बार्सिलोना। स्विट्जरल्याण्ड भन्ने बित्तिकै आम मानिस सोच्दा हुन्, यो देशमा राम्रा हिमालहरू छन्। सुन्दर झरना, पहाड र रमणीय गाउँहरू छन्। तर विश्व चर्चित हास्य अभिनेता चार्ली च्याप्लिनले भन्थे, ‘स्विट्जरल्याण्डमा हिमाल मात्र होइन, समयनिष्ठ र सरसफाइ छ। जुन विश्वको ईर्ष्या हो।’
च्याप्लिनले आफ्ना आँखाले जसरी स्विट्जरल्याण्ड देखे, त्यसरी नै बोले पनि। जीवनको अन्तिम कालखण्डको २५ वसन्त जेनेभा नजिकैको गाउँमा बिताए। संवादविहीन फिल्मका सबैभन्दा प्रभावशाली कलाकार मानिने च्याप्लिनले जीवनको अन्तिम सास स्विट्जरल्याण्डमा नै फेरे। यहाँका रमणीय गाउँहरूले च्याप्लिनको मात्रै होइन, उनी जस्तै धेरैको मन खिचेको छ।
त्यसो त वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले पनि भनेका छन्— ’स्विट्जरल्याण्डको परिदृश्य हामीलाई आनन्द लिनको लागि मात्र होइन। संसारमा अवस्थित उत्कृष्ट सौन्दर्य र सद्भावको सम्झना गराउनको लागि बनाइएको जस्तो देखिन्छ।’
राजधानी बेर्न शहरको केन्द्रमा पर्ने भागमा आइन्स्टाइन बसेका थिए। त्यो क्षेत्रलाई युनेस्कोको विश्वसम्पदा सूचीमा सूचीकृत गरिएको छ। उनी बसेको घरलाई स्वीस सरकारले अहिले संग्रहालयको रूपमा सुरक्षित राखेको छ।
चार भाषा, २६ क्यान्टोन
संसारको सबैभन्दा सुन्दर देशमध्ये एक स्विट्जरल्याण्ड। प्रकृतिप्रेमी र पदयात्रीका लागि उत्कृष्ट गन्तव्य। भौगोलिक रूपमा यहाँ २६ वटा प्रदेश अर्थात् क्यान्टोनहरू छन्। जर्मन, फ्रेन्च, इटालियन र रोमांश गरी चार भाषाले मान्यता पाएका छन्। त्यसो त यहाँ धेरैले अंग्रेजी लेख्न, पढ्न र बोल्न पनि सक्छन्। १७ क्यान्टोनमा जर्मन भाषा, चारमा फ्रेन्च, एउटामा इटालियन र तीन क्यान्टोनमा दुई भाषा बोलिन्छ। ६३ प्रतिशत स्वीसहरू आफ्नो मातृभाषा जर्मन भएको बताउँछन्।
नेपाल जस्तै भूपरिवेष्ठित एवम् संघीय गणतान्त्रिक मुलुक स्विट्जरल्याण्ड। क्षेत्रफल र जनसंख्या दुवै हिसाबले नेपालभन्दा लगभग साढे तीन गुणा सानो। नेपाली राजनीतिमा स्विट्जरल्याण्डको सपना बिक्री हुँदै आएको छ। त्यसैले पनि स्विट्जरल्याण्ड कस्तो होला ? एक पटक पुगौं भन्ने रहर जो–कोहीलाई पनि हुनु स्वाभाविक नै हो। म आफूलाई भाग्यमानी ठान्दछु। नेपालको झझल्को मेट्ने देश स्विट्जरल्याण्डमा पटक–पटक पुग्ने र घुम्ने मौका पाएको छु।
समयनिष्ठ स्विस
सन् २०२४ अप्रिल १८ मा स्विट्जरल्याण्ड पुग्ने मौका मिल्यो। यो मेरो सातौं पटक हो। चार्ली च्याप्लिनको भनाइ जस्तै ‘समयनिष्ठता’ को प्रसंगमा एक स्वीस इन्जिनियरलाई पनि म सम्झन चाहन्छु। इन्जिनियर डिक्ट्रिक एल्मर। एक रमणीय क्यान्टोन ग्लारुस। सोही क्यान्टोनमा रहेको नगरपालिका ग्लारुस नडक मुलेहनमा उनी बस्छन्।
