शिक्षित र सभ्य बस्ने भनिएको संघीय राजधानी खाल्डो बालबालिकाका निम्ति नर्क साबित हुँदै छ। यी असहाय किशोरीलाई दुरूपयोग गरी यौन व्यापारको दलदलमा फसाउने गरिएका कैयन् घटना सामुन्ने आएका छन्।
सन्तानको सद्गुणका लागि आमा एक शिक्षक हुन्। सन्तानका निम्ति सधैं सफलता चाहने आमा एक शुभचिन्तक पनि हुन्। आमाबिनाको घर नर्कसमान हुन्छ। आमाबिनाको सन्तान घरबारविहीन हुन्छन्। त्यसैले आमाको महत्ता कहिल्यै कम छैन।
आमा नहुँदाको विषम स्थितिमा मकवानपुरकी एक बालिका छिन्। आधा बाटोमै आमाले सन्तानलाई छोडेर गएपछि नारकीय जीवन बिताइरहेकी १३ वर्षीय बालिका ‘अ’ आफ्नो भविष्य खोजिरहेकी थिइन्। आमाले घर छोड्नु पहिले नै कमाउन बाबु पनि विदेश लागेका थिए।
बाबु वैदेशिक रोजगारीमा गएपछि पहिलो काख खोसियो। केही दिनमै कहिल्यै नखोसिनुपर्ने आमाको काख पनि खोसियो। बालिकाका बाबु परदेशमा पसिना चुहाउँदै थिए स्वदेशमा आमाले अर्कै पुरुषसँग लगनगाठो कसिन्।
बाल्यकालमा चाहिने नै आमाबुबाको लाडप्यार हो। उनको जीवनमा न आमा भइन् न बुबा। बालिकाको सहारा बनिन् ठुली आमा। केही दिनमै बुबाले पनि लगनगाँठो कसे। कक्षा ८ मा पढ्दै गरेकी उनको जीवन समस्यामा प¥यो। केही समयपछि सम्पर्कमा आएकी जन्मदिने आमासँग काठमाडौंस्थित कीर्तिपुर डेरामा माइली दिदी र उनी पनि बस्न थाले।
काठमाडौं आएपछि दोस्रो बुबाबाट जन्मिएका भाइलाई स्कुल पुर्याउने, ल्याउने र खाना बनाउने बालिका ‘अ’ को दैनिकी बन्यो। चाँडै आफ्नै आमाले सौतेनी व्यवहार गर्न थालेपछि माइली दिदीसँगै उनी पनि घर छाड्न बाध्य भइन्।
उनले मानव बेचबिखन अनुसन्धान ब्युरोमा दिएको जाहेरीअनुसार एक दिन घर छोडेर हिँडेकी दिदीसँगै उनी कलंकी गइन्। दिदीले उनको साथ मागेकी थिइन्। दिदीलाई छाडेर घर पुग्दा रात परिसकेको थियो।
बालिका ‘अ’ अबेर गरी घर फर्केको देखी रिसाएर आमाले गाली गर्दै भनिन्, ‘तँ कहाँ गएकी थिइस्? तँ पनि तेरी कान्छी ममीसँग गएर बस्। अबदेखि तँलाई एक पैसा पनि दिन्नँ। यहाँ बस्नुपर्दैन। कहाँ जाने हो, गइहाल्।’
बालिका आमाको नमिठो वचन सहन नसकेर भोलिपल्ट बिहान डेरा छोडेर कलंकी आसपास काम खोज्नतिर लागिन्। यो संसारमा राम्रा पक्ष मात्र छैनन्। आफ्नै आमा त आमा हुन सक्दिनन् भने अरूको के कुरा भयो र?
