धरान उपमहानगरपालिका–८ का चक्र गुरुङले राजनीतिप्रति खासै चासो राख्दैनन्। सिटी सफारी चालक उनी भन्छन्, ‘हामी जस्ता काम गरेर खानेहरुका लागि सरकारले राम्रो काम गर्नुपर्छ।’ उनले राम्रो काम गर्ने उम्मेदवार हेरेर आगामी चुनावमा मत दिने बताए।
धरान–१४ विजयपुरका कुलबहादुर खड्का धरान बजारमा सुन्तला बिक्री गर्दै हिँड्छन्। उनी राजनीतिमा चासो राख्छन्। भन्छन्, ‘गरिब, दुःखीलाई जसले हेर्छ, त्यतैतिर लाग्ने हो।’ उनका अनुसार धरानमा पुराना राजनीतिक दलभन्दा नयाँप्रति सर्वसाधारण ढल्केका छन्। ‘ आउने चुनावमा पनि पुराना दलले आफ्नो मति नसुधारे नयाँतिरै मत जान सक्छ,’ उनले भने, ‘मैले पनि पुराना दललाई धेरै वर्ष मत दिएँ, उनीहरूले गरिब र दुःखीका निम्ति खासै चासो नदिएपछि अबको चुनावमा मत बदल्ने मनस्थितिमा छु।’
पूर्वमा धरान लाहुरेको बसोबास र पहिचानवादी आन्दोलनको मुख्य केन्द्र मानिन्छ। पछिल्लो समय अधिकतर लाहुरे बेलायतमै बस्दै आएका छन्। यहाँँ बस्ने लाहुरे समुदाय यहाँको निर्वाचनमा निर्णायक बन्न सक्छ।
धरानका बासिन्दा आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुनेमा ढुक्क भने छैनन्। यहाँ यतिबेला पुराना राजनीतिक दलको अवस्था बिग्रिएको छ र नयाँ दल पनि खासै चुनावी अभियानमा जुटेका छैनन्। धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले दर्ता गरेको ‘श्रम संस्कृति पार्टी’ भन्ने चुनावी प्रचारको हिसाबले अघि देखिन्छ।
उद्योग वाणिज्य संघ सुनसरीका पूर्वअध्यक्ष गिरिधारी सापकोटा पुराना र नयाँ दुवै दल कसैको पक्षमा पनि निर्वाचनको माहोल नबनेको बताउँछन्। उनले भने, ‘अहिले नै कसैको पक्षमा माहोल बनिसकेको छैन। आगामी निर्वाचनमा पुराना राजनीतिक दलले राम्रा व्यक्ति र युवालाई उम्मेदवार बनाए पुरानै दलको पनि जित हुन सक्छ नत्र नयाँको सम्भावना देखिन्छ।’
सुनसरी त्यसमा पनि धरानमा विगतका निर्वाचनमा पुराना राजनीतिक दलहरुभित्र गुटबन्दी देखिएको थियो। निर्वाचनमा राम्राभन्दा पनि आफ्नालाई टिकट दिँदा एउटा समूह असन्तुष्ट बन्दा दलहरूले अपेक्षाकृत नतिजा सुधार गर्न सकेका थिएनन्। यसैकारण २०७९ धरान उपमहानगरपालिकाको निर्वाचनमा सामाजिक अभियन्ता हर्कराज राई मेयरमा विजयी भएका हुन्।
उनले चार दलीय गठबन्धनका उम्मेदवार किशोर राईले भन्दा चार हजार ७६२ मत बढी ल्याएका थिए। राईले २० हजार ८२१ मत ल्याउँदा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका राईले १६ हजार ५९ मत पाएका थिए। एमालेकी मञ्जु भण्डारी तेस्रो स्थानमा पुगेकी थिइन्। उनले १२ हजार ८२५ मत पाएकी थिइन्।