अघिल्लो पटकको यात्रामा म उनीसँग मज्जाले गफिएको थिएँ। ‘स्वीसहरू आफूहरू पनि समयनिष्ठ छन्, अरूलाई पनि त्यही सिकाए। देश विकास गर्न नीतिनियम भएर मात्रै हुँदैन। त्यसको पालना पनि गर्नुपर्छ’, इन्जिनियर एल्मरको भनाइ अझै पनि मनमा गडेको छ।
त्यसैले भनिन्छ- स्विट्जरल्याण्ड घडी जस्तै चल्छ। ‘स्वीसहरूले उत्कृष्ट घडीहरू मात्रै बनाएनन् बरु घडी जस्तै चल्न सिकाए।’
२६ वर्षदेखि स्विट्जरल्याण्डमा बस्दै आउनुभएका मेरा मित्र हीरालाल श्रेष्ठ। लामो समय भेट नभएकाले भेटौं न भन्ने उहाँको आशय। प्रवासमा रहेर पत्रकारितालाई धेरै–थोरै समय दिनुहुन्छ। हाम्रो नियमित सम्पर्कको माध्यम पत्रकारिता। हामी सहकार्य मात्रै हैन पारिवारिक पनि छौं।
स्विट्जरल्याण्डमा उहाँको घर मेरा लागि ‘मामाघर’ जस्तै बनेको छ। अप्रिल १८ बिहानै जुरिच पुगें। जुरिच उत्रिंदा हिउँ परिरहेको थियो। म ट्रेन समातेर सिटी सेन्टर पुगें। स्टेसन बाहिर मन्द मुस्कानका साथ शशी यादव भाइ कुरिरहेका थिए। उनीसॅंगको भेटमा स्वीसमा बिताएका क्षण र बार्सिलोनाको भेट पुनः ताजा भए। चार महिनाअघि उनी बार्सिलोना आउँदा खासै समय निकाल्न नसकेको म। तर मेरा लागि उनले चार दिन छुट्याइसकेका थिए।
मौसम प्रतिकूल भएका कारणले जुरिच शहर सुनसान देखिन्थ्यो। चहलपहल निकै कम। टप अफ दि जुरिच रूपमा परिचित डाँडामा अलिअलि हिउँ देखिन्थ्यो। दुई तीन घण्टा घुम्दा निकै चिसो महसुस भइसकेको थियो। मित्र अर्जुन बस्ताकोटीको रेस्टुरेन्टमा पुग्यौं। तातो कफी र मिठा गफसँगै विगतलाई सम्झियौं।
म र मेरो श्रीमती पहिलो पटक स्विट्जरल्याण्ड जाँदा उहाँसँगै जुरिच घुमेको। रात्रिकालीन प्रहरमा टप अफ दि जुरिच पुगेको। राइनफल्समा रमाएको। झन्डै एक दशक अघिका पलहरू हामीले कफीको चुस्कीसॅंगै सम्झिरह्यौं।
दिउँसो ४ बजेतिर शशी भाइको घरमा हीराजी पनि आइपुग्नुभो। जुरिच सिटी सेन्टरबाट उहाँको घर ५१ किलोमिटर टाढा आरगाउ क्यान्टोनको बोजेन गाउँमा पर्छ। घर जानुअघि हामी किनमेलका लागि जर्मनीतर्फ लाग्यौं।
जर्मनमा स्वीसमा भन्दा धेरै सस्तो ग्रोसरी सामान पाइने। तर सबै सामानहरू मन लागे जति भने किन्न नपाइने। मापदण्डमा रहनुपर्ने। चेकिङ पोष्टमा सामानको चेकजाँच हुनसक्ने हुँदा ख्याल राख्नुपर्ने रहेछ। यात्राकै क्रममा पाँच वर्षअघि स्विट्जरल्याण्डमा डकुमेन्ट्री बनाउँदाका पलहरू नसम्झने कुरै भएन।
अप्रिल १९ मा हामी स्वीसहरूको संघीय शहर बेर्नतर्फ लाग्यौं। स्विट्जरल्याण्डको संसद् र संघीय राष्ट्रपतिको कार्यालय यही शहरमा रहेका छन्। मेरा मित्र डा. विनय श्रेष्ठले आफू कार्यरत बेर्नस्थित युनिभर्सिटी अस्पतालको अवलोकन गर्न बोलाउनुभएको थियो।
दुई दशकदेखि स्विट्जरल्यान्डमा बस्दै आउनुभएका डा. श्रेष्ठ क्यान्सर रोग विशेषज्ञ हुनुहुन्छ। उहाँ रेडिएसन अंकोलोजी विभागमा विशिष्ट विशेषज्ञको रूपमा काम गर्नुहुन्छ।
स्विट्जरल्याण्डको स्वास्थ्य प्रणाली किन उत्कृष्ट ?