उनी कामको खोजीमा भौंतारिदा काठमाडौंकै माछापोखरीस्थित लुम्बिनी तन्दुरी ढावामा मासिक आठ हजार पाउने गरी काममा लागिन्। काम गरेको एक महिना नपुग्दै सोही होटलमा अपरिचित महिला रुवी परियारसँग उनको भेट हुन्छ। ‘अ’ भन्छिन्, ‘उहाँले मेरो परिवार, तलब र कामबारे सबै सोध्नुभयो। केही दिन लगातार कुरा हुँदै गर्दा उहाँले यहाँभन्दा राम्रो सुर्खेत खाजाघरमा तलबसँगै खान बस्नको भरपुर सुविधा छ। तिमीले कमाएको सबै तलब बच्छ र त्यसले केही गर्न हुन्छ। त्यहाँको सञ्चालक दाइसँग धेरै राम्रो चिनजान छ। उतै काम गर्न हिँड। यहाँभन्दा सजिलो छ भन्दै प्रस्ताव राख्नुभयो।’
बालिका सुखद बसाइ र राम्रो आम्दानी आश्वासनमा परेर सुर्खेत खाजाघरमा काम गर्न थालिन्। खाजाघरमा सरसफाइ गर्ने, भाँडा माझ्ने र ग्राहकसँग बसेसँगै बिल धेरै बनाउनुपर्ने उनीमाथि खाजाघरको प्रस्ताव थियो।
‘सुरुसुरुमा केही बुझेकी थिइनँ। काम गर्दै जाँदा बुझ्छु होला भन्ने भयो,’ बालिका ‘अ’ ले नागरिकसँग भनिन्, ‘बिस्तारै खाजाघरका सञ्चालकले आएका ग्राहकसँग सुत्नपर्ने नयाँ प्रस्ताव राख्दा मैले सहजै अस्वीकार गरेँ। ग्राहकसँग सुतेपछि धेरै पैसा आउँछ। तिम्रो पनि राम्रो व्यवस्था हुन्छ भन्दै यावत कुरामा फकाए।’
खाजाघर सञ्चालकले ग्राहकलाई रमाइलो गर्ने भए हामीसँग थुप्रै राम्रा केटी छन् भन्ने गरेको ‘अ’ ले प्रहरीलाई जानकारी दिइन्। यस्ता ग्राहकसँग शारीरिक सम्पर्क गराउन उनीहरूले जबर्जस्ती गर्ने गरेका थिए।
प्रहरी ब्युरोलाई दिएको जानकारीअनुसार खाजाघर सञ्चालक कान्छीमाया घिसिङ र लोकेन्द्र बडु हुन्। ‘शारीरिक सम्पर्क राखेपछि प्रतिग्राहकको हजार रूपैयाँ आउँथ्यो भने मलाई साहुले पाँच सय रूपैयाँ दिने गरेको थियो,’ बालिका ‘अ’ ले भनिन्, ‘मासिक तलबमा राखेको मलाई काम गरेबमोजिम पैसै दिएनन्।’
हुँदाहुँदा विभिन्न होटलबाट केटी पाइन्छ भनेर खाजाघरमा फोन आउँथ्यो। होटलमा पूरै रातका लागि राम्री केटी चाहिएको भनेपछि होटल साहुनीले आफैंलाई पठाउने गरेको उनले प्रहरीलाई जानकारी दिइन्।
पूरै रातका लागि होटल गए प्रतिव्यक्ति पाँच हजारदेखि आठ हजार रूपैयाँसम्म उक्त खाजाघर सञ्चालक कान्छीमाया र लोकेन्द्रले पाउने गरेका थिए। ‘मेरो इच्छा विपरीत दैनिक पाँचदेखि ६ जना ग्राहकसँग सम्बन्ध राख्न बाध्य बनाउँथे,’ बालिका ‘अ’ ले भनिन्, ‘शनिबार १० जनाभन्दा बढी ग्राहकसँग सम्पर्कमा बस्नुपर्थ्याे। आज धेरै गाह्रो भएको छ भनेर अस्वीकार गर्दा पनि सुख पाइन्नथ्यो। कान्छीमाया र लोकेन्द्र दुवैले यति काम पनि गर्न सक्दैन र भर्खरको मान्छेले भनेर यावत खालका गाली गर्ने, करकापसँगै डरत्रास देखाउने र शारीरिक एवं मानसिक रूपमा निकै पीडा दिने गर्थे।’
