प्रतिनिधिसभा सदस्य निर्वाचन मिति नजिकिँदै गर्दा गाउँसम्म चुनावी रापताप बढ्दै गएको छ। दल र स्वतन्त्र गरी प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमा ३४ सय बढी उम्मेदवार प्रतिस्पर्धामा छन्। उम्मेदवारहरू आआफ्नो रणनीति र कार्यक्रमसहित जनतामाझ पुग्न थालेका छन्। यस पटक धेरैको ध्यान कोसी र मधेस प्रदेशमा केन्द्रित देखिन्छ।
सबै निर्वाचन क्षेत्रबाट प्रतिनिधत्व गर्नेको हैसियत एउटै हुने भए पनि पूर्वप्रधानमन्त्री एवंं एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेन, पूर्वसभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानामगर, कांग्रेस नेता शेखर कोइराला, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहलगायत उम्मेदवार भएका कोशी प्रदेशका विभिन्न क्षेत्र अहिले चर्चा र चासोमा छन्।
त्यस्तै कांग्रेस सभापति गगनकुमार थापा, पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल, कांग्रेस नेता विमलेन्द्र निधि, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सिके राउतलगायत मधेस प्रदेशबाट प्रतिस्पर्धामा छन्। यसकारण मधेस प्रदेशका केही क्षेत्रमा देशकै ध्यानकेन्द्रित भएको छ।
पूर्वधानमन्त्री एवं नेकपाका संयोजक पुष्पकमल दाहाल प्रतिस्पर्धा रहेको रुकुम पूर्व, कांग्रेस महामन्त्री प्रदीप पौडेल, एमाले नेता ईश्वर पोखरेल, राप्रपा नेता कमल थापा उम्मेदवार बनेको काठमाडौं–५, उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङ प्रतिस्पर्धामा रहेको काठमाडौं–३, कांग्रेस सभापति थापाले छाडेको काठमाडौं–४, रेनु दाहाल प्रतिस्पर्धामा रहेको चितवन–३, एमाले महासचिव शंकर पोखरेल उम्मेदवार भएको दाङ–२ पनि आमचासोमा परेका छन्। उल्लिखित क्षेत्रको चुनावी परिणामले हारजित मात्र नभई राष्ट्रिय राजनीति र आगामी सत्ता समीकरणमा पनि प्रभाव पार्ने विश्लेषण गर्न थालिएको छ।
सबैभन्दा धेरै चासो र चर्चाको क्षेत्र बनेको झापा–५ मा ओली र शाह प्रतिस्पर्धामा छन्। यी दुवैलाई एमाले र रास्वपाले भावी प्रधानमन्त्रीका रुपमा अघि सारेका छन्। जेनजी आन्दोलनपछि सत्ताच्युत भएका ओली आठौंपटक चुनावी मैदानमा छन् भने शाह काडमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएर पहिलो पटक प्रतिनिधिसभा निर्वाचनमा उत्रिएका हुन्।
२०६४ मा भएको संविधानसभा निर्वाचनमा माओवादीका विश्वदीप लिङ्देनसँगबाहेक ओलीले २०४६ पछिका सबै निर्वाचन झापाबाट जित्दै आएका छन्। अघिल्लो निर्वाचनमा ५२ हजार ३१९ मतसहित निर्वाचित भएका ओलीललाई अहिले शाहले चुनौती दिएका छन्। झापा–५ मा का नेकपाले रञ्जित तामाङ, कांग्रेसले मन्धरा चिमोरिया र राप्रपाले लक्ष्मीप्रसाद संग्रौलालाई उम्मेदवार बनाएका छन्। यो क्षेत्रमा अघिल्लो निर्वाचनमा रास्वपाका सुरेश पोखरेल ११ हजार ७५९ मत पाएका थिए।