मैले सोधेको थिएँ, ‘यहाँको स्वास्थ्य प्रणाली किन उत्कृष्ट छ? सबै नागरिकले उपचार पाएका छन् ?’
डा. श्रेष्ठको जवाफ थियो, ‘स्विट्जरल्याण्ड बस्ने हरेक व्यक्तिले यहाँको हेल्थ इन्सुरेन्स गरेकै हुनुपर्छ। त्यसले स्वास्थ्य सेवाको ग्यारेन्टी गरेको हुन्छ। स्विट्जरल्याण्डको स्वास्थ्य क्षेत्रमा ९० प्रतिशत भन्दा बढी लगानी पब्लिक सेक्टरको छ। यहाँ प्राइभेट सेक्टरको इन्भेष्टमेन्ट सानो छ।’
नेपालसँग तुलना गर्दै उहाँले भन्नुभयो– ‘हेल्थ केयर सिष्टम राम्रो बनाउनका लागि राम्रो स्वास्थ्य नीति बन्न जरूरी छ। त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न सक्नुपर्दछ। साथै स्वास्थ्य क्षेत्रमा लगानी पनि गर्न सक्नुपर्दछ। नेपालमा आफ्नो जीडीपीको ६-७ प्रतिशत मात्रै स्वास्थ्य क्षेत्रमा इन्भेष्टमेन्ट छ। तर स्विट्जरल्याण्डमा जीडीपीको ११-१२ प्रतिशत लगानी छ। हुनुपर्ने उल्टो थियो।’
मैले सोधें, ‘त्यसो भए अब समाधान के त ?’
उहाँले भन्नुभयो, ‘सबैभन्दा पहिले स्वास्थ्य नीति राम्रो बन्नुपर्यो। त्यो पूरा गर्नलाई चाहिने दक्ष जनशक्ति पनि चाहियो। सबै व्यवस्थापन मिल्यो भने मात्रै स्वास्थ्य प्रणालीमा सुधार ल्याउन सक्छौं।’
युनिभर्सिटी अस्पताल निकै ठूलो रहेछ। स्वास्थ्यकर्मीहरूले अस्पतालभित्रै साइकलको प्रयोग पनि गर्ने रहेछन्। साइकलको प्रयोग गर्दा ठूलो समयको बचत हुने डा. श्रेष्ठ बताउँदै हुनुहुन्थ्यो।
नेपालप्रति चासो मात्रै हैन सद्भाव राख्ने स्वीस डाक्टर थिए निकोलास बाखमान। डा. श्रेष्ठसॅंगै एउटै विभागमा कार्यरत। राजधानी बेर्नमा नै जन्मेर त्यहीं हुर्किएका। आफ्नो देशको विकासलाई देखेर गर्व गरे। स्वीसहरू समयनिष्ठ हुन्छन् भन्ने कुरा उनले पनि भन्न छुटाएनन्।
‘हामी धेरै भाग्यमानी छौं। यहाँ बस्ने सबै रेसिडेन्सहरूले संसारकै अत्याधुनिक स्वास्थ्य सेवा पाइरहेका छन्’, डा. निकोलासले सुनाए।
‘मलाई लाग्छ स्विट्जरल्याण्डले राम्रो रणनीति अपनायो। निकै चलाख पनि बन्यो। विश्वयुद्धमा तटस्थ रह्यो’ उनले अगाडि थपे, ‘युरोपका विभिन्न देशहरूमा युद्धले ठूलो क्षति पुर्यायो। तर हामी जोगियौं। यो अर्थमा पनि यो देशलाई भाग्यमानी ठान्दछु। लामो समयदेखि विना अवरोध देश विकासको रफ्तारमा कुदिरहेको छ।’
