गृहमन्त्रीमाथि सेटिङ र षडयन्त्रको आरोप, नागरिकताबारे पाँच बुँदे प्रष्टिकरण


कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ प्रकरणबारे उनका छोरा सम्भव सिरोहियाले शुक्रबार बिहानै ७ मिनेट ३२ सेकेन्ड लामो प्रष्टिकरण दिएका छन् ।  

कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक समेत रहेका सम्भवले आफ्नो प्रष्टिकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणका समाचार रोक्न नमान्दा झुटो उजुरी बनाएर पक्राउ गरिएको आरोप लगाएका छन् ।  

‘रवि लामिछानेको सहकारीको ठगी जनताको माझमा ल्याउने क्रममा उहाँले धेरै अनुरोध गर्नुभयो, यो समाचार लुकाइदिनको लागि, मिलाइदिनका लागि । उहाँले पहिला आफूले गरेको पत्रकारिताजस्तो सोच्नुभयो, सेटिङ गरेर समाचार बन्छ वा लुक्छ जस्तो सोच्नुभयो,’ सम्भवले भनेका छन्,‘उहाँलाई कति अनुरोध गरियो। व्यवस्थापनले समाचार लेख्दैन, सम्पादकीय स्वतन्त्रता छ । उहाँले त्यो बुझ्नु भएन ।’ गृहमन्त्री लामिछानेले समाचार रोक्न गरेको अनुरोध अनुरुप कान्तिपुरले सेटिङ गर्न नमान्दा तल्लो स्तरमा ओर्लिएर पक्राउको षडयन्त्र रचेको सम्भवले बताएका छन। । ‘उहाँले आफ्नो शक्ति दुरूपयोग गर्दै झूटो केस लगाएर कान्तिपुरका अध्यक्ष मेरो बुवा कैलाश शिरोहियालाई पक्राउ गर्नुभयो,’ उनले भने ।  

यस्तै सम्भवले आफ्नो बुबाको नागरिकता सम्बन्धी विवादमा देखाइएका विषयको पनि पाँचबुँदामा खण्डन गरेका छन्, भने गृहमन्त्री लामिछानेविरुद्ध दुई बुँदामा आशंका व्यक्त गरेका छन् ।

सम्भवको खण्डनका पाँच बुँदा

पहिलो बुँदाः यसकारण वंशजको नागरिक

सम्भवले बुबा कैलाशले उमेर पुगेका आम नागरिकजस्तै जिल्ला प्रशासन कार्यालय, धनुषा पुगेर नागरिकता लिएको दाबी गरेका छन् । ‘कैलाश सिरोहिया हामी जस्तै नेपालमा जन्मिएको, नेपालमा हुर्किएको नेपाली नागरिक हो,’ सम्भवले भनेका छन्,‘उहाँ जन्मिदा उहाँको बुवा नेपाली नागरिक भएको भएर उमेर पुगेपछि हामीजस्तै सिडिओ कार्यालयमा गएर आफ्नो नेपाली नागरिकता लिनुभयो ।’ योसँगै उनले आफ्ना बाबुले वंशजको नागरिकता प्राप्तिबारेको विषयमा प्रष्टोक्ति दिएका छन् । दाईहरूको नागरिकता अंगिकृत हुँदा कैलाशको नागरिकता वंशजका आधारमा जारी भएको भन्दै संशय छ । यही कुरामा सम्भवले भनेका छन्,‘गृहमन्त्रालयको नियम त गृहमन्त्री आफैले थाहा पाउनुपर्ने हो, दाईहरू जन्मिदा हजुरबुवाले नेपाली नागरिकता प्राप्त गर्नुभएको थिएन, तर ९ जनामध्येको कान्छो छोराका रूपमा कैलाश सिरोहिया जन्मिदा हजुरबुवाले नेपाली नागरिकता प्राप्त गरिसक्नुभएको थियो ।’ यत्ति सरल कुरालाई के के न जस्तो हल्लाबाजी गरिएको सम्भवले बताएका छन् ।  