धरानमा सांगठनिक हिसाबले नेकपा एमालेको प्रभाव बढी छ। त्यसपछि कांग्रेस र अहिले नेपाली कम्युनिस्ट पार्टीमा रुपान्तरण भएको माओवादी केन्द्रको संगठन राम्रो छ। २०७६ सालको उपनिर्वाचनमा धरानमा पहिलो पटक कांग्रेसका तिलक राई मेयरमा विजयी भएका थिए। ‘केही वर्षयता धरानको राजनीतिक अवस्था फेरिँदो छ। तिलक राईले उपनिर्वाचन जितेपछि अवस्था फेरिएको हो’, राजनीतिक विश्लेषक राजेन्द्र शर्माले भने, ‘तिलकले कांग्रेसबाट जितेर रेकर्ड बनाए। त्यसपछि २०७९ मा भएको निर्वाचनमा स्वतन्त्र उम्मेदवार हर्कराज राई लौरो चुनाव चिन्ह लिएर मेयरमा विजयी भए।’ २०४७ सालदेखि २०७४ सालसम्म धरानमा एमालेको एकछत्र राज थियो।
शर्माका अनुसार यतिबेला धरानमा पुराना राजनीतिक दलहरु ‘प्रतिरक्षा’ को अवस्थामा छन्। पुराना दलहरुप्रति आमनागरिक विश्वस्त हुन सकेका छैनन्। ‘फागुन २१ मा चुनाव भएमा पुराना दलहरुका लागि जित निकाल्न फलामको चिउरा चपायसरह हुनेछ’, उनले भने, ‘नयाँ दलबाट पनि पहिचान नभएका व्यक्तिलाई उठाउँदा राम्रो नतिजा हात पर्ने अवस्था हुँदैन्।’
यहाँका जनता छिटो परिवर्तन र विकास चाहन्छन् चाहन्छन्। यहाँ पहिचानको लडाईं पनि बढी हुने भएकाले निर्वाचनमा जातीय प्रभाव पनि पर्छ। ‘धरानको निर्वाचनमा जातीय गन्ध पनि आउँछ। अबको निर्वाचनमा पनि त्यसको प्रभाव पर्छ’, शर्माले विगतको अनुभव सुनाउँदै भने।
जेनजी आन्दोलनपछि धरानमा जातीय पहिचानवादीको आन्दोलन पनि रोकिएको छ। ‘अहिले यहाँ पहिचानवादीको आन्दोलनको कुनै गतिविधि छैन’, नेपाल पत्रकार महासंघ सुनसरीका निवर्तमान अध्यक्ष जनकऋषि राईले भने, ‘जेनजी आन्दोलनले यहाँ ठुलै हलचल ल्याउँला जस्तो छ।’ उनी धरानमा पुराना राजनीतिक दलको संगठन भने राम्रै भएको बताउँछन्।
धरानमा निर्वाचनको रौनक अहिलेसम्म देखिँदैन। नयाँ हुन् वा पुराना सबै दलको गतिविधि शून्यप्रायः छ। तर उनीहरूले राजनीतिक गतिविधि गरिरहेको दाबी गरेका छन्। धरानमा नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टीमा रुपान्तरण भएको माओवादी केन्द्र, राप्रपा, जसपा नेपाल र जसपा नेपाल पुराना दल हुन्। भर्खरै निर्वाचन आयोगबाट मान्यता पाएको श्रम संस्कृति पार्टी र रास्वपा नयाँ दल हुन्।
हर्कको श्रम संस्कृति पार्टी तुलनात्मक रुपमा प्रचारको हिसाबले अघि छ। धरानका २० वडामध्ये चारवटामा रास्वपाको समिति विस्तार भइ सकेको छैन्। रास्वपा धरानका नेता सुमन श्रेष्ठले भने, ‘अहिलेसम्म हाम्रो पार्टीको पनि खासै चहलपहल छैन। तर अब कसरी अघि बढ्ने भनेर सरसल्लाह भइरहेको छ।’
उपेन्द्र यादव नेतृत्वको जसपा नेपालका ताजुप लिम्बुले धरानका मतदाताको मनस्थिति अहिले नै बुझिहाल्ने अवस्था नभएको बताए। ‘धरानमा संगठन नै नभएका दलले पनि चुनाव जित्ने स्थिति बन्छ। त्यसैले आगामी चुनावका सम्बन्धमा अहिले नै आकलन गरिहाल्ने अवस्था बनेको छैन’, उनले भने।
