गाईजात्रा डबलीदेखि डिजिटलसम्म : RajdhaniDaily.com


काठमाडौं । आज गाईजात्रा पर्व । गाईजात्रालाई शोक भुलाउने हास्य पर्वका रूपमा लिने गरिन्छ । मल्लकालीन राजा प्रताप मल्लले शोक बिर्साउन हास्यपर्वका रूपमा गाईजात्रा प्रचलनमा ल्याएको इतिहास छ । मल्लकालबाट सुरु यो पर्व मनाउन राणाहरूले पनि काठमाडौंका नेवाःलाई छुट दिएका थिए । जनैपूर्णिमाको भोलिपल्टबाट उनीहरूलाई एक सातासम्म विभिन्न डबली तथा चोकगल्लीमा बहुरूपी भेषमा कार्यक्रम प्रस्तुत गर्न अनुमति दिइयो । सोही कारण गाईजात्राका बेलामा राणाहरूलाई समेत अप्रत्यक्ष रूपमा ब्यंग्य गरिन्थ्यो ।

डबलीमा हुने परम्परा निरन्तरता र व्यंग्यबाट सुरु गाईजात्रा अहिले डिजिटल युगसम्म आइपुगदा परम्परा कम व्यंग्य बढी हुन थालेको छ । यसदिन मुलुकभरका नेवाः समुदाय वर्षभर दिवंगत आफन्तको सम्झनामा गाईजात्रा निकाल्छन् । उनीहरू बहुरूपी भएर गाईसँगै सहर परिक्रमा गर्छन् । अग्रज हास्य अभिनेता मदनकृष्ण श्रेष्ठका अनुसार नेपाल प्रज्ञा प्रतिष्ठानले ‘गाईजात्रा महोत्सव’ सुरु गर्नु चार वर्षअघि २०२८ सालबाटै काठमाडौंमा ‘मुना सः’ नामक संस्थाले स्टेजमा गाईजात्रा कार्यक्रम आयोजना थालेको थियो । त्यतिबेला श्रेष्ठसहित राजपाल थापा, धु्रव हाडा, रामकृष्ण नकर्मीलगायत कलाकारले राजनीतिक, सामाजिक व्यंग्यसहितको गाईजात्रा स्टेज प्रस्तुति दिने गरेका थिए । नेवाः भाषामा दख्खल भएका काठमाडौं रैथाने हरिवंश आचार्य त्यतिबेला सो समूहमा आबद्ध थिए ।

व्यावसायिक सुरुवात
मुना सः को छैटौं वार्षिक उत्सवमा ‘प्रमुख अतिथि’ भएका नेपाल प्रज्ञा प्रतिष्ठानका तत्कालीन सदस्यसचिव सत्यमोहन जोशीले यही प्रस्तुति देखेर २०३२ सालबाट नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजनामा ‘गाईजात्रा महोत्सव’ सुरु गरेका थिए । मुना सःका कलाकारसहित यादव खरेल, श्रीधर खनाललगायत समेटेर पहिलोपटक प्रतिष्ठानले २०३२ सालमा ‘गाईजात्रा महोत्सव–२०३२’ आयोजना ग¥यो । हरिवंश आचार्यले मदनकृष्ण श्रेष्ठको जोडी बनेर २०३३ सालबाट गाईजात्रे प्रस्तुति दिन सुरु गरेका थिए । २०३२ सालमा गाईजात्राको अवसर पारेर आयोजना गरिएको पहिलो गाईजात्रा महोत्सव तत्कालीन राजा वीरेन्द्र र राजपरिवारलाई देखाउँदा राजा निकै खुसी भएको आचार्यको स्मरण छ । तर कार्यक्रम सकिएको भोलिपल्टै राजाका मुख्य सचिवले सत्यमोहन जोशीलाई दरबारमा बोलाएर ‘अबदेखि गाईजात्रा महोत्सव आयोजना नगर्न’ आदेश दिए । सोही दिन गृहमन्त्री मरिचमान सिंहले पनि फोनबाटै ‘महोत्सव आयोजना नगर्न’ जोशीलाई ठाडो आदेश दिए ।

‘सातासम्म आयोजना गर्ने’ भनेर महोत्सवको टिकट प्रज्ञा प्रतिष्ठानले बिक्री गरिसकेको थियो । सोही कारण जोशी अन्योलमा परे । उनले त्यसबेला ‘सदस्य सचिवको पद गए पनि राजाले मन पराएको गाईजात्रा कार्यक्रम एक सातासम्म प्रस्तुत गर्ने’ अडान लिएका कारण स्टेजमा टिकट किनेर दर्शकले गाईजात्रा महोत्सव हेर्न पाएको आचार्य स्मरण गर्छन् । यसरी २०३२ सालबाट नेपाल प्रज्ञा प्रतिष्ठानले गाईजात्रा पर्वको अवसर पारेर ‘सप्ताहव्यापी गाईजात्रा महोत्सव’लाई व्यावसायिक रूपमा टिकट बेचेर आयोजना गर्न थालेको हो ।

