चुनावी अभियानमा होमियो रास्वपा



१ पुस, काठमाडौं । विघटित प्रतिनिधि सभाका प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमाले यतिबेला महाधिवेशन केन्द्रित छन् । नेपाली कांग्रेसले महाधिवेशनको मिति तय गरेपनि तोकिएको समयमा हुने/नहुने अन्योलता कायमै छ ।

महाधिवेशनको कार्यतालिका अनुसार कार्यान्वयन गर्ने कार्यमा पार्टीपङ्ति सक्रिय हुँदा आसन्न चुनावको तयारी कांग्रेसमा सुस्त गतिमा छ । यद्यपी, प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिकतर्फको नाम सिफारिस हुने क्रम भने जारी छ ।

एमाले ११ औं महाधिवेशनमा तल्लीन रहेको हुँदा निर्वाचन उसका लागि यतिबेला प्राथिकमता बनेको छैन । विघटित प्रतिनिधि सभाको तेस्रो शक्ति माओवादी केन्द्र पार्टी विघटन भई नेपाली कम्युनिस्ट पार्टीको रुपमा पुनर्गठित भएको छ । फरकफरक दलहरू जोड्न पूर्वप्रधानमन्त्रीद्धय प्रचण्ड र माधवकुमार नेपाल लागिरेहका छन् । देशव्यापी सन्देश सभा गर्दै हिंडेको नेकपाले पनि चुनावी तयारीलाई  तीव्रता दिन सकेको छैन ।

जेनजी आन्दोलनको बलमा प्रतिनिधि सभा विघटन भई चुनावको मिति घोषणा भएपछि नयाँ दलहरू जन्मे । नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टी, उज्यालो नेपाल पार्टी, गतिशील लोकतान्त्रिक पार्टी लगायतले चुनावी रौनक ल्याउन सकिरहेका छैनन् ।

प्रलोपाले उम्मेदवारको तयारीमा जुटिसकेको छैन । उनेपा र गलोपाले भने अनलाइनमार्फत उम्मेदवारमा दरखास्त पेश गर्न आव्हान गरेका छन् ।

प्रत्यक्ष एवं समानुपातिक दुवैतर्फका लागि रास्वपामा उम्मेदवार छनोटको विधि बनाएको छ ।

विघटित संसदका तीन ठूला दल र नवगठित पार्टीहरूले चुनावी तयारीलाई तीव्रता  दिन नसकिरहेको बेला प्रतिनिधि सभाको तत्कालीन चौथो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने चुनावी तयारीको रफ्तार बढाएको छ । रास्वपाले आसन्न चुनावलाई संगठन विस्तारको माध्यम समेत बनाएको छ ।

कांग्रेस–एमाले महाधिवेशनमा तल्लिन हुँदा रास्वपाले पूर्वनिर्धारित महाधिवेशन रोकेर चुनावमा होमिने निर्णय गरेको थियो । चुनावलाई ध्यानमा राखेर रास्वपाले सबै जिल्लामा प्रतिनिधि समेत खटाएको छ ।

आकांक्षीहरू चुनावी प्रचारमा लागिसके

प्रत्यक्ष एवं समानुपातिक दुवैतर्फका लागि रास्वपामा उम्मेदवार छनोटको विधि बनाएको छ । सहमहामन्त्री विपीनकुमार आचार्यको संयोजकत्वमा बनेको समितिले उम्मेदवार छनोट विधि बनाएर दुवैतर्फका उम्मेदवारका लागि विधि बनाएको हो ।

पार्टीले बनाएको विधिमा रहेर समानुपातिक तर्फका आवेदन दिएकाहरूसँग रास्वपाले पुस ५ गते नामावली प्रकाशित गर्ने भएको छ । आवेदकहरूका लागि पुस ६ देखि ११ गतेसम्म ‘लिडरसीप एकेडेमी र पोलिटिकल प्रोक्सिमिटीको मापन’ गरिने भएको छ ।

पुस १२ र १३ गते प्रारम्भिक निर्वाचन गर्ने मिति तय गरेको रास्वपाले पुस १४ मा समानुपातिक तर्फको अन्तिम सूची प्रकाशित गर्ने भएको छ ।

रास्वपाबाट प्रत्यक्षतर्फ उम्मेदवार हुन इच्छुकका लागि मंसिर २१ गतेदेखि अनलाइन आवेदन पेश गर्न आव्हान गरिएको छ ।  पार्टीले बनाएको विधिका विभिन्न चरणहरू पार गरेपछि मात्रै उम्मेदवार छनोट हुने रास्वपाले जनाएको छ ।

प्रत्यक्षतर्फको उम्मेदवारका लागि पार्टीले बनाएको विधिका मुख्य पक्षमा लिडरसीप एकेडेमी, पोलिटिकल प्रोक्सिमिटी, समावेशिता, प्रारम्भिक निर्वाचन लगायत छन् । समानुपातिकतर्फ शुल्क ५० हजार र प्रत्यक्षतर्फ २५ हजार रुपैयाँ तोकिएको छ ।

