फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन आउन अब तीन महिना बाँकी छ। निर्वाचन आयोगले तयारी तीव्र बनाएको छ। आयोगले निर्वाचन तालिकासमेत सार्वजनिक गरिसकेको छ। तर धनुषामा निर्वाचनको खासै चहलपहल देखिएको छैन। प्रदेश सरकारको अन्योलका कारण पनि मधेसमा निर्वाचनको चहलपहल बढ्न नसकेको हो। निर्वाचनका लागि वातावरण बनिसकेको भनाइ सरकारले राख्दै आए पनि जनस्तरमा निर्वाचनप्रतिको संशय यथावतै छ।
गत भदौ २३ र २४ को जेनजी आन्दोलनसँगै सत्ताच्यूत भएको तत्कालीन सरकारका प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन हुनै नसक्ने बताउँदै आएका छन्। यसैबिच दल दर्तामा भने गएको एमालेले सर्वोच्च अदालतमा प्रतिनिधिसभा पुन:स्थापनाका लागि समेत रिट निवेदन दिएको छ। यसबिचमा जनस्तरमा देखिएको अन्योल र संशयले भने निर्वाचन हुने वा नहुनेमा द्विविधा जन्माएको जनकपुरधाम उपमहानगरपालिका–२ का युवा सञ्जय चौधरी बताउँछन्। ‘दलहरूले दल दर्ता गरेको देखिए पनि उनीहरू निर्वाचनमा जान तयार देखिन्नन्,’ उनी भन्छन्, ‘निर्वाचन लम्ब्याउन सके आफ्नो क्षेत्रमा गुम्दै गएको विश्वास कायम गर्न सहयोग पुग्ने हुँदा दलहरू अहिले नै निर्वाचनमा जान तयार नदेखिएका हुन्।’
जनकपुरधाम–१० का बलराम कुमार साहको धारणा पनि चौधरीको भन्दा फरक छैन। ‘लोकतन्त्रको सुन्दरता नै निर्वाचन हो तर दलहरूमा सरकारको विश्वासको कमी भएकाले निर्वाचन हुने या नहुनेमा संशय छ।’ सरकारले सबै दललाई निर्वाचनमा लाग्न आग्रह गरे पनि देशव्यापी रूपमा एमालेको विरोध भइरहँदा थ्रेट हुन सक्ने साहको भनाइ छ। हंसपुर नगरपालिका–९ का विसुनदेव पासवानले दलको औचित्य नै समाप्त भएको दाबी गरे। देश विषम परिस्थितिमा रहेको जिकिर गर्दै उनले दलहरूले निर्वाचनमा जानुको विकल्प नरहेको बताए।
‘सत्तासीन दलहरूले राम्रो काम गरेका भए दलहरूको संगठानात्मक स्वरूप रहन्थ्यो र जेनजी आन्दोलन हुने नै थिएन,’ उनले भने। उनले दलहरूले निर्वाचनमा उही पुरानो र पुरातनवादी नेतृत्वकर्ता दोहोर्याए त्यसको विकल्प जनताले खोज्न सक्ने आकलन गरे। निर्वाचनलाई सशक्त र निष्पक्ष बनाउन सबै पक्ष लाग्नुपर्नेमा उनले जोड दिए।
धनुषामा चार वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन्। हाल कुनै पनि निर्वाचन क्षेत्रमा दलहरूले गतिविधि गरेका छैनन्। जसका कारण चुनावको माहोल बन्न सकेको देखिन्न।
निर्वाचन केन्द्रित संवाद ‘शून्य’
आगामी निर्वाचनका लागि भने मधेस प्रदेशको राजधानीसमेत रहेको धनुषामा संवाद शून्यताको स्थिति छ। जनकपुरधाममा मतदाता नामावलीमा नाम दर्ता गराउनेको घुइँचो देखिए पनि निर्वाचनका लागि दलका जिल्ला सभापतिहरूमा केन्द्रीय निर्देशन नभएको देखिन्छ।
