गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन, रेमिट्यान्सलाई लगानीमा रूपान्तरण गर्ने लक्ष्य : RajdhaniDaily.com


काठमाडौं । गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन शनिबारबाट काठमाडौंमा सुरू भएको छ । यस महाधिवेशन आगामी सोमबारसम्म सञ्चालन हुनेछ ।
भौतिक र अनलाइन माध्यमबाट झन्डै चार हजार दुईसय ८६ प्रतिनिधिले सहभागिता जनाउने यस सम्मेलनमा नेपालीको लगानी, रेमिट्यान्सको प्रभावकारी उपयोग, आर्थिक विकासमा निजी क्षेत्रको भूमिका र लगानीमैत्री वातावरण निर्माणका विषयमा ब्यापक छलफल भएको छ ।

संसारका विभिन्न देशमा बसोबास गरिरहेका नेपाली समुदायका प्रतिनिधि, व्यवसायी, नीति निर्माता तथा निजी क्षेत्रका अगुवाहरूको सहभागितामा काठमाडौमा सञ्चालित तीनदिने सम्मेलनले नेपालका लागि प्रवासी नेपालीको आर्थिक र बौद्धिक योगदानलाई अझ प्रभावकारी रूपमा परिचालन गर्ने लक्ष्य लिएको छ ।

यस सम्मेलनमा सहभागी एनआरएनएहरूले विभिन्न देशबाट नेपालमा भित्रिने रेमिट्यान्स रकमलाई केवल उपभोगमा सीमित नराखी उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिएका छन् ।

परराष्ट्रमन्त्री बालानन्द शर्माले संघको सो महाधिवेशनको उद्घाटन गरेका हुन् । उनले गैरआवासिय नेपालीको चाँहना बमोजिम रेमिट्यान्स रकमलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सरकारले सक्दो प्रयास गर्ने बताए । उनले विश्वका केही क्षेत्रमा बढ्दो अस्थिरता र द्वन्द्वका कारण विदेशमा रहेका नेपालीको सुरक्षाप्रति चिन्ता बढेको बताए ।

उनले विशेषगरी पश्चिम एसिया र मध्यपूर्व क्षेत्रमा विकसित घटनाक्रमका कारण त्यहाँ कार्यरत नेपाली कामदारको अवस्थाप्रति नेपाल सरकारको चासो बढेको बताए ।

परराष्ट्रमन्त्री शर्माले विदेशमा रहेका नेपाली नागरिकका समस्या सम्बोधनका लागि परराष्ट्र मन्त्रालयले आकस्मिक नियन्त्रण कक्ष सञ्चालनमा ल्याएको जानकारी दिए । उनले द्वन्द्व प्रभावित क्षेत्रमा रहेका नेपालीलाई सम्बन्धित देशका आधिकारिक सूचनामा ध्यान दिन र नजिकको नेपाली दूतावाससँग सम्पर्कमा रहन समेत आग्रह गरे ।

उद्घाटन कार्यक्रममा गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा.उपेन्द्र महतोले नेपाललाई समृद्ध र शान्त देश बनाउने सम्भावना रहेको उल्लेख गर्दै यसका लागि सबै नेपाली एकजुट हुनुपर्ने बताए । उनले विदेशमा रहेका नेपालीले पठाउने रेमिट्यान्सलाई राष्ट्र निर्माणमा लगानी गर्नुपर्नेमा जोड दिए । उनले नेपाललाई समृद्ध बनाउन नेपालीहरूसँग पर्याप्त क्षमता भए पनि दृढ संकल्पको कमी रहेको बताए । उनले नेपालभित्र र विदेशमा रहेका नेपालीको आर्थिक गतिविधिलाई एकीकृत गर्न सके छोटो समयमै मुलुकमा ठूलो आर्थिक परिवर्तन सम्भव रहेको धारणा राखे ।

संस्थापक अध्यक्ष महतोका अनुसार हाल संसारभर करिब ८० लाख नेपाली छरिएर बसेका छन् । उनीहरूले वार्षिक करिब २० अर्ब अमेरिकी डलर बराबरको रेमिट्यान्स नेपाल पठाउने गरेका छन् । ‘नेपालभित्रको अर्थतन्त्र जति छ, त्यति नै आर्थिक गतिविधि विदेशमा रहेका नेपालीसँग पनि जोडिएको छ । हामीले दृढ संकल्प गर्ने हो भने आगामी १० वर्षभित्र सय बिलियन डलरको अर्थतन्त्र बनाउन असम्भव छैन’ उनले भने । एनआरएनएले सरकारसँग गुनासो मात्र गर्ने प्रवृत्ति त्यागेर अब देश निर्माणमा सक्रिय भूमिका खेल्न सबै गैरआवासीय नेपालीलाई आग्रह गरे । विदेशी लगानी आकर्षित गर्नुअघि स्वदेशी निजी क्षेत्र र प्रवासी नेपालीको लगानीलाई बलियो बनाउनुपर्नेमा उनले जोड दिए ।

