राजनीतिक दलहरू अहिले देशभर चुनावी अभियानमा छन् । प्रचारको अन्तिम समयमा घरदैलो गरिरहेका दलहरूले आफ्नो मत माग्नका लागि स्थानीयदेखि राष्ट्रिय एजेन्डाहरू अघि सारेका छन् । कतिपयमाथि चुनाव जितेर गएपछि नफर्केको आक्रोश पनि मतदाताले पोखिरहेका छन् । तर मतदाताको मन माझ्दै जित्ने योजनामा उम्मेदवारहरू छन् । यसै सन्दर्भमा सप्तरी-२ उम्मेदवार समेत रहेका जनमत पार्टीका अध्यक्ष सीके राउतसँग अनलाइनखबरका दुर्गा खनालले राजविराजमा गरेको कुराकानी :
तपाईंलाई भेट्न आउँदै गर्दा बाटोमा एकजना साथी भेटिए। उनले तपाईंको ब्यानर र पोस्टरतर्फ संकेत गर्दै एउटा रोचक कुरा सुनाए । तपाईं त मधेशको ‘क्रान्तिकारी’ नेता, अघिल्लो चुनावमा जताततै रातो रङ मात्र देखिन्थ्यो। तर यसपालि तपाईंको पोस्टरमा रातो रङ अलि ‘गुलाबी’ र ‘खैरो’ मिसिएको जस्तो देखिन्छ। तपाईंको क्रान्तिकारिता विस्तारै फिक्का हुँदै गएको हो ?
हैन, हैन, त्यस्तो होइन । यसको एउटा वैचारिक पाटो छ । सुरुमा हामीले ‘सामुदायिक समाजवाद’ को वकालत गरेका थियौं । तर पछि हामीले एउटा नयाँ राजनीतिक प्रस्ताव पारित गर्यौं— त्यो हो ‘सामाजिक लोकतन्त्र’ । अन्तर्राष्ट्रिय रूपमै सामाजिक लोकतन्त्रलाई अलि गाढा गुलाबी रङले प्रतिनिधित्व गर्ने गरिन्छ। त्यसैले हाम्रो नयाँ विचार र दर्शनलाई झल्काउन हामीले यो रङ प्रयोग गरेका हौं ।
रङ फेरिँदा तपाईंको उग्र क्रान्तिकारिता चाहिँ अलि ‘सफ्ट’ वा फिक्का भएको त पक्कै हो नि ?
छैन, छैन । त्यो त झन् गाढा भएको छ नि ! हेर्नुस् त, हाम्रो झन्डा र ब्यानरमा रातो त अझै छँदै छ नि।
अघिल्लो चुनावमा तपाईं यस क्षेत्रमा आउँदा छुट्टै खालको चर्चा र चासो थियो। विदेशमा पढेको, नेपालमा आफ्नै राजनीतिक मुभमेन्ट चलाएको एउटा ‘नयाँ’ र बौद्धिक उम्मेदवारका रूपमा जनताले तपाईंका एजेन्डा पत्याएका पनि थिए। तर, आज यहाँ आइपुग्दा दृश्य केही फेरिएको देखिन्छ। कतिपयले तपाईंलाई पुरानो भइसकेको र अझै नयाँ विकल्प खोज्नुपर्ने कुरा गरिरहेका छन्। मधेशमा तपाईंको विकल्पमा अर्को कोही आउन लागिसकेको हो ?