प्रतिष्ठानले यो महोत्सव २०४५ सालसम्म ‘सप्ताहव्यापी उत्सव’का रूपमा १४ वर्ष नियमित आयोजना ग¥यो । सोही वर्षबाट प्रतिष्ठानले ‘गाईजात्रा महोत्सव’को उत्कृष्ट प्रहसन र कलाकारलाई पनि नगदसहित गाईजात्रे पुरस्कारसमेत प्रदान गर्न थाल्यो । २०४६ सालमा बहुदलीय प्रजातन्त्र आएपछि प्रतिष्ठानले ‘गाईजात्रा महोत्सव’ आयोजना गर्न छाडेको हो । २०४६ सालसम्म महोत्सवमा यादव खरेल, राम शेखर, लक्ष्मण लोहनी, राजपाल यादव, श्रीधर खनाल, वसुन्धरा भुसाल, भीमबहादुर थापा, ध्रव हाडा, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गोपालराज मैनाली, सन्तोष पन्त, शम्भूजीत बासकोटा, शैलेन्द्र सिम्खडा, किरण केसी, राजाराम पौडेल, रमेश केसी, आनन्द थापा, प्रभाकर देव शर्मालगायतले प्रस्तुति दिए । २०४७ सालपछि प्रतिष्ठानमै ‘गाईजात्रा महोत्सव’ नीजि क्षेत्रबाट सुरु भएको हास्य कलाकार किरण केसी बताउँछन् । २०४८ पछि ‘लाका गाईजात्रा महोत्सव’का नाममा विभिन्न कलाकारले राष्ट्रिय सभागृहमा पनि गाईजात्रा महोत्सव आयोजना गर्न थाले ।

गाईजात्रा डबलीदेखि डिजिटलसम्म : RajdhaniDaily.com

उता, सांस्कृति संस्थान (नाचघर)ले पनि केही बाहिरी कलाकार समेटेर ‘गाईजात्रा महोत्सव’ आयोजना गर्न थाल्यो । २०५० को दशकमा आइपुग्दा काठमाडौंमा तीन फरक महोत्सव आयोजना हुन थाले । हास्यकलाकार पल्पसा डंगोलका अनुसार माओवादी शसस्त्र विद्रोह सुरु भएपछि सुरक्षामा केही कडाइ गरिए पनि महोत्सव निरन्तर चल्यो ।

हास्यव्यंग्य कलाकार मनोज गजुरेलले महोत्सवमा दरबारदेखि माओवादीसम्मलाई खुलेर व्यंग्य गरे । राजा र माओवादीको शासनकालमा आफूले प्रचण्ड र राजा ज्ञानेन्द्र शाह दुवै बनेर महोत्सवमा प्रहसन गरेको गजुरेल सुनाउ“छन् । २०४७ सालपछि काठमाडौंमा निजी क्षेत्रबाट आयोजना भएका महोत्सवबाट अग्रज कलाकारसँगै नयाँ पुस्ताका शाम्दे शेर्पा, डम्बर घिमिरे, मनोज गजुरेल, सुरवीर पण्डित, दिनेश डिसी, लक्ष्मण गाम्नामे, अर्जुन पराजुली, दीपकराज गिरी, जितु नेपाल, दीपश्री निरौला, सुरेन्द्र केसी, पल्पसा डंगोल, गोपाल नेपाल ‘फिस्टे’, शिवशंकर रिजाल, देवीराज पराजुली (भोक लाग्यो)जस्ता कलाकार उदाए ।

४० वर्षदेखि महोत्सवमा प्रस्तुति दिँदै आएका किरण केसीका अनुसार नेपालमा हास्य टेलिशृंखला बन्नुको पछाडि ‘गाईजात्रा महोत्सव’को योगदान छ । स्टेजमा महोत्सवलाई दर्शकले निकै रुचाएपछि २०५० सालको दशकमा हास्य टेलिशृंखला ‘हिजो आजका कुरा’ सुरु भएको हो । त्यसपछि दिनेश डिसीले नेपाल टेलिभिजनबाटै अर्को हास्य कार्यक्रम ‘ट्वाक्क टुक्क’ सुरु गरे । हास्यव्यंग्य कलाकार जितु नेपालका अनुसार ‘गाईजात्रा महोत्सव’ दर्शकले निकै रुचाएपछि गाईजात्राकै प्रभावबाट २०६० सालपछि ‘तितो सत्य’, ‘जिरे खुर्सानी’, ‘मेरी बास्सै’, ‘हर्के हल्दार’जस्ता हास्य टेलिशृंखला बने । २०६० दशकबाट महोत्सवमा राजन थापा, पूर्ण थापा, रवि डंगोल, सीताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली), केदारप्रसाद घिमिरे (माग्ने बूढा), विष्णु सापकोटा, सुबोध गौतम, राजा राजेन्द्र, दिनेश काफ्लेजस्ता कलाकार आए ।