नेपालको निजी क्षेत्रले पछिल्लो समय प्रवासी नेपालीलाई पर्याप्त महत्व नदिएको गुनासो गर्दै उनले केही व्यक्तिहरूबीचको मतभेदका कारण यस संघलाई बेवास्ता गर्नु उचित नभएको बताए ।

संघका पूर्वअध्यक्ष राजेन्द्रकुमार (आरके) शर्माले नेपालमा भित्रिने रेमिट्यान्सको संरचना परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याए । उनले नेपालमा वैदेशिक रोजगारीमा रहेका नेपालीले पठाउने विप्रेषण अहिले देशको अर्थतन्त्रको मुख्य आधार बनेको तर, त्यसको ठूलो हिस्सा उपभोग्य क्षेत्रमा खर्च भइरहेको भन्दै अब उत्पादकमूलक क्षेत्रमा लगानी गरिनुपर्ने बताए ।
उनले हाल नेपालमा वार्षिक करिब २० खर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिने भएपनि त्यसमध्ये करिब ७० प्रतिशत रकम दैनिक उपभोग, आयातित वस्तु र सेवा खरिदमा खर्च हुने गरेकाले अब सो रेमिट्यान्सलाई उत्पादनसँग जोड्नुपर्ने धारणा राखे ।

यस्तो रेमिट्यान्स दुरूपयोग प्रवृत्तिले दीर्घकालीन आर्थिक विकासमा अपेक्षित योगदान दिन नसक्ने बताउँदै शर्माले भने, ‘यदि वैधानिक च्यानलबाट आउने रेमिट्यान्सको १० प्रतिशत मात्रै पनि सामूहिक लगानीमार्फत जम्मा गर्न सकियो भने करिब २ खर्ब रुपैयाँको पुँजी निर्माण हुन्छ । त्यो पुँजीले देशमा ठूला पूर्वाधार आयोजना निर्माण गर्न सकिन्छ ।’

यसैगरी, शर्माले पाँचवर्षअघि संघले अघि सारेको १० अर्ब रुपैयाँको लगानी कोष अझै पूर्णरूपमा कार्यान्वयनमा नआएकोप्रति असन्तुष्टि पनि व्यक्त गरे । उनले श्रमिकले मासिक १० हजार रुपैयाँसम्म लगानी गर्ने योजना भएपनि विभिन्न बहानाले कार्यान्वयनमा ढिला हुँदा प्रवासी नेपालीमा निराशा बढ्न थालेको दाबी गरे । नेपालको ऊर्जा क्षेत्रमा रेमिट्यान्स लगानी बढाउन सके देशले ठूलो आर्थिक लाभ लिन सक्ने भन्दै उनले तीन हजार मेगावाट विद्युत् उत्पादन गर्न सके मात्र पनि नेपालले वार्षिक करिब ८० अर्ब रुपैयाँ बराबरको खाना पकाउने ग्यास आयात घटाउन सक्ने बताए ।

त्यस्तै, ८ देखि १० हजार मेगावाट विद्युत् उत्पादन गर्न सके पेट्रोलियम पदार्थको आयात ८० प्रतिशतसम्म प्रतिस्थापन गर्न सकिने उनको दाबी थियो । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गैरआवासीय नेपालीलाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरे । उनले नेपालमा अहिले राजनीतिक स्थिरता कायम भएको र लगानीको अनुकूल वातावरण बनेको जानकारी गराउँदै जलविद्युत्, पर्यटन, सूचना प्रविधि लगायतका क्षेत्रमा ढुक्क भएर लगानी गर्न आग्रह गरे । उनले विगतमा केही एनआरएनहरूले व्यक्तिगत रूपमा गरेका लगानीमा सही साझेदार नपाउँदा वा उचित ठाउँमा लगानी नभएकाले समस्या आएको गुनासो सुनिए पनि ती केवल ‘अपवाद’ मात्र भएको स्पष्ट पारे ।

नेपालमा पहिलो पटक दर्ता भएको ‘एनआरएन इन्भेस्टमेन्ट कम्पनी’ सँग महासंघले सहकार्य गरेर एउटा प्रोजेक्ट अगाडि बढाइसकेको जानकारी दिँदै ढकालले संस्थागत लगानीमा जोड दिए । मुलुकमा अहिले स्थायी सरकार बनेको र यसले निजी क्षेत्र तथा एनआरएनले खोजेको राजनीतिक स्थिरता दिएको बताउँदै उनले महासंघकै पहलमा सरकारले ‘उच्चस्तरीय आर्थिक सुधार आयोग’ गठन गरेको र स्वदेशी तथा विदेशी लगानी (एफडीआई) भित्र्याउन थुप्रै कानूनहरू परिमार्जन भइरहेको समेत जानकारी गराए ।

नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक मल्होत्राले रेमिट्यान्समा अत्यधिक निर्भरता घटाएर प्रवासी नेपालीको पुँजीलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने वातावरण बनाउनुपर्ने बताए । उनले रेमिट्यान्सले देशको अर्थतन्त्रलाई तत्काल राहत दिएको भएपनि यसले मुख्यतया उपभोग बढाएको उल्लेख गरे । दीर्घकालीन विकासका लागि उद्योग, उद्यमशीलता र पूर्वाधार क्षेत्रमा लगानी बढाउनुपर्नेमा पनि उनले प्रवासी नेपालीको ध्यानाकर्षण गराए । उनले पर्यटन, कृषि, सूचना प्रविधि तथा पूर्वाधारलाई लगानीका प्राथमिक क्षेत्रका रूपमा अघि बढाउनुपर्ने सुझाव दिए ।

नेपाल उद्योग परिसंघका उपाध्यक्ष हेमराज ढकालले नेपालको अर्थतन्त्रलाई सय बिलियन डलरको बनाउन गैरआवासीय नेपालीको लगानी अपरिहार्य रहेको बताए ।

उनले सन् २०२६ मा नेपाल अति कम विकसित राष्ट्र (एलडीसी) बाट स्तरोन्नति भएपछि वैदेशिक सहायता घट्ने हुँदा देश विकासका लागि डायस्पोराको लगानी आवश्यक रहेको बताए । उपाध्यक्ष ढकालले युवा विदेशिने क्रमलाई प्रतिभा पलायनका रूपमा मात्र नहेरी ज्ञान र पुँजी निर्माणको अवसरका रूपमा पनि लिनुपर्ने धारणा राखे ।

‘हाम्रो एकता, समृद्धिको आधार’ भन्ने नाराका साथ सोल्टीहोटलमा सञ्चालित गैरआवासीय नेपाली विश्व सम्मेलन तथा बृहत् अन्तर्राष्ट्रिय महाधिवेशनबाट संघको नयाँ नेतृत्व चयन हुने छ । यस
निर्वाचनबाट संघको अध्यक्षमा हेमराज शर्मा र बरिष्ठ उपाध्यक्षमा रोविन शेरचनलाई सर्वसहमतिको आधारमा चयन गरिने भएको छ ।

अन्य पदहरूमा हुने निर्वाचन भौतिक र अनलाइन गरी हाइब्रिड मोडेलमा गरिने संघले जनाएको छ । यसपटक चारहजार २ सय ८६ प्रतिनिधिले भौतिक र अनलाइन माध्यमबाट यस निर्वाचनमा सहभागिता जनाउने छन् । तर, अहिले एकता महाधिवेशन भएकाले सबै पदहरूको नेतृत्व चयन गर्नका लागि सर्वसम्मतिको पहल भइरहेको सो संघले जनाएको छ ।

संघको महाधिवेशनको समापन आगामी सोमबार प्रधानमन्त्री सुशिला कार्कीले गर्ने कार्यतालिका रहेको संघले जानकारी दिएको छ । यस महाधिवेशनमा नेपाल सरकारका प्रतिनिधिहरू, विभिन्न राष्ट्रिय समन्वय परिषद्का गैरआवासीय नेपाली प्रतिनिधिहरू, एनआरएनका अभियन्ताहरू तथा स्वदेशी र विदेशी विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहको संघले जनाएको छ । एनआरएनए विश्वभर रहेका नेपालीलाई एउटै सञ्जालमा जोड्ने उद्देश्यसहित स्थापना भएको संस्था हो । संघ सन् २००३ मा स्थापना भएको हो । अहिले ९० भन्दा बढी देशमा यसको राष्ट्रिय समन्वय परिषद् (एनसीसी) गठन भइसकेको छ ।

स्थापनाको बेला एनआरएनएको स्थापना भएपछि विदेशमा रहेका नेपालीलाई संस्थागत रूपमा संगठित गर्ने प्रक्रिया सुरु भएको थियो । संघले प्रवासी नेपालीको अधिकार संरक्षण, मातृभूमिमा लगानी प्रवर्धन तथा सामाजिक कार्यमा योगदान गर्ने उद्देश्य राखेको छ ।

यस सम्मेलनले प्रवासी नेपालीको पुँजी, सीप र अनुभवलाई नेपालको विकाससँग जोड्ने रणनीति तय गर्ने अपेक्षा गरिएको छ । सम्मेलनमा रेमिट्यान्सको उपयोग, संयुक्त लगानी, प्रविधि हस्तान्तरण, युवा तथा महिला सहभागिता, र प्रवासी नेपालीको अधिकार सम्बन्धी विषयमा छलफल हुने कार्यक्रम छ । सम्मेलनमा नेपाल सरकारका प्रतिनिधि, विश्वका विभिन्न देशमा रहेका गैरआवासीय नेपालीका राष्ट्रिय समन्वय परिषद् (एनसीसी) का प्रतिनिधि, व्यवसायी, विज्ञ तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको संघले जनाएको छ ।

(Visited 22 times, 1 visits today)





Source link

Leave a Comment