नेपालको मध्यभागमा पर्ने जिल्लाको रूपमा रहेको नवलपरासी (बर्दघाट-सुस्तापूर्व) मा पर्ने गैँडाकोट नगरपालिका धार्मिक तथा पर्यटकीय हिसाबले महत्त्वपूर्ण छ। गैँडाकोटमा ऐतिहासिक धार्मिक क्षेत्रहरू धेरै रहेकाले यसलाई धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न लागिएको नगरपालिकाले जनाएको छ। गैँडाकोट नगरपालिकामा सबैभन्दा बढी धार्मिक तथा पर्यटकीय क्षेत्रहरू वडा नं १ मा रहेका नगरप्रमुख मदनभक्त अधिकारीले बताए। यस क्षेत्रमा हिन्दू धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल देवघाटको साथै मौलाकालिका मन्दिरसहित अन्य धेरै धार्मिक मठमन्दिर समेत रहेका उनको भनाइ छ। यस नगरपालिकाका प्रमुख धार्मिक र सांस्कृतिकस्थलहरूमा देवघाट, मौलाकालिका मन्दिर, कैलाश सन्यास आश्रम, श्रीलक्ष्मी नृसिंह दिव्यधाम, लक्ष्मीनारायण मन्दिर, गैँडाकट्टा शिला, मुकुन्दसेन दरबार, महाबौद्ध गुम्बा, नारायणी नदी र चितवन राष्ट्रिय निकुञ्ज लगायत रहेका अधिकारीले बताए।
देवघाटधाम
देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार गैँडाकोटबाट करिब छ किलोमिटर उत्तरमा त्रिशूली र कालीगण्डकी नदीको पवित्र सङ्गमस्थल देवघाटधाम ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक सम्पदाले भरिपूर्ण धार्मिक क्षेत्र हो।
दामोदर कुण्डबाट सुरु भएर नवलपुर र तनहुँकोबीचबाट बग्दै आएकी कृष्णगण्डकी (कालीगण्डकी) तथा गोसाइँकुण्डस्थित त्रिशूलधाराबाट सुरु भएर चितवन र तनहुँको बीचबाट बग्दै आएकी त्रिशूली नदीको सङ्गमस्थलको रूपमा रहेको स्थान हो देवघाटधाम। मुख्यतयाः देवघाटधाम तनहुँमा पर्ने भए पनि यसले नवलपुरको गैँडाकोट र चितवको भरतपुर समेत समेटेको बरालले बताए।
शान्ति र आध्यात्मिक उन्नयनका लागि महत्त्वपूर्ण यस क्षेत्रमा नदी, हरिया पहाडका सुन्दर परिदृश्य लगायत जैविक विविधता अवलोकन गर्न सकिने बरालले बताए।
हिमवत् खण्ड नेपाल महात्म्यमा उल्लेख भए अनुसार देवताका पनि देवता महादेव शङ्कर आफ्ना गणहरूका साथ यहाँ बस्थे। त्यसैले यसको नाम देवघाट रहन गएको हो।
गलेश्वर आश्रम चक्रेश्वरशिला, सीता गुफा, वशिष्ट गुफा, हरिहर मन्दिर, महेश सन्यास–आश्रम, राम मन्दिर यज्ञशाला, कठस्तुप, सिद्धीगणेश, गोपीधाम, सूर्यकण्ड जस्ता पवित्रस्थल रहेको देवघाट क्षेत्रमा पशुपतिनाथको दर्शन गर्न आउने हिन्दू धर्मावलम्बीहरूलाई वा भारतीय पर्यटकलाई आकर्षण गरी जलमार्गबाट गोलाघाट हुँदै त्रिवेणीधाम वाल्मीकि आश्रमसम्म पुर्याउन सके यसले पर्यटकको बसाइँ अवधि विस्तार गर्न सकिने बरालको भनाइ छ।
