विश्वका ती मुलुकमध्ये एक हो– नेपाल, जहाँ केही दशक अघिसम्म जनसंख्या वृद्धिदर तीव्र थियो । हाल नेपालमा जन्मदर घट्दो रूपमा रहेको छ । त्यसमा पनि युवाशक्ति विदेशकेन्द्रित हुन थालेपछि जनसंख्या वृद्धिदर न्यून हुँदै गएको छ । यस्तो अवस्था निरन्तर रहन गयो भने नेपालले निकट भविष्यमा जनसंख्या घट्ने अवस्था भोग्न सक्छ । जसको गहिरो सामाजिक, आर्थिक र राजनीतिक प्रभाव पर्नसक्ने छ । कुनै पनि राष्ट्रको सबैभन्दा ठूलो सम्पत्ति र विकासको मुख्य संवाहक जनसंख्या हो । जसरी जनसंख्याको आकार, संरचना, वितरण र गुणस्तरले देशको वर्तमान अवस्था र भविष्यको दिशालाई निर्देशित गर्छ । यसर्थ, मुलुक लामो समयदेखि उच्च जनसंख्या वृद्धिको समस्यासँग जुधिरहेको मुलुकका रूपमा चिनिन्थ्यो । यसमा पनि भन्ने गरिएको ‘सानो परिवार, सुखी परिवार र दुई सन्तान, ईश्वरको वरदान’जस्ता नाराले दशकौंसम्म सरकारी नीति र सामाजिक चेतनालाई आकार दियो । तर, समयको चक्रसँगै नेपाल आज एउटा यस्तो जनसांख्यिकीय मोडमा आइपुगेको छ । जहाँ समस्या उच्च वृद्धि होइन, अत्यधिक न्यून वृद्धि हुन पुगेको छ । फलतः २०७८ सालको राष्ट्रिय जनगणना नतिजाले नेपालको जनसांख्यिकीय इतिहासमै सबैभन्दा न्यून अर्थात् शून्य दशमलव ९२ प्रतिशतको वार्षिक जनसंख्या वृद्धिदर देखाएको छ । यो अंक अघिल्लो दशक (२०६८ साल)को १ दशमलव ३५ प्रतिशतको तुलनामा निकै कम हो । यो तथ्यांक केवल एउटा अंक होइन, यो नेपालको सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक संरचनामा भइरहेको गहिरो परिवर्तनको सूचक पनि हो । जसरी जनसंख्या वृद्धिको यस सुस्तताले एकातिर स्रोत साधनमाथिको चाप कम हुने, गुणस्तरीय जीवनयापनको सम्भावना बढ्नेजस्ता अवसरका ढोका खोलेको छ भने अर्कोतिर घट्दो श्रमशक्ति, वृद्ध जनसंख्या, रित्तिँदै गएका गाउँ र सामाजिक सुरक्षामा पर्ने चापजस्ता गम्भीर चुनौती पनि सिर्जना गरेको छ ।
नेपालको घट्दो जनसंख्या वृद्धिको वर्तमान स्थिति, यसपछाडिका बहुआयामिक कारण, यसले सिर्जना गरेका अवसर तथा चुनौती र यो ऐतिहासिक जनसांख्यिकीय संक्रमणलाई राष्ट्रहितमा व्यवस्थापन गर्न अपनाउनुपर्ने नीतिगत तथा रणनीतिक उपाय’bout विस्तृत र विश्लेषणात्मक चर्चा गर्नमा केन्द्रित हुनेछ । नेपालको जनसंख्या पछिल्ला वर्ष विभिन्न सामाजिक, आर्थिक तथा भौगोलिक कारण घट्दै गएको छ । जुन देशको जनसंख्या वृद्धिको दर पछिल्ला दशकमा घट्दै गएको देखिन्छ । जसमा जन्मदरमा कमी, प्रवासन, तथा जीवनशैली परिवर्तन यसका प्रमुख कारण हुन् । तसर्थ, जनसंख्या घट्दा केही सकारात्मक प्रभाव देखिए पनि दीर्घकालीन रूपमा यसले समाज र अर्थतन्त्रमा चुनौती ल्याउन सक्छ । जसले गर्दा जनसंख्या कुनै पनि राष्ट्रको सामाजिक, आर्थिक र सांस्कृतिक संरचनाको मेरुदण्ड पनि हो । जबकि, जनसंख्या वृद्धि वा घटबढले देशको नीति निर्माण, उत्पादनशक्ति, सेवा प्रवाह, बजार, रोजगारी, सामाजिक सुरक्षाजस्ता महत्वपूर्ण पक्षमा प्रत्यक्ष प्रभाव पार्छ ।
