गोरखा २ मा जित्नेहरू प्रधानमन्त्री बन्छन्, उतै हराउँछन्


News Summary

Generated by OK AI. Editorially reviewed.

  • बारपाक सुलिकोट गाउँपालिकाले माओवादी सशस्त्र संघर्षका पहिलो शहीद दिलबहादुर रम्तेलको स्मृतिमा स्मृति पार्क बनाएको छ।
  • पूर्वप्रधानमन्त्री प्रचण्डले २०७९ को चुनावमा गाउँको पिच बाटो पिच गर्ने वाचा गरे पनि साढे २ वर्षमा बाटो पिच नभएको स्थानीयले गुनासो गरेका छन्।
  • गोरखा २ बाट निर्वाचित प्रधानमन्त्रीहरूले पनि गाउँको विकासमा अपेक्षित काम नगरेको र स्थानीयले धोका महसुस गरेको बताएका छन्।

गोरखा बजार । बारपाक सुलिकोट गाउँपालिका केन्द्र छेउमै छ दिलबहादुर रम्तेल स्मृति पार्क। माओवादी सशस्त्र संघर्षको पहिलो शहीद रम्तेललाई सम्झिएर गाउँपालिकाले नै यो पार्क बनाएको हो।

यो पालिकामा अघिल्ला दुईवटै स्थानीय तह निर्वाचन माओवादी केन्द्रले जितेको थियो। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ त्यसबेला  बारपाक सुलिकोट समेत पर्ने गोरखा क्षेत्र नम्बर २ का उम्मेदवार थिए।

पूर्व प्रधानमन्त्री र भविष्यका समेत प्रधानमन्त्री भनेर प्रचार गरिएका प्रचण्डलाई बारपाक सुलिकोटका स्थानीय बासिन्दाले उसैगरी भरोसा गरे जसरी स्थानीय तहमा माओवादीका उम्मेदवारलाई विश्वास गरेका थिए। त्यसबेला चितवनबाट गोरखा उक्लिएका प्रचण्ड स्वयम् पनि पुलकित भए, गाउँपिच्छे सपनाहरू बाँड्न थाले। तर उनले भने झैं न गाउँको स्तरोन्नति भयो न त चुनावपछि प्रचण्ड नै फर्किएर आए।

चुनाव जितेर काठमाडौं गएका प्रचण्ड कहिले एमाले र कहिले कांग्रेसको समर्थनमा प्रधानमन्त्री बने। आफूलाई चुनाव जिताएका स्थानीय जनताको अपेक्षा भन्दा ठूलो ‘अभिभारा’ प्रचण्डका लागि राष्ट्रिय राजनीति नै हुँदो हो। उनी १८ महिना देशका प्रधानमन्त्री बने।

प्रचण्डको १८ महिने सरकारले सुशासनको क्षेत्रमा काम गरेको पनि हो। तर राष्ट्रिय राजनीतिमा अलमलिंदा उनले शायद जनतासमक्ष गरेका वाचाहरू बिर्सिए। निर्धारित समयभन्दा दुई वर्ष पहिले नै देश चुनावमय भयो। नेताहरू उसैगरी भोट माग्दै गाउँगाउँ छिरे।

माओवादी सशस्त्र संघर्षको पहिलो शहीद दिलबहादुर रम्तेलको स्मृतिमा बनाइएको पार्क

गाउँमा रोजगारी छैन, कमाउने उमेरका मदताता जिल्ला सदरमुकाम या काठमाडौं या त विदेशमा छन्। वृद्धवृद्धाहरू या त गाउँमा स–सानो पसल चलाएर बसेका छन् या खेतीकिसानी गरेर।

छोराछोरीले राम्रै कमाएर पठाउनेका बाबुआमाको दैनिकी भने फोनमा भिडियो हेरेर कट्छ। त्यसैले गाउँमा उतिसारो मान्छे नभेटिए पनि चुनावको रौनक भने मोबाइलबाटै छिरेको छ। मोबाइल हेरेर पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्मको अवस्थाबारे अपडेट हुने स्थानीय नागरिक आफ्नो क्षेत्रबारे बेखबर हुने कुरै भएन। त्यसैले उनीहरूलाई यसअघिका निर्वाचनमा आफ्ना क्षेत्रमा आइरहने ‘हाइप्रोफाइल’ हरू र उनीहरूले भनेका कुरा याद छ।

‘२०७९ को चुनावमा भोट माग्न आउँदा माओवादीका उम्मेदवार र कांग्रेसका उम्मेदवारले नि ठूला–ठूला गफ गरे। यसो गर्छौं र उसो गर्छौं भने। भोट लगेर गएपछि न जितेका फर्किए न हारेका’ बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ६ की ६३ वर्षीया डालकुमारी श्रेष्ठले भनिन्, ‘आफ्नो भने जस्तो नहुँदा मात्रै हो फुटानी लगाउने। यसपालि आफ्नो दुनो सोझ्याउन मात्रै आए भने त लोप्पा खुवाइदिन्छु म त!’

