काठमाडौं । ‘राते काइँला’को नामले परिचित नेपाली तथा बलिउडका अग्रज अभिनेता सुनिल थापाको निधन चलचित्रको स्क्रिप्ट जस्तै भएको छ । जसलाई एउटा दुःखद एवम् पीडादायी संयोग मानिएको छ । चितामा जलेर चलचित्रको लागि दृश्य दिने तयारमा रहेको यी कलाकारले त्यो दृश्य पुरा गर्न नपाउँदै वास्तविक जीवनमै चितामा जल्नु पर्ने अवस्था आयो ।
शनिवार बिहान हृदयाघातबाट निधन भएको अभिनेता सुनिलले चलचित्रका लागि भने शुक्रवार राती नै मृत्यु भएको अभिनय गरेका थिए । उनी शुक्रवार राती चलचित्र ‘राम नाम सत्य’को छायांकनमा थिए । ललितपुरको राजु पेन्टरको स्टुडियोमा गरिएको छायांकनको क्लाईमेक्समा उनको मृत्युको दृश्य खिचिएको थियो । जसमा अभिनेता बिराज भट्टले उनलाई मारेको दृश्य छायांकन गरिएको थियो । राती १० बजे यो चलचित्रको लागि आफ्नो मृत्यु भएको दृश्य छायांकन गरेका सुनिला थापाको बाँकी एउटा दृश्यको पनि राती नै छायांकन गर्ने निर्देशकको चाहना थियो ।
यस’bout निर्देशक माइकल चन्दले राजधानीसँग भने,‘मृत्युपछि सुनिल दाइलाई बिराज भट्टले जलाउनु पर्ने एउटा दृश्यको छायांकन हामीले राती नै गर्न खोज्दा दाइले शनिवार बिहान ८ बजेबाट ११ बजेसम्म गरौँ भन्नु भयो । उहाँलाई जलाउने दृश्यको छायांकनको लागि बिहान तयारी गर्दा गर्दै सुनिल दाइको वास्तवमै निधन भएको खबर आएपछि हामी स्तब्ध भयौँ ।’
यसरी शुक्रवार राती छायांकन सकेर खाना खाएर काठमाडौँको शंखमुल स्थित आफ्नो फ्ल्याटमा सुतेका सुनिल थापा त्यसपछि कहिल्यै नब्युँझने गरी हामी टाढा भए । घटना विवरण अनुसार बिहान ५ बजे उठेर उनी छायांकनको लागि तयारी हुनु पर्ने थियो । तर साँढे ५ बजेसम्म पनि सुनिल थापा नउठेपछि कामदारले उनलाई उठाउन गए । त्यति बेला कलाकार थापा ओछ्यानमा बेहोस थिए । कामदार र सहयोगीले उनलाई बिहान ६ बजे थापाथली स्थित नर्भिक अस्पतालमा पु¥याए । त्यसको केही क्षणमा अस्पताले उनलाई मृतक घोषणा ग¥यो । अस्पताल चिकित्सकका अनुसार उनको अस्पताल ल्याउनु अघि नै हृदयाघातबाट निधन भइसकेको थियो ।
६८ वर्षको उमेरमा भएको उनको असामयिक निधनले नेपाली चलचित्र उद्योगमा शनिवार बिहानैबाट शोक छायो । दिनभर जसो चलचित्रकर्मीहरू उनको अवस्था बुझ्न नर्भिक अस्पताल पुगिरहे । कलाकार सुनिल थापाकी पत्नी रजनी, छोरा अनमोल र छोरी प्रिन्सेस मुम्बईमा बस्छन् । थापाको निधनको खबर सुनेर पत्नी सहित छोरा र छोरी शनिवार साँझ मात्र काठमाडौँ आइपुगे । चलचित्र विकास बोर्ड, चलचित्रकर्मी सम्बन्धी संघ संस्था र परिवारको चाहना अनुसार कलाकार सुनिल थापाले आइतबार बिहान राष्ट्रिय सम्मानसहित अन्तिम श्रद्धाञ्जली कार्यक्रम आयोजन गरेपछि अन्त्यष्टी गरिने भएको छ ।
