प्रकाशित मिति : १ असार २०८३, सोमबार

photo: Dmitrii E./Unsplash
स्पेन सरकारले गैरकानुनी रूपमा बसोबास गरिरहेका आप्रवासीहरूलाई कानुनी मान्यता दिने घोषणा गरेको कार्यक्रममा अहिलेसम्म करिब ९ लाख आवेदन परेका छन् । सुरुमा ५ लाख मात्र आवेदन पर्ने अपेक्षा गरिएको यस कार्यक्रममा अनुमानभन्दा निकै बढी माग देखिएको स्पेनको आप्रवासन मन्त्रालयले सोमबार जनाएको छ ।
अन्य युरोपेली देशहरूले आफ्ना सीमाहरू बन्द गरिरहेका बेला पनि आप्रवासनका लागि उदार देखिएको स्पेनले यो कदम चालेको हो । यस उपायको मुख्य उद्देश्य कागजातविहीन आप्रवासीहरूलाई औपचारिक श्रम बजारमा समाहित गर्नु हो ।
शरणार्थी सहायताका लागि काम गर्ने गैर-नाफामूलक संस्था ‘सिएआर’का अनुसार यो कार्यक्रम सकिन दुई हप्ता बाँकी रहँदा आवेदन दिनेहरूको संख्या १० लाख नाघ्ने अनुमान गरिएको छ ।
विगत दुई वर्षमा स्पेनको आर्थिक वृद्धिदर अधिकांश युरोपेली मुलुकहरूको तुलनामा निकै अगाडि रहेको छ । यसको आंशिक श्रेय आप्रवासीहरूलाई जान्छ, जसले होटल तथा पर्यटन र ज्येष्ठ नागरिक हेरचाह जस्ता मुख्य क्षेत्रहरूमा कामदारको अभावलाई पूर्ति गरेका छन्। साथै, उनीहरूले सामाजिक सुरक्षा कोषमा योगदान पुर्याएर अर्थतन्त्रलाई बलियो बनाएका छन् ।
मन्त्रालयका अनुसार स्पेनले गत अप्रिल महिनादेखि हालसम्म ३ लाख ६० हजार अस्थायी श्रम स्वीकृति जारी गरिसकेको छ, जुन कुल आवेदनको करिब ४० प्रतिशत हो । आप्रवासीहरूको आवेदन प्रक्रियामा समावेश हुनासाथ उनीहरूले काम सुरु गर्न पाउने व्यवस्था गरिएको छ ।
आप्रवासन मामिला राज्यमन्त्री पिलार कान्सेलाका अनुसार सरकारसँग अप्रिलदेखि जुनसम्ममा १० लाखसम्म आवेदनहरू व्यवस्थापन गर्ने क्षमता छ । यद्यपि, आवेदनको तुलनामा अनुमति पाउनेहरूको संख्या भने कम हुने उनले स्पष्ट पारिन् ।
स्पेनको अध्यागमन प्रणालीमा लामो समयदेखि ढिलासुस्ती हुने गरेको छ । कोलम्विया वा सेनेगल जस्ता देशहरूबाट आएका हजारौं आप्रवासीहरूले शरणार्थी मान्यता पाउन वर्षौंदेखि पर्खिरहेका छन्, जसमा ९० प्रतिशतभन्दा बढी आवेदनहरू अस्वीकृत हुने गर्छन् ।
थिंक ट्याङ्क ‘फुन्कास’का अनुसार यस्ता कडा नीतिहरूका कारण करिब ८ लाख ४० हजार कागजातविहीन आप्रवासीहरू अन्य प्रकारको आवासीय अनुमतिका लागि वर्षौंदेखि प्रतिक्षा गरिरहेका छन्। उनीहरू कानुनी प्रक्रिया पूरा नहुन्जेलसम्म देशमै बसेर अनौपचारिक क्षेत्रमा विना कागजात काम गर्न बाध्य छन् ।
यो एउटा असाधारण कार्यक्रम हो, तर समाजको किनारमा पारिएका मानिसहरूको समूह बन्न नदिनका लागि काम र आवासीय अनुमतिमा सहज पहुँच सुनिश्चित गर्ने स्थायी संरचनात्मक उपायहरू आवश्यक छन्,सीइएआरकी निर्देशक मोनिका लोपेजले सोमबार पत्रकार सम्मेलनमा भनिन् ।