बालिका ‘अ’का अनुसार खाजाघर सञ्चालकले महिनावारीका बेलामा समेत नाटक गरेको हो भनी जबरजस्ती ग्राहककहाँ पठाए। शारीरिक सम्पर्कमा अनिच्छा जाहेर गर्दा तलब नपाउने मात्र होइन, घर जान नपाउने अवस्था रह्यो। खाजाघर सञ्चालकले ६ महिनासम्म जबरजस्ती धन्दामा लगाए।
गत वैशाख १८ गते मानव बेचबिखन अनुसन्धान ब्युरोद्वारा परिचालित प्रहरी टोलीले विभिन्न खाजाघरहरूमा छापा मार्ने क्रममा बालिका ‘अ’ को उद्धार भएको थियो। ती पीडितले आफूलाई जबर्जस्ती वेश्यावृत्तिमा लगाएको जाहेरी दिएसँगै अनाहत नेपाल र नेप्लिज होमले सुरक्षित आवासमा राखी परामर्श दिइरहेका छन्।
होटल सञ्चालक दार्चुलाको व्यास गाउँपालिका–६ घर भई टोखा बस्ने २९ वर्षीय लोकेन्द्र बडु र सर्लाहीको हरिवन नगरपालिका– २ की ३७ वर्षीय कान्छीमाया घिसिङलाई ब्युरोले पक्राउ गरी हाल हिरासतमा राखेको छ। उनीहरूविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।
बालिका ‘अ’ जस्तै धादिङकी अर्की किशोरी ‘आ’ पनि परिवारको आर्थिक अवस्था कमजोर भएकै कारण धन्दामा लाग्न बाध्य भएकी छिन्। आफ्नो अध्ययन पूरा गर्न उनी कामको खोजीमा थिइन्। आमा र दाइसँग बस्दै आएकी आठ कक्षामा अध्ययनरत १४ वर्षीय किशोरीका बुबा मलेसिया रोजगारीका निम्ति गएका थिए।
कामको खोजी गरिरहेका बेला गत वर्ष असोजमा सँगै स्कुल पढ्ने साथी सञ्जु लामाको कोठामा पुगेकी थिइन्। घर छोडेर आएको कथाव्यथा सञ्जुकी आमालाई सुनाउँदा प्रतिउत्तरमा नवलपरासी रजहर चोकस्थित होलीडे रेस्टुरेन्ट एन्ड कटेजमा काम गरेबापत १८ देखि १९ हजार रूपैयाँसम्म मासिक तलब पाइने जानकारी दिइन्। १८ वर्ष पुगेको खुलाउनुपर्ने र त्यहाँ काम गरेबापत पढ्न पनि पाइने भन्दै सञ्जुकी आमाले सिकाएर नयाँ बसपार्क पुर्याइ रात्रीबसमा हालिदिएकी थिइन्।
‘गत वर्ष असोजको अन्तिम साता थियो,’ उनी भन्छिन्, ‘म गाडीबाट झर्नेबित्तिकै विनिता पुन भन्ने विमला थापा लिन आउनुभयो। त्यसपछि उहाँकै रेस्टुरेन्टमा पुगें।’
संवादका क्रममा रेस्टुरेन्ट सञ्चालक विनिताको भनाइ उद्धृत गर्दै ती नाबालिकाले भनिन्, ‘काठमाडौंकी दिदीले तिमीलाई के सिकाएर पठाउनुभएको छ? त्यो मलाई थाहा छैन। तर, यस रेस्टुरेन्टमा आउने पुरुषहरूसँग शारीरिक सम्पर्क राख्नुपर्छ। राम्रो काम गर्दै गएमा मासिक एक लाख रूपैयाँसम्म आम्दानी हुन्छ।’
यसरी कामको बयान फेरिएपछि आश्चर्यमा पर्दै विनिताले राखेको प्रस्तावमा उनी छाँगाबाट खसेजस्तो भइन्। ‘यो काम गर्न सक्दिनँ,’ उनले भनेकी थिइन्, ‘म सानै छु। पढ्न पाउँछु भन्ने लोभमा यहाँ आएकी हुँ।’