नेपाली कांग्रेसका धनुषा जिल्ला सभापति योगेन्द्र पन्जियारले केन्द्रीय समितिबाट निर्वाचनमा जाने निर्णय गरे पनि केन्द्रको निर्देशन नआएको नागरिकलाई बताए। ‘जिल्लामा निर्वाचनका लागि कुनै पनि सर्कुलर भएको छैन,’ उनले भने, ‘केन्द्रीय समितिको निर्णय आएपछि मात्र जिल्ला स्तरमा निर्वाचनको कार्य सुरु गर्नेछौं।’ उनले जेनजी आन्दोलनको माग स्पष्ट नभएको बताए। जेनजी र राजनीतिक दलहरूका बिचमा निकास खोज्नुपर्ने आवश्यकता उनले औंल्याए। ‘सयौं कैदीबन्दी र हतियार बाहिर रहेको हुँदा निर्वाचन हुनेमा संशय छ,’ पन्जियारले भने, ‘जेनजीले तत्कालीन प्रतिनिधिसभाबाटै आफ्नो माग अगाडि बढाउनुपर्थ्यो तर त्यसो नहुँदा निर्वाचनले त्यस्तो कुनै परिवर्तन ल्याउनेछैन।’ निर्वाचनले व्यक्ति परिवर्तन भए पनि जेनजी आन्दोलनले उठाएको मुद्दा तत्कालै सम्बोधन हुनेमा आशंका प्रकट गरे।
नेकपा एमालेका जिल्ला अध्यक्ष भोला यादव भने वर्तमान सरकार गैरसंवैधानिक रहेको बताउँछन्। निर्वाचन कर्मकाण्डी मात्र हुने उनको भनाइ छ। ‘गैरसंवैधानिक सरकारले निर्वाचन गर्न सक्दैन र संसद् पुन:स्थापनाभन्दा अर्को विकल्प छैन,’ अध्यक्ष यादवले नागरिकसँग भने, ‘पहिलो सर्त नै संसद् पुन:स्थापना हो। त्यो भएन भने हामी सडक संघर्ष र निर्वाचन दुवैमा होमिन्छौं।’ यादवले कुनै पनि रूपमा निर्वाचनका लागि सरकारबाट निर्देशन नआएको पनि बताए। निर्वाचनका लागि नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता गर्न सचेत गराएको बताउँदै उनले त्यसको विश्वश्नीयतामाथि प्रश्न गरे। ‘असंवैधानिक सरकारले के–कसरी निर्वाचन गराउँछ ? यो त संविधानको मर्मविपरीत हुन्छ,’ उनले भने।
तत्कालीन मधेस प्रदेशको सत्ता साझेदारीमा रहेको जनमत पार्टीका जिल्ला अध्यक्ष सुरेन्द्र मण्डल भने निर्वाचन हुनेमा विश्वस्त छन्। उनले निर्वाचनको कामका लागि जनमतले जिल्ला र क्षेत्रीय रूपमा बैठकहरू सञ्चालन गर्दै आएको आएको बताए। ‘पार्टीले निर्वाचन केन्द्रित काम सुरु गरिसकेको र प्रत्यक्ष कार्यकारीको एजेन्डामा निर्वाचन होमिनेछ,’ मण्डलले भने, ‘जेनजीले उठाएको माग सदनबाट कत्तिको सम्भव हुन्छ भन्ने कुरालाई निर्वाचनपछिको सदनमा कस्तो शक्ति निर्माण हुन्छ भन्नेबाट निर्णय हुनेछ।’ जनमतका अध्यक्ष मण्डल एमालेको संसद् पुन:स्थापना र सडक विरोधलाई देखाउने र चपाउने दाँतको संज्ञा दिन्छन्। उनले एमालेले देशव्यापी विरोध गरेका कारण निर्वाचनमा समस्या देखिए पनि उक्त पार्टीलाई निर्वाचनमा जानुको विकल्प नरहेका बताए।