सुनिल थापाको जन्म सन १९५७मा भारतको धर्मशालामा भएको थियो । पाल्पा निवासी उनका बुबा त्यति बेला भारतीय सैनिकमा थिए । सोही क्रममा भारतमा जन्मिएका सुनिलले स्कुले शिक्ष देहरादुनबाट लिए पनि त्यसपछि उनले मुम्बईबाट आफ्नो मोडलिङ यात्रा सुरु गरेका थिए । उनी स्कुले जीवनबाटै फुटबल खेलाडी थिए । नेपालीको छोरो भएका कारण उनको थर स्कुलबाटै थापा राखिदिएको थियो । गुरुङको छोरा भए पनि उनी त्यति बेलै सुनिल थापाको रूपमा चर्चित भएका थिए ।
देहरादुनबाट भारतको मुम्बईमा पुगेपछि उनले कलेज पढाइसँगै मोडलिङ यात्रा सुरु गरेका थिए। उनले सो क्रममा स्थानीय देखि राष्ट्रिय ब्रान्डको विभिन्न कपडाको विज्ञापनमा मोडलिङ गरेर मोडलको रूपमा परिचय बनाएका थिए । त्यति बेला उनी मुम्बईका क्लबहरूमा व्यावसायिक फुटबल खेल्थे । मोडलसँगै उनी खेलाडीको रूपमा पनि परिचित थिए । १६ वर्षको उमेरमै उनी ‘जुनियर स्टेट्सम्यान’ अर्थात् जेएस म्यागेजिन पत्रिकामा पत्रकार तथा फोटो पत्रकारका रूपमा सुनिल आबद्ध भएका थिए । उनले सो पत्रिकाबाट सन् १९७४ मा भुटान राजाको राज्यअभिषेक समारोहसम्बन्धी रिपोर्टिङसमेत गरेका थिए ।
केही वर्षसम्म पत्रकारिता, फुटबल खेलाडी र मोडलको रूपमा करिअर अघि बढाएका उनले स्नातक उत्तीर्ण गरेपछि चलचित्रमा आउने चाहना व्यक्त गरे । त्यसै बेला पटक निर्देशक के बालाचन्दरले उनलाई १९८०मा हिन्दी चलचित्र ‘एक दुजेके लिए’मा मुख्य खलनायकको रूपमा अनुबन्धित गरे । यो चलचित्रको नायकमा कमल हासन र नायिकामा रती अग्निहोत्री थिए । १९८१मा रिलिज भएको यो चलचित्र त्यति बेला बक्स अफिसमा सुपर हिट भएपछि सुनिल थापाले फुटबल र पत्रकारिता छाडेर चलचित्र यात्रालाई अघि बढाएका थिए । त्यसको अर्को वर्ष उनले हिन्दी चलचित्र ‘आजकी आवाज’ र सिक्किमबाट बनेको नेपाली चलचित्र ‘मशाल’मा शीर्ष भूमिका निभाए । यसपछि भने उनले ‘मानव हत्या’, ‘मनु द ग्रेट’, ‘अलवेला’, ‘नसिव वाला’ ‘बन्धु’ जस्ता हिन्दी चलचित्रमा काम गरे ।
सुनिल थापा बलिउड चलचित्रमा खल चरित्रमा व्यस्त भएको बेला उनका निकट साथी तुलसी घिमिरेले नेपाली चलचित्र ‘चिनो’मा खल चरित्रको लागि प्रस्ताव गरे । त्यो प्रस्तावले साह्रै खुसी भएर सुनिल थापा ‘चिनो’को लागि नेपाल आए । २०४८ सालमा रिलिज भएको यो चलचित्र बक्स अफिसमा सर्वाधिक हिट भयो । यही चलचित्रबाट सुनिल थापा रजत पटमा ‘राते काइँला’को रूपमा लोकप्रिय बने । भारतमा जन्मिए पनि उनले नेपाली नागरिकता लिएर आफूलाई नेपालीकै रूपमा विश्वमा चिनाए ।