त्यहाँ पुगेपछि काम गर्नैपर्ने बाध्यतामा पारियो। ‘काम नगरेर सुख पाउँछौ भनी विनिता दिदीले भनेकै दिनदेखि रेस्टुरेन्टमा आएका पुरुषहरूसँग जबरजस्ती शारीरिक सम्पर्कमा सहभागी गराइयो,’ किशोरी ‘आ’ भनिन्, ‘भोलिपल्टदेखि बिरामी भएर यस्तो काम गर्दिनँ भनें। मलाई धेरै गाह्रो भएको थियो। म काठमाडौं जान्छु भनेर निस्कँदा रेस्टुरेन्टकै कोठामा थुनी बाहिरबाट चुकुल लगाइदिए। त्यसरी थुनामा राखेको केही समयमै रेस्टुरेन्टमा आएका पुरुषहरूलाई मेरो कोठामा पठाउने गर्थे। ती केटाहरू पनि साह्रै पापी थिए। म बिरामी छु, जबरजस्ती यस्तो काम गर्न लगाएका छन् भन्दा हामीले पनि पैसा नै तिरेर आएको हो भन्थे अनि एकपछि अर्को आएर मेरो शरीरलाई निचोरेर जान्थे।’
ती किशोरीका अनुसार केही समय आएर शारीरिक सम्बन्ध राखेर जाने पुरुषले १५ सय रूपैयाँ तिर्ने गरेका थिए भने रातभरि बसेको पाँच हजार रूपैयाँसम्म दिने गरेका थिए। दिन बितेसँगै असह्य भएकाले पीडित किशोरीले सधैं काठमाडौं पठाइदिनुस् भनेर रेस्टुरेन्ट सञ्चालकसँग रुने गरेको बताइन्। धेरै समयपछि उनको चित्कार रेस्टुरेन्ट सञ्चालक विनिताले सुनिन्।
दुई महिनाको बसाइपछि काठमाडौं फर्केको क्षण सम्झँदै उनले भनिन्, ‘काठमाडौं आउनेबित्तिकै नवलपरासी पठाउने साथीको आमालाई घरमै भेट्न पुगें। उहाँलाई धेरै कराएँ। तपाईंले मलाई कस्तो काममा पठाएर फसाउनुभयो? ममाथि त्यहाँ सबैले शारीरिक सम्पर्क राखे भन्दा अब तिमीलाई मेरो साथीले चाबहिलमा फ्रेन्डसिप ब्युटी एन्ड स्पा चलाएर बसेको छ, त्यहाँ काम गर्न जाऊँ उताको जस्तो केही नराम्रो हुन्न भनेर फकाउन थाले।’
साथीकी आमाले चाबहिलमा पूजा लोवाले सञ्चालन गरेको उक्त स्पामा पुर्याएर सँगै दुईचार दिन त राम्रै काम भयो तर पछि त्यहाँ पुरुषहरूसँग शारीरीक सम्पर्क राख्ने काम सुरु भयो। यो काम गर्दिन भन्दा गाली गर्ने र मानसिक तनाव दिने उनले सुनाइन्।
‘पुरुषहरूसँग सम्पर्क राखेपछि सञ्चालक पूजाले नै पैसा बुझ्ने र प्रतिव्यक्ति बराबर आठ सय दिने गरेकी थिइन्। पछिपछि पठाओ बुक गरी शारीरिक सम्पर्कका लागि होटल, ग्राहकको घरसम्म पुग्नुपर्थ्याे। महिनावारीको समयमा पेट दुखेर मर्नुहुँदासमेत सुख पाइन्नथ्यो,’ पीडित ‘आ’ले भनिन्।
यसरी ती किशोरीको दिनचर्या बित्दैगर्दा कसैले सुराकी दिएपछि मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले उद्धार गरेको उनले सुनाइन्। श्रमशोषणका साथ जबरजस्ती वेश्यावृत्तिमा लगाई यौन शोषणमा परेकाले मानव बेचबिखन तथा ओसारपसार विरुद्धको कार्य भएको हुँदा उनको जाहेरी ब्युरोमा परेको छ।
मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रहरी एसपी गौतम मिश्रका अनुसार आर्थिक लाभकै कारण उपत्यकाभित्र रहेका ससाना खाजाघर, क्याफे, गेस्टहाउस, स्पा सेन्टरजस्ता विभिन्न ठाउँमा बालिकाको दुरूपयोग बढेको छ। होटल व्यवसायीले सिधै ससाना खाजाघरहरूसँग सम्पर्कमा रहेर बालिकाहरूको होटल होटलमा माग गर्ने गरेको उनले बताए।
ब्युरोको अनुसन्धानअनुसार बालिकाहरूलाई विभिन्न प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाउने गरिएको छ। यस्ता बालिकाले ग्राहकसँग थोरै रकम मात्र पाउने गर्छन्। किशोरीहरूलाई जबरजस्ती वेश्यावृत्तिमा लगाएको गोप्य सूचनाका आधारमा ब्युरोबाट खटिएको टोलीले पीडकलाई पक्राउ र पीडित महिला तथा बालिकालाई उद्धार गर्दै आएको छ।
घरको आर्थिक अवस्था कमजोर भएका, ग्रामीण भेगका कम पढेलेखेका बालिकाहरूलाई क्याफे तथा गेस्टहाउसमा वेटरको काम लगाइदिने तथा आकर्षक तलब सुविधा दिने प्रलोभन दिई बोलाउने गरेको ब्युरोका प्रवक्ता मिश्रले बताए। धेरै बालिकालाई उद्धार गरेर ल्याए पनि जाहेरी दिन नमानेका कारण कानुनी कारबाही गर्न नसकिएको प्रवक्ता मिश्रले बताए।
‘गाउँगाउँमा यस्ता अवैध काम र मानव बेचबिखनबारे जनचेतना फैलाउनु आवश्यक छ,’ उनले नागरिकसँग भने, ‘यस्तो स्थितिमा सबैलाई कानुनी जानकारी दिने, स्कुलको पाठ्यक्रममा मानव बेचबिखनसम्बन्धी जानकारी समावेश गराउने, स्थानीय तहमै यसबारे ज्ञान फैलाउने काम गर्नुपर्छ।’
उनका अनुसार बसपार्क क्षेत्रमा यस्तो काम अत्यधिक बढेको छ, जहाँ मानिसको भिड लाग्छ। सबै सत्यतथ्य बाहिर आउँदैनन्। यस्ता धेरै अनैतिक कार्य भित्रभित्रै लुकेका छन्। जो अप्ठेरोमा परेका छन्, त्यस्ता पीडितहरू प्रहरीसम्म पुग्छन्। कतिपय भद्रभलादमी स्थानीयले गर्दा पनि पक्राउ तथा उद्धार हुने गरेको उनले बताए।
मुलुकी कानुनअनुसार देह व्यापार गर्नगराउन पाइँदैन। त्यसमा पनि नाबालिग किशोरीलाई कानुनले संरक्षण गरेको छ। यति हुँदा हुँदै पनि तिनको आर्थिक अवस्था र असहायपनबाट फाइदा उठाई दुरूपयोग गरिँदै आएको छ।
देशभरिबाट गत वर्ष मात्रै पीडित महिला तथा बालिका करिब एक हजार २२८ जना माइती नेपालको संरक्षण तथा परामर्शमा रहेका छन्। पछिल्ला दुई महिनामा करिब १५५ जना बालिकालाई माइती नेपालले संरक्षणमा राखेको छ। मानव बेचबिखन अनुसन्धान ब्युरोमा हालसम्म २७७ मुद्दा दर्ता भएका छन्।
अन्यायपूर्वक बालिकाहरूलाई अनौपचारिक ‘धन्दा’ केन्द्रमा पुर्याएर भइरहेको शोषणको लामो कथा छ। यसको निराकरणका निम्ति घरपरिवार, समाज र मुलुकी व्यवस्थाले सशक्त अभियान चलाउनुको विकल्प देखिएको छैन।