गुमनाम गाउँ गन्तव्य बन्दै : RajdhaniDaily.com


कैलाश (मकवानपुर) । ५ वर्ष अघिसम्म मकवानपुर जिल्लाको ‘विकट बस्ती’का रूपमा चिनिन्थ्यो कैलाश र वैकुण्ठ गाउँ । ‘कैलाश’ हिन्दूहरूका देवता भगवान् शिवको बासस्थान, अनि वैकुण्ठ विष्णुको । मन्दिरझै पवित्र, लोकप्रिय र चर्चित बनाउने सपना जब बीजारोपण भयो, अनि सुरु भयो यस क्षेत्रको विकास । पुग्नै विकट, शिक्षा, स्वास्थ्य, पिउने पानी, यातायाता, सञ्चार केही नभएका कारण स्थानीयको संघर्षपूर्ण र दुःखको जीवनको परिभाष्य स्थापित थियो कैलाश र वैकुण्ठ ।

देशमा द्वन्द्वको भय थियो । शिक्षा, स्वास्थ्य, सञ्चारभन्दा पनि जीवन बाँच्नका लागि धौधौ थियो । मानव जीवनका लागि प्राथमिकतामा पर्नुपर्ने सवालहरू प्राथमिकतामा थिएनन्, गुमनाम थिए । बुझाइमा थियो ‘वैकुण्ठ – विकट’ अनि ‘कैलाश – कठिन’ ।

समयले कोल्टो फेर्दै आयो, यी बस्तीको उपमा पनि फेर्नुपर्ने हुटहुटीको विकास भयो । संघीयतासँगै वैकुण्ठ र कैलाश गाउँको परिचय फेरियो । मकवानपुरको कैलाश गाउँपालिका–२ मा अवस्थित वैकुण्ठ र कैलाश गाउँले अहिले ‘विकट बस्ती’को ट्याग फेरेर ‘आन्तरिक पर्यटकको हब’को परिचय बनेका छन् ।

कैलाश गाउँपालिका–२ का वडाध्यक्ष राजेन्द्र घिसिङ अब यो क्षेत्र आकर्षणको गन्तव्य भएको बताउँछन् । मकवानपुरको उत्तरी भेगमा महाभारत पर्वत लेकको काखमा जिल्लाकै ‘दुर्गम बस्ती’को ट्याग भिरेर बसिरहेको गाउँलाई कुनै न कुनै दिन पर्यटकीय गन्तव्यका रूपमा चिनाउने हुटहुटीले काम गरेको उनी बताउँछन् । यहाँको प्राकृतिक सुन्दरता, सांस्कृतिक सम्पन्नता, ऐतिहासिक एवं धार्मिक महŒव बोकेका स्थलहरू पर्यटकीय आकर्षण बनाउन सकिन्छ भनेर काम सुरु गरेको उनी बताउँछन् । ‘विकट बस्ती’को ट्याग हटाउने उपाय पर्यटनबाहेक अरू थिएन, यसैमा लगानी सुरु ग¥यौ,’ वडाध्यक्ष घिसिङले भने, ‘दुर्गम क्षेत्रमा अन्धकारमा रुमलिरहेको गाउँलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने र चिनाउने मनमा हुटहुटी त बढ्यो तर त्यसको कार्यान्वयन गर्ने मार्ग के हो थाहा थिएन ।’

रिम्पोछेदेखि सती घाटसम्म
विकासको बाटो पर्खिरहेको कैलाश र वैकुण्ठलाई स्थानीय सरकार प्रमुख भएर आएका वडाअध्यक्ष राजेन्द्र घिसिङले आफ्नो भिजन लागू गर्ने अवसरका रूपमा अघि बढाए । आफूसँग भएको भिजनको कार्यान्वयन गर्न आफैं नेतृत्वमा पुग्न जरुरी छ,’ उनी भन्छन्, ‘अरूलाई सल्लाह दिएर, सिकाएर मात्रै हुँदैन, कार्यान्वयन गर्न आफैं अघि सर्नुपर्छ, अनि मात्रै भिजनले ठोस रूप धारण गर्छ भन्ने लागेर वडाअध्यक्षको दाबेदार बनेको थिएँ ।’

गुमनाम गाउँ गन्तव्य बन्दै : RajdhaniDaily.com

२०७४ सालको स्थानीय निर्वाचनपछि स्थानीय विकासको क्रम सुरु भयो । पर्यटनको विकासलाई पहिलो प्राथमिकता छँदै थियो । यसका लागि छोटो समयमै अन्धकार गाउँलाई राष्ट्रिय प्रसारण लाइन जोडेर झिलिमिली बनाइयो । टोलटोलमा मोटरबाटो पु¥याइयो, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, सिँचाइको क्षेत्रमा काम भए ।