हेर्नुस्, हामीभन्दा नयाँ भनिएका अरू पार्टीहरू पनि चुनावी मैदानमा छन्, नभएका होइनन्। तर ती पार्टीहरू त हामीसँगै संसद्मा भएकै पार्टी हुन्। हामीले संसद्मा ६ सिट राख्दा उहाँहरूको २१ सिट थियो । त्यसैले अहिले आएर जुन तरिकाले उहाँहरूलाई ‘नयाँ’ भनेर चित्रित गरिँदै छ, त्यो एउटा भ्रम मात्र हो। यो जनतालाई दिग्भ्रमित पार्ने काम हो। यस्तो भ्रमलाई मिडिया र बुद्धिजीवी वर्गले पनि चिर्न सक्नुपर्छ।
अर्को कुरा, वैचारिक हिसाबले हेर्नुहुन्छ भने आज पनि हामी नै नयाँ हौं । किनभने हामीले ‘जेनजी’ आन्दोलन सुरु हुनुभन्दा एक-डेढ वर्ष अगाडि नै नयाँ सोचका साथ काम सुरु गरेका थियौँ।
२०७९ को चुनावपछि यी तीन वर्षमा तपाईंको पार्टी जसरी उदाएको थियो, अहिले यो चुनावमा आइपुग्दा त पार्टी केही छिन्नभिन्न र कमजोर भएको जस्तो देखिन्छ नि?
त्यो बिल्कुलै गलत बुझाइ हो। हामी छिन्नभिन्न भएका छैनौँ, बरु यसपालि अझ सशक्त उम्मेदवारहरू उठाएका छौँ। पहिलाभन्दा धेरै निर्वाचन क्षेत्रमा हाम्रो उपस्थिति छ। सामाजिक सञ्जालमा हुने हल्ला र वास्तविकता फरक हुन्छ । अहिले ती हल्लाहरू पनि मत्थर भइसकेका छन्। हामी पहिलाभन्दा झन् शक्तिशाली भएर निस्किने छौँ, जुन कुरा चुनावी परिणामले नै सावित गर्नेछ।
म एउटा तथ्य सम्झाउँछु— अघिल्लो चुनावमा तपाईँ यस क्षेत्रबाट संघीय सांसदको उम्मेदवार बन्दा तपाईंको साथमा प्रदेश सभाका दुई प्रभावशाली नेता हुनुहुन्थ्यो । एकजना त अहिले पनि तपाईंसँगै हुनुहुन्छ, तर अर्को नेता सतिश सिंह—जसलाई तपाईंले नै मुख्यमन्त्री बनाउनुभयो—आज तपाईंकै विरुद्ध ‘स्वाभिमान पार्टी’ गठन गरेर चुनावी मैदानमा उत्रिनुभएको छ नि ?
यो त जनताको मतमाथिको बेइमानी भएन हो । पाँच वर्षका लागि चुनिएको मान्छे बीचमै बाटो छुट्टाएर प्रतिस्पर्धामा आउनुभयो । यो स्पष्ट रूपमा जनताको अभिमतको अपमान हो। उहाँसँग कुनै वैचारिक एजेन्डा छैन। उहाँ त सामन्तवाद लाद्ने, सप्तरीका विकास योजनाहरू अलपत्र पार्ने र गरिब निमुखा जनतामाथि झुटा मुद्दा लगाएर दमन गर्ने व्यक्तिका रूपमा चिनिनुहुन्छ। त्यसैले उहाँको उम्मेदवारीले हामीलाई केही फरक पर्दैन।
तर, उहाँलाई मुख्यमन्त्री त तपाईंले नै बनाउनुभएको हो नि ! संसदीय परिपाटीमा प्रायः संसदीय दलको नेतालाई मुख्यमन्त्री बनाइन्छ, तर तपाईंले त्यो स्थापित चलन तोडेर सतिश सिंहलाई अघि सार्नुभयो। आफ्नो पार्टीभित्र यस्तो अभ्यास किन गर्नुभयो ?
यस्तो छ, त्यतिबेलाको त्यो निर्णयलाई अहिलेका लागि ‘त्रुटिपूर्ण निर्णय’ मात्र भनौँ। यसमा धेरै नअल्झिऔँ।
यो तीन वर्षको अवधिमा तपाईंको पार्टीबाट अरू पनि धेरै नेताहरू बाहिरिएका छन्। उपाध्यक्षहरूले पार्टी छाडे, तपाईंकै पार्टीका पूर्व प्रवक्ता शरदसिंह यादव अहिले तपाईंकै विरुद्ध चुनाव लड्दै हुनुहुन्छ। अघिल्लो चुनावमा तपाईंलाई जिताउन खटिएका सारथिहरू नै आज तपाईंको विरुद्धमा उभिँदा, तपाईँको ‘पार्टी सञ्चालन शैली’ माथि नै प्रश्न उठ्दैन र ?