नेपाली कांग्रेस धरान उपमहानगरपालिकाका सभापति श्याम पोखरेल पार्टीभित्र अन्तरकलह नभएमा आगामी निर्वाचनमा सफलता हात लाग्ने जिकिर गर्छन्। ‘२०७६ को उपनिर्वाचनबाहेक अरू बेला भएका चुनावमा एउटा उम्मेदवार हुँदा अर्को समूहले नस्वीकार्दा हामीले समस्या भोग्नुपरेको छ’, उनले भने, ‘अब केन्द्रमा महाधिवेशन भएर युवा पुस्ताले नेतृत्व लिएमा धरानमा पनि कांग्रेसका पक्षमा वातावरण बन्ने छ, परिस्थिति फेरिनेछ।’
एमाले धरान उपमहानगरपालिकाका उपाध्यक्ष पारस काङमाङले पार्टीले भित्रभित्रै योजना बनाएर गतिविधि गरिरहेको लर मंसिरमा केन्द्रीय महाधिवेशनपछि सशक्त रुपमा जनतामाझ जाने बताए। ‘अहिले धरानमा नयाँ पार्टीको पनि गतिविधि छ, नयाँ पार्टी बनाउन गाह्रै हुन्छ’, उनले भने।
उनले नयाँ पार्टी ‘हावाहुरी’ जस्तै भएकाले दीर्घकालीन नहुने टिप्पणी गरे। उनले हर्कराजको श्रम संस्कृति पार्टीको प्रभाव स्थानीय चुनावमा परे पनि संसदीय निर्वाचनमा नपर्ने बताए।
संसदीय निर्वाचनमा धरानका २० वटा, बराहक्षेत्रका ५ वटा र रामधुनीका २ वटा वडा पर्छन्। २०७९ सालको संघीय तथा प्रदेशसभा निर्वाचनमा एमालेको साथ पाएर जसपाका अशोक राई सुनसरी क्षेत्र १ बाट विजयी भएका थिए। त्यस्तै सुनसरी क्षेत्र १ ‘क’ र ‘ख’ दुवैमा एमालेका उम्मेदवार विजयी भएका थिए।
हर्कराजको पार्टीको प्रभाव धरानमै मात्र हुने काङमाङको बुझाइ छ। श्रम संस्कृति पार्टी धरानका नेता तर्क मगर पुराना पार्टीमा नेता मात्र रहेको र आफ्नो पार्टीका पक्षमा जनता रहेको बताउँछन्। ‘पुराना दललाई धरानका जनताले बुझिसेका छन्। आउने निर्वाचनमा पुराना दलले गठबन्धन गरेर हाम्रो पार्टीसँग चुनाव लड्ने परिस्थिति बन्दै गएको छ, हुने पनि त्यही हो’, उनले भने।
धरानको राजनीतिमा चासो राख्ने विशाल श्रेष्ठले यहाँ पुराना राजनीतिक दलको प्रभाव घट्दो क्रममा रहेको बताए। उनले नयाँ दलको पनि संगठन नभएको औंल्याए। समाजशास्त्रीय दृष्टिकोणबाट हरेकले परिवर्तन खोज्ने हुँदा अहिले नै चुनावी परिणाम यसै हुन्छ भनेर अनुमान गर्न सक्ने अवस्था नभएको श्रेष्ठले बताए।
हुन पनि हो, धरान पूर्वकै शिक्षित र मतदाताले विवेक प्रयोग गरेर मतदान गर्ने भएकाले अहिले नै चुनावी नतिजाबारे यकिन गर्न कठिन छ। पुराना दलले आफूलाई सच्चाएर सबैले रुचाएका व्यक्तिलाई उम्मेदवार बनाए पक्कै सकारात्मक प्रभाव पर्नेछ। तर पुरानाभन्दा नयाँ दललाई मतदातासमक्ष मत माग्न सहज हुनेछ।
धरानको निर्वाचनमा जितका लागि लाहुरेसँगै सुकुम्बासी मतदाता निर्णायक मानिन्छन्। धरान वडा नं. १७, १५, १३, ८, ५ र ४ मा सुकुम्बासीको संख्या बाक्लो छ। २० वडा रहेको धरानका अरु वडामा पनि थोरधेरै सुकुम्बासी छन्।
