दार्जिलिङबाट एक प्रसिद्ध युवा सङ्गीतकार आए -दिव्य खालिङ। उनको सङ्गीतमा चालिसको दशकमा नारायणगोपालले ६ वटा गीत गाए, ती सबै हिट भए, एकदम हिट। विशेषतः ‘मायाको आधारमा सम्झौता नै हुन्छ’ भन्ने बोलको गीतले त सङ्गीतकार खालिङको गीतकार व्यक्तित्व झन् आकासियो।
दिव्य खालिङको रचना र सङ्गीतमा नारायणगोपालले गाएको त्यस गीतको एउटा पङ्क्ति यस्तो छ–
‘लिनुपर्ने जे छ
दिनुपर्ने जे छ त्यो बराबर हुन्छ,
अनुरोध गरिन्छ
मायाको आधारमा सम्झौता नै हुन्छ।’
गीत चर्चित भएपछि गीतकार दिव्य खालिङको चर्चा नहुने त कुरै भएन तर सङ्गीतकार तथा गीतकार खालिङसित यो पङ्क्तिकारको लामो सम्बन्ध रह्यो र धेरै पटक यो गीत कसरी लेखिएको भनेर सोधियो। जवाफमा उनले एक मुस्कान र एक आश्चर्यमिश्रित लज्जाका साथ यति मात्र भन्थे, ‘प्रेममा परेपछि यति सहजै थाहा हुन्छ।’
दिव्य खालिङसित पुकार नामक सिने मासिकका निम्ति कुराकानी गर्दा पनि पङ्क्तिकारले यो प्रश्न नतेस्र्याएको होइन, तर उत्तर त्यही नै थियो, ‘प्रेममा परेपछि… ।’
दिव्य खालिङले यसबाहेक अरू पनि कैयन् कालजयी गीत रचना र सङ्गीत गरेका छन्। अम्बर गुरुङ, गोपाल योन्जनपछि आफैं लेख्न र सङ्गीत गर्न सक्ने क्षमता भएका दार्जिलिङबाट आएका एक शक्तिशाली सङ्गीतकारका रूपमा खालिङको सदैव चर्चा भयो। उनका अन्य गीतमा ‘मेरो सानो संसार तिमीलाई रुचेन’, ‘विपना नभई बाँचिदिने’, ‘सधैं नै म हाँसें तिमीलाई रुवाई’, ‘जता हिँड्यो बैगुनी यो माया’। यी सबै गीत नारायणगोपालकै स्वरमा गुन्जिएका छन्। नारायणगोपालसित खालिङको करिब दश वर्षको लामो सानिध्य र सहकार्य रह्यो तर हरदम ताजा, निकट र नयाँ।
दुवैले चालिसको दशकमा गजबका गीत बनाए र गाए तर ‘मायाका आधारमा’ गीतको बोलमा भएको एक पङ्क्तिजस्तै सुनिने अर्को पङ्क्ति नारायणगोपालले गोपाल योन्जनको सङ्गीतमा बिसको दशकमै गाइसकेका थिए–
‘तिमीसित लिनु पनि छ
तिमीलाई दिनु पनि छ,
हाम्रो हिसाब–किताबमा सच्याउनु पनि छ
त्यो हिसाब–किताब भुलेर मैले बेहिसाब मन पराएँ
जे होस् मैले तिमीलाई चुपचाप मन पराएँ।’
नारायणगोपालले गाएको यस गीतका गीतकार चाहिँ अर्कै व्यक्ति थिए, राममान तृषित । राममान तृषितको यो गीत डायरीमा पढ्नेबित्तिकै नारायणगोपालले मन पराएर पाना च्यातेर लिएका थिए भनेर राममान तृषित खुब सम्झिन्छन्। आज तृषित हामीमाझ छैनन् । उनी बितेको पनि करिब बिस वर्षबढी भइसक्यो तर उनको यो गीतको चर्चा सधैं भइरहन्छ।
गीतकार राममान तृषित र नारायणगोपाल बालसखा थिए। गीतकार राममान तृषितको रचनाको ‘पक्षीको पङ्खले धरतीको याद दियो’ बोलको गीत गाएर नारायणगोपाल रेडियो नेपालको स्वरपरीक्षामा पास भएका थिए।
यो गीतलाई राममानको रचनामा प्रेमध्वज प्रधान र उनका साथी माणिकरत्न स्थापितले संयुक्त रूपमा सङ्गीत गरेका थिए। राममानको नेतृत्वमा नारायणगोपालकै घरछेउमा नव कला समूह खोलेर राममान तृषितले एउटा साङ्गीतिक टोलीको नेतृत्व गरेका थिए।
गीतकार राममान तृषितको पूरा नाउँ राममान श्रेष्ठ हो। पेसाले उनी पछि चिकित्सक भए। त्यसैले धेरै ठाउँमा उनको नाउँ डा. राममान तृषित पनि हुन गयो। डा. राममान श्रेष्ठ वीर अस्पताल र पछि वीरगन्जको सरकारी अस्पतालमा प्रमुख भएर बसे। राममान राम्रो तबला पनि बजाउँथे अर्थात् एक कुशल वाद्यवादक पनि हुन्।
