गाउँ आएको बाटो : दाजै, कविता त गाउँमै छ

गाउँ आएको बाटो : दाजै, कविता त गाउँमै छ


साझा प्रकाशनले ५० को दशकमा भूपाल राईको कवितासंग्रह प्रकाशन गरेको छ । ‘दाजै ! कविता त गाउँमै छ’ शीर्षकको कवितासंग्रहमा एउटा सोही शीर्षकको कविता छ । पूर्वी पहाडका राईका कवितामा केही पंक्ति यस्ता छन्-

भौतिक साँचोको करामत हो कि हैन

त्यो विचार्दै

दुई मिनेट अडेर एकछिन सोच्ने वा

दुई कदम पछाडि फर्केर हेर्ने

आशयको रिट हाल्न

एक झोला कविता बोकेर

सहर झरेको छु

मलाई नपछ्याउनु दाजै

कविता गाउँमै छ ।

भारतीय लेखक गुरूचरण दासले आफ्नो एउटा पुस्तकमा व्यापारमा पोख्त मारवाडी समुदायको बारेमा लेखेका छन्- आफ्नो थातथलोमा आफूलाई कमजोर (आर्थिक रूपमा) मारवाडी मात्र थातथलो छोडेर हिंड्छन् । मारवाडी समुदाय धेरै हकमा नयाँ गन्तव्यमा पुगेर आर्थिक रूपमा सफल भएका कारण समुदायमा अध्ययन गरेर त्यो भनिएको होला । नभए अधिकांश समुदायका मान्छे आफ्नो थातथलोमा कमजोर (मूलत: आर्थिक रूपमा) भएपछि मात्रै ठाउँ छोड्छन् । पृथ्वीनारायण शाहले आधुनिक नेपालको जग बसालेपछि राणाहरूको राजनीतिक कोपभाजनमा परेर (धेरै हदसम्म परिवारजन्य एकाई) बाहेक देशमा जति पनि आन्तरिक बसाइँसराइ भए त्यसमा धान र चामल खान पाउनुको उत्कट अभिलाषाले पनि ठूलो भूमिका खेलेको थियो ।

निशान्त ढुंगाना

जसै तराई-मधेशका धनाजंगलहरू मासेर, झोडा फाँडेर तराईका जमिनमा ठूलो मात्रामा खेती (धान) हुन थाल्यो,  पहाडमा बस्नेहरू अवसर खोज्दै तराई झर्न थाले । तराईको समथर भूमिमा नयाँ सहर बसाल्न सजिलो भयो,  राज्यको पकड बन्दै जाँदा अल्पयोजनायुक्त सहरहरूको निर्माण हुँदै गए । अविकसित सहर बन्दै जाँदा राज्यसँगै व्यापार जोडियो, व्यापारका वस्तु तथा विनियम जोडियो र सहरको पहुँच नपुगेको स्थानसम्मलाई राज्य तथा समुदायको स्तरमा सकेसम्म सडकले जोड्यो ।

धुलौटे सडकले सहरलाई गाँउ पुर्‍यायो र सडकले सहरलाई गाउँ पुर्‍याउनु अगावै गाउँ पुर्‍यायो उपभोक्तावादलाई, पुँजीवादलाई र सँगै पुर्‍यायो गाडीलाई र गाडी चढेर गाउँलेहरू कवि राईले भनेको जस्तै गरेर रिट हाल्न सहर आउन सक्ने भए । गाडी नहुँदा, सडक भन्न लायकको सडक नहुँदा समेत गाउँबाट प्रत्येक वर्ष रिट हाल्न आउने मान्छेको कमी त थिएन तर सडकले सहज बनायो ।

गाउँ आएको बाटो, बाटो हुँदै आएको सहर’

ढुकुरको थैलीबाट कोदाको ब्याड सारेर

एक-एक ठेली लोककथा मान्छेभित्र ज्युँदैछ

किंवदन्तीको एकेक सूत्रमा बाँधिएको

त्यो भव्य विरासत र

छोरीको वियोगमा विक्षिप्त

थुविक्मा चरीको दुःखान्त गीत

जम्मैजम्मै त्यहीं छाडेको छु

मलाई नसराप्नु दाजै !

