प्रकाशित मिति : माघ १४, २०८१ सोमबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डलाई अधिग्रहण गर्न अमेरिका सक्षम हुने बताएका छन । उनले त्यहाँ रहेको ५७ हजार जनसंख्या अमेरिकासँग जोडिन चाहिरहेको बताएका हुन ।
अमेरिकाले ग्रीनल्याण्ड चाहेको र त्यो प्राप्त गर्नेमा सक्षम हुने समेत राष्ट्रपति ट्रम्पले बताए ।
डेनमार्कका प्रधानमन्त्री मेटे फ्रेडेरिकसेनले गत हप्तामा राष्ट्रपति ट्रम्पसँग गरेको फोन वार्तापछि यो धारणा आएको हो ।
उक्त टेलिफोनवार्तामा डेनमार्कका प्रधानमन्त्रीले ग्रीनल्याण्ड विक्रीमा नरहेको बताएकी थिइन ।
ट्रम्पले २०१९ मा पहिलो कार्यकालको बेलामा ग्रीनल्यान्डको विशाल आर्कटिक क्षेत्रलाई किन्ने प्रस्ताव राखेका थिए ।
अन्तर्राष्ट्रिय सुरक्षाको लागि ग्रीनल्यान्डको अमेरिकी नियन्त्रण पूर्ण आवश्यक रहेको उनको दावी छ।
यद्यपि ट्रम्पको स्पष्ट आत्मविश्वासको बाबजुद, ग्रीनल्यान्ड र डेनमार्कका प्रधानमन्त्रीहरूले विक्रीका लागि उपलव्ध नभएको बताउदै आएका छन ।
ग्रीनल्यान्डका प्रधानमन्त्री म्यूटे एगेडेले ग्रीनल्यान्डको जमिनको प्रयोग ग्रीनल्यान्डको काम हो भनेका छन । यद्यपि उनले अमेरिकी सुरक्षा र खनिज उत्खननमा थप सहयोग गर्ने इच्छाशक्ति देखाएका छन्।
ग्रीनल्यान्डले उत्तरी अमेरिका र युरोप बीचको छोटो मार्गमा अमेरिकी अन्तरिक्ष केन्द्र रहेको वताएकोछ।
ट्रम्पले आफ्नो इच्छा पूरा गर्न सैनिक या आर्थिक बलको प्रयोग गर्नसक्ने अनुमान गरिएको छ । तर त्यो कुन रुपमा कहिले हुने हो भन्ने यकिन गर्न भने नसकिने अवस्था रहेको छ ।