गोरखा २ मा जित्नेहरू प्रधानमन्त्री बन्छन्, उतै हराउँछन्
डालकुमारी श्रेष्ठ

उनलाई यसरी रिस उठ्नुको कारण रहेछ। गत निर्वाचनमा हिउँदको धुलोमा धुलैमैलै हुँदै प्रचण्ड भोट माग्न पुगेका रहेछन्। धुलोले आफैं पुरिएपछि उनले गाउँलेसँग भनेका रहेछन्- ‘म नै यस्तो धुलोमैलो भएर आएँ, अब एक वर्षमा यो गाउँको सबै बाटो पिच गरिदिन्छु, म पिच बाटोमै सरर्र आउँछु तपाईंहरूलाई भेट्न!’

तर साढे २ वर्षमा न त बाटो पिच भयो न प्रचण्ड फर्किएर गए। आफूहरूले जिताएर पठाएपछि प्रधानमन्त्री नै बनाएका नेताले यसपालि गोरखा-२ लाई घात गरेको उनीहरूको गुनासो रहेछ।

‘गरियो नि गर्न त, २०४८ साल यता कहिले माओवादीलाई भोट हालियो, कहिले कांग्रेसलाई भोट हालियो, कहिले बाबुराम भट्टराई आँखा चुनाव चिह्न लिएर आए त्यहाँ पनि भोट हालियो। विश्वास गरेर जिताइयो’ पालुङटार ७ का बद्री पण्डितले भने, ‘हामीमाथि धोका भयो। अघिल्लो साल प्रधानमन्त्री भएका नेता अर्को साल फर्केर आएनन्।’

राष्ट्रिय राजनीतिमा समेत प्रभाव पार्ने शक्तिशाली नेताहरू प्रतिस्पर्धा गर्ने भएर पनि होला यसअघिका निर्वाचनमा गोरखा २ को माहोल फरक हुने गर्थ्यो। २०६४ सालको संविधानसभा निर्वाचनमा माओवादीबाट प्रतिस्पर्धा गरेका डा. बाबुराम भट्टराईले देशभरमै सर्वाधिक मत ल्याएर विजयी भए।

उनी अर्थमन्त्री र प्रधानमन्त्री पनि बने। २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा गोरखा १ मा उनी माओवादी केन्द्रबाट निर्वाचित भए।  गोरखा २ मा भने माओवादीकै हितराज पाण्डे विजयी भए। २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा भने भट्टराईले माओवादी छोडेर नयाँ शक्ति बनाइसकेका थिए।

तर गोरखा २ का जनताले भट्टराईलाई छोड्न सकेनन्। त्यसबेला उनीसँग प्रतिस्पर्धा गरेका  माओवादी र एमालेको गठबन्धनका उम्मेदवार नारायणकाजी श्रेष्ठ पराजित भएका थिए। ‘बाबुरामलाई मिहिनेत गरेर जितायौं, प्रचण्डलाई ल्याएर आउनुभयो उहाँलाई पनि जितायौं’ पण्डितले भने, ‘प्रधानमन्त्री बनेर पनि नेताहरूले हाम्रो भरोसा तोडे अब नयाँले केही गर्छन् कि आश गरौं।’

२०७९ को चुनावअघि भोट माग्न प्रचण्ड पालुङटार आए। प्रचण्डलाई बाबुराम भट्टराईले नै बोकेर गए। बन्द भएको पालुङटार विमानस्थल पुनः सञ्चालन गर्नेदेखि बूढीगण्डकी प्रभावित आरूघाटको बस्ती पुनर्वास होस् या गोरखाली रबर उद्योग सञ्चालनको एजेण्डा यी दुई नेताका थिए।

बाटोघाटो, स्वास्थ्य र शिक्षाका कुरा त आधारभूत विषय नै भए। आफ्ना सांसद प्रधानमन्त्री भए-नभएको विषयले कुनै फरक नै परेन।

‘कहिले कांग्रेसलाई भोट हालियो, कहिले माओवादीलाई भोट हालियो। हामीले भोट हालेका मान्छे प्रधानमन्त्री पनि भए’ बारपाक सुलिकोटका दीपकुमार श्रेष्ठले भने, ‘प्रधानमन्त्री त भए तर भएर नि के भयो र ?’

