पितृसत्ताले अन्ततः पुरुषहरूलाई समेत शोषित बनाउँछ भनेझैं वृद्धसत्ताले अन्ततः बुढाखाडाहरूलाई समेत पीडित बनाउँछ । ‘एमाले र एकीकृत समाजवादीमध्ये जसले पहिला बोलाउँछ, उतै जान्छु’ भन्ने वामदेव गौतमलाई हेरेर अब त हाँस्न पनि सकिँदैन । राणाकाल अर्थात् विक्रमाब्द २००५ साल असार २६ गते प्युठानको दाखाक्वाडीमा जन्मेर सकल नेपालीजनका खातिर लामै ‘लडेका’ वामदेवको वृद्धावस्थालाई ससम्मान आरामदायी वर्षहरूमा छाड्न मन लाग्छ ।
६ महिनाअघि प्रधानमन्त्री बनेयता केपी शर्मा ओलीले न्युयोर्कमा नरेन्द्र मोदी भेटिसके, बेइजिङमा सी जिनपिङ भेटिसके । विश्वभरिका नेताहरूलाई हात मिलाइसके, तीमध्ये कतिलाई साइडलाइनमा भेटिसके । तर उनले वामदेवलाई भेट्न बाँकी थियो ।
दुई दिनअघि त्यो बहुप्रतीक्षित भेट पनि भयो । वामदेव, जसले ओलीलाई ०७१ सालमा एमाले अध्यक्ष बनाउन निर्णायक भूमिका खेले, तिनका लागि अब करिब–करिब एमालेको ढोका खुल्ने भयो । यसका लागि वामदेवले बलमात्रै होइन, ‘गल’ पनि लगाउनु पर्यो ।
अघिल्लो साता एकीकृत समाजवादी पार्टी अध्यक्ष माधव नेपालले यो पंक्तिकारसँग भनेका थिए, ‘वामदेवसँग कुरा मिल्न लाग्यो । भीम रावलको फोन उठेको छैन ।’ योबीचमा त्यस्तो के भयो खै, वामदेवसँग उनको कुरो मिलेन । रावलको फोन त अब नउठ्ने नै भयो, किनकि उनले नयाँ नेपालको राजनीतिक उद्योगमा ‘मातृभूमि जागरण अभियान’ नामक एउटा अर्को ‘एसएमई कम्पनी’ थपे ।
कार्यकारी सक्रियताको उमेर हद तोकिएको हुन्थ्यो भने वामदेवले यसरी बुढेसकालमा राजनीतिबाट पीडित बन्नुपर्ने थिएन । एमालेले त तोकिएको ७० वर्षे उमेरहदसमेत हटाइसक्यो । ओलीले गण्डकीमा केही अघि भनि नै सके– ‘जुँगा कालो हुँदै गयो । कपाल पलाउन थाले ।’ एमाले युवाहरू ‘१० वर्ष ओलीलाई’ भन्दैछन् ।
वामदेव छन्– स्वच्छन्द । उनी बितेका अढाई दशकमा एमाले पार्टीमात्रै दुईपल्ट प्रवेश गरिसके । वा भनौं, अन्य कुरा यथावत् रहेमा उनी चाँडै एमालेसँग ‘सहकार्य’ गर्दैछन् ।
वामदेवका नाममा मदन भण्डारीले भनेका भनेर दुईवटा भनाई प्रचलित छन् : एक, वामदेवलाई कन्भिन्स गर्न सक्नुपर्छ, उनी उर्लंदो कर्नालीमा हामफाल्न सक्छन् । दुई, वामदेवलाई धेरै नजिक नराख, पार्टी प्वाल पार्छन् । वामदेवलाई धेरै टाढा नराख, पार्टी भ्वाङ पार्छन् ।
यी सुत्रबद्ध वचन मदनले भनेका हुन् कि होइनन्, एमालेजन जानुन् । जसरी अचेल असन्तुष्ट कांग्रेसजनहरू मात्रै होइन अतितगामी राजावादीहरूसमेत मनका अधुरा चाहनाहरू बीपी कोइरालाका नाममा हालिदिन्छन् । जे भन्दिए पनि भो, मरेका बीपी फ्याक्टचेक गर्न आउने होइनन् ।
तर वामदेव छन् नै त्यस्तै । उनलाई १७ वर्षअघि तत्कालीन एमाले महासचिव माधव नेपालले माओवादीको पछिपछि हिँडेको भनेर झपारेपछि बैठकमै धम्क्याएका थिए, ‘म माओवादीमा गएँ भने एक्लै जान्नँ, बथान नै लिएर जान्छु ।’
वामदेव माओवादीमा त गएनन्, तर ०६४ को संविधानसभाताका एमालेभित्रका माओवादी भनेर बहुप्रचारित वामदेव चुनाव सकिनासाथ सरासर बर्दियाबाट काठमाडौं नयाँबजार गए, जहाँ प्रचण्ड विजयको उल्लासमा थिए ।
वामदेवले ठाडै सोधे, ‘मलाई किन हराइयो ?’