दोस्रो बुँदाः फरक–फरक नागरिकता नम्बर

यस्तै फरक कम्पनीका दस्तावेजमा कैलाशको नागरिकता नम्बरको भिन्नतालाई प्रस्ट्याएका छन् । त्यो काम कर्मचारीको कमजोरी रहेको दाबी गर्दै आफ्नो बुबासँग एउटामात्रै नागरिकता रहेको सम्भवले प्रष्टोक्तिमा भनेका छन् । हिमालयन रिइन्स्योरेन्स कम्पनीको दर्ता कागजातमा कैलाशको नागरिकता नम्बर फरक परेको (अपलोड भएको) स्वीकार गर्दै सम्भवले कान्तिपुर टेलिभिजनको दर्ता कागजातमा पनि कैलाशकै नागरिकता नम्बर हुनुपर्नेमा अरु कसैको परेको बताएका छन् । ‘यो भनेको विभिन्न नागरिकता होइन, कम्पनी दर्ता गर्दा ओरिजिनल नागरिकताको फोटो अट्याच हुन्छ । हामीले आफ्नो नागरिकताको फोटोकपी दिन्छौं दर्ता गर्दा । यो अपलोड गर्ने कर्मचारीको मिस्टेक मात्रै हो,’ सम्भवले भनेका छन् ।  

उदाहरणः ‘यस्तो समस्या गृहमन्त्रीको पनि छ’

सम्भवले अगाडि त्यस्तो कर्मचारीबाट मिस्टेकको समस्या गृहमन्त्री रविकै प्रशंगमा भएको पनि उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘गृहमन्त्रीज्युको आफ्नै पनि गोरखा मिडियाको एउटा कागजातमा बुबाको नाम एउटा छ, अर्को डोकुमेन्टमा बुबाको नाम अर्कै छ र यो डोकुमेन्ट हामीसँग छ । तर हामीले यो टाइपिङ मिस्टेक भनेर पब्लिससम्म गरेनौं । दुईटा बुबा भएको भनेर पक्रिन त टाढाको कुरा ।  

तेस्रो बुँदाः नागरिकता नम्बर अर्को व्यक्तिसँग मिलेको

सम्भवले प्रष्ट्याउन खोजेको तेस्रो बुँदा ‘कैलाशको नागरिकता नम्बर अर्को व्यक्तिसँग मिल्नगएको’ भन्ने विषयको छ ।  

‘अब छ भने हामीले यसमा गर्ने के ?’, सम्भवले भनेका छन्,‘डोकुमेन्ट लिने बेला कसरी चेक गर्ने मिलेको छ कि छैन भनेर । तपाईले पनि चेक गर्नुभा छैन, मैले पनि गरेको छैन । हाम्रो काम भनेको योग्य भए नागरिकता लिन जाने, लिने र घर आएर राख्ने हो । मोटरबाइक चलाउने बेला, गाडी चलाउनेबेला १०/१५ वर्ष पुरानो लाइसेन्स प्लेट र अर्को लाइसेन्स प्लेटसँग मिल्न गयो भने पक्रन मिल्छ हामीलाई ?’ यसमा प्रमाणपत्र दिनेको जबाफदेखिता हुन्छ कि लिनेको ? भनेर सम्भवले प्रश्न गरेका छन् । उनले भनेका छन्, ‘सामान्य ज्ञानको कुरा होइन यो ? देशको पहिलो केस पनि त होइन यो ? यस्तो मिस्टेक त सिडिओले आफै सच्याउने ग¥या छ ।’  

चौथो बुँदाः नागरिकता अभिलेख हरायो  

कैलाशले २०३६ सालमा धनुषाबाट लिएको नागरिकताको अभिलेख हराएको चर्चा छ । यही विषयमा सम्भवले अर्को बुँदामा प्रष्ट्याएका छन् । यो कुरालाई उनले अचम्मको कुरा भनेर टिप्पणी गरेका छन् ।  

एकवर्ष अगाडि मात्र राष्ट्रिय परिचयपत्र लिनेबेला धनुषा जिल्लाका सिडिओले नै अभिलेख भेरिफाइ गरेर नै काठमाडौं पठाएको दाबी गर्दै त्यो विषयलाई गृहमन्त्री लामिछानेले अनर्गल आरोप लगाएर देशको मजाक उडाइरहेको सम्भवको आरोप छ । उनले भनेका छन्,‘कहाँ छ यो अभिलेख ? किन हरायो ? कहाँ हरायो ? हामीले पनि त थाहा पाउनु प¥यो । चाहिनेबेला कसरी हरायो यो अभिलेख ? फेरी अस्ति भेटे भन्छन् । यस्तो आरोप लगाएर देशको मजाक उडाइरहेका छन्, गृहमन्त्रीज्यु ।’  

पाँचौं बुँदाः किर्ते र केरमेट

सम्भवले अर्को बुँदामा कैलाशको नागरिकता किर्ते गरेको र केरमेट भएको विषयमा प्रष्ट्याएका छन् । गृहमन्त्रालयले आफैले ४०/४५ वर्ष अगाडि दिएको नागरिकता किर्ते हो भन्छ भने यसमा के भन्ने ? भन्दै उनले प्रश्न गरेका छन् । ‘यसबारे साइन गर्ने अधिकारीलाई सोधे भइहाल्थ्यो, देश हल्लाउनेगरी पक्राउ गर्ने कारण के थियो ?’ उनले भनेका छन् ।  