नेपालजस्तो विकासोन्मुख राष्ट्रका लागि जनसंख्याको घट्दो प्रवृत्ति चिन्ताको विषय बन्दै गएको छ । विगतमा जनसंख्याको अत्यधिक वृद्धि एउटा समस्या मानिँदै आए पनि हाल केही वर्षयता जनसंख्याको वृद्धिदर घट्दै गएको छ र आगामी दशक यो नकारात्मक हुने आशंका गरिएको छ । यस्तो अवस्थामा जनसंख्या घटबढले नेपालमा पार्ने सामाजिक र आर्थिक प्रभावको गहन विश्लेषण गर्नु अत्यन्त जरुरी देखिन्छ । तसर्थ, देशको जनसंख्या घट्ने प्रवृत्ति अब काल्पनिक होइन, यथार्थ हो । यो समस्या समयमै सम्बोधन नगरेमा समाजको संरचना मात्र होइन, देशको उत्पादन, उपभोग, सामाजिक सुरक्षा प्रणाली र प्रतिस्पर्धात्मकता सबै प्रभावित हुन्छ । अतः जनसंख्यालाई दीर्घकालीन योजनाअनुसार सन्तुलनमा राख्ने, युवालाई देशमै रोजगारी दिने, परिवार गठन र सन्तान जन्माउने वातावरण बनाउनेजस्ता उपाय अवलम्बन गर्नु आजको आवश्यकता हो । यद्यपि, राष्ट्रका नीति निर्माताले अब जनसंख्या नीतिलाई समस्या होइन, सम्भावनाका रूपमा हेरेर दीर्घकालीन रणनीति निर्माण गर्न जरुरी छ । नत्र भने नेपालमा सुनसान गाउँ अनि वृद्ध मात्र बाँकी रहने अवस्था आउने खतरा प्रस्ट देखिन थालेको छ ।
हाम्रो देश एक शताब्दीभन्दा लामो समयदेखि तीव्र जनसंख्या वृद्धिको अनुभव गरेको देश, आज एक नयाँ र जटिल जनसांख्यिकीय मोडमा उभिएको छ । जुन आज आएर घट्दो जन्मदर, बढ्दो औसत आयु र तीव्र गतिमा भइरहेको विदेश पलायनले देशको जनसंख्या वृद्धि दरलाई सुस्त मात्र बनाएको छैन, भविष्यमा जनसंख्या घट्ने निश्चितप्रायः संकेत पनि गरेको छ । यसमा पनि नेपाल सरकारको केन्द्रीय तथ्यांक विभागको राष्ट्रिय जनगणना २०७८ सालको तथ्यांकले २ दशमलव शून्य ९ को कुल प्रजनन दर (टीएफआर) देखाएको छ । जुन २ दशमलव १ को प्रतिस्थापन स्तरभन्दा कम हो । यसको अर्थ यदि यही प्रवृत्ति कायम रहेमा, बाह्य बसाइँसराइलाई अलग राख्दा पनि नेपालको जनसंख्या अन्ततः घट्न सुरु गर्नेछ ।
जनसंख्याको यो परिवर्तन तथ्यांकमै सीमित छैन, यसले देशको सामाजिक संरचना, आर्थिक गतिविधि, राजनीतिक गतिशीलता र समग्र भविष्यमा दूरगामी र बहुआयामिक असर पार्नेछ । जुन जनसंख्या घट्नु आफैंमा राम्रो वा नराम्रो होइन । तर, यसले ल्याउने अवसर र चुनौतीलाई राष्ट्रले ‘कसरी व्यवस्थापन गर्छ ?’ भन्नेले नेपालको भविष्यको मार्गचित्र निर्धारण गर्नेछ । घट्दो जनसंख्याले नेपालको समाज र अर्थतन्त्रमा पार्ने सकारात्मक र नकारात्मक असर विस्तृत विश्लेषण गर्ने प्रयास गरिएको छ । यसका साथै जनसंख्याको आकार र संरचनाले कुनै पनि देशको आर्थिक उत्पादन, उपभोग, बचत, लगानी र श्रम बजारलाई प्रत्यक्ष रूपमा प्रभाव पार्छ । यसमा पनि घट्दो जनसंख्याले नेपाली अर्थतन्त्रमा दुईधारे तरबारको काम गर्नसक्छ । जसका आर्थिक असरका नकारात्मक र सकारात्मक दुवै पक्षका बु“दा उल्लेख गरिएको छ ।
नेपालजस्तो विकासोन्मुख राष्ट्रका लागि जनसंख्याको घट्दो प्रवृत्ति चिन्ताको विषय बन्दै गएको छ । विगतमा जनसंख्याको अत्यधिक वृद्धि एउटा समस्या मानिँदै आए पनि हाल केही वर्षयता जनसंख्या वृद्धिदर घट्दै गएको छ, र आगामी दशक यो नकारात्मक हुने आशंका गरिएको छ