स्कन्ध पुराण हिमवत्सखण्डको अध्याय ४४ पृष्ठ ९९ मा उल्लेख भए अनुसार पुथ्वीमा भएका तीर्थस्थलमध्ये सबैभन्दा फल दिने पवित्रस्थल देवघाट सङ्गम हो भनेर व्याख्या गरिएको छ। नवलपुर, तनहुँ र चितवन तीनवटा जिल्लामा करिब पाँच हजार ४३४ हेक्टर क्षेत्रमा फैलिएको देवघाट क्षेत्रलाई धार्मिक पर्यटनको प्रमुख गन्तव्यस्थलको रूपमा व्यापक प्रचारप्रसार गर्नु अपरिहार्य रहेकोमा बरालले जोड दिए।
मौलाकालिका मन्दिर
पूर्व–पश्चिम राजमार्गअन्तर्गत गैँडाकोट नगरपालिकामा पर्ने नारायणी नदीको पुलबाट करिब चार किलोमिटर उत्तरतर्फ समुद्री सतहबाट ५६१ मिटर उचाइ पहाडी वनको धुरीमा अवस्थित सुप्रसिद्ध तीर्थस्थल एवम् शक्ति प्रबल मौलाकालिका भगवतीको मन्दिर अवस्थित छ। १५औँ शताब्दीको अन्त्य तथा १६ औं शताब्दीको सुरुतिर करिब ५०० वर्ष पहिला, पाल्पाका राजा मणिमुकुन्दसेनको राज्यकालमा तत्कालीन सैनिक टुकुडीले आफ्नो गढी (ब्यारेक)मा मौलो गाडी कालिका भगवतीको शिला स्थापना गरेर पूजाअर्चना गर्दै आएको भन्ने किंवदन्ती रहेको धार्मिक सेवा समिति मौलाकालिका अध्यक्ष शालिकराम सापकोटाले बताए।
विसं २०३२ मा बनेको मन्दिरले क्रमशः व्यापकता र प्रसिद्धी पाउन थालेको उनको भनाइ छ। विसं २०३७ देखि धार्मिक सेवा समिति मौलाकालिका मन्दिर गैँडाकोट औपचारिक नामकरण गरी एक समिति स्थापना भएको सापकोटाले बताए।
मन्दिर समितिको सक्रियता, जनसहयोग, सेना र मध्य क्षेत्र प्रहरी तालिम केन्द्र, भरतपुरको सहयोगमा तीनतले प्यागोडा शैलीमा हालको मन्दिर तयार भएको हो। मन्दिरमा जाने मार्गको निर्माण गरिएको छ भने मौलाकालिका फेदीबाट मन्दिरसम्म पुग्ने गरी छपनी ढुङ्गाबाट सिँढी मार्ग (ट्रयाक रोड) निर्माण गरिएको छ। यस यात्राले धार्मिक पयर्टकलाई आनन्दित तुल्याउने उनको भनाइ छ।
कैलाश सन्यास आश्रम
नवलपुरमा रहेका धार्मिक पर्यटकीय स्थलमध्ये कैलाश सन्यास आश्रम ऐतिहासिक ठाउँ भएको नगर उपप्रमुख शान्ति कोइरालाले बताए। गैँडाकोट नगरपालिकामा अवस्थित कैलाश सन्यास आश्रम पूर्व–पश्चिम राजमार्गको बेल्डिहा चोकबाट दक्षिण मनोरम नारायणी नदीको तट तथा विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्जको सम्मुखमा सिख्रौली ग्राममा अवस्थित छ।
पौराणिक कथन अनुसार भगवान् विष्णुले त्रिवेणीधामका गजराजलाई गोहीबाट मुक्त गराउन हतारमा वेगका साथ आउँदा विष्णुको शिरको मुकुट यस स्थानमा गिरेकाले यस स्थानको नाम शिरमौली रहन गएको र कालान्तरमा अपभ्रंश हुँदै जाँदा सिख्रौली भएको आफूहरूले सुन्दै आएको कोइरालाले बताए।
