इजरायलले शत्रुता अन्त्य गरेपछि मात्रै बन्धकलाई मुक्त गर्ने हमासले बताएको छ ।
गाजामा इजरायलको शत्रुता कायम रहँदासम्म बन्धकमुक्ती संभव नरहेको प्यालेस्टाइन लडाकू समूह हमासले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विश्वले यसलाई स्वीकारेको भएपनि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यसलाई अस्वीकार गर्दै आएको हमासले बताएको हो ।
द्वन्द्वलाई लम्ब्याइरहने नेतन्याहूको चाहनाले इजरायली बन्दी र प्यालेस्टिनी नागरिक दुवैको पीडालाई लम्ब्याइरहेको हमासले आरोप लगाएको छ ।
हमाससँग निकट इजिप्टका स्रोतले इजरायल र इजिप्टका अधिकारीहरूले सम्भावित युद्धविराम र बन्धक मुक्त सम्झौतासम्बन्धी मस्यौदा प्रस्तावहरू शुक्रबार आदानप्रदान गरेको बताएका छन् ।
स्रोतका अनुसार इजिप्टको प्रस्ताव र अमेरिकी विशेष दूत स्टिभ विटकोफले अघि सारेको छुट्टै योजनाबीचको भिन्नतालाई समाधान गर्न दुवै पक्षले काम गरिरहेका छन् ।
इजिप्टले प्यालेस्टिनी कैदीहरूको रिहाईको बदलामा पाँचदेखि आठ जीवित बन्धकहरू र धेरै शवहरू रिहा गर्ने प्रस्ताव गरेको थियो ।
साथै, राफा सीमा नाका खोल्ने, गाजामा मानवीय सहायताको प्रवेश गर्ने र गाजाबाट इजरायली सेनालाई क्रमिक रूपमा फिर्ता गर्ने प्रस्ताव इजिप्टले गरेको थियो ।
इजरायलका रक्षामन्त्री इजरायल काट्जले गाजा पट्टीका अधिकांश भूभागमा इजरायलले चाँडै नै आफ्नो अभियान विस्तार गर्ने बताउँदै हमासलाई हटाउने, इजरायली बन्धकहरूलाई रिहा गर्ने र युद्ध अन्त्य गर्ने यो अन्तिम कदम हुने प्रष्ट पारेका छन ।
इजरायलले मार्च २ देखि गाजामा सबै मानवीय सहायता प्रवेशमा रोक लगाएको छ । त्यसपछि उसले मार्च १८ मा हमाससँगको दुई महिनाको युद्धविराम अन्त्य गरेको थियो ।
गाजा क्षेत्रमा घातक हवाई र जमीनी आक्रमण इजरायलले पुनः सुरु गरेको छ ।
गाजाका स्वास्थ्य अधिकारीहरूले इजरायलले गरेको युद्धविरामपछिको आक्रमणमा हालसम्म १ हजार ५६३ प्यालेस्टिनीको मृत्यु भएको छ । अन्य ४ हजार ४ जना घाइते भएका छन ।