काठमाडौं । अनिल बुढामगरको डेब्यु कथानक फिल्म ‘घरज्वाइँ’को आकर्षक क्यारेक्टर पोस्टर सार्वजनिक भएको छ । फिल्मका दुई शीर्ष पात्र दयाहाङ राई र मिरुना मगर फिचर्ड छन् ।
विशुद्ध ग्रामिण परिवेश, भेषभुषा, आञ्चलिकता र मुडमा उनीहरुलाई देख्न सकिन्छ । पोस्टरको रङ संयोजनले ग्रामिण नेपाली क्षेत्रको आभा दिन्छ । यो फिल्मको सेटिङ पूर्वी रुकुमको तकसेराको मगर ग्रामीण वस्ती हो ।
मगर शैली संस्कृति र दिनचर्याको सेटिङमा बनेको फिल्मले घरज्वाइँ संस्कृतिको कथा पेश गर्छ । यसअघि छोटो फिल्म ‘आग्रे’बाट फिल्म फेस्टिभलमा चर्चित भैसकेका अनिलको यो डेब्यु फिचर हो ।
फिल्मको पहिलो पोस्टरमा दयाहाङ कपाल खौरिएको स्वरुपमा छन् । हिमाली पृष्ठभूमिमा उनी बन्दुक बोकेर जंगलतिर शिकार खेल्न निस्किएको देख्न सकिन्छ । दोस्रो पोस्टरमा दयाहाङ र मिरुना डोको बोकेर निस्किएको देख्न सकिन्छ ।
कूल मिलाएर यी दुई पोस्टरले चरित्र चित्रण र फिल्मको सेटिङ दर्शाउँछ । ‘रोल्पा रोग’ फेम्ड निर्माता जनक घर्ती मगरले चाँडै आधिकारिक पोस्टर ल्याउने जनाए ।
फिल्ममा बुद्धि तामाङ, शिशिर बाङ्देल, पुष्कर गुरुङ, भोलाराज सापकोटा, राज थापा काउचा, कविता आले, शिला आले, अनु थापा, विना मगर, खड्गबहादुर पुन, सोनाम लामा, बिवेश बुढा, सुनिल मगरलगायतले अभिनय गरेका छन् ।
जीएम मुभी प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको कथा निर्देशक मगर स्वयंको हो भने पटकथा र संवाद लेखनमा उनलाई सुवास कोइराला र विनोद खतिवडाले साथ दिएका छन् । फिल्मलाई सुशन प्रजापतिले खिचेका छन् भने रामजी लामिछानेले नृत्य निर्देशन गरेका छन् ।
‘घरज्वाइँ’ असार २८ गते रिलिज हुनेछ ।