कविता गाउँमै छ ।

नवीन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’ मुख्य चरित्रको भूमिकामा एक परिवार छन् । राई माइला (दयाहाङ राई), माइली (पशुपति राई) र छोरो बिन्द्रे (प्रसन राई) को सानो परिवारको लय-गति गाउँमा बिजुली, सडक, गाडी र टिभी आएपछि खलबलिएको छ । युवावस्थामा सके ब्रिटिश, नसके इन्डियन, त्यो पनि नसके खाडीका देशहरूमा लाहुर जाने चलन चलिरहेको पूर्वीपहाडमा राई माइला अपवाद छन् । आर्थिक र सामाजिक रूपमा कमजोर माइलाले थातथलो छाडेका छैनन्, अझ छाड्ने विचार गर्दा श्रीमतीको मायाले रोकिएका छन् ।

माइला चित्रा बुन्छ, फिपी बनाउँछ, कोदो बेच्छ, कुखुरा बेच्छ र पैसा कमाउन प्रयासरत छ । गाउँमा बिजुली आएको छ, बिजुलीले खर्च बढाएको छ, माइलाले घरमा प्रयोग गरिरहेको बिजुलीको भुक्तानी पैसामा गर्नु परेको छ । गाउँमा लाहुर जानेसँग पैसा छ, लाहुरे भएर आएकासँग पैसा छ तर माइलासँग सीप छ । सीपले बिजुलीको भुक्तानी हुँदैन, बिन्द्रेलाई बिजुलीको बानी छ, तर माइलासँग पैसा छै, सीप छ । सीपमा पनि रैथाने सीप, बाउबाजेको पालोदेखिको सीप, हस्तान्तरण भएर आएको सीप छ ।

गाउँमा सडक आएको छ, बिजुली, गाडी, गाडीसँग कोकोकोला, भोड्का, मोबाइल र टिभी आएको छ । माइलाको छोरा बिन्द्रेलाई सडकमा गाडी कुँदाएर ड्राइभर बन्न, बिजुलीमा पढ्न, कोकोकोला खान, मोबाइल चलाउन र टिभी हेर्न मन छ । माइलालाई छोरालाई सबै थोक दिन मन छ तर माइलासँग दिनलाई सीप छ जुन प्रति छोरालाई चासो छैन र छोरालाई चासो भएको कुरा दिन माइलासँग पैसा छैन ।

गाउँ आएको बाटो : दाजै, कविता त गाउँमै छ

माइलालाई बिन्द्रेको असाध्यै माया लाग्छ । सोही उमेरमा माइलाकी एक छोरी हराएकी छ । छोरा अब छोरीको उमेरको पुगिसक्यो । माइलालाई छोरो पनि हराउला कि भन्ने पीर छ, सन्तान गुमाएको हरेक आमाबुबालाई सन्तान गुमाउँदाको समयमा अर्को सन्तानको उमेर आइपुग्दा देखिने डर माइलाको मनमा प्रष्ट छ ।

एकदिन बिन्द्रे हराउँछ दिनभरि र बेलुका आएर आमाबाबुको हातमा चकलेट राखिदिन्छ । माइलालको संसार पहेंलो छ, सुनौलो छ, बिन्द्रेको संसार निलो छ, बिन्द्रेलाई चकलेटसँग सरोकार छ, माइलालाई छैन । माइलालाई बिन्द्रेको खुसीसँग सरोकार छ ।

माइलीलाई दुवैसँग सरोकार छ, श्रीमानलाई गलत कदम गर्नबाट रोक्नु छ भने छोरालाई सुधारिएको पनि देख्नु छ । माइलीलाई छोराको खुसीको लागि घरमा बिजुली पनि चाहिएको छ, उता बिजुलीको पैसा तिर्ने गरी पैसा कमाउन विदेश जान्छु भन्ने श्रीमान् पनि साथ चाहिएको छ ।

***

निर्देशक सुब्बाले फिल्ममा दयाहाङबाट गज्जबको काम निकालेका छन् । मुस्ताङको थकाली, काठमाडौं वरपरको तामाङ र पूर्वको लिम्बू क्यारेक्टरमा ‘स्टेरियो टाइप’ भएका दयाहाङले नि:सन्देह करिअरको सबै भन्दा राम्रो काममध्येको एक काम गरेका छन् । पशुपति राईको भूमिका पनि अत्ति नै प्रशंसनीय, फिल्म क्षेत्रले आशा राख्नुपर्ने किसिमको छ । प्रसनले देखाएको लोभलाग्दो सम्भावना अगामी दिनमा नेपाली सिनेमाको लागि सुखद् कुरा हो ।

निर्देशक सुब्बाले फिल्ममा देखाएको रङ संयोजन, ध्वनिको काम पनि दर्शकलाई फ्रेस गराउने किसिमको छ भने फिल्मको सिनेम्याट्रोग्राफी गज्जब छ । ‘सर्ट सट’मा खिचिएको सिनहरूले दर्शकलाई पात्र अझ मानवीय र नजिकैका पात्र झैं महसुस गराउने खालका छन् । यद्यपि केही दृश्य बिझाउने खालका पनि छन् ।