पटक्कै उठ्दैन। उहाँहरू आफ्नो व्यक्तिगत अवसरको खोजीमा लाग्नुभएको हो। उहाँहरूलाई मेरो शुभकामना छ। जनताको अभिमतले नै यसको फैसला गर्नेछ, यसमा धेरै विस्तारमा जानु आवश्यक छैन।
यहाँका मानिस बीच अर्को एउटा चर्चा पनि छ—तपाईंले निश्चित व्यक्तिहरूलाई मात्र च्याप्ने र परिवारका निकट मान्छेलाई अगाडि बढाउने गर्नुहुन्छ। तपाईंकै दाजु अर्को क्षेत्रबाट उम्मेदवार हुनुहुन्छ। तपाईंमाथि लागेको यो ‘परिवारवाद’ र निश्चित घेरालाई मात्र संरक्षण गरेको भन्ने आरोपबारे के भन्नुहुन्छ ?
त्यो एकदमै निराधार आरोप हो। कोही मान्छे नभेटिएर उहाँलाई उम्मेदवार बनाएको हो । उहाँ त यसअघि नै झन्डै २० हजार मत ल्याएर स्थापित भइसकेपछि मात्र पार्टीमा आउनुभएको हो। त्यसैले यो आरोपमा कुनै सत्यता छैन।
यसपटक यो निर्वाचन क्षेत्रमा तपाईंले आफ्नो मुख्य प्रतिस्पर्धी कसलाई ठान्नुभएको छ ? किनभने यहाँ त पुराना राजनीतिक दलहरू पनि छन् र मधेश आन्दोलनकै जगमा जन्मिएको जसपा नेपाल जस्ता पार्टीहरू पनि मैदानमा छन्। आजको दिनमा तपाईंको मुख्य चुनावी प्रतिस्पर्धी को हो ? तपाईंकै पार्टीबाट छुट्टिएर गएका सतिश सिंह लगायतका नयाँ अनुहार हुन् कि अरू नै कोही?
यसपालिको चुनावमा हाम्रो प्रतिस्पर्धा अरू कोहीसँग होइन, आफैँसँग छ। यहाँ कुनै ठूला प्रतिस्पर्धी उम्मेदवारहरू छैनन् । अघिल्लो पटक हामीले ३६ हजार मत ल्याएका थियौँ भने यसपालि ५० देखि ५५ हजारको लक्ष्य राखेर अगाडि बढेका छौँ। हाम्रो मुख्य चुनौती आफ्नै लक्ष्य भेट्टाउनु हो।
तपाईं ‘नौलो गणतन्त्र’ जस्ता नयाँ विचार र दर्शनको कुरा गर्नुहुन्छ। अघिल्लो चुनावमा तपाईंको जितको मुख्य आधार किसान र गरिबका मुद्दा थिए। तपाईंले गरेको किसान आन्दोलन निकै चर्चित पनि भयो। तर, चुनाव जितेर गएपछि ती मुद्दाहरू त ओझेलमा परे जस्तो देखिन्छ नि? तपाईंहरू संघीय र प्रदेश दुवै सरकारमा सहभागी हुनुभयो, तर किसानका समस्या त आज पनि जस्ताको त्यस्तै छन् । के गर्नुभयो त यो अवधिमा ?
