प्रकाशित मिति : जेष्ठ १, २०८२ बुधबार
उत्तरी गाजामा भएको इजरायली हवाई आक्रमणमा कम्तीमा ५० जना प्यालेस्टिनीको मृत्यु भएको छ ।
इजरायली हवाई आक्रमणको श्रृंखलामा कम्तीमा ५० जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको स्थानीय अस्पतालले दिएका छन ।
इन्डोनेशियन अस्पतालका अनुसार जबालिया सहर र शरणार्थी शिविरमा रातभरि गरिएका बमबारीमा मारिएका व्यक्तिहरूमध्ये २२ जना बालबालिका र १५ जना महिला रहेका छन्।
अनलाइनमा साझा गरिएका भिडियोहरूमा कम्तीमा दर्जनौं शवहरू जमिनमा देखिन्छन्। इजरायली सेनाले उक्त घटनाबारे अनुसन्धान भइरहेको बताएको छ।
यसअघि मंगलबार, जबालिया र छेउछाउका क्षेत्रहरूमा बसोबास गर्ने नागरिकहरूलाई त्यहाँबाट निस्कन चेतावनी दिइएको थियो । प्यालेस्टिनी सशस्त्र समूहले इजरायलतर्फ रकेट प्रहार गरेपछि चेतावनी आएको हो ।
त्यसैबीच, संयुक्त राष्ट्रसंघका मानवीय मामिला प्रमुखले सुरक्षा परिषदलाई गाजामा संहार रोक्न तत्काल कदम चाल्न आग्रह गरेका छन्।
न्युयोर्कमा मंगलबार भएको बैठकमा बोल्दै टम फ्लेचरले इजरायलमाथि जानाजान र लाज नमानिकन नागरिकहरूमाथि अमानवीय अवस्था सिर्जना गरिरहेको आरोप लगाए।
फ्लेचरले इजरायललाई १० हप्तादेखिको गाजा नाकाबन्दी अन्त्य गर्न र अमेरिकी इजरायली सहकार्यमा निजी कम्पनीमार्फत मानवीय सहायता वितरण गर्ने योजनालाई हिंसा र विस्थापनको अर्को मुखौटा भनेका थिए ।
तर इजरायलका राष्ट्रसंघ प्रतिनिधि डेनी ड्याननले यी आरोपहरूलाई निराधार र अपमानजनक भनेका छन्।
स्थानीय स्वास्थ्य अधिकारीहरूका अनुसार बुधबार गाजा भर भएका आक्रमणहरूमा कुल ७० जनाको मृत्यु भएको छ । नागरिकहरूले रातभर धेरै विस्फोटहरू सुनेको बताएका छन्।
इजरायली सेनाले मंगलबार राति जबालिया सहर, शिविर र आसपासका पाँच क्षेत्रलाई तत्काल खाली गर्न अन्तिम चेतावनी दिएको थियो।
इजरायलका अनुसार गाजाबाट प्रक्षेपण गरिएको तीन वटा रकेटमध्ये दुई वटा वायुसेनाले रोकेको थियो भने तेस्रो खुला क्षेत्रमा खसेको थियो।
प्यालेस्टिनी इस्लामिक जिहाद समूहले यो हमला इजरायली ूहत्याकाण्डकोू प्रतिकारमा गरेको दाबी गर्यो।
संयुक्त राष्ट्रसंघका अनुसार गाजाका २।१ मिलियन जनसंख्याको २० प्रतिशत पुनः विस्थापित भएका छन् । ७० प्रतिशत क्षेत्र या त इजरायली सैन्य “नो गो जोन” मा पर्छ या त खाली गराउन भनिएको छ।
खाद्य र इन्धनको चरम अभावले संयुक्त राष्ट्रसंघद्वारा सहयोग प्राप्त सबै बेकरीहरू र १८० मध्ये ६० प्रतिशत भन्दा बढी सामुदायिक भान्साहरू बन्द भएका छन्।