गाउँमाथि रहेको विष्णु कुण्डमा गुरु रिम्पोछेको प्रतिमा स्थापना गरियो । कुण्ड परिसरमा डाँफे मुनालको प्रतिमासहितको डाँफे मुनाल पार्क निर्माण गरियो । सोही वडामै पर्ने कैलाश डाँडामा महादेव शिवको मूर्ति स्थापना गरियो । सो डाँडाकै नामबाट गाउँपालिकाको नामकरण गरिएको हो । डाँडासँगै सुन्दर कैलाश गाउँ चर्चामा रह्यो । डाँफे मुनाल पार्कसँगै भाइरल पिङको स्थापना गरिएको छ । अहिले पिङ खेल्नकै लागि टाढाटाढादेखि पर्यटकहरू आउन थालेका छन् । गुरु रिम्पोछेको प्रतिमा, सुन्दर डाँफे मुनाल पार्क, भाइरल पिङ, कैलाश डाँडामा स्थापित महादेव शिवको प्रतिमा र सँगै रहेको गुफा प्रमुख पर्यटकीय आकर्षणहरू हुन् ।

गाउँ र गाउँ परिसर आफैंमा सुन्दर छ । जहाँबाट देखिने प्राकृतिक सुन्दरता अदितीय छ । उत्तरमा दन्ते लहरझैं हिमशृंखला, हरियाली पहाडहरू, दक्षिणमा तराईको समथर फाँट, हेटौंडा, वीरगन्जदेखि भारतको रक्सौल बजारसम्म देख्न सकिन्छ । वैकुण्ठ, कैलाश भन्ने बित्तिकै धार्मिक भाव जागृत गर्ने नामहरू हुन् । यीसँगै जोडिएका विभिन्न धार्मिक किंवदन्तीहरू छन्, स्थलहरू छन् । धार्मिक पर्यटनको अथाह सम्भावना गाउँको नामबाटै प्रस्ट झल्किन्छ ।

अहिले वैकुण्ठ र कैलाश गाउँको बीचमा जिपलाइन निर्माणका लागि डीपीआर (विस्तृत अध्ययन प्रतिवेदन) तयार हुँदै छ । खासगरी साहसिक पर्यटकहरूका लागि जिपलाइनको अवधारणा अगाडि बढाएको वडाध्यक्ष घिसिङ बताउँछन् । ‘वैकुण्ठ–कैलाशलाई सबै खालका पर्यटकहरूको रोजाइको गन्तव्य बनाउने उद्देश्य छ, साहसिक पर्यटकहरूलाई मध्यनजर गरेर जिपलाइन निर्माण गर्न लागिएको वडाध्यक्ष घिसिङ बताउँछन् । उनका अनुसार अबको एकदेखि डेढ वर्षभित्रमै वैकुण्ठ–कैलाशमा जिपलाइनको मज्जा लिन सक्नेछन् ।

गुमनाम गाउँ गन्तव्य बन्दै : RajdhaniDaily.com

यातायात, सञ्चार, विद्युत्को सुविधा, पर्यटकीय पूर्वाधारहरूका निर्माण र प्रचारप्रसारसँगसँगै अहिले वैकुण्ठ कैलाशमा पर्यटकहरू पुग्न थालेका छन् । विभिन्न चाडपर्व, नयाँ वर्षलगायत विशेष अवसरहरूमा आन्तरिक पर्यटकहरूको घुइँचो नै लाग्ने गरेको छ । वैकुण्ठ कैलाश भन्ने बित्तिकै पर्यटकीय क्षेत्रका रूपमा चिनिन थालेको छ ।

गाउँपालिकामा जिपलाइनको परीक्षणसमेत सफलतापूर्वक गरिएको छ । बहुवर्षीय योजना बनाई दुई स्थानमा स्टेसन, ब्रेकिङ सिस्टम (हारनेस) र तार निर्माण गरेको थियो । पर्यटकका लागि अब होमस्टेको व्यवस्थापनमा जारी छ ।

करिब ४ सय वर्षअघि बैकुण्ठमा मानव बस्ती बसाल्ने सुर्ज मोक्तानकी कान्छी पत्नी केमालोमा मोक्तानले पतिको मृत्युपछि सती गई चिहान बनाइएको ठाउँलाई संरक्षण गरी सतीघाट निर्माण गरिएको छ ।