सिरमौली ग्रामको विषयमा हिन्दू धार्मिक ग्रन्थ हरिवंश पुराणमा समेत व्याख्या गरिएको पाइन्छ। धर्मानुरागीहरूको कथन अनुसार यहाँ कुँदिएका प्रस्तर मूर्ति द्वापर युगका हुन्। पाँच पाण्डव वनवास जाँदा यस स्थानमा बास बसेको र यहाँका पाँच जनाले समेत उचाल्न नसक्ने ढुङ्गा भीमसेनले कुँदेर बोकेका हुन् भन्ने ऐतिहासिक कथन छ।
इतिहासविद्हरूको कथन अनुसार पाल्पाली राजामणि मुकुन्दसेनको दरबार यसै स्थानमा थियो। यी ढुङ्गा तिनै राजाको दरबार निर्माणमा प्रयोग भएका हुन् र भग्नावेशष भवन समेत राजाको दरबार भएको भन्ने गरिन्छ।
अहिले यहाँ पुरातत्त्व विभागले भग्नावशेषको उत्खनन कार्य सम्पन्न गरी मन्दिर निर्माण कार्य सम्पन्न गरेको छ। यहाँ धार्मिक पर्यटक भित्र्याउन सके यसले नगरकै पहिचान बनाउनेछ। पुरातत्त्व विभागको प्रारम्भिक अध्ययनबाट पनि यहाँ भेटिएको मन्दिरको भग्नावशेष १३ औँ शताब्दीको हो।
यहाँ भेटिएको भग्नावशेष उत्खनन गरेर पुनःनिर्माण गरिएको मन्दिरको आकार सुर्खेतको काँक्रे बिहारसँग मिल्दोजुल्दो रहेर बनेको पुरातत्त्व विभागले जनाएको छ। उत्खननका क्रममा यहाँ भेटिएका विभिन्न पुरातात्विक वस्तु विभागले अध्ययन गरिरहेको छ।
मुकुन्दसेन दरबार
गैँडाकोट नगरपालिकाको वडा नं ११ र ३ को सिमानामा पर्ने उत्तरतर्फको अग्लो डाँडामा पाल्पाली राजा मणि मुकुन्दसेनले स्थापना गरेको दरबार छ। यहाँ अहिले मन्दिर निर्माण गरिएको छ भने मूर्ति भग्नावशेषका रूपमा रहेका गैँडाकोट नगरपालिकाका प्रवक्ता एवम् वडा नं ३ का वडाध्यक्ष शिवकान्त तिवारीले बताए।
मणि मुकुन्दसेन दरवारबाट देखिने तराईकासम्म फाँटको दृश्यले यहाँ आइपुग्ने जो कोहीलाई लोभ्याउने गरेको तिवारीको भनाइ छ।
यो क्षेत्रको महत्त्पूर्ण पदमार्गमध्ये मुकुन्दसेन पदमार्ग पनि हो। विसं २०७६ जेठ १९ गतेदेखि मौलाकालिका मुकुन्दसेन दरबार भग्नावषेश परिसर पर्यटकीय पदमार्ग खुला गरिएको तिवारीले बताए। मौलाकालिका मन्दिरबाट पश्चिमतिर डाँडाको शिरैशिर १३.५ किलोमिटरको दूरीमा उक्त दरबारको भग्नावशेष परिसर छ।
पाल्पाली राजा मणि मुकुन्दसेन देवघाट तीर्थ आउने क्रममा बास बस्न र सैनिक सुरक्षाका खातिर उक्त दरबार बनाएको कुरा सुन्नमा आएको तिवारीको भनाइ छ। यहाँसम्म पुग्न सहज गाडीको व्यवस्था समेत छ। डाँडोको टुप्पोमा अवस्थित मुकुन्दसेन मन्दिर धार्मिक महत्त्वका साथै पैदल यात्राका दृष्टिले पनि त्यत्तिकै सुन्दर गन्तव्य हुनसक्ने उनले बताए। यस ठाउँमा सालको वन र चराको चिरबिरे आवाजको आनन्द लिन सकिने तिवारीको भनाइ छ। यो क्षेत्रको अर्को महत्त्वपूर्ण आकर्षण वनविहार हुन सक्ने तिवारीले बताए।
