प्रकाशित मिति : जेष्ठ २४, २०८२ शनिबार
इजरायली सेनाले गाजाबाट एक थाई बन्धकको शव उद्धार गरेको जनाएको छ। थाई नागरिक नत्तापोङ पिन्टा हमासको अक्टोबर ७, २०२३ को आक्रमणपछि गाजामा अपहरणमा परेका थिए।
इजरायली रक्षा मन्त्री इजरायल काट्जका अनुसार, पिन्टाको शव मुजाहिदीन ब्रिगेड्स नामक प्यालेस्टाइनी समूहको नियन्त्रणमा थियो र दक्षिण गाजाको राफाह क्षेत्रबाट फेला पारिएको हो। थाइल्यान्डमा रहेका उनको परिवारलाई घटनाबारे जानकारी दिइएको छ।
कृषि मजदुर रहेका पिन्टा किबुत्ज नीर ओजबाट अपहरणमा परेका थिए, जहाँ हमासको आक्रमणका क्रममा सयौं मानिस मारिएका वा अपहरणमा परेका थिए। इजरायली सेनाको भनाइ अनुसार पिन्टालाई जीवित अपहरण गरी पछि हत्या गरिएको थियो। सोही समूहले दुई इजरायली-अमेरिकी बन्धकको पनि हत्या गरी शव गाजामा लगेको थियो।
यता, शनिबार गाजामा गरिएको इजरायली हवाई आक्रमणमा ४५ जना प्यालेस्टाइनीको मृत्यु भएको छ। गाजाको उत्तरी सवरा क्षेत्रमा मात्र १५ जनाको मृत्यु र ५० भन्दा बढी घाइते भएको स्थानीय स्वास्थ्य अधिकारीहरूले जनाएका छन्। हवाई आक्रमण बहुमंजिला आवासीय भवनलाई लक्षित गरिएको भए पनि वरपरका धेरै घरमा क्षति पुगेको प्रत्यक्षदर्शीले बताएका छन्।
इजरायली सेनाले जबालिया क्षेत्र खाली गर्न आग्रह गर्दै त्यहाँ विद्रोहीहरूबाट रकेट प्रहार भएको जनाउँदै पुनः आक्रमणको चेतावनी दिएको छ।
यसबीच, प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले गाजाका अस्पतालहरूमा इन्धन अभाव चुलिएको बताएको छ। मन्त्रालयका अनुसार, अस्पतालहरूमा अब मात्र तीन दिनको इन्धन बाँकी छ, तर इजरायलले अन्तर्राष्ट्रिय राहत संस्थाहरूलाई इन्धन भण्डारण क्षेत्रमा प्रवेश दिन अस्वीकार गरिरहेको छ।
हालसम्म यसबारे इजरायली पक्ष वा इजरायलको मानवीय समन्वय संस्थाले कुनै प्रतिक्रिया दिएका छैनन्।