गाउँपालिका नेतृत्वपछि संघीय राजनीतितर्फ: अमेरिकी जीवन छोडेर नेपाल फर्केका बंशलाल तामाङ



प्रकाशित मिति : माघ २६, २०८२ सोमबार

गाउँपालिका नेतृत्वपछि संघीय राजनीतितर्फ: अमेरिकी जीवन छोडेर नेपाल फर्केका बंशलाल तामाङ

नेपालको राजनीतिमा विदेशमा बस्ने नेपालीहरूको योगदान महत्वपूर्ण छ । अमेरिका, अष्ट्रेलिया, युरोप लगायत अन्य मुलुकमा लाखौँ नेपालीहरू कडा परिश्रम गरिरहेका छन्। उनीहरूले पठाएको रेमिट्यान्सले नेपालको अर्थतन्त्रलाई बलियो मात्र बनाएको छैन, परिवारको पालनपोषणमा समेत ठुलो टेवा पुर्‍याएको छ। यो योगदान आर्थिक क्षेत्रमा मात्र सीमित नभई राजनीतिक क्षेत्रमा पनि यसको प्रत्यक्ष प्रभाव देखिन थालेको छ। विदेशबाटै फोन, सन्देश वा सामाजिक सञ्जालमार्फत परिवारका सदस्यहरूलाई मतदानका लागि सुझाव दिने वा दबाब दिने परिपाटीले नेपालको राजनीतिलाई प्रभावित पारेको देखिन्छ।

तर यो प्रभाव केवल सुझावमा मात्र सीमित छैन। केही नेपालीहरूले आफ्नो स्थायी बसोबास (ग्रीन कार्ड वा पीआर) त्यागेरै स्वदेश फर्किएर राजनीतिमा सक्रिय हुने साहस गरेका छन्। यस्ता व्यक्तिहरूले वैश्विक अनुभव, नयाँ सोच र ऊर्जा नेपालमा भित्र्याउने प्रयास गरेका छन्। सिन्धुपाल्चोकका बंशलाल तामाङ यस्तै एक उदाहरण हुन्, जसले अमेरिकाको सुविधासम्पन्न जीवन छोडेर नेपाल फर्किए र स्थानीयदेखि संघीय स्तरसम्मको राजनीतिमा होमिएका छन्।

अहिले उनी नेपाली कांग्रेसबाट सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार छन्। “देश बदल्न सोच र कार्यशैली दुवै बदल्नुपर्छ,” उनी भन्छन्।

राजनीतिक यात्राको सुरुवात

बंशलाल तामाङको जन्म वि.सं. २०२० सालमा सिन्धुपाल्चोक जिल्लाको नवलपुर (हाल इन्द्रावती गाउँपालिका) मा भएको थियो। गाउँकै ऐँसेलुखर्क माध्यमिक विद्यालयबाट स्कुले जीवन सुरु गरेका उनले सधैँ प्रथम हुने मेधावी विद्यार्थीका रूपमा परिचय बनाएका थिए। भलिबल खेलमा समेत दक्ष उनी स्कुल तहदेखि नै नेपाली कांग्रेसको भ्रातृ संगठनमा आबद्ध भई राजनीतिमा प्रवेश गरेका थिए।

उनको उच्च शिक्षा काठमाडौँको पब्लिक युथ क्याम्पस (आईकम) र पाटन बहुमुखी क्याम्पस (बीए) बाट पुरा भयो। क्याम्पस जीवनमै उनले ‘केयर इन्टरनेशनल’ जस्ता परियोजनामा काम गरे। राजनीतिक रूपमा उनको सक्रियता २०३६ सालदेखि नै सुरु भइसकेको थियो।

२०३५ सालको सत्याग्रहमा सहभागी हुँदा उनले डिल्लीबजार र चारखाल क्षेत्रमा धर्ना दिएबापत ३० दिन जेल जीवन बिताए। २०३६ को जनमत सङ्ग्रहमा सक्रिय रहँदै उनी नेपाल विद्यार्थी संघ सिन्धुपाल्चोकको संस्थापक जिल्ला अध्यक्ष बने। २०४२ को सत्याग्रह र २०४६ को जनआन्दोलनमा अग्रपङ्क्तिमा रहेका उनी २०४८ मा नेपाली कांग्रेसको जिल्ला कार्यसमिति सदस्य बनेका थिए।

२०५३ सालको स्थानीय निर्वाचनमा उनी सिन्धुपाल्चोक जिल्ला विकास समितिको सदस्य निर्वाचित भए। २०५६ सम्म विभिन्न गाउँमा पुगेर विकास र सामाजिक कार्यमा लागेका उनी नेपाली कांग्रेसको महाधिवेशनमा महासमिति सदस्य र आदिवासी जनजाति संघको संस्थापक केन्द्रीय सदस्य समेत बने।