निर्वाचन नै अन्तिम विकल्प मानेका अधिवक्ता प्रदीप मिश्र भन्छन्, ‘लोकतान्त्रिक व्यवस्थाका लागि सम्पूर्ण दल चुनावमा जानुपर्छ। संसद् विघटन भएको अवस्थामा निर्वाचन नै विकल्प हो।’ निर्वाचनभन्दा बाहिर कोही कतै पनि जाने अवस्था नरहेको बताउँदै उनले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउनुपर्नेमा जोड दिए। उनले भने, ‘एमालेलगायत निर्वाचनमा जान अनिच्छुक दलको हकमा भने उनीहरू गैर लोकतान्त्रिक हुनेछन्।’ राजनीतिक विश्लेषक रोशन जनकपुरीले निर्वाचन हुने वा नहुनेमै संशय प्रकट गरे। जनकपुरीका अनुसार राजनीतिक दलभन्दा पनि निर्वाचनमा जेनजीभित्रकै समूहहरूले थप चुनौती बढाउने बताए। ‘दलहरू निर्वाचन अस्तित्वको लडाइँमा लागेका छन्। एक अर्काबिच नै वैचारिक एकीकृतभन्दा पनि सहअस्तित्व निर्माणमा जुटेको देखिन्छ,’ उनले भने, ‘सरकारले जेनजीका विभिन्न समूहलाई समात्ने र थुन्ने गर्दा यसले निर्वाचनको वातावरणमा ह्रास पुर्याउनेछ।’
सुदन गुरुङ, मिराज ढुंगानालगायत सरकारसँग असन्तुष्ट रहेका जेनजी युवाले आफ्नै सरकारका गृहमन्त्री र प्रधानमन्त्रीको पटक पटक राजीनामा मागले निर्वाचनको वातावरण नबनेको विश्लेषक जनकपुरी बताउँछन्। ‘कुनै पनि दलका नेताहरू जाँदा जेनजी र पार्टीका कार्यकर्ताबिच भइरहेको द्वन्द्वले निर्वाचन हुनेमा चुनौती छ,’ उनी भन्छन्। तीन मंसिरमा एमालेको जिल्ला कमिटीले आयोजना गरेको एक कार्यक्रम भाग लिन काठमाडौंबाट हिँडेका महेश बस्नेतलगायत शीर्ष नेताहरूलाई जेनजी बाराले रोकेको कुराको स्मरण गर्दै विश्लेषक जनकपुरीले जेनजीको अराजकताले निर्वाचनको म्यान्डेट बोकेको सरकारलाई विफलता हात पर्न सक्ने संकेत गरे। उनले सरकारले तत्काल नै सुदनलगायत उच्छृङ्खल समूहले लिएको राज्य प्रतिकूलताको सहुलियतलाई रोक्नुपर्नेमा जोड दिए।
चुनावको विकल्प छैन
पूजन सिंह, धनुषा
समय थप गरेर पनि चुनाव हुन्छ। त्यसको विकल्प छैन। चुनाव भए पुरानै दल आउने सम्भावना छ। नयाँ दल ४० र पुराना दलले ६० प्रतिशत सिट जित्ने मेरो अनुमान छ। पुरानो दलहरूको संगठन अझै पनि मजबुत छ। नयाँ दलले त्यस्तो स्थिति सिर्जना गर्न सकेका छैनन्। जेनजी आन्दोलनले अब आउने चुनावमा पहाडमा परिवर्तन हुन्छ होला। तर मधेसमा खासै परिवर्तन हुने देखिन्न। अबको निर्वाचनमा दल होइन, व्यक्ति हेरेर मतदान गर्छु।
नागरिकमा उत्साह छैन
सञ्जीवकुमार यादव, जनकपुरधाम
अहिलेको सरकार चुनावको तयारीमा तीव्रताका साथ जुटेको छ। तर राष्ट्रिय दलहरू नै तयार नभइरहेको अवस्था छ। नेकपा एमाले चुनावमा नजाने मनसायमा देखिन्छ। नेपाली कांग्रेस पनि महाधिवेशनतिर केन्द्रित भएको छ। यस आधारमा समयमै निर्वाचन हुन्छ भनेर भन्न सकिने अवस्था छैन। निर्वाचनलाई लिएर नागरिकमा खासै उत्साह देखिन्न। सरकारले निर्धारित मितिमै चुनाव गराउन सक्लाजस्तो लाग्दैन। नयाँ र साना दलहरू चुनावमा भाग लिन तालमेल गरिरहेका छन्। संगठन मजबुत बनाउने ध्याउन्नमा रहेका ती दलहरू उत्साहित छन्।