दलीय गतिविधि शून्य
सुनसरीमा अहिले राजनीतिक दलहरुको गतिविधि शून्य जस्तै छ। सरकारले फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन मिति घोषणा गरेको छ। अहिलेसम्म दललहरुले निर्वाचनकेन्द्रित कार्यक्रम गर्न सकेका छैनन्। कतियय दलहरु केन्द्रले प्रष्ट निर्देश नगर्दा अलमलमा पछन्। जिल्लामा क्रियाशील दलहरुमध्ये एमालेले कात्तिक २९ गते इटहरीमा बृहत्त मोटरसाइकल र्याली प्रदर्शन गर्ने भएको छ।
देशभरकै स्थानीय तहमा प्रदर्शन गर्ने कार्यक्रमअन्तर्गत मंगलबार सुनसरीमा पनि सांकेतिक मोटरसाइकल र्याली गरिएको कार्यवाहक अध्यक्ष पर्शुराम यादवले बताए। उनले पार्टीले वडा, पालिका र जिल्लास्तरीय भेला सकेर २९ गते बृहत्त कार्यक्रम गर्न लागेको बताए। उनले जेनजी पुस्ताको आन्दोलनको प्रभाव धरान, इटहरी, बराहक्षेत्र र रामधुनीमा परे पनि एमालेको अवस्थामा सबल रहेको दाबी गरे।
नेपाली कांग्रेसले सुनसरी क्षेत्र नं. १ मा ‘मिसन ग्रासरुट’ कार्यक्रम चलाएको छ। तर पहिलाजस्तो कार्यकर्ताको बाक्लो उपस्थिति हुन सकेको छैन। कांग्रेस सुनसरी सभापति केदार भण्डारीका अनुसार जिल्लास्तरबाट हुने आन्तरिक कार्यक्रम भइरहे पनि केन्द्रको निर्णय नभएकाले ठुला कार्यक्रम भएका छैनन्। ‘चुनावमा जाने आन्तरिक तयारी भइरहे पनि केन्द्रको सकुर्लर आइसकेको छैन’, उनले भने, ‘जसले गर्दा पब्लिक लक्षित कार्यक्रम नभएका हुन्।’
भर्खरै माओवादी केन्द्रसहित दस दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीको जिल्लास्तर तथा तल्लो तहसम्मका समितिले पूर्णता नपाएकाले उसलाई पनि गतिविधि अघि बढाउन सकस भएको छ। ‘अब हामी दस दल मिलेर काम गर्ने योजना छ’, नेपाली कम्युनिस्ट पार्टीका नेता योगेन्द्र मण्डलले भने, ‘जेनजी आन्दोलनको स्प्रिट भनेकै दलहरु मिल्ने हो।’
जिल्लामा क्रियाशील अन्य दलहरुले पनि चुनावकेन्द्रित गतिविधि गरेका छैनन्। रास्वपा आन्तरिक संगठनलाई बलियो बनाउने ढंगले बैठक गर्नमै व्यस्त रहेको कोसी प्रदेश महामन्त्री लालविक्रम थापाले बताए। ‘हामीसँग बढी मात्रमा युथ जोडिएका छन्, उनीहरुलाई एकढिक्का बनाउने रणनीतिमै लागेका छाैं’, उनले भने।
धरानका मेयर हर्कराज राईले खोलेको श्रम शक्ति पार्टीको गतिविधि धरानमा देखिए पनि अरु स्थानमा विस्तारित भएको छैन। राप्रपा, जसपालगायतका दलले पनि ठुला कार्यक्रम गरेका छैनन्। जसपा अशोक राई समूहकी केन्द्रीय सदस्य योशा गुरागाईंका अनुसार जिल्ला, पालिका र वडास्तरमा जेनजीसहितको संलग्नतामा कमिटी विस्तार गर्ने केन्द्रको निर्णय रहेकाले त्यसलाई कार्यान्वयन गर्ने ढंगले काम भइरहेको छ। पब्लिक लक्षित कार्यक्रम भने गरिएको छैन।’
कसको अवस्था के थियो?