सबैभन्दा पहिले त यो बुझ्न जरुरी छ कि ३०-३५ वर्षदेखि बहुमतको सरकार चलाउनेहरूले समाधान गर्न नसकेको समस्या १६५ सिटमध्ये एउटा मात्र सिट जितेर समाधान हुने कुरा होइन। तैपनि हामीले के गर्यौँ भन्ने कुराको प्रमाण हाम्रा कामले दिन्छन्।
तपाईं जनमत पार्टीले जितेका पालिकाहरूमा गएर हेर्नुस्। हनुमाननगर कंकालनी नगरपालिकामा किसानका लागि बिजुली पूर्णतः नि:शुल्क गरिएको छ, जसको महसुल नगरपालिकाले तिर्छ। हामीले रोजगारीका लागि ‘बनाना चिप्स फ्याक्ट्री’ स्थापना गरेका छौँ। सप्तरीमा इतिहासमै नआएको बजेट र ८०० भन्दा बढी विकासका योजनाहरू हामीले ल्याएका छौँ। लालापट्टी र जिता जस्ता ठूला सिँचाइ आयोजना सुरु भएका छन्। ठाउँ-ठाउँमा डीप बोरिङ र कृषि विद्युतीकरणका काम भएका छन्। मलखादको अनुगमन गरेर यसपालि वितरण सहज बनाइएको छ।
जहाँसम्म रोजगारीको कुरा छ, हामीले १०-२० ठाउँमा ‘ग्राम उद्योग भवन’ बनाउँदै छौँ जहाँ स्थानीय महिलाहरूले काम पाउनेछन्। ‘कृषि स्वयंसेविका’ कार्यक्रममार्फत १२६४ महिला र ‘स्वयंसेवक शिक्षक’ मार्फत युवाहरूले रोजगारी पाएका छन्। एकैपटक १० लाख रोजगारी नभए पनि हजारौँको संख्यामा रोजगारी सिर्जना गर्ने काम भइरहेकै छ।
तपाईंले आफ्नो निर्वाचन क्षेत्रका काम त सुनाउनुभयो, तर तपाईं त एउटा राष्ट्रिय पार्टीको अध्यक्ष पनि हो नि। मधेशका किसानहरू मिटरब्याजपीडित भएर काठमाडौं धाइरहेका छन्, उखु किसानले भुक्तानी नपाएर आन्दोलन गरिरहनु परेको छ। यस्ता राष्ट्रिय मुद्दाहरूमा तपाईंको भूमिका खोइ त ?
हामीलाई जहाँबाट जनताले मत दिए, पहिला त्यहाँको जिम्मेवारी पूरा गर्नु हाम्रो धर्म हो। तर राष्ट्रिय मुद्दामा जनमत पार्टीभन्दा बढी कसले बोलेको छ ? भूमि सम्बन्धी अध्यादेश आउँदा प्रखर विरोध गर्ने जनमत पार्टी नै थियो । नागरिकता विधेयक पारित गराउन दबाब दिने हामी नै हौँ।
मधेशीमाथि हुने विभेद र रंगभेद विरुद्ध ‘निजी विधेयक’ दर्ता गर्ने र संकल्प प्रस्ताव पेश गर्ने पार्टी जनमत नै हो। धोती दिवस र रंगभेद विरुद्धको दिवस मनाउने पनि हामी नै हौँ। मधेश र समग्र राष्ट्रका लागि आवश्यक पर्ने हरेक विषयमा सदन र सडक दुवैतिर प्रखर रूपमा आवाज उठाउने पार्टी जनमत नै हो।
तपाईंहरू यो बीचमा दुई पटक सरकारमा सहभागी हुनुभयो। सरकारमा गएको विषयलाई लिएर तपाईंहरूको आलोचना पनि भइरहेको छ नि ?