डा. निकोलसले नेपालका दुर्गम ठाउँहरूमा स्वास्थ्य सेवा पुगेको छैन भन्ने सुनेका रहेछन्। उपचार र औषधि लिनका लागि घण्टौं यात्रा गर्नुपर्ने, कतिपयले पैसाको अभावमा उपचार गर्न नपाएर अकालमा ज्यान गुमाएको पनि उनको कानमा परिसकेको रहेछ। नेपालमा सर्वसाधारणले सामान्य स्वास्थ्य सुविधा पाउन नसक्नु बारे उल्टै हामीलाई उनले प्रश्न गरिरहेका थिए।
एआईको महत्व
![घडी जस्तै चल्ने स्विट्जरल्याण्ड घडी जस्तै चल्ने स्विट्जरल्याण्ड](https://www.onlinekhabar.com/wp-content/uploads/2024/05/doctor-3-swizerland.jpg)
सोही अस्पतालमा कार्यरत अर्का डाक्टर निकोला चिहोरिचसँग पनि हाम्रो भेट भयो। उनी बोस्निया हर्जगोभिनामा जन्मिएका। सर्वियाबाट अध्ययन पूरा गरेका। विगत १५ वर्षदेखि बेर्नस्थित युनिभर्सिटी अस्पतालमा कार्यरत रहेछन्। आर्टिफिसियल इन्टिलिजेन्स (एआई) बारे उनको दख्खल र चासो रहेछ। युरोपका विभिन्न सभा, सेमिनारहरूमा पुगेर उनले आफ्ना अनुभवहरू सुनाएका रहेछन्। अल्पविकसित र विकासशील राष्ट्रहरूको लागि एआईको महत्व झनै बढी रहेको उनले हामीलाई पनि सुनाए।
‘एआईको प्रयोगले स्वास्थ्योपचारमा हुने समग्र लागतलाई उल्लेखनीय रूपमा घटाउन सक्छ। खर्च कम हुने हुँदा यस्ता मुलुकहरूका लागि झन् उपयोगी देखिएको हो। उचित डिजिटलाइजेसनले एकातर्फ दैनिक काम धेरै सजिलो छ। लाखौंको ज्यान जोगाउन मद्दत पुग्ने र अर्कोतर्फ अर्बौं खर्च जोगिने देखिएको छ’, डा. चिहोरिचले बताए।
नेपालप्रति माया र सद्भाव दर्शाउने विशिष्ट डाक्टरहरूको अनुभव अनुभूति यत्तिमा सीमित रहेन। अस्पताल हुँदै बेर्नस्थित पोखरा नेपाली किचन रेस्टुरेन्टसम्म कुराकानी जारी राख्यौं। स्वीस घडीले रातको १० बजाएको पत्तै पाएनौं। डिनर सकिएर घर फर्किने बेलामा मुसलधारे पानी परिरहेको थियो। डेढ घण्टाको ड्राइभपछि पौने १२ बजे बोजेन पुग्यौं।
ग्रिन्डेलवाल्ड र लाउटरब्रुनेनको सुन्दरता
अप्रिल २० शनिबार। बाहिर मौसम चिसो नै थियो। १२ बजेपछि अलि मौसम खुलेको हो कि जस्तो देखिन्थ्यो। दिनभर घुम्ने हाम्रो योजना। बोजेनदेखि पौने तीन घण्टाको ड्राइभ। अलि छिट्टै निस्कने योजना भए पनि पङ्चुअल भने बन्न सकेनौं।
बेर्न क्यान्टोनमा पर्ने इन्टरक्याकेन शहर यसअघि घुमिसकेको हुँदा ग्रिन्डेलवाल्ड र ‘लाउटरब्रुनेन’ भ्याली हाम्रो लिस्टमा परेका थिए। स्विट्जरल्याण्डको बेर्न शहरबाट करिब ७० किलोमिटर दक्षिण-पूर्वमा रहेको ‘लाउटरब्रुनेन भ्यालीलाई युरोपको सबैभन्दा सुन्दर उपत्यका मध्ये एक मानिन्छ।