श्रम शक्ति अभाव र उत्पादनमा ह्रास
जनसंख्या घट्नुको सबैभन्दा तत्काल र प्रत्यक्ष असर श्रम बजारमा देखिन्छ । विशेषगरी नेपालको सन्दर्भमा यो समस्या काम गर्ने उमेर समूह (१५ देखि ५९ वर्ष)को विदेश पलायनले थप जटिल बनाएको छ । जसरी गाउँघरमा युवा अभावले कृषि क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ । जसले गर्दा खेतबारी बाँझै रहने, परम्परागत कृषि प्रणाली भत्किने र कृषि उत्पादनमा कमी आउने क्रम तीव्र छ । यसले खाद्य सुरक्षामा संकट निम्त्याउन सक्छ र आयातमाथिको परनिर्भरता बढाउँछ । यसमा निर्माण, उद्योग र सेवा क्षेत्रमा पनि दक्ष तथा अदक्ष कामदार अभाव बढ्दो छ । यसले परियोजना लागत र समय बढाउँछ भने समग्र औद्योगिक उत्पादनलाई संकुचित गर्छ । भविष्यमा, जब काम गर्ने उमेरका मानिसको संख्या निरपेक्ष रूपमा घट्न थाल्छ, देशको समग्र उत्पादन क्षमता (जीडीपी)मा नै नकारात्मक असर पर्नेछ ।
आर्थिक वृद्धि दरमा सुस्तता
घट्दो जनसंख्याले आर्थिक वृद्धिलाई दुई प्रमुख माध्यमबाट असर गर्छ– घट्दो श्रम आपूर्ति र घट्दो माग । यसमा पनि काम गर्ने मानिसको संख्या कम हुनु भनेको वस्तु तथा सेवा उत्पादन गर्ने क्षमतामा कमी आउनु हो । अर्कोतर्फ, जनसंख्या कम हुँदा वस्तु तथा सेवाको समग्र माग पनि घट्छ । मानिसले घर, गाडी, फर्निचर, लत्ताकपडाजस्ता वस्तुमा कम खर्च गर्छन् । जसले बजार संकुचित बनाउँछ । यस संकुचनले नयाँ लगानीलाई निरुत्साहित गर्छ । स्वदेशी तथा विदेशी लगानीकर्ता घट्दो बजारमा लगानी गर्न हिचकिचाउँछन् । जसले गर्दा पुँजी निर्माण र रोजगारी सिर्जना प्रक्रिया सुस्त हुन्छ । यसमा नवप्रवर्तन र उद्यमशीलतामा पनि युवा भूमिका महत्वपूर्ण हुने हुँदा उनीहरूको संख्यामा कमीले आर्थिक गतिशीलता कमजोर बनाउन सक्छ ।
सामाजिक सुरक्षा र स्वास्थ्य प्रणालीमा भारी दबाबका कारण जनसंख्या घट्नुको अर्को महत्वपूर्ण पक्ष भनेको जनसंख्याको उमेर संरचनामा आउने परिवर्तन हो अर्थात् जनसंख्या जन्मदर घट्ने र औसत आयु बढ्ने हुँदा कुल जनसंख्यामा ज्येष्ठ नागरिक (६० वर्षभन्दा माथि)को अनुपात बढ्दै जान्छ । यसले आश्रित जनसंख्याको भार काम गर्ने जनसंख्यामाथि थपिन्छ । यसको सीधा असर राज्यको सामाजिक सुरक्षा प्रणालीमा पर्छ । यसमा पनि निवृत्तिभरण (पेन्सन), ज्येष्ठ नागरिक भत्ता र स्वास्थ्य उपचारमा राज्यको खर्च अत्यधिक बढ्छ । तर, अर्कोतर्फ कर तिर्ने युवा जनसंख्याको आधार खुम्चिँदैजाँदा राज्यको राजस्व घट्नसक्छ । जसले गर्दा खर्च बढ्ने तर आम्दानी घट्ने यस अवस्थाले भविष्यमा गम्भीर वित्तीय संकट निम्त्याउन सक्छ । यसर्थ, देशको कमजोर स्वास्थ्य पूर्वाधारले बढ्दो ज्येष्ठ नागरिकको दीर्घकालीन र जटिल स्वास्थ्य समस्या उपचार गर्नसक्ने क्षमता राख्दैन, जसले स्वास्थ्य प्रणालीमा अभूतपूर्व चाप सिर्जना गर्नेछ ।
रेमिट्यान्समा आधारित अर्थतन्त्रको जोखिम