सरकारमा नगएको भए त डेलिभरी नै गर्न सकिन्थ्यो नि । आलोचनाको कुनै तुक छैन। संघीय सरकारले हामीलाई एकदमै न्यून बजेट दिन्छ, उनीहरूको बहुमत पुगेपछि हामीलाई सोध्ने कुरा पनि भएन।
तर जब हामी प्रदेश सरकारमा गयौँ, तब मात्र हामीले यहाँको विकासका लागि बजेट ल्याउन सक्यौँ र ८०० भन्दा बढी योजनाहरू कार्यान्वयन गर्न सक्यौँ । सरकारमा गएरै डेलिभरी सम्भव भएको हो । जनताले यसलाई सकारात्मक रूपमै लिएका छन्। अर्को महत्त्वपूर्ण कुरा— अरू पार्टी भएको भए राष्ट्रिय अध्यक्ष नै मन्त्री बन्न हामफाल्थे होला, तर म गइनँ। हामी विशुद्ध ‘डेलिभरी’ का लागि सरकारमा गएका हौँ।
डेलिभरीकै कुरा गर्दा, तपाईंहरूले प्रदेश सरकार चलाउँदा विकास खर्च गर्न नसकेको र कतिपय आयोजनाहरूमा भ्रष्टाचारको कुरा पनि उठ्यो नि? तपाईं त ‘एन्टी-करप्सन मुभमेन्ट‘ बाट आउनुभएको मान्छे, तपाईंकै पार्टीको पर्फमेन्समाथि प्रश्न उठ्नुलाई कसरी लिनुहुन्छ ?
यो आरोप तथ्यभन्दा बाहिर छ। जनमत पार्टीले संघीय मामिला मन्त्रालय सम्हाल्दा त्यो कार्यसम्पादनका आधारमा उत्कृष्ट मन्त्रालय ठहरिएको थियो ।
प्रदेशमा हामीले झन्डै एक वर्ष सरकारको नेतृत्व गर्यौँ। अघिल्ला सरकारका पालामा कति वटा अख्तियारमा मुद्दा परे, सबैलाई थाहा छ । तर हाम्रो एक वर्षे कार्यकालमा एउटा पनि भ्रष्टाचारको मुद्दा दर्ता भएको छैन। यो नै हाम्रो पारदर्शिताको प्रमाण हो। हामी डेलिभरी गर्न सक्षम छौँ, तर हाम्रो पूर्ण बहुमत नभएकाले धेरै कुरा लागू गर्न कठिनाइ हुन्छ। संघीय कर्मचारीको हालीमुहालीले गर्दा कार्यविधि नबनिदिँदा ‘टिच फर मधेश’ जस्ता राम्रा कार्यक्रमहरू सञ्चालन गर्न सकिएन।
मधेश सरकार राम्रै चलेको थियो भन्नुहुन्छ, तर त्यही राम्रो काम गरिरहेका आफ्नै मुख्यमन्त्रीलाई फिर्ता बोलाउन चाहिँ किन बोलाउनुभएको त ? तपाईंको पार्टीमा पनि पदकै लागि झगडा भयो नि ?
सम्झौता अनुसार हुन्छ । यो पदको लोभ होइन, राजनीतिक सम्झौताको पालना हो। पदमा पुग्ने बित्तिकै ‘फेभिकोल’ ले टाँसिएर आजीवन बसिरहनुपर्छ भन्ने छैन। हाम्रो सम्झौता एक वर्षका लागि थियो, त्यही अनुसार उहाँले राजीनामा दिनुभएको हो । अरू पार्टीमा मन्त्रीलाई तानेको सुनिँदैन, तर हामी पदको मोह राख्ने पार्टी होइनौँ । हामी जनताको जनमतको कदर गर्छौं, त्यसैले परिस्थिति अनुसार उचित निर्णय लिन्छौँ।
तपाईं ‘प्रदेशको स्वायत्तता‘ को कुरा उठाइरहनुहुन्छ । तर नयाँ आएका कतिपय दलहरूले प्रदेश संरचनालाई खर्चिलो र भद्दा भन्दै यसलाई खारेज वा पुनरावलोकन गर्नुपर्ने माग गरिरहेका छन्। तपाईंको विचारमा अहिलेको संरचना कस्तो छ र स्वायत्तता भनेको के हो ?