सबै दल मिलेर लाग्नुपर्छ
सोनी अधिकारी, लक्ष्मीनियाँ
सबै दलहरूले मिलेर निर्वाचनको वातावरण बनाउनुपर्छ। समयमै निर्वाचन नभए संविधान खतरामा पर्छ। यो सरकारले जसरी पनि निर्वाचन गराउँछ भन्ने लागेको छ। जेनजीको विरोधले निर्वाचन मिति फेरिने आशंका भने कायमै छ। यसपालि समयमै चुनाव भए नयाँ अनुहारलाई मतदान गर्ने विचारमा छु। देश बचाउने हो भने चुनाव सफल बनाउन सबै निकाय लाग्नुपर्छ। नेकपा एमालेले चुनावमै नजाने बताइरहेको थियो। एमालेका शीर्ष नेताहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरेपछि आयोगमा दल दर्ता गराएको हुँदा चुनाव सफल हुन्छ।

जसरी पनि चुनाव गराउनुपर्छ
बिक्की यादव, महोत्तरी
जेनजी आन्दोलन भएपछि जुन सरकार गठन भयो। त्यसको मुख्य काम चुनाव गराउनु हो। सेना परिचालन गरेर पनि सरकारले चुनाव गराउने कुराहरू आइरहेका छन्। त्यसकारण सरकारको तयारी देख्दा समयमै निर्वाचन हुनेमा विश्वास छ। पुराना दलहरू पनि अन्तिम समय आउँछन् होला। तर गाउँमा अहिले यी दलहरूको खासै चहलपहल देखिएको छैन। तर दलहरू आन्तरिक तयारी गरिरहेको होला कि। जेनजी समूहहरू विभिन्न गतिविधिमा सक्रिय भएको देखिन्छ। त्यसकारण अब हुने निर्वाचनमा उनीहरू पनि आउने सम्भावना छ।

जेनजीको माग पूरा भएको छैन
प्रसान्त झा, जनकपुरधाम
जेनजी आन्दोलनको मागअनुसार सरकार गठन भयो तर उनीहरूको माग पूरा भएको छैन। जेनजीले चुनावका लागि मात्र आन्दोलन गरेको थिएन। सुशासन कायम गराउन, प्रत्यक्ष कार्यकारी र गुणस्तरीय शिक्षासहित स्वदेशमै रोजगारीका लागि पनि आन्दोलन गरेका थिए। तर जेनजीको कुनै माग अहिलेसम्म पूरा भएन भने फेरि पनि चुनावको नजिकमा आन्दोलन हुन सक्छ जस्तो लाग्छ। जेनजी आन्दोलनले चुनाव मात्रै चाहेको भए विगतकै सरकारले गराउन सक्थ्यो। पहिला जेनजीको माग पूरा गरेर निर्वाचनमा गएको भए उत्तम हुनेथ्यो कि।

निर्वाचनमा भाग लिनुपर्छ
रामभरोस यादव, मिथिला विहारी
लोकतन्त्रको मेरुदण्ड भनेको निर्वाचन हो। त्यसकारण तोकिएकै मितिमा निर्वाचन गराउनुपर्छ। त्यसका लागि सबै दलले सघाउनुपर्छ। चुनावबाट नयाँ मतादेश लिएर जेनजीको माग र मर्मअनुसार सत्ता सञ्चालन गर्नुपर्छ। संविधान संशोधन गरेर भए पनि जेनजीका माग पूरा गर्नुपर्छ। जेनजीलाई दलहरूले पनि आत्मसात् गरेर चुनावमा अवसर दिनुपर्छ। जेनजीको दुई दिनको आन्दोलनले देशमा ठुलो क्षति पुग्यो। मुलुकमा जेनजीको जस्तो आन्दोलन फेरि हुन नदिन जनताको भावनालाई कदर गर्दै दलहरूले सक्रियतापूर्वक निर्वाचनमा भाग लिनुपर्छ।

प्रकाशित: १६ मंसिर २०८२ ०९:४२ मंगलबार
