२०८१ जेठ ९ गते इन्स्टाग्राममा अभिनेत्री प्रियंका कार्कीको एउटा पोस्ट हेर्दै थिएँ। उहाँले लेख्नुभएको थियो, ‘थ्याङ्क-यू फर द लभ एन्ड द एमेजिंग हस्पिट्यालिटी ट्रकिश एयरलाइन्स ! (प्रेम र एकदमै राम्रो अतिथि सत्कारको लागि धन्यवाद, टर्किश एयरलाइन्स !)’
प्रियंका कार्की पेरिसमा हुनगइरहेको अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल कान्सको ‘कान्स गाला’मा भाग लिन टर्किश एयरलाइन्सबाट यात्रा गर्दै हुनुहुन्थ्यो।
नेपालमा टर्किश एयरलाइन्स सन् २०१३ देखि सुरु भएको हो। सन् २०२२ डिसेम्बरको टर्किश एयरलाइन्सको तथ्याङ्क अनुसार, विश्वका १८४ देशहरूको १२०० एयरपोर्टहरूमा १० हजारभन्दा बढी उडान भरिन्छ; अहिले त अझै बढेको हुनसक्छ। त्यो बाहेक, त्यतिबेला ५४ वटा एयरलाइन्ससँग ‘कोड शेयर’ सम्बन्धन पनि जोडिएको थियो।
सन् २०२४ जनवरी ८ तारिखमा टर्किश एयरलाइन्सबाट प्रकाशित एउटा तथ्याङ्क अनुसार, सन् २०२३ मा एयरलाइन्सको औसत उडान प्रतिशत १६ दशमलव १ प्रतिशत रहेको देखिन्छ; सोही साल एयरलाइन्सले ८ करोड ३४ लाख यात्रुलाई उडाएको रहेछ। एयरलाइन्सको घरेलु उडान उति उत्साहप्रद रूपमा नबढे पनि अन्तर्राष्ट्रिय स्तरमा भने १४ दशमलव ४ प्रतिशतले बढेको देखिन्छ भनेर जनवरीमा एयरलाइन्सले निकालेको तथ्याङ्कमा प्रकाशित गरेको देखिन्छ।
तथ्याङ्कबाट मात्रै मूल्यांकन गर्ने हो भने टर्किश एयरलाइन्सलाई असफल कसले भन्छ होला र ? तर, नेपालीहरूको उडान अनुभव बटुल्ने हो भने सेलिब्रेटीहरू बाहेक अन्यको अनुभव कति उत्साहवर्धक छ, त्यसको केही दृष्टान्त यहाँ उल्लेख गर्न गइरहेकी छु।
२० वैशाख, २०८१ (२ मे २०२४) को दिन डाक्टर अनुप सुवेदीले, ‘एक्स’ (पहिलेको ट्विटर)मा एउटा लामो थ्रेड लेख्नुभएको छ। जसमा भनिएको छ— ‘इस्तानबुलदेखि काठमाडौं जान लागेको फ्लाइट #TK0726 नेपाली यात्रुहरूप्रति एकदमै असंवेदनशील र अव्यवस्थित देखियो।’ उहाँले लेख्नुभएको छ, त्यो फ्लाइटले काठमाडौंमा अवतरण गर्न काठमाडौंको धेरै चक्कर लगाएर नसकेपछि लखनउ लगेको रहेछ। पाइलटले त्यसको कारण प्राविधिक समस्या देखाएको रहेछ।
लखनउ पुगेर त्यहाँको ग्राउन्ड स्टाफसँग कुरा गरेपछि, विमानको नेभिगेसन सिस्टममा खराबी आएको थाहा भएछ। प्लेन भित्रै राखिएको एक घण्टापछि, उक्त प्लेनलाई नयाँदिल्ली विमानस्थल लगेछन्। नयाँदिल्लीमा पनि धेरै समय प्लेन भित्रै राखिसकेपछि अरू केही स्पष्टीकरण नदिई, उद्घोषण गरिएछ, ‘ग्राउन्ड ट्रान्सपोर्टेसन तयार छ, आफ्नो सामान लिएर जानू !’