त्यस्तै झापा–२ पनि चर्चा र चासोमा छ। जहाँ, १५ दल र तीन स्वतन्त्र गरी १८ उम्मेदवार छन्। तिनैभित्र छन् विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानामगर पनि। त्यहाँ एमालेबाट घिमिरे, कांग्रेसबाट सरिता प्रसाईं, नेकपाबाट धर्मशिला चापागाईं, रास्वपाबाट राना मगर, राप्रपाबाट भद्रप्रसाद नेपाल, श्रम संस्कृति पार्टीबाट केशवकुमार भण्डारी, उनेपाबाट चुडाकर्ण बेघा, जसपा नेपालबाट तिलबहादुर राई, स्वतन्त्रबाट अधिवक्ता युवराज संग्रौलासहितका उम्मेदवार छन्। १ लाख ४७ हजार ५२२ मतदाता रहेको उक्त क्षेत्रमा घिमिरे, रानामगरलगायतमध्ये कसले जित्छ भन्ने चासो बढेको छ। अघिल्लो निर्वाचनमा घिमिरे २८ हजार ७१६ मतसहित निर्वाचित हुँदा स्वतन्त्र उम्मेदवार नेपालले २६ हजार ४५५ मत पाएका थिए। नेपाल अहिले राप्रपाबाट उम्मेदवार छन्।
झापा–३ पनि चर्चामा छ। त्यहाँबाट राप्रपा अध्यक्ष लिङदेन उम्मेदवार छन्। एमालेसमेतको समर्थमा २०७९ मा लिङ्देन ४० हजार ६ सय ४८ मतसहित निर्वाचित हुँदा कांग्रेसका कृष्णप्रसाद सिटौला ३७ हजार ३ सय ७२ मतमा खुम्चिएका थिए। अहिले त्यहाँ कांग्रेसबाट राजेन्द्रकुमार घिमिरे, एमालेबाट हरिलाल राजवंशी, नेकपाबाट हंशराज राजवंशी, रास्वपाबाट प्रकाश पाठकलगायत उम्मेदवार छन्।
पार्टीको विशेष महाधिवेशनबाट सभापति भएका कांग्रेस सभापति अहिले सर्लाही–४ बाट उम्मेदवार छन्। कांग्रेसले थपालाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेको छ। यसैकारण यो क्षेत्र पनि विशेष चासोमा परेको छ। थापा तीन पटक निर्वाचित काठमाडौं–४ छाडेर सर्लाही–४ पुगेका हुन्। थापासँग अमरेशकुमार सिंहसहितका नेताहरू प्रतिस्पर्धामा छन्। २०७९ को निर्वाचनमा स्वतन्त्रबाट जित निकालेका सिंहले २० हजार १७ मत पाएका थिए। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका नागेन्द्रकुमार राय यादवले १८ हजार २५२ मत पाएका थिए। स्वतन्त्र उम्मेदवार मधुमालाकुमारी यादवले १४ हजार ६२२ मत पाएकी थिएन्। थापासँगै सिंह, मधुमालासहित २६ उम्मेदवार मैदानमा छन्।
सर्लाही–२ मा पनि मधेसका पुराना नेता महिन्द्रराय यादव र राजेन्द्र महतो आमनेसामने छन्। त्यहाँ कांग्रेसका सरोज यादव, एमालेका नागेश्वर साह र रास्वपाका रविन महतोलगायत उम्मेदवार छन्।
