चुनौतीलाई अवसरमा बदलौं : RajdhaniDaily.com



मध्य पूर्वमा बढ्दै गएको भू–राजनीतिक तनावलाई नेपालले टेलिभिजनको पर्दामा देखिने अन्तर्राष्ट्रिय घटनाका रूपमा मात्र हेर्ने गल्ती गर्न मिल्दैन । विश्व अर्थतन्त्र आज यति परस्पर जोडिएको छ कि हजारौं किलोमिटर टाढा हुने द्वन्द्वको कम्पन काठमाडौंको बजारसम्म आइपुग्छ । नेपालको सन्दर्भमा त यो सम्बन्ध अझै गहिरो छ । हाम्रो अर्थतन्त्रको एउटा ठूलो हिस्सा त्यही क्षेत्रमा काम गर्ने नेपाली युवाको पसिनामा टिकेको छ । त्यसैले मध्य पूर्वको अस्थिरता हाम्रो आर्थिक सुरक्षासँग सीधा जोडिएको यथार्थ हो ।

नेपालको अर्थतन्त्र नजिकबाट नियाल्दा एउटा विरोधाभास देखिन्छ । सतहमा विदेशी मुद्रा सञ्चिति सन्तोषजनक देखिए पनि बैंकिङ प्रणालीमा तरलता कायमै छ । बजारमा उपभोगस्तर उच्च लागे पनि आधारभूत स्रोत के हो ? भन्ने प्रश्न खडा हुन्छ । यसको उत्तर प्रायः एउटै आउँछ– रेमिट्यान्स । देशभित्रको उत्पादन, उद्योग वा निर्यातले होइन, विदेशमा काम गर्ने नेपालीका आम्दानीले हाम्रो अर्थतन्त्र धानेको छ । यही कारण बाह्य झट्काप्रति हामी अत्यन्त संवेदनशील बन्ने गर्छौं ।

मध्य पूर्वमा हुने कुनै पनि अस्थिरताले सबैभन्दा पहिले ऊर्जा बजार प्रभावित बन्छ । तेलको मूल्यमा हुने उतारचढावले विश्व अर्थतन्त्रमा शृंखलाबद्ध प्रभाव पार्छ र नेपालजस्तो पूर्णरूपमा आयातमा निर्भर देशमा त अझ यसको असर व्यापक बन्छ । पेट्रोलियम पदार्थको मूल्य बढ्दा ढुवानी खर्च बढ्छ, यसबाट खाद्यान्नदेखि निर्माण सामग्रीसम्मको मूल्यवृद्धि हुन्छ । महँगी आर्थिक सूचकसँगै आमनागरिकको दैनिक जीवनसँग जोडिएको पीडा हो । जब इन्धन महँगो हुन्छ, त्यसको असर भान्साको एलपी ग्यासदेखि बस भाडासम्म फैलिन्छ ।

नेपालका लागि अझ ठूलो प्रश्न श्रम बजार र रेमिट्यान्ससँग सम्बन्धित छ । लाखौं नेपाली कामदार मध्य पूर्वका विभिन्न देशमा कार्यरत छन्, जहाँ उनीहरू निर्माण, सेवा, सुरक्षा, घरेलु कामजस्ता क्षेत्रमा संलग्न छन् । यी काम प्रायः अस्थिर र जोखिमपूर्ण हुन्छन् र त्यहाँको राजनीतिक तथा आर्थिक अवस्थासँग प्रत्यक्ष रूपमा जोडिएका हुन्छन् । यदि तनाव चर्कियो भने निर्माण परियोजना रोकिन सक्छन्, कम्पनीहरू बन्द हुन सक्छन् र श्रमिक कटौती हुन सक्छ । यस्तो अवस्थामा नेपाली कामदारको रोजगारी गुम्ने सम्भावना उच्च हुन्छ । यदि ठूलो संख्यामा कामदार स्वदेश फर्किन बाध्य भए भने त्यसको असर व्यक्तिगत आयमै सीमित रहँदैन, यसले नेपालको समग्र अर्थतन्त्रमै गहिरो असर पर्छ । रेमिट्यान्स घट्नेबित्तिकै विदेशी मुद्रा सञ्चिति दबाबमा पर्छ, बैंकिङ प्रणालीमा निक्षेप घट्छ र ऋण प्रवाह कम हुन्छ । यसले लगानी घटाउँछ, उत्पादन सुस्त बनाउँछ र आर्थिक वृद्धि दर न्यून पार्छ । एउटा बाह्य घटनाले देशभित्र बहुआयामिक संकट ल्याउनेमा द्विविधा रहँदैन ।