फिल्ममा देखाइएको सुप्तुलुङ पूजा गरिएको दृश्य र धामीले आत्मा शान्तिलाई गरिरहेको यत्न सबै उत्कृष्ट किसिमले संयोजन गरिएको छ, नकि देखाउनैपर्ने बाध्यताले राखिएको जस्तो लाग्छ । दृश्य नथोपरी कसरी संस्कृतिक पक्षलाई संयोजन गर्दै लैजाने भन्ने कुरा सुब्बाबाट अरू निर्देशकले पनि सिक्नुपर्ने देखिन्छ । फिल्ममा राखिएको संवाद पनि अतिशय भावुकताबाट प्रेरित देखिंदैन । संवादमा अक्सर चिप्लिने नेपाली फिल्मका श्रेणीमा यस फिल्मको संवाद पर्ने देखिंदैन । सुब्बाले पात्र केन्द्रित जुन दु:खान्त कविता फिल्म मार्फत देखाउन खोजेका छन्, त्यसमा उनको तारिफ गर्नैपर्छ । भूपाल राईले ५० को दशकमा देखेको कवितालाई सुब्बाले पुन: गाउँमै देखाउन सफल भएका छन् । तर विकास र कविता फरक हुन् ।

र, विकासको विषयमा असहमति

सुब्बाले फिल्ममा माइला र माइलाको परिवारमा भैपरी आउने सबै समस्यालाई सडक र सडकसँगै आएको गाडी र गाडीले ल्याएको पुँजीवादी उपभोक्तावादको कारणले भन्ने विचारलाई प्रश्रय दिएको देखिन्छ । कथाको समय ठ्याक्कै किटान नभएपनि भोजपुरबाट नाङ्लोलगायत बाँसले बनाएको वस्तु बोकेर तल तराई झरेर बेच्ने चलन नयाँ होइन । माइलाको बाउबाजेले तराई झरेर सामान बेच्ने समय र माइलाले बेच्ने समय पक्कै एउटै होइन । एक पुस्ताको अन्तरमा अरूणमा धेरै पानी बगिसकेको हुन्छ । विकास कसको र केको मूल्यमा भन्ने प्रश्न एकदमै जायज छ । आदिवासी र रैथाने संस्कृतिको रक्षा गर्दै सबै पक्षलाई विकासको मर्मसँग आत्मसात गर्दै अघि बढाउनुपर्ने आजको समयको माग पनि हो र त्यसको आवश्यकता पनि छ ।

तर सडकसँगै गाउँमा कोकोकोला र भोड्का पस्नु र गाउँको कोदाको रक्सी भने राज्यको नजरमा अखाद्य रुपमा पोखिनुमा राज्यले गर्ने अर्थोपार्जनसँग पनि जोडिन्छ । राज्यले करयोग्य वस्तुलाई बजारमा तबसम्म निर्वाध रूपमा छोड्छ जबसम्म सो वस्तुले ठूलो मानवीय क्षति गर्ने आधार फेला पार्दैन । राज्यले कोदोको रक्सीलाई बजारबाट निस्तेज पार्नुमा राज्यले उठाउन नपाउने करको कारणले पनि हो । स्थानीय रूपमा उत्पादित रक्सीमा राज्यले कर उठाउन पाएको दिन यस्ता वस्तु पनि बजारमा छ्यापछ्यापती देखिने नै छन् ।

माटोसँग जोडिएको रैथाने सीपले बुनिएको चित्रा र फिपीलाई सडकको जञ्जालले मात्र होइन, प्लास्टिकको वस्तुको मूल्यको तुलनामा चित्रा र फिपीको मूल्यले विस्थापित गर्न भूमिका खेलिरहेको हुन्छ । मान्छे जति संस्कृतिप्रति भावनात्मक हुन्छ त्यो भन्दा पनि आर्थिक विषयप्रति सचेत हुन्छ । आर्थिकरूपमा घाटा लाग्ने काम मान्छेले गर्दैन । सोझा राई माइलालाई नबुझेको कुरा फिल्ममा यही लाग्छ । प्रेम सुब्बाले निर्वाह गरेको लाहुरे भन्ने पात्रले भने यस कुरालाई बुझेको भन्ने देखिन्छ ।

लाहुर बसेर गाउँ फर्केको लाहुरेले ट्रयाक्टर चलाउनु, गाउँमा बियर, भोड्का बेच्ने पसल थाप्नु र छोरालाई जर्मनी पठाउने तयारी गर्नुले लाहुरेलाई बदलिंदो आर्थिक, सामाजिक विषयसँग तादम्यता भएको देखाइएको छ भने राई माइलाले सो मर्म नबुझ्न सक्दा अन्तत: गाउँ छोडेरै जानुपर्ने अवस्था छ । सडकले गाउँलाई सहर नजिक भन्दा सहरलाई गाउँ नजिक पुर्‍याइरहेको हुन्छ । पुँजीवादी व्यवस्थाले सदैव आफ्नो बजार खेजिरहेको हुन्छ र वस्तुले मौका पाउनासाथ प्रतिस्पर्धीको घाँटी रेट्छ । चित्रा र फिपीको हकमा त्रिपाल र प्लास्टिकका भाँडाकुँडाले गरेको त्यही हो ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School