गोरखा २ मा जित्नेहरू प्रधानमन्त्री बन्छन्, उतै हराउँछन्
दीपकुमार श्रेष्ठ

२०७९ को निर्वाचनअघि पनि गोरखा-२ बाट निर्वाचन जितेर जानेले उत्पातै गरेका त होइनन् । तर प्रधानमन्त्री नै बनेर गएकाले त केही गरून् न भन्ने आशा भने अरूसँग भन्दा धेरै हुने रहेछ। यस्तै आशा गरेका थिए गोरखकाली रबर उद्योगका सन्दर्भमा स्थानीय बासिन्दाले।

२०७१ साल चैत २३ गतेबाट उद्योगको व्यावसायिक उत्पादन बन्द भयो। त्यसयता उद्योग सञ्चालनको आश्वासन धेरैबाट आयो। यो चुनावी एजेण्डा मात्रै बनेन, सञ्चालनको विभिन्न मोडलबारे पनि छलफल भए। पुनः सञ्चालनका लागि भन्दै चाइनिज टोलीले उद्योग निरीक्षण समेत गरे। तर न मोडलको तय भयो न उद्योग नै चलाउने सरकारको तत्परता देखियो।

संसारमा टायर उत्पादन गर्ने नयाँ-नयाँ प्रविधि र उपकरण आइसके। चीनबाट ल्याइएको प्रविधि त्यो बेला उन्नत नै थियो, त्यही प्रविधि पनि भारत जस्ता देशहरूसँग प्रतिस्पर्धा गर्न सक्ने खालकै थियो।

‘२०७९ सालको चुनावमा प्रचण्डले यो उद्योग पुनः सञ्चालन गर्ने भनेर भाषण गर्नुभएको थियो। ठूलो आशा राखेर म खुशी पनि भएको थिएँ’ भग्नावशेष उद्योगका प्रशासन अधिकृत दिनेश कार्की बताउँछन्, ‘तर गठबन्धन सरकारले पनि सकेन कि उहाँको इच्छा भएन, उद्योग चल्न सकेन।’

हुन त यही क्षेत्रबाट प्रदेश सभाको चुनाव जितेका कांग्रेस नेता सुरेन्द्र पाण्डे गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री छन्। यहाँका साना–ठूला समस्यामा उनी पनि साथमा नभएको स्थानीय बासिन्दाको भनाइ छ।

‘गाउँमा नेताहरू आए भने, ठूला ठूला कुरा गर्न थाले भने चुनाव आएछ भन्ने हुन्छ’  गोरखा नगरपालिका ३ का टीकाराम थापाले भने, ‘प्रधानमन्त्री नै बनेकाले त नगरेको काम अहिले आएकाले झन् के गर्लान् !’

गोरखा २ मा यसपालि नेकपाबाट लेखनाथ न्यौपाने, नेपाली कांग्रेसबाट प्रकाशचन्द्र दवाडी, एमालेबाट मिलन गुरूङ (चक्रे मिलन), रास्वपाबाट कविन्द्र बुर्लाकोटी, उज्यालोबाट बलराम तामाङ लगायत प्रतिस्पर्धा गर्दैछन्। यिनीहरूमध्ये जसले जिते पनि प्रतिनिधिसभामा नयाँ अनुहार जाने हो।

गोरखा २ मा जित्नेहरू प्रधानमन्त्री बन्छन्, उतै हराउँछन्
 बारपाक सुलिकोटका ‍सन्तबहादुर गुरूङ

नेपालको संविधान अनुसार प्रत्येक प्रतिनिधिसभा सदस्य प्रधानमन्त्री बन्न योग्य हुन्छन्। तर यी नामहरूलाई अहिलेसम्म उनीहरूको पार्टीले प्रधानमन्त्रीका रूपमा भने घोषणा गरेको छैनन्। त्यसैले गोरखा-२ का मतदाताले यसपालि तपाईंहरू चुनाव जिताएर पठाउनुस् म प्रधानमन्त्री बनेर कायापलट गरिदिन्छु भन्ने भाषण सुन्नु परेको छैन।

प्रधानमन्त्री नै बनेर गए पनि गर्न चाहिं केही गर्दा रहेनछन् भन्ने यहाँका नागरिकले स्पष्ट बुझेका छन्। ‘हाम्रो दु:ख हामीसितै छ’ बारपाक सुलिकोटका ‍सन्तबहादुर गुरूङले भने, ‘प्रधानमन्त्री बनेकाले पनि केही उत्पात गरेका हैनन्।’

तस्वीरहरु : चन्द्र आले/अनलाइनखबर





Source link

Leave a Comment