पहिलो संविधानसभा निर्वाचनमा सुनसरीमा नराम्ररी पराजय भोगेको नेपाली कांग्रेसले दोस्रो संविधानसभा निर्वाचनमा एक सिट जितेको थियो। २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा देशभर वामपन्थी गठबन्धनको लहर चलेका बेला पनि उसले सुनसरीमा राम्रो नतिजा निकाल्न सफल भयो। २०७९ सालको निर्वाचनमा कांग्रेस क्षेत्र नं. ४ र प्रदेशसभातर्फ दुईवटै क्षेत्रमा मात्र जित्न सफल भयो। अरु क्षेत्र भने गुमाएको थियो।
२०७९ मा प्रतिनिधिसभा र प्रदेशसभातर्फ सुनसरी क्षेत्र नं. ४ बाट क्रमशः ज्ञानेन्द्रबहादुर कार्की, षडानन्द मण्डल र इसरायल मन्सुरीले जितेका थिए। २०४८ सालदेखि पहिलो संविधानसभा निर्वाचनअघिसम्म सुनसरी क्षेत्र नं. १ बाहेक अन्यत्र कांग्रेसको एकछत्र वर्चस्व रहेको थियो।
२०७९ सालको प्रतिनिधिसभा र प्रदेशसभामा एमाले सुनसरीमा ठुलो सफलता हात पारेको थियो। सुनसरीबाट प्रतिनिधिसभामा एमालेका दुई र प्रदेशसभामा ६ जना निर्वाचित भएका थिए। सुनसरी क्षेत्र नं. ३ बाट प्रतिनिधिसभातर्फ एमालेकी भगवती चौधरी विजयी हुँदा प्रदेशसभातर्फ रोहित कार्की र रामदेव यादव निर्वाचित भएका थिए।
क्षेत्र नं. २ बाट प्रतिनिधिसभातर्फ एमालेका भिम आचार्य विजयी हुँदा प्रदेशसभातर्फ रेवतीरमण भण्डारी र रामप्रसाद मेहता विजयी भएका थिए। क्षेत्र नं. १ बाट एमालेकै समर्थनमा प्रतिनिधिसभातर्फ जसपाका अशोक राई निर्वाचित हुँदा प्रदेशसभातर्फ एमालेका रमेश बस्नेत र विजय राई विजयी भएका थिए।
माओवादीले २०६४ को संविधानसभा निर्वाचनमा सुनसरी क्षेत्र नं. १ मा जितेको थियो। त्यसयता प्रतिनिधिसभा र प्रदेशसभामा जित निकाल्न उसले सकेको छैन। पहिलो संविधानसभा निर्वाचनमा सुनसरीबाट मधेसवादी दलका ३ जना विजयी भएका थिए। त्यतिबेला ६ वटा निर्वाचन क्षेत्र हुँदा मधेसी जनअधिकार फोरमले क्षेत्र नं. ३, ४ र ५ मा जितेको थियो।
२०७९ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सुनसरीमा पाँच लाख ४४ हजार ९८१ मतदाता थिए। गत असोज ९ गतेसम्म पाँच लाख ५० हजार १५७ जना मतदात थिए। नयाँ नाम दर्ता चलिरहेको छ। असोज ९ गतेदेखि काब्कि २५ गतेसम्म सात हजार ३३ जना थपिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
