नेपालको सबैभन्दा जेठो र ठूलो उच्च शिक्षण संस्था त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले विश्वका विश्वविद्यालयहरूको वरीयतामा आफ्नो स्थान सुधार गरेको छ।
‘टाइम्स हायर एजुकेसन’ (टीएचई) ले सार्वजनिक गरेको ‘वर्ल्ड युनिभर्सिटी र्यांकिङ-२०२६’ को प्रतिवेदनअनुसार त्रिविले आफ्नो समग्र स्कोरमा सुधार गर्दै अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति बलियो बनाएको हो।
विशेषगरी चिकित्सा शिक्षाका क्षेत्रमा त्रिविले विश्वकै उत्कृष्ट विश्वविद्यालयहरूसँग प्रतिस्पर्धा गर्दै उल्लेखनीय नतिजा हासिल गरेको छ।
टाइम्स हायर एजुकेसनले विश्वभरका करिब ६ हजार विश्वविद्यालयहरूमा गरेको विस्तृत अध्ययन र सर्वेक्षणपछि सार्वजनिक गरेको सन् २०२६ को वरीयतामा त्रिवि १५०१+ को स्थानमा परेको छ।
स्थानका हिसाबले अघिल्लो वर्षकै हाराहारीमा देखिए पनि विश्वविद्यालयले प्राप्त गरेको ‘र्यांकिङ स्कोर’ मा भने सुधार आएको छ।
सन् २०२५ को वरीयतामा २३.२ स्कोर प्राप्त गरेको त्रिविले सन् २०२६ का लागि २३.५२ स्कोर प्राप्त गरेको छ। गत वर्षको तुलनामा स्कोरमा ०.५२ ले सुधार हुनुलाई विश्वविद्यालय प्रशासनले सकारात्मक संकेतका रूपमा लिएको छ।
टीएचईले शिक्षण वातावरण, अनुसन्धानको गुणस्तर, उद्योगसँगको सहकार्य (नलेज ट्रान्सफर) र अन्तर्राष्ट्रियकरण (इन्टरनेसनल आउटलुक) जस्ता मुख्य सूचकहरूलाई आधार मानेर वरीयता निर्धारण गर्ने गर्दछ।
त्रिविभित्रको सबैभन्दा सबल पक्षका रूपमा यसपटक चिकित्सा शिक्षा देखिएको छ। विषयगत वरीयता तर्फ हेर्दा त्रिविको चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गतका कार्यक्रमहरू विश्वका उत्कृष्ट मानिने विश्वविद्यालयहरूकै दाँजोमा पुगेका छन्।
त्रिविका भौतिक शास्त्र केन्द्रीय विभागका प्रमुख एवं ‘वर्ल्ड युनिभर्सिटी र्यांकिङ-२०२६’ को विश्लेषणात्मक अध्ययन समितिका संयोजक प्रा.डा. नारायण अधिकारीले बुधबार कीर्तिपुरमा आयोजित प्रस्तुतीकरणमा चिकित्सा क्षेत्रको नतिजा उत्साहजनक रहेको बताए।
‘विशेषगरी चिकित्सा विषयमा त्रिवि विश्वका ६०१ औं स्थानभित्र पर्न सफल भएको छ,’ प्रा.डा. अधिकारीले तथ्यांक प्रस्तुत गर्दै भने, ‘यो नतिजा छिमेकी मुलुक भारतका शीर्ष ६ वटा विश्वविद्यालयबाहेक अन्य सबैभन्दा उत्कृष्ट हो। यसले नेपालमै प्रदान गरिने चिकित्सा शिक्षा विश्वस्तरको र गुणस्तरीय छ भन्ने कुरालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रमाणित गरेको छ।’
अध्ययन प्रतिवेदनले त्रिविले अत्यन्त न्यून स्रोत र साधनका बाबजुद विश्वस्तरीय नतिजा निकालिरहेको तथ्य उजागर गरेको छ। प्रा.डा. अधिकारीले प्रस्तुत गरेको तुलनात्मक तथ्यांकअनुसार त्रिविले प्रतिविद्यार्थी वार्षिक सरदर ५७ हजार नेपाली रुपैयाँ मात्र खर्च गर्ने गरेको छ।