चर्चाको अर्को केन्द्र हो– सुनसरी–१। जहाँ श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका निवर्तमान मेयर हर्क साम्पाङ पनि उम्मेदवार छन्। साम्पाङ मतदाता रिझाउन घरदैलो अभियानमा छन्। साम्पाङसँगै कांग्रेसका सुजेन्द्र तामाङ, एमालेका टीका लिम्बु, रास्वपाका गोमा तामाङ, नेकपाका सूर्यबहादुर भट्टराई, उनेपाका डम्बर लावती, राप्रपाका उद्वव श्रेष्ठसहित २८ उम्मेदवार छन्। नेपालका पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीले २०४८ सालमा चुनाव जितेपछि एमालेको बर्चस्व रहँदै आएको सुनसरी–१ मा २०६४ को संविधानसभा निर्वाचन मामाओवादीले जित निकालेको थियो। त्यहाँबाट २०७९ मा एमालेसँगको तालमेलमा तत्कालीन जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार अशोककुमार राई विजयी भएका थिए।
त्यस्तै मोरङ–६ पनि चासो र चर्चामा छ। त्यहाँ कांग्रेसबाट कोइराला परिवारबाट शेखर कोइराला प्रतिस्पर्धामा छन्। एमालेले मोरङ–६ मा विनोद ढकाललाई उतारेको छ। २०६५ सालमा संविधानसभाका लागि भएको उपनिर्वाचनमा शेखर र ढकाल प्रतिस्पर्धामा थिए। १७ वर्षपछि यी दुई नेता फेरि एकैसाथ एउटै मैदानमा उत्रिएपछि २० जना उम्मेदवार भएको मोरङ–६ मा चुनावी सरगर्मी बढेको छ। त्यहाँ रास्वपाबाट रुविना आचार्य, नेकपाबाछ ओपेन्द्र राय र उनेपाबाट वसन्त बुढाथोकी उम्मेदवार छन्। कृष्णप्रसाद कोइराला हुँदै बिपी र गिरिजाप्रसाद कोइरालाले अघि बढाएको कांग्रेसमा अहिले कोइराला परिवारबाट शेखर मात्र उम्मेदवार छन्। यसअघिको निर्वाचनमा त्यहाँबाट शेखर निर्वाचित भएका थिए। मोरङबाट कांग्रेस महामन्त्रीगुरुराज घिमिरे र नेता मीनेन्द्र रिजाल पनि मैदानमा छन्।
यसैगरी धनुषा–३ पनि चर्चाको क्षेत्र बनेको छ। त्यहाँ कांग्रेसबाट पूर्वउपसभापति विमलेन्द्र निधि, एमालेबाट पूर्वमन्त्री जुली महतो र रास्वपाबाट प्रवक्ता मनीष झालगायत प्रतिस्पर्धामा छन्। तीनैजना विघटित संसद्का सदस्य हुन्। विगतमा कांग्रेस र एमालेबिच मात्र हुँदै आएको प्रतिस्पर्धामा यस पटक रास्वपासहितका दलहरू पनि मैदानमा छन्।
त्यस्तै सप्तरी–२ र ३ मा जनमत पार्टीका अध्यक्ष सिके राउत र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई सहकर्मीहरूले चुनौती दिएका छन्। अघिल्लो निर्वाचनमा राउत र यादव एकअर्काविरुद्ध खडा भएका थिए। त्यहाँबाट पराजित भएका यादव पछि बाराको उपनिर्वाचनबाट संसद छिरेका थिए। राउतलाई जनमत पार्टीबाटै मधेस प्रदेशको मुख्यमन्त्री बनेका सतीशकुमार सिंहले पार्टी बदलेर चुनौती दिएका छन्। सिंह मधेस प्रदेशसभामा सप्तरी २ (ख) बाट निर्वाचित भएका थिए। सप्तरी–२ मा राउत, सिंहसँगै जसपा नेपालबाट पूर्वमन्त्री उमेश यादव, कांग्रेसबाट रामकुमार यादव, एमालेबाट मो. जियाउल रहमान, नेकपाबाट सूर्यनाथ यादव, रास्वपाबाट रामजी यादवसहित प्रतिस्पर्धामा छन् । अघिल्लो निर्वाचनमा उपेन्द्रलाई १८ हजार ६३ मतले पछि पार्दै राउत विजयी भएका थिए। उनले ३५ हजार ४२ मत पाएका थिए।