उनले सङ्गीतकार नातिकाजी श्रेष्ठलाई गुरुदाइ मानेका थिए। राममानका धेरै गीतमा नातिकाजीले सङ्गीत गरेका छन् तर सङ्गीतकार शिवशंकर मानन्धरका प्रिय गीतकार थिए– राममान तृषित।
गीतकार तृषित आफैं भन्थे– गीतकार भावुक काठमाडौं छोडेर बाहिर गएपछि गीतकार किरण खरेल र म शिवदाइसित नजिक भयौं। अनि हाम्रा धेरै गीतमा उनले सङ्गीत गरे।
शिवशंकरको सङ्गीतमा राममान तृषितका रचना ‘मान्छेको माया यहाँ खोलाको पानी जस्तो’ नारायणगोपाल र ज्ञानु राणाको हिट गीतमध्ये एउटा हो। यसबाहेक राममान तृषित, शिवशंकर र तारादेवीका संयुक्त गीत धेरै चर्चित भए। गायिका तारादेवीले गाएको ‘दिलमा हजुर आएर मात्र मलाई थाहा भो, मेरो पनि जवानी आएको रहेछ’ गीत त्यो समयको पप गीत मानियो वा भनौं तारादेवीले त्यो बेलाको गायनशैलीलाई नै तोडिदिइन्।
तारादेवी र राममानको जोडी यस्तो बन्यो, तारादेवीले गाएका राममान तृषितका गीत हिट भइहाल्थे। भारतमा मदनमोहन र लता मङ्गेशकरको जोडीजस्तै नेपालमा तारादेवी र राममानका संयुक्त गीत थिए। राममानका कैयन् गीतमा तारादेवी स्वयंले पनि सङ्गीत गरेकी छिन् भने कैयन् गीतमा राममानको सङ्गीतमा तारादेवीले गाएकी छिन्।
गीतकार र गायिकाको यस्तो जोडी विरलै देख्न पाइन्छ। तारादेवीको अर्को हिट गीत–
‘एक फूल झरेर के भो,
फेरि वसन्त बहार आउँछ।’
यो गीतमा तारादेवीको स्वर, राममानको शब्द र शिवशंकरको सङ्गीतले करामत गरेको छ। भन्न सकिन्छ, तारादेवीको स्वर नै राममानको गीतका लागि बनेको हो कि?
गीतकार राममान तृषितले रचना गरेको गीत ‘तिम्रो झझल्को जूनको निहारले ल्याउँछ’ मा तारादेवीको आफ्नै सङ्गीतमा गाएर उनले विशेष खुबी देखाएकी छिन्। त्यसबाट थाहा हुन्छ, तारादेवी गायिका मात्र होइनन्, एक कुशल सङ्गीतकार पनि हुन् तर यो विषयको चर्चा नै भएको छैन।
राममान तृषितको शब्द र नातिकाजीको सङ्गीतमा सिनेनायक सिपी लोहनीले गाएको ‘एउटा तारा झर्दा पनि सिङ्गै आकाश रित्तो लाग्छ’ त्रासदीपूर्ण गीतपछि राममान तृषितले सायद लेखेनन्। राममान कवि हुन्, कथाकार, नाटककार अनि मुक्तककार पनि हुन्। उनका पछिल्ला कृतिमा राजनीतिक निबन्ध पनि परेका छन्।
राममान तृषितका रचनामा प्रेमध्वज प्रधान, माणिकरत्न, पिएल श्रेष्ठ, ध्रुव केसी, निर्मला श्रेष्ठ, लोचन भट्टराई आदिले गाएका छन् तर प्रेमध्वजले अन्य गीतकार रत्नशमशेर थापा, किरण खरेलका जस्तै राममानका गीतलाई पनि निकै न्याय गरेका छन्। राममानको रचनामा प्रेमध्वजले गाएको ‘माया नमार मायालु’ एक क्लासिक गीत नै मान्न सकिन्छ।
माणिकरत्नले गाएको ‘यो कस्तो रात दियो बाल्दा मुटु जल्छ’ पनि अति लोकप्रिय गीतमध्ये एउटा हो । गायक फत्तेमान राजभण्डारीले गाएको ‘कस्तो माया लाइएछ’ बिर्सनै नसकिने गीतमध्ये एउटा हो।
गीतकार राममान तृषित जीवनकालको अन्तिम समयसम्म गीत लेखनमा सक्रिय रहे। उनले पछिल्लो पटक काठमाडौं महानगरपालिकाको अनुरोधमा ‘कान्तिपुर गाथागीत’ पनि लेखे।
ती सबै गीत स्मृतिमा अजर अमर छन्। गीतकार राममान एक अद्वितीय गीतकार हुन् तर उनको चर्चा धेरै कम हुने गर्छ, नारायणगोपालको पुण्यतिथिमा मात्र उनको सन्दर्भ जोडिन्छ। बाँकी वर्षभरि उनका गीत बज्छन् तर नाम र योगदानको चर्चा हुन्न। गीतकार तृषितप्रति हार्दिक श्रद्धाञ्जली! अनि राममान तृषितका गीतमा जीवन भर्ने गायिका तारादेवीप्रति हार्दिक सलाम!
प्रकाशित: २६ पुस २०८२ १०:५९ शनिबार