उम्मेदवार छनोट हुने विधिको प्रारम्भिक चरणमै रहेका बेला प्रत्यक्षतर्फ उम्मेदवारका आकांक्षीले प्रचार सुरु गरिसकेका छन् ।

सभापति रवि लामिछानेलाई नख्खु कारागारमा भेटेर रास्वपा प्रवेश गरेका पूर्व एआइजी विश्वराज पोखरेलले ओखलढुङ्गामा चुनावी प्रचार सुरु गरिसकेका छन् ।

१२ मंसिरमा रास्वपा प्रवेश गरे लगत्तै जिल्ला पुगेका उनले सातदिन मतदाताकहाँ पुगेका थिए । पूर्व एआइजी पोखरेलले आफ्नो नाममा सर्वसम्मत् भएको जानकारी गराए । ओखलढुङ्गामा रास्वपाबाट अरु आकांक्षी नदेखिएको उनले दाबी गरे ।

राजधानी फर्केर २३ मंसिरमा ओखलढुङ्गाबाट काठमाडौं आएर विभिन्न क्षेत्रमा संलग्नसँग भेटघाट गरेर उनी पुन निर्वाचन क्षेत्र फर्केर मतदाताकहाँ पुगिरहेका छन् । क्षेत्रका मतदाताकहाँ पुग्दा आफूप्रति उनीहरू सकरात्मक पाएको पोखरेलले अनलाइनखबरसँग बताए ।

७ दिन जनताको घरदैलोमा म पुगें । म धेरै उत्साहित भएँ । मप्रति उहाँहरूले जे विश्वास व्यक्त गर्नुभयो । म प्रति जति भरोसा व्यक्त गर्नुभयो,’ पोखरेलले भने,‘जनता म प्रति अति सकारात्मक पाएँ । मेरो पक्षमा मतदान गर्न उत्साहित भएको अनुभूत गरेको छु ।’

गत साउनमा रास्वपा प्रवेश गरेका पर्यटन विज्ञ एवं नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख डा. धनञ्जय रेग्मीले एक चरणको घरदैलो सकिसकेका छन् ।

स्याङ्जा–१ बाट उम्मेदवारको आकांक्षी रहेका रेग्मीले ४५ दिन क्षेत्रमा रहेर मतदातालाई भेटेको जानकारीसमेत गराए । फेसबुकमा ‘डा. धनञ्जय रेग्मी सचिवालय’ पेज बनाएर उनी मतदाताकहाँ पुगेका भिडियो क्लिपहरू प्रचार गरिएको छ । मतदाताको आशा प्राप्त गर्ने अपेक्षाले भेटघाटका लागि आएको उनले स्थानीयहरूलाई बताएको भिडियोमा देखिन्छ ।

स्याङ्जा–१ का मतदाताको घरघर पुगेका उनले भनेका छन्, ‘रास्वपा लागेको छु । संघीय सांसदमा उठौं भनेर विचार गर्दैछु । चुनाव  फागुनमा वा बैशाखमा होला । आफ्नो ठाउँमा छ । फागुनमै होला भन्ने अहिलेसम्मको बुझाइ छ ।’

स्थानीयको सुझाव, पार्टीप्रति नागरिकको बुझाई र आफ्ना विचार राख्दै क्षेत्रमा प्रचारमा लागेका रेग्मीले अन्य पार्टीबाट रास्वपामा भिर्त्याएका पनि छन् । रास्वपाका उम्मेदवार आकांक्षी क्षेत्रमा प्रचार प्रसारमा लागेको बेला स्याङ्जा कांग्रेसका पाका नेता रविप्रकाश रेग्मी रास्वपामा प्रवेश गरेका छन् ।

चुनावी अभियानमा होमियो रास्वपा

पार्टीले तय गरेको विधि अंगालेर उम्मेदवारको आकांक्षी रहेको रेग्मीले अनलाइनखबरसँग बताए । उनले भने,‘पार्टीले बनाएको विधि अनुसार म पनि एउटा आकांक्षी हुँ । आकांक्षीहरूबाट पार्टीमा मलाई योग्य देख्यो भने चुनावी प्रतिस्पर्धा गर्छु । म नभई अर्को कोही आए जिताउन लाग्छु ।’

तनहुँ–२ बाट आकांक्षी रहेका ऊर्जा तथा जलस्रोत विभाग प्रमुख श्रीराम न्यौपाने पनि क्षेत्रमा सक्रिय भएका छन् । तनहुँ–२ मा रहेका ४३ मध्ये ३९ वडामा एक चरण पुगेको न्यौपानेले जानकारी गराए । त्यस क्षेत्रका विद्यालयमा ‘स्मार्ट बोर्ड, स्मार्ट शिक्षक, स्मार्ट विद्यार्थी–स्मार्ट भविष्य’ अभियान’ सञ्चालन गरेका छन् । न्यौपानेले अनलाइनखबरसँग भने,‘आकांक्षी त अरु अरु पनि हुन्छन् । म पनि यस क्षेत्रका लागि एउटा आकांक्षी हुँ ।’