यो संरचना विरोधी धारणा भनेको ‘एकल जातीय शासकीय मानसिकता’ को उपज हो। उनीहरू सबै अधिकार सिंहदरबारमै केन्द्रित होस् भन्ने चाहन्छन्। हामी भन्छौं— संघीयता अपरिहार्य छ। प्रदेशहरू अझ बलियो र स्वायत्त हुनुपर्छ। एउटा सानो योजनाका लागि पनि सिंहदरबार धाउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ। हाम्रो आफ्नो बजेट र प्रशासन हुनुपर्छ ।
जनमत पार्टी पदका लागि होइन, सिद्धान्तका लागि लड्ने पार्टी हो। कसैले आफूलाई प्रधानमन्त्री घोषणा गरेर हिँडेका छन्, तर देशको समस्या संरचनागत छ भन्ने उनीहरूलाई बोध नै छैन। हामी यो चुनावबाट अझ सशक्त शक्तिका रूपमा उदाउने छौँ।
हामीले १२ आयाममा स्वायत्तता खोजेका छौँ— आर्थिकदेखि प्रशासनिकसम्म। उदाहरणका लागि, प्रदेशको आफ्नै प्रहरी र सिडिओ हुनुपर्छ। संघले पठाएको प्रहरीले यहाँको मुख्यमन्त्रीलाई समेत चिन्दैन भने उसले कसरी सुरक्षा दिन्छ ? त्यसैले हामीलाई वास्तविक राजनीतिक र आर्थिक स्वायत्तता चाहिन्छ। प्रदेश सभा चलिरहँदा मूकदर्शक भएर बस्यो ।
तपाईंको राजनीतिक पृष्ठभूमि ‘छुट्टै मधेश‘ को अभियानसँग जोडिएको थियो, जसका कारण तपाईंले जेल पनि भोग्नुभयो। अहिले स्वायत्तताको कुरा गर्दा धेरैले तपाईं फेरि त्यतै लाग्न खोज्नुभएको हो कि भनेर शंका गर्छन् नि ?
अधिकार नै नदिने र जहिले पनि ‘विखण्डनकारी’ भनेर आरोप मात्रै लगाउने हो भने मान्छेले आफ्नो बाटो रोज्न बाध्य हुन्छन् । अहिलेका पुराना र नयाँ दलहरूले दिएको अधिकार पनि खोस्न खोज्दै छन्, यसले देशमा ठूलो दुर्घटना निम्त्याउन सक्छ। मधेशलाई अधिकार दिनुपर्छ । आफ्नो निर्णय गर्न पाउनुपर्छ।
तपाईंले भनेजस्त प्रदेशले अधिकार नपाएको अवस्थामा के हुन्छ ?
संसद्मा बहुमत थियो । तर भर्खरै सावित भयो नि प्रहरी सेनाले केही काम गर्न नसक्ने अवस्था देखियो । बहुमतको मात्र कुरा गर्ने हो भने मधेशले पनि क्रान्ति गर्न सक्छ भन्ने कुरा बिर्सनु हुँदैन। त्यसैले अधिकार दिन कन्जुस्याइँ नगरौँ।
अहिलेको प्रदेशको संरचना भद्दा छ भन्ने कुरालाई कसरी लिनु हुन्छ ?
प्रदेशको संरचना भद्दा छैन । बरु उहाँहरूले कुरूप बनाउनु भयो । एक मधेश एकप्रदेश बनाउनुपर्नेमा ५ टुक्रामा बाँडिदिनुभयो । त्यो षड्यन्त्र सच्याउनुपर्छ ।
अहिले देशभर चुनावी माहौल छ। कतै ‘नयाँ भर्सेस पुरानो‘ भनिएको छ, कतै एजेन्डाको कुरा छ। तपाईंलाई यो चुनाव कता गइरहेको जस्तो लाग्छ? र जनमत पार्टीको अवस्था के होला?