यात्रुहरूले कम्तीमा पानी र खाना दिनको लागि अनुरोध गरेछन्। तर, एयरलाइन्सका कर्मचारीले, भारतीय सरकारका अधिकारीले खाना तथा पानीको लागि क्लियरेन्स नदिएकोले त्यहाँ ती कुराहरू दिन नमिल्ने बताएछन्। उहाँले, त्यो अवस्थालाई ‘अ भेरी टिपिकल साउथ एशियन’ लेख्नुभएको छ।
त्यहाँ भएका विदेशी (नेपाली बाहेक) यात्रुहरूलाई एक-एक गरेर काठमाडौंको फ्लाइट मिलाउँदै पठाएछन्; नेपाली जतिलाई एउटा होटलमा राति बस्न पठाउने भएछन्। तर, ती सबै कुराहरू त्यसबखत प्रष्टसँग भनिएको रहेनछ। त्यतिबेलासम्म, करिब एक घण्टा अगाडि जम्मा तीन दर्जन पानीको बोतल बाहेक केही दिइएको रहेनछ। जब यात्रुहरूले, आफूहरूलाई होटल पठाउन अनुरोध गरे, एयरलाइन्सका कर्मचारीले फेरि पनि ‘अथोरिटिज’बाट अनुमति नआइसकेको बताएछन्। न त, त्यतिबेलासम्म माफी मागेछन्।
बिहान ३ बजेदेखि विमानभित्र र बाहिर कोच्चिएका यात्रुहरूलाई दिउँसो ४ बजे केही बर्गर ल्याएर दिएछन्; त्यो पनि सबैलाई पुगेनछ।
पाँच बजेपछि यात्रुहरूलाई बसमा राखेर एक घण्टा टाढाको होटलमा लगेछन् र सात बजे मात्रै डिनर खान दिने भनेछन्। यो सबै विवरण डाक्टर अनुप सुवेदीले नेपाल उड्डयन प्राधिकरण र टर्किश एयरलाइन्सलाई ध्यानाकर्षण गर्दै लेख्नुभएको थियो।
स्पेनको वार्सिलोनामा भएको एउटा कन्फरेन्समा भाग लिएर फर्कंदाको समयमा आफूले भोगेको अनुभव बताउँदै उहाँले मसँगको कुराकानीमा लेख्नुभएको थियो, त्यो फ्लाइटमा एक वर्षमुनिका ५-६ जना केटाकेटी थिए। आफू त्यो ठाउँमा रहेर सोचौं त, वयस्कले त जसोतसो सहे होलान् तर, ती बच्चाहरूको अवस्था कस्तो भयो होला ?
डाक्टर अनुपले उपरोक्त थ्रेड लेखेपछि, त्रिविवि मानवशास्त्र विभागका प्राध्यापक जनक राईले लेख्नुभयो, ‘तिमीहरूलाई लाज लाग्नुपर्ने टर्किश एयरलाइन्स, तिमीहरूले कोभिडताका मेरो क्यान्सिल भएको टिकटको पनि पैसा फिर्ता दिएनौ। म, तिमीहरूको एयरलाइन्सबाट कहिल्यै पनि उड्दिनँ।’
यो पढेपछि, के कारणले फ्लाइट क्यान्सिल भएको थियो भनेर बुझ्न, मैले प्राध्यापक जनक राईसँग सम्पर्क गरेकी थिएँ। उहाँका अनुसार, उहाँले सन् २०२० को मे महिनामा ग्रिसमा हुन गइरहेको सेमिनारमा भाग लिन जान, ट्राभल एजेन्सी मार्फत टर्किश एयरलाइन्सको टिकट लिनुभएको रहेछ। तर, कन्फरेन्स नहुने भएछ; टर्किश एयरलाइन्सले टिकटको पैसा फिर्ता दिन मानेनछ।
यी कुराहरूबारे लेख्छु भन्ठान्दै थिएँ; लेख्न भ्याएकी थिइनँ। फेरि, २०८१ साल जेठ १३ गते अमेरिकाको टेक्सस राज्य निवासी भीम कार्कीको पोस्ट अंग्रेजीमै ‘एक्स’मा नै देखें, जसको अनुवाद हुन्छ, ‘टर्किश एयरलाइन्सबाट उडान नगर्नूहोला ! यसका कर्मचारीहरू घमन्डी, अविवेकी र अयोग्य छन्। यो एयरलाइन्सलाई अन्तर्राष्ट्रिय बजारमा सेवा गर्ने अनुमति दिइनुहुँदैन। उनीहरू, सबैले टर्किश बोलुन् भन्ने चाहन्छन्, उनीहरू अरूको कुरा सुन्दैनन्; यात्रुहरूको समस्या बुझ्दैनन्। इस्तानबुलमा फसियो।’