शनिवार दिउँसो सुनिल थापालाई दर्शन गर्न नर्भिक अस्पताल पुगेका निर्देशक तुलसी घिमिरेले सुनिललाई चलचित्र ‘चिनो’मा अनुबन्धित गर्नुको कारण स्मरण गर्दै भने,‘मुम्बईमा प्राय भेट भईरहने मेरा साथी सुनिल थापा नेपाली चलचित्र खेल्न सुरुबाटै इच्छुक थिए । मलाई चलचित्र चिनोमा नेपाली र हिन्दी दुबै भाषा मिलाएर बोल्न अनाम ठाउँका एउटा खलनायक चाहिएको कारण सुनिल थापालाई प्रस्ताव गरेँ,’ तुलसीले अगाडि भने,‘चलचित्रको स्क्रिप्ट नै नसुनी मेरो विश्वासमा उनी चिनो खेल्न तयार भएर नेपाल आएका थिए । यो चलचित्र रिलिज पछि यति धेरै हिट भयोकी त्यसपछिबाट सुनिल थापालाई सधैँ चलचित्रबाट प्रस्ताव आई रह्यो र उनले आफ्नो जीवन पनि नेपाली चलचित्र उद्योगकै लागि समर्पण गरे ।’
मुम्बईबाट लगातार अभिनयको प्रस्ताव आउँदा पनि ‘चिनो’ सुपरहिट भएपछि सुनिल नेपालमै रमाए । राते काईलाईको रूपमा परिचय बनाएका उनले ‘चिनो’ सफल भएपछि ‘राँको’, ‘देउकी’, ‘ठुल्दाई’, ‘आगो’ ‘तन त सारै बिग्रिस् नि बद्री’, ‘यो मायाको सागर’, ‘जेठो कान्छो’, ‘वसन्त ऋतु’, ‘कर्म योद्धा’, ‘मुखौटा’, ‘रघुवीर’, ‘कानुनी’, ‘द सोल्जर’, ‘ए मेरो हजुर ३’, ‘अञ्जिला’ हुँदै पछिल्लो पटक रिलिज भएको चलचित्र ‘एक्लो’मा शीर्ष भूमिका निभाएका थिए । यति बेला भने उनको चलचित्र ‘राम नाम सत्य’को छायांकन चलेको थियो ।
उनले भोजपुरी चलचित्र ‘सरकार राज’, ‘बोर्डर’, ‘निरहुआ चलल लन्डन’, ‘शेर–ए–हिन्दुस्तान’ लगायतमा पनि शीर्ष खल चरित्रको भूमिका निभाएका थिए । केही वर्ष अघि अभिनेत्री प्रियंका चोपडासँग सुनिल थापाले अभिनय गरेको चलचित्र ‘मेरी कम’ बक्स अफिसमा हिट भएको थियो । त्यसपछि समेत बलिउड चलचित्रबाट अभिनयको प्रस्ताव आइरहँदा पनि उनी नेपाल नै फर्किए ।
यो चार दशको चलचित्र यात्रामा सुनिल थापाले नेपाली, हिन्दी, भोजपुरी, तामिल, तेलुगु, बंगाली जस्ता विभिन्न भाषाको दुई सय भन्दा बढी चलचित्रमा अभिनय गरिसकेका थिए । उनी अभिनेतासँगै निर्माता निर्देशकको रूपमा पनि चलचित्र उद्योगमा परिचित थिए । उनले टेली शृंखला ‘मेरी बास्सै’मा पनि ‘शेर सिंह मामा’ धेरै समयसम्म काम गरे । उनी केही वर्ष यताबाट काठमाडौँको मिन भवनमा रहेको ‘एभरेस्ट फिल्म एकेडेमी’का अध्यक्षका रूपमा कार्यरत थिए ।
उनको परिवार मुम्बईमा भए पनि आफू नेपालमै बसेर सुनिल थापाले नेपाली चलचित्र उधोगलाई योगदान दिँदै आएका थिए । साँढे तीन दशक लामो अविरल रूपमा अभिनयमा योगदान दिएर सदाका लागि बिदा भएका सुनिल थापाको आइतबार बिहान राष्ट्रिय सम्मानसहित अन्त्यष्टी गरिने भएको छ । उनको निधनले उता बलिउड पनि स्तब्ध छ । बलिउड कलाकार एसोसिएसनकी अध्यक्ष एवम् अभिनेत्री पुनम ढिल्लोले उनको निधन प्रति शोक व्यक्त गर्दै संघबाट उनको श्रद्धाञ्जली कार्यक्रम राखिने बताएकी छिन् ।
(Visited 50 times, 1 visits today)