अहिलेको चुनाव अलि ‘हावादारी’ र ‘भाइरलवाद’ को चपेटामा छ। न कतै सिद्धान्तको चर्चा छ, न त गम्भीर एजेन्डाको। तर मलाई विश्वास छ, जनताले बुझिसकेका छन् कि फेसबुक र टिकटकको लहरले मात्र देश चल्दैन । जनता फेरि विचार र सिद्धान्त बोकेका दलहरूकै पक्षमा उभिनेछन् ।
जनमत पार्टी पदका लागि होइन, सिद्धान्तका लागि लड्ने पार्टी हो। कसैले आफूलाई प्रधानमन्त्री घोषणा गरेर हिँडेका छन्, तर देशको समस्या संरचनागत छ भन्ने उनीहरूलाई बोध नै छैन। हामी यो चुनावबाट अझ सशक्त शक्तिका रूपमा उदाउने छौँ।
अहिलेका पुराना र नयाँ दलहरूले दिएको अधिकार पनि खोस्न खोज्दै छन्, यसले देशमा ठूलो दुर्घटना निम्त्याउन सक्छ। मधेशलाई अधिकार दिनुपर्छ । आफ्नो निर्णय गर्न पाउनुपर्छ।
अहिलेको राजनीतिक माहौलमा सेलिब्रेटीहरूलाई अगाडि सारेर ‘हिरो’ वा ‘प्रधानमन्त्री’ बनाउन चलेको देखिन्छ। हेर्नुस्, हावाको भरमा कसैलाई हिरो, कसैलाई मोडल त कसैलाई प्रधानमन्त्री बनाउने गरी सेलिब्रेटीहरू थुपारेर राजनीति हुँदैन। राजनीति गर्न त ठोस एजेन्डा चाहिन्छ।
मलाई गर्व छ— आजको समयका लागि उपयुक्त एजेन्डा केवल जनमत पार्टीसँग मात्र छ। उदाहरणका लागि, ‘जेन्जी’ आन्दोलनको प्रमुख माग ‘प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख’ हुनुपर्छ भन्ने थियो। यो एजेन्डा हाम्रो ‘नौलो गणतन्त्र’ को अवधारणामा पहिलेदेखि नै छ। त्यसैले, यदि कसैले सिद्धान्त र एजेन्डाको राजनीति खोज्छ भने उसले जनमत पार्टी र हाम्रो चुनाव चिह्न ‘लाउडस्पिकर’ (हर्न) छापलाई नै रोज्नुपर्छ।
२३ र २४ भदौको चर्चित घटनाक्रमलाई लिएर अहिले पनि टिकाटिप्पणी भइरहन्छन्। कसैले २३ गतेको पक्ष लिन्छन् त कसैले २४ गतेको। तपाईंले पनि त्यसबेला आफ्ना धारणा प्रखर रूपमा राख्नुभएको थियो। आजको दिनमा ती दुई दिनका घटनाक्रमलाई कसरी स्मरण गर्नुहुन्छ?
यो एक लाइनमा समेटिने विषय होइन । ती घटनामा ठूलो घुसपैठ भएको थियो। कतै बालबालिकाको दुरुपयोग गरियो, कतै मान्छे उक्साएर पछि आफैँ लुक्ने गैरजिम्मेवार काम भयो। देश जलाउने, निजी घर, उद्योगधन्दा र होटलहरूमा आगो लगाउने जस्ता हिंसात्मक कार्यलाई कसैले पनि अस्वीकार गर्न मिल्दैन।
जनमत पार्टी त कसैलाई ढुंगा समेत नहान भन्ने शान्तिपूर्ण पार्टी हो। हामीले हातमा एउटा पोस्टर मात्र समात्दा पनि जन्मकैदको मुद्दा खेप्नुपर्यो, तर अहिले सर्वसाधारणको घरै जलाउँदा समेत किन कसैमाथि मुद्दा दर्ता भएको छैन, कारबाही हुँदैन ? यसको उत्तरदायित्व निर्वाचनपछि खोजिनुपर्छ। मेरो माग त के छ भने, यस्ता घटनाको छानबिन प्रतिवेदन पहिले नै सार्वजनिक हुनुपर्थ्यो। नत्र अपराधीहरूलाई चुनावमार्फत वैध बनाउने खेल मात्र हुने आशंका रहिरहन्छ।