सायद भीम कार्कीले सीधै कर्मचारीहरूलाई घमन्डी, अविवेकी र अयोग्यको आरोप लगाउनुभएको कारणले हो वा, अन्तर्राष्ट्रिय उडान गर्न दिइनुहुन्न भन्ने विश्लेषणको कारणले हो, ‘टर्किश एयरलाइन्सको सीईओ हस्सन’ लेखिएको ह्यान्डलबाट उहाँलाई जवाफ लेखेको पढ्न पाइन्छ, ‘यहाँको असुविधाप्रति हामी माफी माग्दछौं। यहाँलाई सम्पर्क गर्न सकिने ह्वाट्सएप नम्बर र बुकिंग रेफरेन्स पाए हामी सकेको सहयोग गर्ने थियौं।’
अरूबेला, ‘हेल्प डेस्क’को ह्यान्डलबाट जवाफ दिएर झारा तिर्ने टर्किश एयरलाइन्सले, यसपटक भने ‘सीईओ’ लेखेको ह्यान्डलबाट जवाफ लेखेछ। कार्कीले सहयोग लिनुभयो कि भएन, थाहा भएन तर, ज-जसले टर्किश एयरलाइन्सबाट यात्रा गरेका छन्, उनीहरूमध्ये धेरैको यति नराम्रो अनुभव छ कि, लेख्न थाल्यो भने, महाभारत जस्तै ठेली नै बन्छ।
डाक्टर अनुपको अनुभव पढेपछि, मलगायत थुप्रै यात्रुले २०७८ साल माघ १० गते भोगेको दुःखद् अनुभवको याद आयो; जुन, माथि उल्लिखित कुराहरूसँग धेरै सामञ्जस्य राख्दछ।
त्यो दिन, हामी टर्किश एयरलाइन्सबाट उड्दै थियौं। राति ११ बजेको फ्लाइट थियो। करिब पौने आठबजे त्रिभुवन विमानस्थल पुगियो; जानु थियो अमेरिका। त्यतिबेलासम्म अमेरिका पस्न ४८ घण्टा अगाडिको कोभिड टेस्टको रिपोर्ट चाहिन्थ्यो। विमानस्थल पुगेर, चेक-इन गरेर बोर्डिङ पास लिइवरी प्लेन चढ्ने ढोकानिर गएर बसियो। प्लेन समयमै उड्ने देखाएको थियो। एघार पाँच भइसकेपछि डिस्प्लेमा फ्लाइट ढिलो हुने देखायो।
काउन्टरमा बसेका एयरलाइन्सका कर्मचारीहरू केही नभएको जसरी बसिरहेका थिए; करिब साढे ११ बजे फ्लाइट क्यान्सिल भएको सूचना पनि डिस्प्ले बोर्डमै देखियो। त्यो सूचना देखेपछि, केही यात्रुहरू काउन्टरमा गएर फ्लाइटबारे सोध्न थाले। कतिपयको इस्तानबुलबाट कनेक्टिंग फ्लाइट थियो; तर, कर्मचारीहरूसँग कुनै जवाफ थिएन।
बाह्र बजिसकेपछि, त्यहाँ केही खानेकुरा ल्याएर बाँडियो। त्यो उडानमा केही यात्रुहरू एकदम चोखोनितो गर्ने हुनुहुन्थ्यो। सायद, कृष्णप्रणामी धर्म मान्ने, जसले ठाडो टीका लगाउनुभएको उहाँहरूले बदाम छोडाएर खाँदै भुइँभरि बोक्रा फाल्न थाल्नुभयो। मलाई त्यो देखेर अप्ठ्यारो लागिरहेको थियो; तर, त्योभन्दा ठूलो समस्या उडान समयमा नउड्नु र केही जानकारी नपाउनु थियो। एयरलाइन्सका कर्मचारीहरूलाई ती कुराहरूको कुनै मतलब भए जस्तो लागेन।
साढे १२ बजेतिर फ्लाइट क्यान्सिल भएको र हामीहरूले आ–आफ्नो सामान लिन सामान राखेको स्थानमा जानू भनेर उद्घोषण गरियो। हामी, इमिग्रेसनबाट पासपोर्टमा क्यान्सिलेसनको छाप लगाउँदै तल सामान लिने स्थानमा पुग्यौं। हामीलाई अझै पनि कता जाने, फ्लाइट कहिले उड्छ केही जानकारी दिइएको थिएन। मेरो छोराले मलाई मेसेज गरेर भन्यो, ‘मामु, टर्कीमा एकदमै हिमपात भएको छ; हजुरको फ्लाइट त उड्दैन होला !’