![घडी जस्तै चल्ने स्विट्जरल्याण्ड घडी जस्तै चल्ने स्विट्जरल्याण्ड](https://www.onlinekhabar.com/wp-content/uploads/2024/05/lautarbrunenJharana-swizerland.jpg)
यहाँ थुप्रै झरना छन्। त्यसैले उक्त उपत्यकाको नाम ‘लाउटरब्रुनेन’ राखिएको बताइन्छ। लाउटरब्रुनेन भ्यालीको दुवै छेउमा अग्ला पहाड र झरनाहरूले उपत्यकालाई मनमोहक बनाइदिएको छ। त्यहाँको सुन्दरता देख्दा आनन्द लाग्यो।
सुन्दर झरनाहरू बाहेक यहाँ हाइकिङ, पाराग्लाइडिङ र स्काईडाइभिङको मजा लिन पनि पर्यटकहरू आउने रहेछन्। उपत्यकाको फेदमा लाउटरब्रुनेन गाउँ छ। जसलाई तीनतर्फ एइगर, मोन्च र जंगफ्राउ पर्वतहरूले घेरेको छ। यस बाहेक, वेन्जेन, मुरेन, गिमेलवाल्ड, स्टेचेलबर्ग र इसेनफ्लुहका साना गाउँहरूको सुन्दरताको वर्णन गरेर पनि सकिंदैन।
हीराजी भन्दै भन्नुहुन्थ्यो, ‘त्यो डाँडामाथि झरनाको मुहान देखिन्छ। गाडी पनि जान्छ। केहीबेरलाई पदयात्री बनौं।’ माथि उक्लिन अलि अप्ठ्यारो होला भन्ने लागेको थियो। तर साथीभाइको स्वरमा म पनि राजी भएँ। लाउटरब्रुनेनदेखि इसेनफ्लुहको पहाडसम्म झन्डै ७ किलोमिटरको मोटर यात्रा। अति साँघुरो बाटो। त्यही पहाड छेडेर बनाइएको टनेल।
१२ सय मिटर लामो ‘चुचिश्लीफ’ टनेल पनि पार गर्यौं। चट्टान र पहाड फोरेर यति अग्लो उचाइमा बनाइएको सुरुङ मार्ग देख्दा असम्भव भन्ने यो दुनियाँ केही पनि छैन भन्ने लाग्यो।
हिमपातसँगै चिसो बढिरहेको थियो। अब छिचोल्नुपर्ने ३-४ किलो मिटरको पैदल मार्ग। अप्रिलको महिना। यो पहाडमा हिमपात भइरहेको छ भन्ने हीराजीलाई पनि के थाहा ? थाहा हुँदो हो त सायद माथि उक्लन आँट्नु हुन्थेन क्यारे! तर जे भो राम्रै भो। हामीले प्रकृतिको अद्भुत सौन्दर्यलाई स्पर्श गर्ने मौका भने पायौं।
केहीबेर कलकल सुसाएको खोलालाई सुन्यौं। एकछिन त्यहीं रमायौं। हिउँ पनि खेल्यौं। झरनाको मुहानलाई विस्तारै ओझेल बनाउँदै खोंचबाट सुस्ताउँदै बगेको खोलासँग बिदा मागेर फर्कियौं।
त्यसो त लाउटरब्रुनेन पुग्नु पहिले नै ग्रिन्डेलवाल्ड पुगिसकेका थियौं। सुन्दर गाउँ हेर्नका लागि भारतीय पर्यटकहरू मात्रै होइन, घुमफिरलाई आएका नेपालीहरू पनि भेट्यौं। समुद्री सतहबाट तीन हजार फिट भन्दा अग्लो उचाइमा रहेको यो गाउँ हिउँले सेताम्ये बनेको थियो। मानौं हिउँको गलैंचाले गाउँ नै सजाइएको जस्तो।