उम्मेदवार छनोट समितिले पार्टीका नेता, कार्यकर्ता एवं शुभेच्छुकलाई आफू उम्मेदवार हुने, उम्मेदवारको आकांक्षी रहेको, उम्मेदवारी घोषणा गरिसकेको वा उम्मेदवार दाबी गर्ने खालका अभिव्यक्ति सार्वजनिक नगर्न सचेत बनाएको छ । पार्टीले तय गरेको विधि अनुसार हालसम्म चयन भएका उम्मेदवार रुपन्देही क्षेत्र नं. ३ का लेखजंग थापा मात्रै भएको जानकारी गराइएको छ ।

चुनावी अभियानमा होमियो रास्वपा

चुनावी प्रचारसँगै संगठन विस्तार

कात्तिक २१ र २२ गते चितवनमा भएको रास्वपाको विस्तारित बैठकले महाधिवेशन चुनावपछि गर्ने निर्णय लिएको थियो । आसन्न चुनावमा ध्यान केन्द्रित गर्ने गरी त्यसपछि रास्वपा परिचालित भएको छ ।

चुनावी प्रचारसँगै संगठन निर्माणलाई तीव्रता दिने क्रममा यसै बीचमा वाचापत्र तयारी, प्रशिक्षण, वडा अधिवेशन र पार्टी प्रवेश गराउने कार्यहरू भइरहेका छन् । वाचापत्र निर्माणका लागि उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वको कार्यदल बनाइएको छ ।

चुनावी  प्रचारलाई सहयोग पुग्ने गरी सांगठनिक रुपमा कमजोर रहेको कर्णालीमा रास्वपाले यही बीचमा प्रशिक्षण राख्यो ।

चुनावी अभियानमा होमियो रास्वपा

गत शुक्रबार प्रशिक्षणको क्रममा सुर्खेतमा शीर्ष नेताहरू रहेकै बेला नेपाली कांग्रेसका पूर्व जिल्ला उपसभापति टेकबहादुर सिंह रास्वपा प्रवेश गरेका छन् । नवप्रवेशी सिंह आसन्न चुनावमा सुर्खेत–१ बाट उम्मेदवारको आकांक्षी रहेको रास्वपा सुर्खेतका एक नेताले जानकारी गराएका छन् ।

चुनावी प्रचारमा सहयोग पुग्ने गरी नेताहरू विभिन्न जिल्लाहरूमा पुगिरहेका छन् । उपसभापति डा. स्वर्णिम वाग्लेले मंसिर २५ गते दोलखाबाट जिल्ला दौडाहामा निस्केका उनले सुर्खेत, दाङ, रुपन्देही, तनहुँ, पर्वत, बाग्लुङ र कास्कीका कार्यक्रम सकेर पुस ६ मा काठमाडौं फर्कने कार्यतालिका बनाएका छन् । यही समयमा रूपन्देहीका एमाले सचिव चित्रबहादुर केसीलाई रास्वपामा भित्र्याइएको छ ।

सचिवालय सदस्य सोविता गौतमको उपस्थिति नवलपुरस्थित मध्यविन्दु नगरको अधिवेशन भएको छ । कर्णाली जिल्ला पुगेर फर्केकी उनी नवलपुर र चितवनका पार्टी कार्यक्रममा सहभागी भइन् । शीर्ष नेताहरू सहभागी भएर पुस–५ गते पोखरा महानगर वडा नम्बर ९ को अधिवेशन गर्न लागिएको छ । उपसभापति स्वर्णिम, प्रवक्ता मनिष झा, सचिवालय सदस्य सोविता लगायत सहभागी हुने भएका छन् ।

पार्टीको र्‍यापिड एक्सन टीम (र्‍याट) का संयोजक साजन शर्मालाई सुदूरपश्चिम खटाएर पार्टी संगठन विस्तार गरिएको छ । कञ्चनपुर, अछाम, बाजुरा, डोटी, डडेलधुरा, कैलाली पुगेर संगठनका काम गरेर फर्केका छन् । सुदूरपश्चिम पुगेर फर्केका साजन शर्माले अनलाइनखबरसँग भने,‘रास्वपाको अवस्था राम्रो पाएँ । जनतामा उत्साह देखें ।’ त्यस क्रममा विस्तारित बैठक, तल्लो तहका संरचनाको अधिवेशन, नेता, कार्यकर्ता र स्थानीयवासीसँग छलफल अन्तर्क्रिया भएको शर्माले जानकारी गराए ।

गत शनिबार सचिवालय सदस्य शिशिर खनाल उपस्थित भएर नुवाकोटको विस्तारित बैठक गरिएको छ ।





Source link

Leave a Comment