नेपालको निर्यात क्षेत्र यस्तो अवस्थामा अर्थतन्त्र सन्तुलनमा राख्न असमर्थ बन्छ । त्यसै त हाम्रो निर्यात संरचना सानो, सीमित र कमजोर छ । कार्पेट, हस्तकला, गार्मेन्ट वा केही कृषि उत्पादनमा आधारित निर्यातले यस्तो भयावह असर धान्न सक्ने अवस्था पनि छैन । विश्वव्यापी अस्थिरताका बेला यी वस्तुको माग झनै घट्न जान्छ । प्रायः आवश्यकसँगै विलासी वा वैकल्पिक रूपमा यी वस्तु हेरिन्छन् । त्यसैले निर्यातबाट राहत आउने अपेक्षा गर्नु यथार्थपरक हुँदैन ।

 मध्य पूर्व तनावले अन्तर्राष्ट्रिय अस्थिरताले यात्रा घटाउँछ, जसको प्रत्यक्ष असर नेपालजस्तो पर्यटनमा निर्भर देशमा पर्छ । विदेशी मुद्रा आम्दानी घट्छ, रोजगारी प्रभावित बन्छ र सेवा क्षेत्र सुस्त हुन्छ । यो तनाव नेपालका लागि बहुआयामिक जोखिमसँगै ऊर्जा, रेमिट्यान्स, श्रम बजार, वित्तीय प्रणाली र समग्र आर्थिक वृद्धिसम्म फैलिन सक्छ । अब पनि हामीले आफ्नो अर्थतन्त्रको संरचना परिवर्तन गरेनौं भने भविष्य अझ जोखिमपूर्ण हुनेछ । पहिलो आवश्यकता रेमिट्यान्समा अत्यधिक निर्भरता घटाउनु हो । यसको अर्थ वैदेशिक रोजगारी बन्द गर्नु भने होइन । आन्तरिक उत्पादन सुदृढ बनाउनुपर्छ ।