जसपा अध्यक्ष यादव यसपटक सप्तरी–३ बाट प्रतिस्पर्धामा छन्। त्यहाँ एमालेका ताराकान्त चौधरी, कांग्रेस दिनेश यादव, नेकपाका अरुणकुमार साह, रास्वपाका उमाकान्त चौधरी, राप्रपाका उम्देश्वर साहसहित उम्मेदवार छन् ।
त्यस्तै रौतहट–१ पनि पूर्वप्रधानमन्त्री एवं नेकपाका सहसंयोजक माधवकुमार नेपाल, कांग्रेसका अनिलकुमार झा, एमालेका अजय गुप्ता र रास्वपाका राजेश चौधरीसहितका नेताहरू प्रतिस्र्धामा रहेका कारण विशेष चासोको क्षेत्र बनेको छ। २०५६ देखि रौतहटबाट लगातार उम्मेदवार बनेका नेपालले २०६४ बाहेक जित निकालेका छन्। २०५६ मा रौतहट–४ र त्यसपछि १ बाट उम्मेदवार बनेका नेपाल २०७९ मा कांग्रेससहितका दलहरूको समर्थनमा ३३ हजार ५ सय २२ मतसहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार अजयकुमार गुप्ताले २६ हजार ९२२ मत पाएका थिए। त्यतिबेला नेकपा एकीकृत समाजवादीको अध्यक्ष नेपाल यतिबेला नेकपामा छन्।
त्यस्तै सिराहा–४ मा पाँच पूर्वमन्त्रीसहित प्रतिस्पर्धामा छन्। त्यहाँ एमालेका धर्मनाथ साह, कांग्रेसकी चन्द्रकलाकुमारी यादव, रास्वपाका तपेश्वर यादव, नेकपाका अजयशंकर नायक, जसपा नेपालका राजकिशोर यादव, जनमत पार्टीका वीरेन्द्र महतो र बहुजन शक्ति पार्टीका विश्वेन्द्र पासवानलगायत उम्मेदवार छन्।
त्यस्तै नेकपाका संयोजक पुष्पकमल दाहाल रुकुम पूर्वबाट प्रतिस्पर्धामा छन्। यसैकारण यो क्षेत्र पनि विशेष चर्चामा छ। यसअघि गोरखा–२ बाट विजयी दाहाल अहिले माओवादीको परम्परागत पकड क्षेत्र मानिने पूर्व रुकुम पुगेका हुन्। २०७९ को निर्वाचनमा रुकुम पूर्वमा स्वतन्त्र उम्मेदवार सुरुल पुनले तत्कालीन नेकपा माओवादी केन्न्द्रका उम्मेदवार तेजबहादुर ओलीलाई पराजित गरेका थिए। अहिले त्यहाँ कांग्रेसकी कुसुमदेवी थापामगर, एमालेका लीलामणि गौतम, प्रगतिशील लोकतान्त्रि पार्टीबाट सन्दीप पुन, रास्वपाका लखन थापा र राप्रपाका रोशनध्वज शाह प्रतिस्पर्धामा छन् । सन्दीप माओवादी ‘जनयुद्ध’का सहिदपुत्र हुन्। उनी दाहालका लागि चुनौती बन्न सक्ने विश्लेषण गरिएको छ।
नेकपा संयोजक दाहालकी छोरी तथा भरतपुर महानगरपालिकाकी निवर्तमान प्रमुख रेनु दाहालको उम्मेदवारीका कारण चितवन–३ पनि यस पटक चर्चामा छ। भरतपुर महानगरपालिाकाको प्रमुखमा दुईपटक निर्वाचित रेनु दोस्रो कार्यकाल नसकिँदै राजीनामा दिएर प्रतिनिधिसभा सदस्य निर्वाचनमा मैदानमा आएकी हुन्। त्यहाँ रास्वपा नेत्री सोविता गौतम उम्मेदवार छन्। चितवन–३ बाट अघिल्लो चुनावमा राप्रपाका नेता विक्रम पाण्डे निर्वाचित भएका थिए। उनले तत्कालीन नेकपा माओवादी केन्द्रका उम्मेदवार भोजराज अधिकारीलाई झन्डै १० हजार मतान्तरले पछि पारेका थिए। त्यहाँ अहिले दाहाल, गौतमसहित राप्रपाबाट दीपक थापामगर, एमालेबाट शंकरराज थपलिया र कांग्रेसबाट टेकप्रसाद गुरुङ उम्मेदवार छन्।