हाल नेपालको अर्थतन्त्र रेमिट्यान्सले धानेको छ । तर, यो दिगो समाधान होइन । जसमा युवा विदेश पलायनले तत्कालका लागि विदेशी मुद्रा भित्याए पनि यसले देशको उत्पादनशील क्षेत्रलाई परनिर्भर बनाएको छ । जब राष्ट्रको जनसंख्या नै घट्न थाल्छ र विदेश जाने युवा संख्यामा पनि कमी आउँछ, तब रेमिट्यान्सको प्रवाह पनि घट्नेछ । यसका साथै विश्वव्यापी आर्थिक मन्दी, महामारी वा गन्तव्य मुलुकहरूको आप्रवासन नीतिमा आउने परिवर्तनले रेमिट्यान्सको प्रवाहलाई कुनै पनि बेला अस्थिर बनाउन सक्छ । यसरी रेमिट्यान्समाथिको अत्यधिक निर्भरताले आन्तरिक उत्पादन र रोजगारी सिर्जनालाई बेवास्ता गर्दा, भविष्यमा रेमिट्यान्स घट्ने अवस्थामा अर्थतन्त्र गम्भीर संकटमा फस्न सक्छ ।
यसैगरी, घट्दो जनसंख्याले घरेलु बजारको आकार सानो र बजार लगानीमा संकुचन बनाउ“छ । यसमा पनि रियल इस्टेट, अटोमोबाइल, खुद्रा व्यापारजस्ता क्षेत्र प्रत्यक्ष रूपमा प्रभावित हुन्छन् । यसमा पनि घरजग्गाको माग घट्दा यस क्षेत्रमा गरिएको ठूलो लगानी जोखिममा पर्न सक्छ । जसमा सानो बजारले विदेशी प्रत्यक्ष लगानीलाई आकर्षित गर्न सक्दैन ’cause बहुराष्ट्रिय कम्पनी ठूलो उपभोक्ता आधार भएका देशमा लगानी गर्न रुचाउँछन् । यसले नेपाललाई विश्व अर्थतन्त्रमा थप सीमान्तकृत बनाउन सक्छ । समग्रमा नेपालको घट्दो जनसंख्या वृद्धिदर गम्भीर राष्ट्रिय मुद्दा हो । जसका दूरगामी असर रहेका छन् । यो एकातिर देशलाई समृद्ध बनाउने जनसांख्यिकीय लाभांशको सुनौलो अवसर हो भने अर्कोतिर श्रम शक्ति अभाव, रित्तिँदो गाउँ र बढ्दो वृद्ध जनसंख्याको भयावह चुनौती पनि हो । यो संक्रमणकालीन अवस्थालाई केवल समस्याका रूपमा हेरेर आतंकित हुनुको सट्टा, यसलाई एक अवसरका रूपमा स्वीकार गरी विवेकपूर्ण र दूरदर्शी नीतिमार्फत व्यवस्थापन गर्नु आजको प्रमुख आवश्यकता हो ।
फलतः मुलुकको भविष्यको समृद्धि यहाँका मानिसको संख्याले होइन । उनीहरूको गुणस्तर, सीप, स्वास्थ्य र उत्पादकत्वले निर्धारण गर्नेछ । यदि, युवा जनशक्तिलाई स्वदेशमै गुणस्तरीय शिक्षा र आकर्षक रोजगारी दिन सक्यौं, बसाइँसराइलाई व्यवस्थित गर्न सक्यौं र हाम्रा ज्येष्ठ नागरिकको सम्मानजनक जीवन सुनिश्चित गर्न सक्यौं भने यो जनसांख्यिकीय परिवर्तन राष्ट्रको विकास यात्रामा कोसेढुंगा साबित हुन सक्छ । यसका लागि राजनीतिक इच्छाशक्ति, दीर्घकालीन योजना र सबै सरोकारवालाको एकीकृत प्रयास अनिवार्य छ । मूलतः देशको घट्दो जनसंख्याको स्थिति चुनौतीसहितको अवसर पनि हो । यसमा पनि समयमै ठोस रणनीति, नीति र कार्यान्वयन संयोजनमार्फत यस अवस्था सदुपयोग गर्न सकिन्छ । जन्मदरलाई प्रतिस्थापन दरमा स्थिर राख्ने, युवाशक्ति क्षमताविकास गर्दै श्रम बजार सशक्त बनाउने, ज्येष्ठ नागरिकको जीवन सुनिश्चित गर्ने तथा विदेश जाने जनशक्ति व्यवस्थापन गर्दै स्वदेशमै अवसर सिर्जना गर्नेतर्फ लाग्नसके नेपालले जनसंख्याको सम्यक् व्यवस्थापन गर्न सक्छ । यसक्रममा नागरिक चेतना, राज्यको संकल्प र समाजको सामूहिक भूमिका अपरिहार्य हुन्छ । यदि, यो चुनौती सामना वैज्ञानिक, न्यायसंगत र योजनाबद्ध ढंगले गर्न सकियो भने नेपालको भविष्य समृद्ध, समावेशी र दिगो बन्न सक्छ ।
[email protected]
(Visited 20 times, 1 visits today)