लक्ष्मी नृसिंह दिव्यधाम
लक्ष्मी नृसिंह दिव्यधाम गैँडाकोट-१ गंगानगरमा अवस्थित एक महत्वपूर्ण धार्मिकस्थल हो। यहाँ निर्माण गरिएको मन्दिर दक्षिण भारतीय शिल्पकलामा आधारित छ। स्वामी सन्तनारायणीजीले २०३८ सालमा जमिन खरिद गरी २०४० सालमा मन्दिर, धर्मशाला र त्यसको प्राङ्गण विस्तार गरेका हुन्।
नृसिंह भगवान्को कृपा सम्पूर्ण भक्तमा हुने विश्वास यहाँका बासिन्दामा छ। यो स्थानमा व्यवस्थित रूपमा मन्दिर बनाउने, मन्दिर वरपर, धर्मशाला, अतिथिगृह लगायत निर्माण गर्ने स्वामीजीको सोच र दाताहरूको दान तथा त्यस कार्यमा स्थानीय व्यक्तिको सहयोग समेतका कारण मन्दिर निर्माण गरिएको हो।
अहिले मन्दिर, धर्मशाला, अतिथि निवास र काम गर्नेहरूका लागि आवास समेत तयार भइसकेको छ। भगवानका मूर्तिहरूको प्रतिष्ठा, पाश्र्ववर्ति विभूतिहरूको मूर्ति स्थापना समेत कलात्मक ढङ्गले गरिएको छ। मन्दिर र त्यसको परिसर अति मनमोहक देखिन्छ। यहाँ भजनकीर्तन तथा धार्मिक पर्वहरूमा श्रद्धालुहरूको घुइँचो लाग्दछ।
शिखर खजुराव शैलीको हनुमान मन्दिर
गैँडाकोटमा रहेको हनुमान मन्दिर धार्मिक पर्यटकको रोजाइमा पर्ने गरेको छ। गैँडाकोट नगरपालिका – ९ थुम्सीमा अवस्थित नेपालकै ठूलो ‘शिखर खजुराव’ शैलीको हनुमान मन्दिर आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको हो।
पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको सो मन्दिरमा नेपालका विभिन्न जिल्ला तथा भारतबाट तीर्थयात्रीहरु आउने गरेका छन्। शिखर खजुराव शैलीमा निर्माण गरिएको नेपालकै ठूलो हनुमान मन्दिर तथा राजमार्गसँगै जोडिएको कारण पनि यो बाटो भएर हिँड्ने पर्यटकहरू यहाँ पस्ने गरेका छन्।
श्री हरिहर मन्दिर परमानन्द सन्न्यास आश्रम
गैँडाकोट–७ गैरीमा अवस्थित श्री हरिहर मन्दिर परमानन्द सन्यास आश्रम आन्तरिक पर्यटनको महत्वपूर्ण धार्मिक क्षेत्र बन्दै आएको छ। श्री हरिहर मन्दिर परमानन्द सन्यास आश्रम परिसरमा नेपालको पहिलो कलात्मक ३२ फुट अग्लो महाशिवलिङ्ग एवं नर्मदेश्वर नदीबाट ल्याइएका एक सय आठ शिवलिङ्ग, गणेश मन्दिर, दुर्गा मन्दिर, नागको थान लगायत छन्।