यसको तुलनामा भारतको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) ले प्रतिविद्यार्थी २० लाख भारतीय रुपैयाँ खर्च गर्छ भने अमेरिकाको हार्वर्ड विश्वविद्यालयले प्रतिविद्यार्थी ३ लाख ८० हजार अमेरिकी डलर (करिब ५ करोड रुपैयाँ) खर्च गर्ने गरेको छ।
‘न्यून आर्थिक लगानी र सीमित पूर्वाधारका बाबजुद त्रिविले जसरी विश्वका प्रतिष्ठित विश्वविद्यालयहरूसँग प्रतिस्पर्धा गरिरहेको छ, यो आफैँमा एउटा ठूलो उपलब्धि हो,’ अधिकारीले भने, ‘हामीले थोरै लगानीमा पनि विश्वस्तरीय जनशक्ति उत्पादन गरिरहेका छौं भन्ने यो बलियो प्रमाण हो।’
टीएचईले आर्ट्स एन्ड ह्युमानिटिज, बिजनेस एन्ड इकोनोमिक्स, कम्प्युटर साइन्स, एजुकेसन, इन्जिनियरिङ, ल (कानुन), लाइफ साइन्स, मेडिकल साइन्स, फिजिकल साइन्स, साइकोलोजी र सोसियल साइन्स गरी ११ वटा मुख्य विषयमा विषयगत वरीयता निर्धारण गरेको थियो।
जसमध्ये इन्जिनियरिङतर्फ त्रिवि एक हजारको हाराहारीमा रहेको छ भने शिक्षा शास्त्र, जीवन विज्ञान, भौतिक विज्ञान र सामाजिक विज्ञानमा पनि भारतका थुप्रै प्रतिष्ठित विश्वविद्यालयहरूसँग प्रतिस्पर्धात्मक अवस्थामा रहेको पाइएको छ।
तथापि, ११ मध्ये ४ वटा विषयमा भने त्रिवि वरीयतामा पर्न सकेन। आर्ट्स एन्ड ह्युमानिटिज, कम्प्युटर साइन्स, कानुन र मनोबिज्ञान विषयमा अनुसन्धानको पाटो अत्यन्त कमजोर देखिएकाले यी विषयहरू र्यांकिङमा समेटिन नसकेको प्रा.डा. अधिकारीले स्पष्ट पारे। ‘यी चार विधामा र्यांकिङमा पर्न नसक्नुको मुख्य कारण अनुसन्धानमा पर्याप्त बजेट नहुनु र प्रकाशन संख्या कम हुनु हो,’ उनले भने।
कार्यक्रममा त्रिविका शिक्षाध्यक्ष (रेक्टर) प्रा.डा. खड्ग केसीले विद्यार्थीको चाप बढ्दै गए पनि राज्यले दिने अनुदान र विशेषगरी अनुसन्धान बजेटमा भएको कटौतीले चुनौती थपेको बताए।
‘त्रिविमा गत वर्षको तुलनामा विद्यार्थी संख्या करिब २ लाखले बढेको छ, तर शिक्षक तथा प्राध्यापकको संख्या ७ हजारको हाराहारीमै सीमित छ। यस्तो अवस्थामा गुणस्तर कायम राख्नु फलामको चिउरा चपाउनु सरह छ,’ शिक्षाध्यक्ष केसीले गुनासो पोखे।
उनले अनुसन्धानबिना विश्वविद्यालयको स्तरोन्नति असम्भव रहेको भन्दै बजेट कटौतीप्रति चिन्ता व्यक्त गरे। ‘विगतमा राज्यले त्रिविलाई अनुसन्धानका लागि १० करोड रुपैयाँ उपलब्ध गराउँदै आएको थियो, तर अहिले त्यो रकम घटाएर १ करोडमा झारिएको छ,’ प्रा.डा. केसीले प्रश्न गरे, ‘के १ करोड रुपैयाँको अनुसन्धान बजेटले मुलुकको जेठो विश्वविद्यालयको गुणस्तर विश्वस्तरमा पुर्याउन सकिन्छ ?’