प्रचण्डले के भन्ने ! माओवादीले सरला रेग्मीलाई उम्मेदवार उठाएको थियो, जसको काम, कर्तव्य नै एमाले, कांग्रेस वा जोकोहीलाई जित्नु थियो । उनले जितिन् । वामदेव हारे । ‘दोष’ प्रचण्डले पाए ।
हारेका वामदेवलाई जितेका प्रचण्डले कसरी फकाए होलान्, उनै जानुन् । तर लगत्तै ०६५ साउनमा प्रचण्ड प्रधानमन्त्री बन्दा एमालेले उनै वामदेवलाई उपप्रधान तथा गृहमन्त्री बनायो । सुन्धारा, वीर अस्पताल आसपास कुम्लोमा व्यापार गर्नेहरू भागाभाग गर्थे, देशमा वामदेव फेरि मन्त्री बने कि क्या हो ! गरिबलाई सत्ताशक्तिको लौरोले कसरी लगार्नुपर्छ, वामदेवलाई थाहा छ ।
वामदेवका नाममा ठूला–ठूला काण्डहरू छन्, अहिले यसमा चर्चा नगरौं । बहालवालाहरूलाई बिर्सेर के वामदेवतिर लागिरहने ! तर वामदेव सधैं केही न केही सोचिरहेका हुन्छन् । स्थिरता उनको शब्दकोषमा खोजेर विरलै भेटिने शब्द हो ।
एमाले र माओवादी जोडिएर नेकपा बन्दा अन्तर्विरोध चुलिँदै गए । माधव, झलनाथ खनाल, प्रचण्ड, नारायणकाजीसँगै वामदेव पनि एक प्रमुख पात्र थिए, जसले पहिलो वरियताका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री ओलीसँग सकेजति लडे ।
नसकेपछि हिँड्नै पर्यो । वामदेवले दुई पाना लामो चिठी लेखेर पार्टी छाडे ।
त्यसपछि उनले नेकपा एकता राष्ट्रिय अभियान बनाएर आफैं संयोजक रहे । जसभित्र उनकी पत्नी तुलसा र दुईचार नेता औंलामा गन्न मिल्नेगरी रहे ।
वामदेवले त्यसयताका चार वर्षमा नेकपाको कुनै एकता गराउन सकेनन्, सक्ने कुरै थिएन । उनको एकता राष्ट्रिय अभियानको ठुटे पसलमा कुनै ग्राहक गएन ।
प्रिय पाठक, तपाईंले माथिको चित्रमा देख्न सक्नुहुन्छ– गो वामदेव । अर्थात् अंग्रेजी शब्दकोषका लागि प्रस्तावित फ्रेज । सपना पूरा हुने कुनै लक्षण छैन, तर उडन्ते चाहनामा आफैं उत्साहित भएर लागिरहनु भनेको वामदेव हुनु हो ।
यो ‘गो वामदेव’ फ्रेज आजभन्दा पाँच वर्षअघि अंग्रेजीका प्राध्यापक तथा कवि प्रकाश सुवेदीले सिर्जना गरेर फेसबुकमा हालेका हुन्, जसले वामदेवको अस्थिर अनि भयानक आशावादलाई प्रतिविम्बित गर्थ्यो । जस्तो कि कक्षाकी सबैभन्दा राम्री केटीले डेट जाने प्रस्ताव स्वीकारी भनेर कुनै केटो व्यर्थै उत्साहित भयो । वा बाले सुनको हात्ती ल्याइदिन्छु भनेर फुल्याउँदा कुनै बालक त्यस्सै पुलकित भएर हावामा उड्यो ।
वामदेव पनि नेकपा झगडाका दिनहरूमा ओलीले प्रधानमन्त्री बनाउँछु भन्दै त्यसैगरी उर्लंदो कर्नालीमा फाल हाने । उनलाई बचाउन कोही आएन । प्रचण्डले संसदको रोष्ट्रमबाटै एमालेमा मैले माधव, झलनाथ खनाल र ओलीलाई प्रधानमन्त्री बनाएँ, अब एक जनालाई बनाउन बाँकी छ भनेर वामदेवतिर पुलुक्क हेरे । वामदेव फेरि झ्वाम्म कर्नालीमै !
