गाजामा परिवार गुमाएकी प्यालेस्टिनी महिला अमेरिकी हिरासतमा बिरामी, उपचारपछि पुनः हिरासतमा



प्रकाशित मिति : माघ २७, २०८२ मंगलबार

गाजामा परिवार गुमाएकी प्यालेस्टिनी महिला अमेरिकी हिरासतमा बिरामी, उपचारपछि पुनः हिरासतमा

तस्वीर स्रोत : आइस

गाजा युद्धका क्रममा आफ्ना दर्जनौँ परिवार सदस्य गुमाएकी एक प्यालेस्टिनी महिला अमेरिकाको आप्रवासन हिरासतमा रहेका बेला बिरामी परेपछि अस्पताल भर्ना गरि पुनः हिरासतमा फर्काइएको छ। अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डिएचएस)का अनुसार ३३ वर्षीया लेकाआ कोर्डियालाई ज्वरो आएपछि टेक्सासस्थित अस्पतालमा उपचार गरिएको थियो।

डिएचएसका अनुसार फेब्रुअरी ६, २०२६ को साँझ टेक्सासको प्रेरील्याण्ड डिटेन्सन सेन्टरमा रहेका स्वास्थ्यकर्मीहरूले कोर्डियाको स्वास्थ्यमा समस्यमा आएपछि थप परीक्षणका लागि टेक्सास हेल्थ हुगुले अस्पतालमा भर्ना गराएका थिए। उपचारपछि उनलाई सोमबार पुनः हिरासत केन्द्रमै फर्काइएको डिएचएसले जनाएको छ।

अमेरिकामा बस्दै आएकी कोर्डियालाई गत वर्ष न्युजर्सीस्थित न्युवर्क इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस) कार्यालयमा आप्रवासन अधिकारीहरूसँगको भेटका क्रममा पक्राउ गरिएको थियो। पक्राउ पर्दा उनी कानुनी बसोबास अनुमति प्राप्त गर्ने प्रक्रियामा रहेको जनाइएको छ। उनकी आमा अमेरिकी नागरिक हुन्।

कोर्डियाको परिवार र कानुनी टोलीले अस्पतालमा रहेका बेला उनको स्वास्थ्य अवस्थाबारे अमेरिकी अधिकारीहरूबाट कुनै जानकारी नपाएको गुनासो गरेका छन्। उनका आफन्त हम्जाह अबुशाबानले “उनी अस्पतालबाट बाहिरिएकीमा राहत भए पनि विगत तीन दिनमा उनको स्वास्थ्य अवस्था के भयो भन्नेबारे अझै जानकारी नभएको” बताएका छन्।

डिएचएसले भने कोर्डियालाई आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराइएको दाबी गरेको छ। यता मानवअधिकार संगठनहरूले आइस हिरासत केन्द्रहरूको अवस्था अमानवीय रहेको भन्दै पटक–पटक चिन्ता व्यक्त गर्दै आएका छन्। अमेरिकी सरकारले भने यस्तो आरोप अस्वीकार गर्दै आएको छ।

एम्नेस्टी इन्टरनेशनलका अनुसार सन् २०२३ को अन्त्यदेखि गाजामा भएको सैन्य कारबाहीका क्रममा कोर्डियाका परिवारका १७५ सदस्यको मृत्यु भएको छ।

अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डिएचएस)ले कोर्डियालाई म्याद सकिएको विद्यार्थी भिसा नवीकरण नगरी बसेको आरोपमा पक्राउ गरिएको जनाएको छ। साथै, सन् २०२४ मा कोलम्बिया विश्वविद्यालयमा भएको प्रो–प्यालेस्टिनी प्रदर्शनका क्रममा उनलाई स्थानीय प्रहरीले पक्राउ गरेको डिएचएसको दाबी छ।

कोर्डिया तथा अन्य प्रदर्शनकारीहरूले भने सरकारले गाजासम्बन्धी इजरायलको कारबाहीको आलोचनालाई गलत रूपमा उग्रवाद समर्थनसँग जोड्ने प्रयास गरेको आरोप लगाएका छन्। कोर्डियाले आफूलाई प्यालेस्टिनी अधिकारको पक्षमा बोलेका कारण लक्षित गरिएको दाबी गर्दै हिरासत केन्द्रको अवस्था फोहोर, भीडभाडयुक्त र अमानवीय रहेको बताएकी छन्।

यसैबीच, राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले प्रो–प्यालेस्टिनी प्रदर्शन नियन्त्रण गर्न विश्वविद्यालयहरूलाई संघीय अनुदान रोक्ने चेतावनी दिएको तथा विदेशी प्रदर्शनकारीहरूलाई देशनिकाला गर्ने प्रयास गरेको थियो।





Source link

Leave a Comment