाम्रो भविष्य जोगिनेछ’ भन्ने कुरालाई मूल मन्त्र बनाएर सबै एकजुट हुनेबेला आएको छ ।
[email protected]

(Visited 14 times, 1 visits today)





Source link

Leave a Comment