अमेरिका बसाइ

सन् २००५ मा उनी सपरिवार अमेरिका लागे। अमेरिका पुगे पनि उनले राजनीति र समाजसेवालाई निरन्तरता दिए। जनसम्पर्क समिति अमेरिकाको संस्थापक तथा केन्द्रीय सदस्य बनेर उनले प्रजातन्त्रवादी नेपालीहरूलाई एकजुट बनाउन र पार्टी संगठन विस्तारमा भूमिका खेले।

यस्तै, तामाङ सोसाइटी अफ अमेरिका र आदिवासी जनजाति महासंघ अमेरिकामा सल्लाहकारको भूमिका निभाएका उनले सिन्धु वेलफेयर सोसाइटीको संस्थापक अध्यक्ष बनेर समाजसेवा गरे। द्वन्द्वमा अभिभावक गुमाएका बालबालिकालाई निःशुल्क शिक्षा दिन उनले संस्था स्थापना गरे, जसले हालसम्म झन्डै ३५ जना विद्यार्थीलाई सहयोग गरिरहेको छ।

अमेरिकामा रहँदा सामाजिक काममा सधैँ अग्रसर हुने तामाङ, त्यहाँ रहेका नेपालीहरूलाई आवश्यक पर्दा मात्र होइन, नेपालमा प्राकृतिक विपत्तिदेखि अन्य अवस्थामा सहयोग चाहिँदा समेत सधैँ अग्रपंक्तिमा नै उभिए। उनले संस्थागत र व्यक्तिगत रूपमा उदाहरणीय बन्दै अमेरिकामा सामाजिक कार्यमा सक्रियता देखाएका थिए।

स्वदेश फर्किने साहस र चुनौती

नेपालको संविधान २०७२ अनुसार ग्रीन कार्ड वा पीआर भएका व्यक्ति स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न नपाउने व्यवस्था छ। त्यसैले उनले आफ्नो ग्रीन कार्ड त्याग्ने निर्णय गरे। अमेरिकाको सुरक्षित भविष्य र पारिवारिक सुखलाई जोखिममा राखेर नेपाल फर्कनु उनका लागि सजिलो निर्णय थिएन। तर, मुलुक निर्माणमा योगदान दिने दृढ इच्छाशक्तिले उनलाई स्वदेश डोहोर्‍यायो।

फर्किँदा पार्टीभित्र केही चुनौतीहरू पनि देखा परे। कतिपयले “विदेश बसेर आएकालाई किन स्थान दिने?” भन्ने प्रश्न पनि उठाए। तर, स्थानीय निर्वाचनमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएर उनले आफ्नो सान्दर्भिकता प्रमाणित गरे। अध्यक्षको रूपमा उनले प्रशासनिक भवन, सडक, शिक्षा र स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण कार्यहरूको थालनी गरे।

सफलताको आधार: परिवार र व्यावहारिक राजनीति

उनको राजनीतिक सफलतामा परिवारको ठुलो योगदान छ। श्रीमती र छोराछोरी अमेरिकामा रहे पनि उनीहरूको आर्थिक र भावनात्मक समर्थनकै कारण आफूले नेपालमा समय दिन सकेको उनी बताउँछन्। “राजनीति सेवा हो, पेसा होइन। यसलाई आर्थिक रूपमा धान्न व्यवसाय वा परिवारको सहयोग चाहिन्छ,” उनी भन्छन्।

आफूलाई परिवारले नै आर्थिक रूपमा सहयोग गरिरहेको र त्यही कारण पलायन हुनु नपरेको उनको बुझाइ छ। परिवार विदेशमा रहेको विषयमा लाञ्छना लगाउनेहरूलाई उनी जवाफ दिन्छन्— “हाम्रो पुस्ताले नेपालमै भविष्य छ भन्ने वातावरण बनाउनुपर्छ, र केही वर्षमै यो सम्भव छ।”

विदेशबाट फर्कनेहरूप्रति पार्टीको दृष्टिकोण

आज धेरै नेपालीहरू विदेशबाट फर्केर राजनीति गर्न चाहन्छन्, तर पार्टीभित्र “पहिलेदेखि दुःख गरेकालाई कि नयाँ आएकालाई अवसर दिने?” भन्ने बहस हुने गर्छ। यस विषयमा तामाङ स्पष्ट छन्। उनी भन्छन्, “यो भूमण्डलीकरणको युग हो। मातृभूमिप्रतिको भावनात्मक सम्बन्ध र सक्रियता महत्त्वपूर्ण हुन्छ। संविधान मानेर वैधानिक कागजात त्यागेर आउनेहरूलाई पार्टीले स्वागत गर्नुपर्छ।”

उनका अनुसार विदेशबाट फर्कनेहरूले ल्याउने वैश्विक अनुभव, आर्थिक स्रोत र नयाँ सोचले नेपालको राजनीतिलाई झन् समृद्ध बनाउन सक्छ। यसका लागि पार्टीभित्र खुला, समावेशी र न्यायपूर्ण वातावरण बनाउन ढिला गर्न नहुने तामाङको निष्कर्ष छ।





Source link

Leave a Comment