टप अफ दि युरोप अर्थात् ‘युङफ्राउयोख’
स्विट्जरल्याण्डको स्वीस आल्पस युङफ्राउयोख ‘टप अफ दि युरोप’ को रूपमा परिचित छ। युङफ्राउयोख एक सुन्दर दृश्य मात्र होइन, यो एक प्रेरणा पनि हो। यो मानिसको सपना हो, यो आत्मविश्वास र अथक् परिश्रमको परिणाम पनि हो।
युङफ्राउयोख युरोपको सबैभन्दा उच्च रेल स्टेशनको रूपमा पनि चिनिन्छ। असम्भव जस्तै लाग्ने त्यति उचाइसम्म पुग्ने रेल मार्ग। निर्माणका क्रममा दुर्घटना, आर्थिक अभाव, श्रम हड्तालका जस्ता जटिलतालाई छिचोल्दै निर्माण भएको यो रेलमार्ग। आज पर्यटकलाई सीधै हिमालको काखमा पुर्याएको छ। विश्वलाई चकित पारेको छ। देशले मनग्ये आम्दानी पनि गरेको छ।
युङफ्राउयोख आवतजावत रेल मार्ग हुँदै होस् वा केवलकार। त्यहाँ पुग्न एकजना पर्यटकलाई झन्डै ४० हजार रुपैयाँ खर्च लाग्दछ। यति महँगो रेल यात्रा गरेर पनि त्यहाँ पुग्ने पर्यटकको भीड देखिन्छ।
‘तपाईंको अनुहारमा बरफको हावा फैलिएको छ। खुट्टामुनि हिउँका टुक्राहरू छन् र दृश्यले तपाईंको सास लगभग टाढा लैजान्छ।
‘एकातर्फ स्वीस मिटेलल्याण्डको भोजसतर्फको दृश्य। अर्कोतर्फ चार हजार मिटर चुचुराहरूले घेरिएको एलेट्स ग्लेसियर,’ युङफ्राउयोखले आफ्नो अफिसियल साइटमा लेखेको छ– ‘समुद्री सतहबाट ३ हजार ४५४ मिटर उचाइमा रहेको युङफ्राउयोखमा उभिएर, तपाईंले आफ्नो पहिलो पाइलाले यसलाई महसुस गर्न सक्नुहुन्छ: यो फरक संसार हो। यो तपाईंले अनुभव गर्नुपर्छ।’
यो पटक युङफ्राउयोख तिम्रो धेरै नजिकै पुगेर पनि यसै फर्कियौं। तर त्यही फरक संसारको अनुभव गर्न म फेरि आउनेछु। तिम्रो बारेमा फेरि लेख्नेछु। सी यू सुन युङफ्राउयोख !
![घडी जस्तै चल्ने स्विट्जरल्याण्ड घडी जस्तै चल्ने स्विट्जरल्याण्ड](https://www.onlinekhabar.com/wp-content/uploads/2024/05/Interlyakan-swizerland.jpg)
![घडी जस्तै चल्ने स्विट्जरल्याण्ड घडी जस्तै चल्ने स्विट्जरल्याण्ड](https://www.onlinekhabar.com/wp-content/uploads/2024/05/lautarbrunen-JHARANA-swizerland.jpg)
![घडी जस्तै चल्ने स्विट्जरल्याण्ड घडी जस्तै चल्ने स्विट्जरल्याण्ड](https://www.onlinekhabar.com/wp-content/uploads/2024/05/R-gaun-swizerland.jpg)