प्रकाशित मिति : फाल्गुन ५, २०८१ सोमबार
सडक दुर्घटनामा परेर १ हजार २ सय ३३ जनाको मृत्यु भएको छ । यो पछिल्लो ६ महिनाको संख्या हो । ज्यान गुमाउनेको संख्या अघिल्लो बर्षको तुलनामा बढी हो ।
लापरवाहीपूर्वक सवारीसाधन चलाएको तथा ट्राफिक नियमको पूर्ण परिपालनामा ध्यान नदिएका कारण दुर्घटनाका घटना बढेका छन ।
गृह मन्त्रालयका अनुसार विसं २०८० को पुस मसान्तसम्म देशभर १२ हजार आठ सय ५६ सडक दुर्घटनामा १ हजार १ सय ४९ जनाको ज्यान गएको थियो ।
यस वर्षको पुस मसान्तसम्म ११ हजार ३ सय ३८ सडक दुर्घटना हुँदा १ हजार २ सय ३३ जनाको ज्यान गएको छ ।
गत वर्षको छ महिनाको तुलनामा यस वर्षको छ महिनामा सडक दुर्घटनाको सङ्ख्या घटे पनि मृत्यु हुनेको सङ्ख्यामा वृद्धि भएको छ ।
गत मङ्सिरको तुलनामा पुसमा सडक दुर्घटना बढे पनि मृत्यु हुनेको सङ्ख्या घटेको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिनुभयो ।
मन्त्रालयका अनुसार गत साउनमा १ हजार ६ सय २८ सडक दुर्घटनामा एक सय ५२, भदौमा एक हजार छ सय १९ दुर्घटनामा एक सय ७४ जनाको अकालमा ज्यान गएको थियो ।
गत असोजमा एक हजार आठ सय ७३ सडक दुर्घटनामा दुई सय, कात्तिकमा एक हजार नौ सय २८ दुर्घटनामा परी दुई सय ५८ जनाको मृत्यु भएको विवरण छ ।
अघिल्लो गत मङ्सिरमा दुई हजार १४ सडक दुर्घटनामा परी दुई सय ५२ र पुसमा सबैभन्दा बढी दुई हजार दुई सय ७६ दुर्घटनामा परेर एक सय ९७ जनाको मृत्यु भएको छ ।
मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार गण्डकी, काठमाडौँ उपत्यका र कर्णालीमा दुर्घटनाको सङ्ख्या घटे पनि मृत्यु हुनेको सङ्ख्यामा बढोत्तरी भएको छ ।
मधेस प्रदेश र बागमती (काठमाडौँ उपत्यका) बाहेकमा दुर्घटनाको सङ्ख्या बढे पनि मृत्यु हुनेको सङ्ख्या घटेको छ ।