हिरासतमा बसेको चारदिनपछि आफ्नो आग्रहमा प्रहरीलाई फरेन्सिक परिक्षण गर्नुस्, साइन गर्ने मान्छेको बयान लिनुस् भनेपछि कुरा क्लियर भएको सम्भवले थपेका छन् । उनले भने, ‘उहाँ(तत्कालीन अधिकारी)ले आफै भन्नुभो, यो आफ्नै सिग्नेचर हो भनेर ।’  

अगाडि केरमेट भएको कुराचाहिँ जन्ममिति लेख्नुपर्ने ठाउँमा १८ लेखिएको र त्यसको साइडमा नागरिकता दिने अधिकारीले कोष्ठमा जन्ममिति लेखेर साइन गर्नुभएको सम्भवको दाबी छ । ‘यसको रिजल्ट पनि फरेन्सिक टेस्टबाट आइसकेको छ । कुरा यत्ति हो,’ सम्भवले प्रष्ट्याएका छन् ।  

गृहमन्त्रीमाथि षडयन्त्रको दुई बुँदे आशंका  

गृहमन्त्री लामिछानेले षडयन्त्र गरेर झूठो मुद्दा तयार गरेर आफ्ना बुबा कैलाशलाई पक्राउ गरेको सम्भवको आरोप छ । त्यसमा उनले दुई बुँदामा आशंका व्यक्त गरेका छन् ।  

‘यत्रो भ्रम किन र कसरी फैलाइयो ? प्रहरीले उजुरी दर्ता पनि कसरी ग¥यो ? पक्राउ त टाढाको कुरा । यो पार्ट चाहि अलि रोचक छ,’ सम्भवले पहिलो बुँदामा आशंका गर्दै भनेका छन्,‘उजुरी हाल्ने मान्छे रविजीको आफ्नो पार्टी रास्वपाको सदस्य, एक । उजुरी हालेको कान्तिपुरले उनको सहकारी घोटालाको समाचार गरेपछि ।’  

दोस्रो बुँदामा सम्भवले कैलाशको नागरिकता नम्बर मिलेको विषयमा पनि गृहमन्त्री लामिछानेमाथि नै आशंका तेस्र्याएका छन् ।  

‘जोसँग कैलाश सिरोहियाको ४०/४५ वर्ष पुरानो नागरिकता नम्बर मिल्यो भनिएको छ, त्यो मान्छेको प्रतिलिपि नागरिकता रविजी गृहमन्त्री भएपछि मात्र जारी भएको छ, केहीमहिना अगाडि,’ उनले भनेका छन् ।  

‘सिडिओ गृहमन्त्रालय अन्तर्गत हुने कुरा उल्लेख गर्दै सम्भवले ‘सिडिओको कस्टर्डी’मा भएका लाखौं नागरिकता डोकुमेन्टमध्ये कैलाशको नागरिकता नम्बरसँग मिल्ने नागरिकता रास्वपाको कार्यकर्ताको हातमा कसरी पुग्यो ?’ भन्दै प्रश्न गर्दै अगाडि भनेका छन्,‘नम्बर मिलेको हो कि मिलाइएको हो?  

सम्भवले अगाडि ‘प्रहरीले अनुसन्धान नै नगरी झुटो उजुरी कसरी दर्ता ग¥यो ?’ भन्ने पनि प्रश्न गरेका छन् । यो घटनालाई गृहमन्त्री लामिछाने उपरको सहकारी घोटालाको उजुरीसँग समेत उनले जोड्न भ्याएका छन् । ‘जब कि गृहमन्त्रीको सहकारी घोटालामा उजुरी लिने कि नलिने भनेर आज सर्वोच्चमा बहस भइरहेको छ । हाम्रो डोकुमेन्टसम्म नमागी पक्राउ पुर्जी जारी कसरी भयो ?,’ उनले भनेका छन् ।  

उनले यी सबै विषय संयोग मात्र होस् भन्ने आफूले चाहेको बयान दिएका छन् । उनले अगाडि भनेका छन्,‘हैन भने त यहाँ ठुलो षडयन्त्र देखिन्छ ।’

प्रकाशित: २५ जेष्ठ २०८१ १५:१२ शुक्रबार





Source link

Leave a Comment