बनिबनाउ पर्यटकीय स्थल मात्रै होइन, संस्कृतिको धरोहर पनि हो कैलाश र वैकुण्ठ । गाउँमा विभिन्न चाडपर्व, जात्रा, उत्सवहरूमा विभिन्न सांस्कृतिक कार्यक्रमहरूको आयोजना गर्न थाले । कार्यक्रम आयोजना गरेपछि वरिपरिका छिमेकी गाउँहरूबाट मेला भर्न आउनेहरू बढे । द्वन्द्वसँगै निदाएझैं भएका गाउँहरू ब्युँझेका थिए, दशकभन्दा लामो समयदेखि गाउँमा चाडपर्व, जात्रा, उत्सवहरूमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू हुनैसकेका थिएनन् । विस्तारै यस्ता गतिविधिहरू बढाउन थालियो । सांस्कृतिक हिसाबले गाउँ सम्पन्न छ । नेपालमा लोप हुन लागेको घाटु नाच, मारुनी नाच वैकुण्ठ गाउँमा जीवन्त छ । गुरुङ समुदायमा प्रचलित घाटु नाच तामाङ समुदायले नाच्ने गाउने एक मात्र ठाउँ हो, वैकुण्ठ । अन्य हिन्दू र बौद्ध धर्मसँग जोडिएका थुप्रै संस्कृतिहरू छँदै छन् । तिनलाई मान्ने र मनाउने विशिष्ट परम्परा छ । छिमेकी गाउँबाट पर्यटनको आवागमन बढ्न थालेको गाउँपाललिका उपाध्यक्ष बालकुमार मल्ल ठकुरी बताउँछन् ।

कहाँ छ कैलाश र वैकुण्ठ
मकवानपुरको उत्तरी क्षेत्रमा धादिङ जिल्लासँग सिमाना जोडिएको विकट क्षेत्र संघीयतापछि गाउँपालिकाको पहलमा पर्यटकीय गन्तव्यका रूपमा अगाडि बढ्दै गएको हो । मकवानपुरको पर्यटकीय नगर पालुङबाट करिब ३ घण्टाको कच्ची सडकको यात्रापछि कैलाशको वैकुण्ठ पुग्न सकिन्छ भने धादिङ जिल्लाको मलेखु र आदमघाटबाट पनि वैकुण्ठ पुग्ने सडक बनिसकेको छ । राक्सिराङ गाउँपालिकाको खैराङबाट पनि वैकुण्ठसम्म जान सडक निर्माण भइसकेको छ । हिउँदयाममा मकवानपुरको मनहरीबाट करिब साढे २ घण्टामै वैकुण्ठ डाँडा पुग्न सकिन्छ ।

गुमनाम गाउँ गन्तव्य बन्दै : RajdhaniDaily.com

धादिङको बेनिघाट रोराङ गाउँपालिकासँग सिमाना जोडिएको वैकुण्ठबाट धादिङ, गोरखा र रसुवा जिल्लामा रहेका हिमालहरूको आकर्षक दृश्य देख्न सकिन्छ । ऐतिहासिक गाउँका रूपमा रहेको वैकुण्ठमा तामाङले घाटु नाँच नाच्ने प्रचलन छ । घाटु नाच गुरुङको संस्कृति भएता पनि वैकुण्ठ गाउँमा मात्रै तामाङ जातिले घाटु नाँच नाच्ने संस्कृति विकास गरेका छन् । हरेक वर्ष जेठको चण्डिपूर्णिमामा मेला लाग्ने गरेको छ ।

मकवानपुरको उत्तरी भेगमा महाभारत पर्वतमा प्राकृतिक सुन्दरता, सांस्कृतिक सम्पन्नता, ऐतिहासिक एवं धार्मिक महत्व बोकेका स्थलहरूलाई समेटेर पर्यटकीय क्षेत्रका रूपमा विकास भइरहेको छ । सडक पूर्वाधारसँगै सिजनमा चल्ने बस सेवाले समेत सो क्षेत्र आन्तरिक पर्यटकको रोजाइमा परेको छ ।