विसं २०४४ मा स्थापना भएको यो मन्दिर यस क्षेत्रकै कलात्मक र भव्य मन्दिर हो। श्री हरिहर मन्दिर परमानन्द सन्यास आश्रम गुरुकल परम्परा अनुसार पूजा आराधना भइरहकेको छ। ब्रह्मलीन १००८ स्वामी परमानन्दजी महाराज गुरुबाट शिलान्यास गरी यहाँ पूजाअर्चना सुरु गरिएको थियो।
श्री हरिहर मन्दिर परमानन्द सन्न्यास आश्रम परिसरमा नेपालको पहिलो कलात्मक ३२ फुट अग्लो महाशिवलिङ्ग एवं नर्मदेश्वर नदीबाट ल्याइएका एक सय आठ शिवलिङ्ग रहेका कारण साउनमा भक्तजनको चाप हुने गर्छ। प्रत्येक शुक्रबार बिहान ११ बजेदेखि सत्सङ्ग पनि हुने गरेको छ।
विसं २०४४ मा सामाजिक, धार्मिक व्यक्तिहरुले टाप्रेघारी भएको स्थानमा जमिन संरक्षणका लागि भेला गरी मन्दिर निर्माण गर्ने समिति गठन गरेर मन्दिर निर्माण गरिएको हो। मन्दिरमा विवाह, व्रतबन्ध, विभिन्न अवसरमा पूजा आराधना पनि हुने गरेको छ।
गैँडाकोटको सम्भावना
गैँडाकोटको सिमाना हुँदै बग्ने नारायणी नदी एवम् कालीगण्डकी नदीका कारण यहाँ जलयात्रा तथा नदी किनारमा मनोरञ्जन स्थल निर्माणको उच्च सम्भावना बोकेको नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले बताए।
प्रसिद्ध तीर्थस्थल देवघाटलाई नारायणी नदीमा साना जहाज र मोटरबोट जलयात्राले जोड्ने सम्भावना रहेको उनको भनाइ छ। गैँडाकोट नगरपालिकाको नारायणी तटमा ‘रिभर बीच’ प्रवर्द्धन गर्न सकिने अवस्था रहेको उनको भनाइ छ।
सहरी जीवनशैलीबाट विश्राम गर्नका लागि वनभित्रकै मार्गहरूको प्रयोग गर्दै ढोडेनी, केलादी, हर्दी (वनको उत्तरतर्फ रहेका सुन्दर गाउँहरू) का साथै देवघाट (कालीगण्डकी, सेती र नारायणीको संगम स्थल) सम्म पुग्न सकिने अवस्था रहेको भट्टचनले बताए।
गैँडाकोटमा रहेको मौलाकालिका मन्दिर, मणिमुकुन्दसेन दरबार, कैलाश सन्यास आश्रमलाई जोडेर मुख्य पर्यटकीय आकर्षणको केन्द्र बनाउन सकिने उनको भनाइ छ।
नेपालको मध्य तराई भागमा पर्ने यस नगरको बीचबाट पूर्व–पश्चिम राजमार्ग वारपार हुने, नारायणगढ, देवघाट नजिकमा पर्ने, अत्यधिक मानिसहरूको यात्रा हुने स्थल भएकाले व्यापार, व्यवसाय, उद्योग धन्दाको प्रचुर सम्भावना छ।
गैँडाकोट धार्मिक रूपमा आदिकालदेखि नै चर्चामा रहेको भन्दै अब यस स्थानलाई पर्यटनसँग जोडेर अगाडि बढ्न निजी क्षेत्र तयार रहेको भट्टचनको भनाइ छ।
गैँडाकोटमा बन्न लागेका विकासका पूर्वाधारहरूले निः स्वार्थ गति लिने हो भने आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने सम्भावना त्यत्तिकै छ।
– रासस, टेकराज पोखरेल
प्रकाशित: १७ आश्विन २०८२ १३:२६ शुक्रबार