यी सबका पृष्ठभूमिमा प्रकाश सुवेदी नामक एक प्राज्ञिक कविबाट श्यामव्यंग्यमा उडाइँदा वामदेव अब व्यक्तिमात्रै रहेनन्, उनी प्रवृत्ति बने । वामदेव पो मनका भावना लुकाउनै सक्दैनन् । त्यसैले प्रचण्डले समेत प्रतिष्पर्धी दलका वामदेवलाई चुनाव हराउनुअघि एकपल्ट सोच्नुपर्ने हुन्थ्यो । यी १६–१७ वर्षमा राजनीति यति खाप्चे परिसक्यो कि अब त प्रचण्ड उनलाई हराउन पनि सक्दैनन् ।
वामदेव बन्नु भनेको लहडी वा मुर्ख बन्नुमात्रै होइन, त्यस्तो थप अरु केही बन्नु हो जसको क्रियान्वयन नेपालमा मात्रै सम्भव छ । नचाहँदा नचाहँदै तपाईं कसैबाट वामदेव बनाइन सक्नुहुन्छ । वामदेव नाम होइन, क्रियापद हो ।
वामदेवलाई कुनै पनि बेला समाजवाद आउन सक्छ भनेर त्यति नै विश्वास लाग्छ, जति उनी ओलीको डिपफेक निर्मित आवाजलाई साँचो ठानेर पत्याउन सक्छन्, अनि ‘तिम्रा बालाई प्रधानमन्त्री छोड भन्देऊ’ भनेर राजेश बज्राचार्यलाई फोन लगाउन सक्छन् । उल्टै ओलीले राजेशको फोन तानेर ‘हस्, भन्दिउँला’ भन्नुपर्ने हुन्छ ।
वामदेवमा अब कुनै ताकत छैन भन्ने कुरा अब त बलराम बाँस्कोटा, हरि पराजुलीहरूलाई पनि थाहा भइसक्यो । योगेश भट्टराई, घनश्याम भुसालहरूले उनलाई उहिल्यै छाडेर दुईतिर लागिसके । सीपी मैनालीलाई थाहा नभएर के भयो !
अब वामदेव ओलीसँग पहिल्यै युद्धविराम घोषणा गरेर एमालेमा आउन चाहन्छन् । कुनै शर्त छैनन् वामदेवका । सायद उनलाई पछिका दिनहरूमा आफ्ना नाममा एउटा चौतारो, गेट वा प्रतिष्ठान एमालेले बनाइदिए पुग्छ । भानुभक्तका घाँसीलाई समेत चुँदीरम्घामा कुवा खनाएर कीर्ति राख्न मन लाग्छ भने वामदेव किन अपवाद बनुन् !