संघीयता कार्यान्वयनसँगै आएको स्थानीय तहले विकट क्षेत्रका रूपमा रहेको सो स्थानलाई पर्यटनको केन्द्र बनाउनेगरी अघि बढाएको गाउँपालिका अध्यक्ष लोकबहादुर मोक्तानले बताउँछन् । उनका अनुसार गाउँपालिकाको आन्तरिक स्रोत व्यवस्थापन गरी पर्यटन विकासका लागि कैलाश वैकुण्ठलाई अघि बढाइएको हो । हाल सो क्षेत्रमा पदयात्रा गर्नेहरूको आवागमन बढेको उनले बताए । धादिङ, मकवानपुर र चितवनबाट घुम्न आउने पर्यटको संख्या पनि बढ्दोक्रममा रहेको अध्यक्ष मोक्तानले जानकारी दिए । गाउँपालिकाले कैलाश वैकुण्ठलाई पर्यटकीय क्षेत्र बनाउनका लागि प्राथमिकताका साथ लगानी गरेसँगै आकर्षक पार्कहरू, गुम्बालगायतका संरचना निर्माण गरेको उनले बताए । वैकुण्ठमा करिब १ करोडको लगानीमा जिपलाइन निर्माणको कामसमेत अन्तिम चरणमा रहेको उनको भनाइ छ ।

सरकार सहकार्य
गाउँपालिका अध्यक्ष मोक्तानका अनुसार गाउँपालिकाको पहलमा प्रदेश सरकारले २० लाख रुपैयाँ लगानी गरिदिएपछि डाँफे मुनाल पार्कनजिकैको डाँडामा आकर्षक डम्फू पार्क निर्माण गरिएको हो । ऐतिहासिक वैकुण्ठ डाँडामै गाउँपालिकाले २२ लाख रुपैयाँ लगानी गरी टासी फर्पे छोयलिङ गुम्बा निर्माण गरिएको उनले बताए । डाँफे मुनाल पार्ककै मुनिपट्टि अग्लो डाँडाको समथल ठाउँमा सधैं पानी जमिरहने पोखरीलाई विष्णु कुण्डको नाम दिइएको उनले बताए । विष्णु कुण्डलाई संरक्षण गर्दै कुण्डको बीचमा गाउँपालिकाले १५ लाख रुपैयाँ खर्चिएर राखेको बौद्ध धर्मका धर्मगुरु पद्म सम्भवको आकर्षक मूर्तिले पनि पर्यटकलाई उत्तिकै लोभ्याउँछ ।

गुमनाम गाउँ गन्तव्य बन्दै : RajdhaniDaily.com

डाँफे मुनाल पार्कसँगै प्रदेश सरकारको १० लाख रुपैयाँ लगानीमा वैकुण्ठ गाउँ सतिघाट संरक्षणस्थल पनि निर्माण गरिएको छ । करिब ४ सय वर्षअघि वैकुण्ठमा मानव बस्ती बसाल्ने सुर्ज मोक्तानकीे कान्छी पत्नी केमालोमा मोक्तानले पतिको मृत्युपछि सति गई चिहान बनाइएको ठाउँलाई संरक्षण गरी सतिघाट निर्माण गरिएको अध्यक्ष मोक्तानले बताए ।

गाउँपालिकाको १ करोड रुपैयाँ लगानीमा जिपलाइनको परीक्षण समेत सफलतापूर्वक गरेको छ । यसका लागि आवश्यक संरचनाहरू बनाइसकिएको र अब पर्यटकको आवासका लागि व्यवस्थित होमस्टे स्थापनाको योजना रहेको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरी स्थानीय सरकार र स्थानीयको साझेदारीमा होमस्टे सञ्चालन गर्ने योजना तयार गरेको अध्यक्ष मोक्तानले बताए । रिसोर्ट र होटल सञ्चालनका लागि समेत निजी क्षेत्रलाई आह्वान गर्ने गाउँपालिकाको रणनीति रहेको उनले बताए ।

वैकुण्ठको पर्यटन प्रवर्धन गर्न आगामी दिनमा स्काई साइक्लिङदेखि प्याराग्लाइडिङको सम्भाव्यता अध्ययन गर्ने योजनाअनुुसार प्रक्रिया अघि बढाइएको उनले बताए । आगामी आवमा कैलाश गाउँपालिका–१ र २ को सिमानामा रहेको गुप्तेश्वरी गुफा र कैलाश डाँडामा रहेको कैलाश गुफा जोड्ने सिँढीसहितको पैदलमार्ग बनाउने योजनाअनुसार काम भइरहेको उनको भनाइ छ ।

कैलाश गाउँपालिकाको डाडाँवासमा रहेको वैकुण्ठ ताल यसअघि नै प्रचारप्रसारमा आएको थियो । सो तालका कारण डाँडावासलाई चिनिएको थियो । धादिङ जिल्लाको सिमानामा रहेको सो तालको अवलोकन गर्न धादिङ तर्फबाट पर्यटक यसअघिदेखि नै आउने गरेको स्थानीय बताउँछन् ।

(Visited 8 times, 1 visits today)





Source link

Leave a Comment