त्रिवि सभाले अनुसन्धानलाई प्रोत्साहन गर्न उत्कृष्ट जर्नल प्रकाशन गर्नेलाई पुरस्कारको व्यवस्था गरेको भए पनि राज्यस्तरबाटै लगानी वृद्धि हुनुपर्नेमा उनले जोड दिए।
तथ्यांकअनुसार त्रिवि सन् २०१९ देखि टीएचईको र्यांकिङमा समावेश हुँदै आएको छ। सन् २०१९ देखि २०२३ सम्म त्रिवि विश्वका उत्कृष्ट १ हजार विश्वविद्यालयभित्र पर्दै आएको थियो। विशेषगरी सन् २०२० मा अनुसन्धानतर्फ ३०.८ अंक रहेकोमा सन् २०२३ मा आइपुग्दा १३० प्रतिशतले वृद्धि भई ७१.२ पुगेको थियो।
तर, सन् २०२४ देखि यो ग्राफ ओरालो लाग्यो। २०२४ मा ४९.५ मा झरेको अनुसन्धान स्कोर सन् २०२६ को र्यांकिङसम्म आइपुग्दा ४६.७ मा खुम्चिएको छ। यसले विश्वविद्यालयको अनुसन्धान पाटोमा गम्भीर समीक्षा गर्नुपर्ने देखाएको छ।
विश्वका प्रतिष्ठित र्यांकिङ एजेन्सीहरूले फरक-फरक मापदण्ड अपनाउने भएकाले त्रिविको स्थान पनि एजेन्सीपिच्छे फरक देखिएको छ।
टीएचईले शिक्षण, अनुसन्धान र अन्तर्राष्ट्रिय दृष्टिकोणलाई मुख्य आधार मान्छ। उसको र्यांकिङमा त्रिवि १५०१+मा परेको छ। युएस न्युज डटकमको र्यांकिङमा ९१९ औं स्थान र सिडब्ल्युयूआरकाे र्यांकिङमा १६५७ औं स्थानमा छ। युएस न्युज डटकमले अनुसन्धान, प्रतिष्ठा, प्रकाशन र साइटेसन प्रभावलाई प्राथमिकता दिन्छ भने सिडब्ल्युयूआरले पूर्वविद्यार्थीको सफलता, प्राध्यापकको विशिष्टता र अनुसन्धानलाई आधार मान्छ।
प्रा.डा. अधिकारीका अनुसार एउटै विश्वविद्यालयको र्यांकिङ फरक-फरक देखिनु अस्वाभाविक होइन, किनकि हरेक संस्थाको मूल्यांकन विधि फरक हुन्छ। युएस न्युजले ४ हजार र सिडब्ल्युयूआरले २२ हजार विश्वविद्यालयबीच अध्ययन गरेको थियो।
त्रिविका उपकुलपति प्रा.डा. दीपक अर्यालले विश्वविद्यालयको मूल्यांकन अब विद्यार्थीको टाउको गनेर मात्र नहुने स्पष्ट पारेका छन्। उनले आगामी दिनमा गुणस्तरीय अनुसन्धान, शिक्षण विधि, अन्तर्राष्ट्रिय प्रतिस्पर्धा र समाजमा पुर्याएको योगदानलाई मुख्य आधार बनाइने बताए।
सन् २०२७ को र्यांकिङमा त्रिविको स्थान अझ माथि पुर्याउन विश्वविद्यालयले नयाँ रणनीति तय गरेको छ। उपकुलपति अर्यालका अनुसार अबदेखि त्रिविबाट सम्बन्धन प्राप्त निजी, आंगिक र सामुदायिक क्याम्पसहरूमा कार्यरत शिक्षकहरूको संख्या र उनीहरूले गरेका अनुसन्धानलाई पनि त्रिविको योगदानका रूपमा गणना गर्ने निर्णय कार्यकारी परिषद्ले गरेको छ।
‘हामी अनुसन्धानको दायरा फराकिलो बनाउँदै छौँ। स्कोपस र वेब अफ साइन्समा सूचीकृत जर्नलहरूमा लेख प्रकाशन गर्न प्रोत्साहन दिने, अनुसन्धान समूहहरू गठन गर्ने, पोस्ट-डक्टरल र पीएचडी कार्यक्रमहरूलाई सुदृढ बनाउने नीति लिएका छौं,’ उपकुलपति अर्यालले भने।
उनले शैक्षिक गुणस्तर सुधारका लागि भौतिक पूर्वाधारको स्तरले पनि उत्तिकै मान्यता राख्ने भन्दै प्रयोगशाला र उपकरणहरूमा लगानी बढाउने प्रतिबद्धता व्यक्त गरे।
शिक्षण वातावरणको आधुनिकीकरण, उद्योगहरूसँगको सहकार्य र डिजिटल उपस्थितिलाई मजबुत बनाएर अर्को वर्ष विश्व वरीयतामा उल्लेखनीय फड्को मार्ने त्रिविको लक्ष्य रहेको छ।
प्रकाशित: १३ फाल्गुन २०८२ २१:३२ बुधबार