भूमिगत आन्दोलन, युद्ध अनि शान्तिकालीन लोकतन्त्रका दिनहरूमा आउँदा समाज जति बदलियो, वामदेव र वामदेवहरू बदलिएनन् । राजनीति सामान्य दिनमा फर्किएपछि थोरै कामकाजी राजनीतिकर्मी बाहेक अरुले नियमित दिनचर्यामा फर्केर देशलाई सघाउनुपर्ने थियो । वामदेवहरूले सघाएनन् । राजनीति नै काम बन्यो, त्यसबाहेक अरु कुनै काम जानेको छैन ।
त्यसैले यो नातीनातिना खेलाउने उमेरमा राजेन्द्र महतो दल दर्ता गर्दैछन् । महन्थ ठाकुरलाई त्यागको मन्तव्य दिन पनि पार्टी अध्यक्षकै कुर्सी चाहिन्छ । पद सत्य, अरु भ्रम । त्यसैले त राष्ट्रपति भइसकेकी विद्या भण्डारीले पार्टी सदस्यता नवीकरण गरिन्, अनि उपराष्ट्रपति भइसकेका नन्दकिशोर पुन फेरि माओवादी स्थायी समिति बैठकमा गएर बसिसके भन्दा के अचम्म भयो ?
तर अचम्म मान्नुपर्छ । हामीलाई लाज हुनुपर्छ । यी पात्रहरू आफ्ना चाहनाहरूका लागि राष्ट्रका बहुमूल्य वर्षहरू खेर फाल्न तयार छन् । नो नट् अगेन भन्दै चुनाव लड्न आएकाहरू अगेन, एन्ड अगेन गठबन्धन बदल्छन् । र यिनै मिति गुज्रेका औषधिहरूलाई वैद्यखानामा परीक्षण गरिरहन्छन् ।
पहिले पनि चर्चा गरिएको प्रसंग उद्धृत गरौं, तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाले अफ्रिका गएर कटाक्ष गरेका थिए, ‘मलाई तेस्रोपल्ट पनि राष्ट्रपति बन्न मन छ । तर मेरो देशको संविधानले दिँदैन ।’
सिस्टम बसाल्न होइन, भत्काउन सक्नुलाई बहादुरी ठानेर परिआए संविधान नै च्यात्न तयार हुने नेतालाई हामी सय किलोका मालाले पुज्छौं । (हुन सक्छ, वामदेवको दलाल पुँजीवादमा त्यो फूल अर्को देशबाट आयात भएको होस् !) कार्यकारिणीले अध्यादेशका नाममा विधायिकी अधिकार प्रयोग गर्दा छिटछिटो देश बनाउन रातारात खटेको भनेर हामी भावुकताले भिज्छौं । अमेरिकामा पनि यस्तो हुन्छ भनेर आफू आफैंसँग मुर्ख बन्छौं । हिरासतमा अभियुक्तको निधार खाली नै रह्यो होला भनेर चेलीले मोबाइल फोनको तस्बिरमा भाइटीका लगाइदिँदा त हामी आफ्नो निधारको टिका पुछिनेगरी, अनि वर्षमा एकदिन लगाउन पाइने माला चुडिँने गरी रुवावासी नै गर्न थाल्छौं । हामी यति रुन्छौं कि हाम्रा आँशुमा समेत कसैले राजनीति गरिरहेको हुन्छ भनेर बुझ्दै बुझ्दैनौं ।
अनि हामीले वामदेव नपाएर नेल्सन मन्डेला पाउँछौ ?
त्यसैले आफैंलाई सोधौं– यी सबै तमासा एकसाथ चलिरहँदा वामदेव मात्रै किन बाहिर ? देश बनाउनका लागि (वा कम्तिमा देश बनाउने कुरा गर्नका लागि) उनको कुनचाहिँ योग्यता पुग्दैन ? उनले हजार पृष्ठभन्दा मोटो समाजवादी किताब लेखेका छैनन् कि ? उनले जेएन हिमाली वा जी शाहजसरी गीत लेखेका छैनन् कि ? पार्टीदेखि खेलकुद समितिसम्म उनी र उनकै मान्छे त छन् ।
त्यसैले प्रिय प्रकाश सुवेदीजी, अचेल तपाईं कता हुनुहुन्छ थाहा छैन । धेरै पछि तपाईंको सम्झना गर्दै ‘म गो वामदेव’ लाई थोरै सुधारसाथ भन्न चाहन्छु : वामदेव आऊ । कम वामदेव । छिटो आऊ र देश बनाउन सकेजति सीप लगाऊ । राजनीतिबाट छिटो जानका लागि कोही त यहाँ छिटो आउनै पर्छ ।