ऊ, मेरो फ्लाइटको इन्फर्मेसन हेरेर बसेको रहेछ। तर, त्यो एयरलाइन्सको काम नलाग्ने कर्मचारीहरूले, हामीलाई त्यति सूचना पनि दिन सकेनन् या दिनुपर्छ भन्ने सोचेनन्।
हामी सामान लिएर अलमल्ल परेर बसिरहेका थियौं; कसैले खबर ल्यायो, अब होटलमा लगेर राख्छ रे ! त्यो खबर ल्याउने मान्छे एयरलाइन्सका कर्मचारी थिएनन्।
माघ महिनाको त्यो चिसोमा हामी अराइभलको बाहिर, आ-आफ्नो सामानका साथ बसिरह्यौं। त्यहाँ स-साना बच्चाहरू थिए; ज्येष्ठ नागरिकहरू थिए नेपाली बाहेक नबुझ्ने र सायद, कहिल्यै पनि प्लेनमा यात्रा नगरेका मानिसहरू थिए। सबैको बिजोग थियो। बाहिर चिसोमा न त बस्ने मेच थियो, न, चिसोबाट बच्ने उपाय। जाडोले भुतुक्क पारिसकेको थियो।
करिब साढे एक बजेतिर एउटा मात्रै, त्यो पनि हायास जस्तो बस आयो। केही यात्रुहरू हुर्रिंदै त्यसभित्र चढे; उनीहरूको सामान उनीहरूले नै उचाल्दै त्यो बाहनको छतमा राख्न दिए। पहिले त हायात होटलमा लैजाने हल्ला चलेको थियो; तर, यात्रुहरूलाई सोल्टी होटल पुर्याइएको रहेछ। हाम्रो पालो आएर होटल पुग्दासम्म बिहानको चार बजिसकेको थियो। होटल पुगेर रजिस्ट्रेसन गरेर कोठामा पुग्दा साढे चार भइसकेको थियो; तर पनि, हामीलाई अर्को फ्लाइट कहिले कति बजे जान्छ भनिएन।
होटल पुगेर पनि त्यो सामान बसको छतमा चढाउन जसरी उचालेर दिनुपरेको थियो, उसैगरी माथिबाट पुग्न दिएको सामान आफैंले समातेर झार्नुपरेको थियो। बल नहुने र शारीरिक रूपले अक्षमहरूलाई मद्दत गर्ने पनि त्यहाँ कोही थिएन। सामान झारेर एकै ठाउँमा लबीमा राखियो। हामी कोठा-कोठामा गयौं।
भोलिपल्ट बिहान साढे ६ बजे कोठामा काउन्टरबाट फोन आयो, ‘ब्रेकफास्ट खाएर, एयरपोर्ट जान सातबजे बसमा बसिसक्नू !’ झटपट तयार भएर सात बजे बसमा बसियो; बस नौबजे बल्ल हिंड्यो। हल्ला अनुसार हाम्रो फ्लाइट दश बजे उड्छ भनिएको थियो; एयरपोर्ट पुग्दा नै दश बज्यो।
फेरि सकी–नसकी बसको छतबाट दिएको सामान समातेर ट्रलीमा हाल्यौं। काउन्टर भित्र गएर नखुलेकै काउन्टरमा लाइन बसियो। एघार बजेतिर काउन्टर खोलेर कर्मचारीहरू आए; पहिले बच्चाहरू भएका यात्रुहरूको कनेक्सन टिकट मिलाइदिन थाले। तर, कुनै प्रकारको उद्घोषण, जानकारी केही दिएनन्। फ्लाइट कतिबेला उड्छ भन्ने पनि थाहा थिएन।
मेरो पनि कनेक्सन फ्लाइट मिलाउनु थियो, काउन्टरमा पुगें; कुर्न भनियो। कुर्दाकुर्दै साढे बाह्र बजे विना कुनै सूचना काउन्टर बन्द गरियो र भनियो, सबैलाई फेरि होटल लैजाने हल्ला चल्यो। यात्रुहरू रिसले आगो भइरहेका थिए; तर, आफ्नो हातमा केही थिएन।
मैले तत्काल निर्णय गरें, अब म यो एयरलाइन्सबाट जाने छैन। अरू यात्रुहरू होटलतिर लागे, मैले त्यहींबाट आफ्नो टिकट लिएको ट्राभल एजेन्सीलाई फोन गरेर, टर्किश एयरलाइन्सको टिकट क्यान्सिल गरेर सोही दिन बेलुकीको कतार एयरवेजको फ्लाइटबाट जाने टिकट लिइदिन अनुरोध गरें। समयले साथ पनि दियो, टिकट पाइयो; तर, अमेरिका पस्ने कोभिड टेस्टको रिपोर्टले समयको नेटो काटिसकेको थियो। जुन ल्याबले अघिल्लो दिन कोभिड टेस्ट गरिदिएको थियो, त्यसैलाई नै फोनबाट आफ्नो समस्या बताएँ।
उनीहरूले, एयरपोर्ट भित्र आउन नमिल्ने हुँदा पार्किङ लटसम्म आउन भने। मैले भनें, ‘मेरो दुइटा ठूलो लगेज र एउटा हातेलगेज लिएर पार्किङ लट आउन सक्दिनँ; छाडेर आउन कोही पनि छैन।’ उनीहरूले भने, उसोभए हामी गाडी पठाइदिन्छौं, गाडीभित्र बसेर स्याम्पल दिनुहोला !