चितवन–२ मा रास्वपा सभापति रवि लामिछाने प्रतिस्पर्धामा छन्। यसअघि दुई पटक यही क्षेत्रबाट निर्वाचित लामिछानेसँग प्रतिस्पर्धामा कांग्रेसकी मीनाकुमारी खरेल र एमालेका अस्मिन घिमिरे छन्। सहकारी ठगीलगायतका मुद्दा खेपिरहेका लामिछानेको लोकप्रियता र चर्चा चितचवन–२ चुलिएको छ।
त्यस्तै दाङ–२ मा एमाले महासचिव शंकर पोखरेल नेकपा माओवादीसँगको तालमेलमा प्रतिस्पर्धामा छन् । एमाले अध्यक्ष ओलीका विश्वासपात्र पोखरेल अघिल्लो निर्वाचनमा कांग्रेससहितको गठबन्धनबाट उम्मेदवार बनेकी रेखा शर्मासँग पराजित भएका थिए । अहिले त्यहाँ रास्वपाका सहमहामन्त्री विपीन आचार्य, कांग्रेसबाट किरणकिशोरी घिमिरे र नेकपाबाट निर्मल आचार्य प्रतिस्पर्धामा छन्।
डोल्पामा धनबहादुर बुढा नेकपा र कर्णबहादुर बुढा कांग्रेसबाट प्रतिस्पर्धामा छन्। दुई दाजुभाइ अलगअलग पार्टीबाट चुनावी प्रतिस्पर्धामा उत्रिएकाले चासो र चर्चा छ। कर्ण कांग्रेस सहमहामन्त्री हुन्।
रुपन्देही–२ मा एमाले उपाध्यक्ष विष्णु पौडेल, कांग्रेसका चुन्नप्रसाद शर्मा, नेकपाका सुभाष पाण्डे, रास्वपाबाट सुलभ खरेल, राप्रपाबाट कार्भिका थापासहित प्रतिस्पर्धामा छन्।
काठमाडौं–३ मा उनेपाका अध्यक्ष कुलमान घिसिङको उम्मेदवारीले चर्चामा छ। ‘मुलुकलाई लोडसेडिङ मुक्त गराएको’ भन्दै चर्चा कमाएका घिसिङ पार्टी खोलेर निर्वाचनमा होमिएका हुन्। यो क्षेत्रमा कांग्रेसका रमेश अर्याल, एमालेका रामेश्वर फुयाँल, रास्वपाका राजुनाथ पाण्डे, नेकपाका निरज लामा, राप्रपाका सुन्दरसिंह बोहरालगायत उम्मेदवार छन्। ४ हजार ४ सय ७९ मतदाता रहेको यो क्षेत्रमा परम्परागत राजनीतिक शक्ति बलियो ठानिए पनि घिसिङको उम्मेदवारीले प्रतिस्पर्धा रोचक बन्ने मतदाता बताउँछन्।
काठमाडौं–५ मा कांग्रेस महामन्त्री प्रदीप पौडेल, एमाले नेता ईश्वर पोखरेल, राप्रपा पूर्वअध्यक्ष कमल थापासहितको उम्मेदवारीले चर्चामा छ। यो क्षेत्रमा रास्वपाका सस्मित पोखरेल, उनेपाका श्रीराम गुरुङ, नेकपाकी कल्पना शर्मा, गतिशील लोकतान्त्रिक पार्टीकी निशा अधिकारीसहित प्रतिस्पर्धामा छन्। २०७९ को निर्वाचनमा यो क्षेत्रबाट एमालेका पोखरेललाई पछि पार्दै कांग्रेसका पौडेल निर्वाचित भएका थिए। ७८ हजार १ सय १४ मतदाता रहेको यो क्षेत्रमा अहिले राप्रपाबाट थापा र रास्वपाबाट सस्मितको उम्मेदवारी परेकाले प्रतिस्पर्धा रोचक बन्ने देखिन्छ।
प्रकाशित: २५ माघ २०८२ २१:४१ आइतबार