चुनावी चर्चा
नयाँ दलकै सम्भावना बलियो छ
पिवी मगर, सर्वसाधारण, धरान–१५
पुराना राजनीतिक दलले लामो समयसम्म शासन गर्दा जनताले अपेक्षा गरेअनुसारको परिवर्तन हुन सकेन। यो कुरा जनताले राम्रोसँग बुझेकाले अबको निर्वाचनमा धरानमा श्रम संस्कृति पार्टीले पकड राख्ला भन्ने मलाई लाग्छ। श्रम संस्कृति पार्टीका अध्यक्ष धरानकै मेयर हर्कराज राई हुन्। उनले धरानमा राम्रा काम गरेकाले चुनावमा त्यसको प्रभाव पर्ने नै छ।
युवा पुस्ताको उदय सकारात्मक
लक्ष्मीकृष्ण श्रेष्ठ, उपप्राध्यापक

पुराना राजनीतिक दलहरुले आफूलाई स्वमूल्यांकन गरेर कमीकमजोरी सच्याउनुपर्छ। धरानमा अहिले श्रम संस्कृति पार्टीको गतिविधि चलिरहेको छ। अरु दलले पनि गर्लान। जेनजीले देशप्रति चिन्ता गर्नु राम्रो हो। जेनजीले पाएको अवसरलाई सही ढंगले सदुपयोग गर्नुपर्छ। युवा पुस्ता देश हाम्रो हो भनेर सक्रिय राजनीतिमा जुट्नु सकारात्मक पक्ष हो।
नयाँ दलमा युवा नेतृत्व चाहिन्छ
अरवान अली, सामाजिक अभियन्ता

धरान शिक्षित सहरमा पर्छ। यहाँका जनताको पुराना दलप्रतिको मोह घटेको छ। फागुन २१ गते चुनाव भएमा जनता नयाँ अनुहार रुचाउने पक्षमा छन्। अहिले पुराना दललाई सचिने मौका छ। उनीहरू नसच्चिए नयाँलाई अवसर हुन्छ। नयाँ दलमा पनि युवा उम्मेदवारलाई मत हात्ले मनस्थिति जनताको छ। धरानको निर्वाचनमा यसैअनुसारको नजिता आउनेछ।
नयाँ–पुरानाबिच टक्कर हुन्छ
विद्या शाक्य, पूर्वशिक्षक

पुराना दलप्रति विश्वास घटेको देखिन्छ। धेरै मतदातामा नयाँ आए केही होला कि भन्ने छ। जनताले नयाँमध्ये पनि कुन दललाई रोज्छन् भन्ने कुरा उम्मेदवारमा भर पर्नेछ। धरानमा पछिल्लो समय महिला राजनीतिमा आबद्ध हुने क्रम घट्दो छ। अन्यमा पनि राजनीतिप्रति पहिलापहिला जस्तो उत्साह देखिँदैन। जसले गर्दा निर्वाचन परिणामबारे यसै भन्न सक्ने अवस्था छैन। मलाई जहाँसम्म लाग्छ पुराना र नयाँबिच टक्कर हुन्छ। पुराना दलको संगठन छ, नयाँ दलप्रति मतदाता छन्।
प्रकाशित: २७ कार्तिक २०८२ ०६:४७ बिहीबार