पर्यटन क्षेत्र पनि यस्ता अवस्थाबाट अछुतो रहँदैन । अन्तर्राष्ट्रिय तनावले यात्रा गर्ने इच्छामा कमी ल्याउँछ । सुरक्षा चिन्ता, खर्च बढ्नु र अनिश्चितताका कारण पर्यटक आगमन घट्न जान्छ । नेपालका लागि पर्यटन विदेशी मुद्रा आम्दानीको प्रमुख स्रोत पनि हो । त्यसैले यसको गिरावटले अर्थतन्त्रमा थप दबाब पर्न जान्छ । होटल, रेस्टुरेन्ट, ट्राभल एजेन्सी, यातायातलगायत क्षेत्रमा यसको प्रभाव देखिन सक्छ । मध्य पूर्वको असहज स्थितिले समग्रमा नेपालको अर्थतन्त्र नाजुकपन बढाउन सक्नेमा आशंका छैन । एकातिर रेमिट्यान्सले ल्याएको स्थिरता छ, अर्कोतिर बाह्य निर्भरता र जोखिम । मध्य पूर्वको तनावले यो सन्तुलन जुनसुकै बेला बिग्रन सक्ने देखिन्छ । अब प्रश्न उठ्छ, ‘यस्तो संकट आउने सम्भावना कति छ ?’ तर, प्रश्न यो हो कि हामी त्यसका लागि कति तयार भएर बसेका छौं ? यद्यपि, संकटको यो चित्र पूर्णरूपमा निराशाजनकमात्र भने छैन । विगतमा इतिहासले देखाएका चुनौतीले पनि देशलाई नयाँ दिशा लिन प्रेरित पनि गर्न सक्छन् । आफ्नो अर्थतन्त्र पुनर्संरचना गर्ने, उत्पादनमा जोड दिने र आत्मनिर्भरता तर्फ अघि बढ्न नेपालका लागि पनि यो एउटा अवसर पनि हुन सक्छ । यसका लागि सबैभन्दा पहिले कृषि क्षेत्रलाई नयाँ दृष्टिकोणबाट हेर्न आवश्यक छ । नेपालमा अझै ठूलो जनसंख्या कृषि क्षेत्रमै निर्भर छ । यदि आधुनिक प्रविधि, सिंचाइ, बजार पहुँच र लगानी बढाउन सकियो भने कृषि नै रोजगारी र आयको महत्वपूर्ण स्रोत बन्नसक्नेमा दुई मत छैन । सही नीति र प्रोत्साहन दिइयो भने विदेशबाट फर्किने कामदारलाई कृषि क्षेत्रमा समाहित गर्ने सम्भावना बलियो छ ।

अर्को कुरा औद्योगिकीकरण पनि महत्वपूर्ण पक्ष हो । नेपाल उद्योग विकासमा कमजोर रहे पनि अहिलेको अवस्था आयात प्रतिस्थापनका लागि उपयुक्त अवसर बन्न सक्छ । साना तथा मझौला उद्योगलाई प्रोत्साहन, ऊर्जा उपलब्धता र नीतिगत स्थिरताले उत्पादन बढाउन सकिन्छ । यसले रोजगारी सिर्जनामात्र होइन, व्यापार घाटा घटाउन पनि मद्दत पुग्ने देखिन्छ ।

ऊर्जा क्षेत्र, विशेषतः जलविद्युत््, नेपालको दीर्घकालीन सम्भावनाको केन्द्र हो । नेपालसँग प्रशस्त जलस्रोत छ, जसलाई सदुपयोग गर्न सकियो भने देशले विद्युत् निर्यातमार्फत विदेशी मुद्रा आर्जन गर्न सक्छ । यसले रेमिट्यान्समा पनि निर्भरता घटाउन दीर्घकालीन रूपमा मद्दत पु¥याउँछ ।

शिक्षा र सीप विकास पनि उत्तिकै महत्वपूर्ण छन् । अहिले नेपाली कामदार प्रायः कम सीप भएका काममा संलग्न छन्, जसबाट उनीहरूलाई जोखिममा पारिरहेको देखिन्छ । यदि उच्च सीपयुक्त जनशक्ति उत्पादन गर्न सकियो भने उनीहरूले राम्रो आम्दानी गर्नेमात्र होइन, स्थिर र सुरक्षित रोजगारी पनि पाउन सक्छन् । यसले रेमिट्यान्सको गुणस्तर सुधारसँगै जोखिम पनि कम गराउँछ ।