दुईबजेतिर गाडी आयो, गाडीभित्र छिरेर स्याम्पल दिएँ। त्यसको रिपोर्ट पाँचबजेतिर आउँछ भनियो; रिपोर्टिङ टाइम साँझ आठबजे थियो। त्यो रिपोर्ट नआउँदासम्मको तनाव बयान गर्न सक्दिनँ। यदि रिपोर्ट पोजिटिभ आएको भए म उड्न पाउने थिइनँ मात्रै होइन, मेरो टिकटको पूरै पैसा खेर जान्थ्यो।
अघिल्लो दिन साँझ पौने आठबजेतिर एयरपोर्ट पुगेको मानिस रातभरिको अनिंदो; माघ महिनाको चिसो, फेरि बिहानदेखिको एयरपोर्टको तनाव; मलाई घर फर्किने मन पटक्कै थिएन। एयरपोर्टको बाहिर बस्ने या खाने ठाउँ कतै थिएन।
बिहानदेखि ट्रलीमा सामान लिएर बाहिर खडा भइरहेको एक्ली महिला देखेर पुलिसलाई पनि शंका लागेछ क्यारे, आएर सोधीखोजी गर्न थाले। कहाँ जाने ? किन नगएको ? को–को जान लागेको … ? आदि/इत्यादि।
साँझ पाँच बज्यो, ल्याबबाट टेक्स्ट आयो– कोभिड टेस्ट नेगेटिभ। त्यो खबरले आकाशमै पुगेको खुशी ल्यायो। केही बेरमा रिपोर्ट पनि ल्याइदिए। त्यो ल्याबप्रति हृदयदेखि नै कृतार्थ भएँ। त्यो ‘नेपाल ल्याब हाउस’ त्यही थियो जसले, मेरो किमो अवधिभर घरमै आएर हप्तैपिच्छे रगत जाँच गरिदियो; कहिले त हप्ताको दुईपटक पनि गर्नुपर्थ्यो।
मलाई टर्किश एयरलाइन्सले दिएको दुःखमा समयले एउटा असल सहयोगीसँग परिचित गराइदियो; र म, त्यो दिन उडें।
हुनत, मैले टर्किश एयरलाइन्सको टिकट किन्न लाग्दा मलाई त्यो एयरलाइन्स भरपर्दो छैन, नकिन भनेर सल्लाह दिनेहरू थिए; तर, जहिले पनि दोहा, लन्डन, हङकङको रुटबाट अमेरिका गइरहेकी मलाई टर्कीबाट जाने इच्छा लागेको थियो र मैले आफ्नै जोडले त्यो रुटको टिकट लिएकी थिएँ। त्यो दिन अब कहिल्यै पनि त्यो एयरलाइन्सबाट उडान गर्ने छैन भनेर आफैंसँग प्रण गरें। हल्ला सुनिंदैछ, टर्कीले नेपालमा एम्बेस्सी खोलेर पर्यटन प्रवर्धन गर्ने तर्खरमा छ रे!
जुन एयरलाइन्सले नेपालीलाई मान्छे गन्दैन, त्यस्तोबाट कति र कुन आधारमा पर्यटन प्रवर्धन गर्छ खोइ, यसको जवाफ सम्बन्धित निकायले नै दिन्छ होला; तर, सेलिब्रेटीहरू मात्रै प्रयोग गरेर सधैं व्यापारचाहिं नचल्ला !
स्मरणीय छ, सन् २०१८ मा एयरलाइन्सले नेपालमा उडान सुरु गरेको पाँच वर्षको उत्सव पनि पत्रकार र सेलिब्रेटी बोलाएर धुमधामका साथ मनाइएको थियो।