त्यस्तै, नीतिगत रूपमा पनि नेपालले गम्भीर पुनर्विचार गर्नुपर्ने समय आएको छ । अल्पकालीन रूपमा महँगी नियन्त्रण, इन्धन आपूर्ति व्यवस्थापन र सम्भावित रूपमा फर्किने कामदारका लागि पुनःस्थापना कार्यक्रम आवश्यक छन् । दीर्घकालीनरूपमा भने आर्थिक विविधीकरण, औद्योगिकीकरण र उत्पादन वृद्धि अपरिहार्य छन् । नीतिगत घोषणाले मात्र हुँदैन, प्रभावकारी कार्यान्वयनले वास्तविक परिवर्तन ल्याउन सक्छ । त्यसैले मध्य पूर्वको तनावलाई नेपालले जोखिम होइन, अवसरका रूपमा लिनुपर्छ । यसले हाम्रो आर्थिक संरचना कमजोरी उजागर गरे पनि सुधारको बाटो पनि देखाएको छ । यदि यसलाई गम्भीरतापूर्वक लिएर दीर्घकालीन सोचसाथ अघि बढ्यौं भने नेपालले आफ्नो अर्थतन्त्रलाई अधिक दिगो, आत्मनिर्भर र सुदृढ बनाउन सक्छ । तर, यदि हामी पुरानै ढाँचामा अडिग रह्यौं भने भविष्यमा यस्ता संकटले कहिल्यै पनि पिछा छोड्ने छैन र अझ गम्भीर असर पार्दै जानेछ । त्यसैले अबको आवश्यकता प्रतिक्रियात्मक होइन, सक्रिय र दूरदर्शी नीति हुनुपर्छ ।

त्यसो त, नेपाल आज निर्णायक मोडमा छ । बाह्य निर्भरता र आन्तरिक कमजोरीबीचको सन्तुलन धेरै समय टिक्न सक्ने अवस्था पनि छैन । या हामी परिवर्तनको बाटो रोज्छौं या त संकटले हामीलाई परिवर्तन गर्न बाध्य पार्छ । हाम्रा लागि समयले ढोका ढकढक्याइसकेको छ । अब निर्णय लिने इच्छाशक्ति हामीमा हुनुपर्छ । हुन पनि मध्य पूर्वमा बढ्दो तनाव नेपालका लागि टाढाको घटना भने होइन । हाम्रा भान्साको भाँडोदेखि बैंकको खातासम्म, गाउँको परिवारदेखि सहरको व्यवसायसम्ममा यसले प्रत्यक्ष असर पारिरहेको छ । लाखौं नेपालीको पसिनामा टिकेको हाम्रो अर्थतन्त्र त्यही क्षेत्रको स्थिरतासँग जोडिएको छ । त्यसैले त्यहाँको अस्थिरता हाम्रो भविष्यसँग जोडिएको चिन्ताको विषय बन्नु स्वाभाविक हो ।

नेपालको अर्थतन्त्रको आधारभूत यथार्थ के हो भने हामी उत्पादनभन्दा उपभोगमा बढी निर्भर छौं । उद्योग कमजोर, कृषि आधुनिकीकरण अधुरो र सेवा क्षेत्र आयात–निर्भर छ । यस्तो अवस्थामा रेमिट्यान्सले अर्थतन्त्र धानेको छ । विदेशी मुद्रा सञ्चिति बलियो देखिनु, बैंकिङ प्रणाली चलायमान हुनु र बजारमा तरलता रहनुका पछाडि मुख्य भूमिका रेमिट्यान्सकै हुन्छ । तर, यो हाम्रो सबैभन्दा ठूलो भने शक्ति होइन, सबैभन्दा ठूलो कमजोरी बन्दै छ । यदि मध्य पूर्वमा द्वन्द्व चर्किंदै गयो भने राष्ट्रिय आर्थिक संकट निम्तिन सक्छ । यस्तो अवस्थामा नेपालको निर्यात क्षेत्रले अर्थतन्त्र थाम्न सक्ने स्थिति रहँदैन । हाम्रो निर्यात सानो छ, सीमित बजारमा केन्द्रित छ र प्रतिस्पर्धात्मक क्षमता कमजोर छ । कार्पेट, हस्तकला, गार्मेन्ट वा कृषि उत्पादन क्षेत्र विश्व अर्थतन्त्र नै अस्थिर बन्दा यी क्षेत्रबाट पनि अपेक्षित राहत मिल्न सक्ने अवस्था छैन ।
(लेखकको यो निजी विचार हो)

The post चुनौतीलाई अवसरमा बदलौं appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com – Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more….



Source link

Leave a Comment