गाईजात्रा डबलीदेखि डिजिटलसम्म : RajdhaniDaily.com

उता, ‘कमेडी च्याम्पियन’ सुरु भएपछि आधा दशकयताबाट गाईजात्रामा नवपुस्ताको आगमन भएको छ । अहिले ‘गाईजात्रा महोत्सव’ हाँक्ने नयाँ पुस्ताका कलाकारमा प्रभात लामा, सीता न्यौपाने, सजन श्रेष्ठ, मेक्सम गौडेल, हिमेस पन्त, खड्गबहादुर पुन (खबपु), कैलाश कार्की, भरतमणि पौडेल, सुमन कोइरालाजस्ता कलाकारको प्रस्तुति रहने छ ।

अडियो क्यासेटमा प्रहसन
स्टेजबाट ‘गाईजात्रा महोत्सव’ अघि बढी रहेको बेला प्रत्यक्ष दर्शकबीच सीमित थियो । २०३८ सालबाट मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी)ले क्यासेटमार्फत् ‘गाईजात्रा प्रहसन’लाई घरघरमा पु¥याए । ‘२०३८ सालमा मदन दाई र मैले पहिलोपटक गाईजात्राको अवसरमा यमलोकको यात्रा र अर्को पटी प्यारालाइसिस शीर्षकमा एक घण्टाको प्रस्तुतिसहित म्युजिक नेपालमार्फत् प्रहसन क्यासेट बजारमा ल्यायौं,’ आचार्य भन्छन्, ‘गाईजात्रे क्यासेट बेचेर रोयल्टीबापत प्राप्त भएको १३ लाख रुपैयाँबाट मेरो भागमा प्राप्त आधा रकमबाट मैले घट्टेकुलोमा घडेरी किनेर घर बनाउन थालें भने मदन दाईले पनि घर थप्नुभयो ।’ यसपछि महजोडीले ‘रद्दीको टोकरी’, ‘होस्टे हैंसे’, ‘अंशबन्डा’, ‘कक फाइट’जस्ता गाईजात्रे क्यासेट निकाले ।

क्यासेटक बिक्रीबाटै त्यतिबेला हरिवंश र मदनकृष्णले दुई–दुई वटा घर किने । २०४८ सालमा मुलुकमा बहुदलीय प्रजातन्त्र भने आफूहरूले गाईजात्रे क्यासेट निकाल्न छाडेको आचार्य बताउ“छन् । आफू आर्थिकरूपमा समृद्धि हुनुमा ‘गाईजात्रा महोत्सव’का अवसरमा त्यतिबेला निकालिएको क्यासेट बिक्रीको ठुलो देन रहेको उनले राजधानीलाई बताए । त्यतिबेला हास्य कलाकार खेम शर्मा समूहको क्यासेमा आएको गाईजात्रे प्रस्तुति पनि त्यत्तिकै लोकप्रिय हुने गथ्र्यो । त्यस्तै, शाम्दे शेर्पा र साथीहरूको गाईजात्रे प्रस्तुति क्यासेट पनि त्यत्तिकै बिक्थ्यो । २०४६ पछि शम्भु दाहालको गाईजात्रे क्यासेट पनि लोकप्रिय थियो । बिस्तारै क्यासेट विस्थापित भएपछि गाईजात्रे प्रस्तुति श्रव्यमाध्यमबाटै सीडीका रूपमा बजारमा आए । त्यतिबेला सुरेन्द्र केसी (मुला साग), शिवशंकर रिजाल (जोगिन्दर पानवाला), कमल गाउँलेले पनि सीडीमा गाईजात्रे प्रस्तुति बजारमा ल्याए ।

भिसिडीमा गाईजात्रा महोत्सव
कलाकारले सुरुमा महोत्सव रेकर्ड गरेर श्रव्यका रूपमा क्यासेटमा ल्याउने गरेका थिए । यसको श्रेय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई जान्छ । त्यसअघिसम्म स्टेजमा सीमित महोत्सवलाई यसरी २०३८ सालमा पहिलोपटक क्यासेटका रूपमा महजोडीले बजारमा ल्याएका थिए । यसरी २०३० सालबाट सुरु गाईजात्रा २०५० सालपछि भिसिडीमा आएको देखिन्छ । मदनकृष्ण श्रेष्ठका अनुसार २०४८ सालबाट नेपाल प्रज्ञा प्रतिष्ठानमा निजी क्षेत्रबाटै महोत्सव सुरु गरियो । त्यतिबेला चर्चामा रहेका विभिन्न भिसिडी क्यासेट कम्पनीले महोत्सव सकिएपछि भिडिसीको रूपमा निकाल्नेगरी उचित पारिश्रमिक दिन्थे । भिसिडीमा गाईजात्रा कार्यक्रम आएपछि महोत्सव प्रत्यक्ष हेर्न नपाएका दर्शक खोजीखोजी किनेरै भए पनि मनोरञ्जन लिन्थे ।

गाईजात्रा डबलीदेखि डिजिटलसम्म : RajdhaniDaily.com

कलाकार जितु नेपालका अनुसार नेपालमा २०६० सालको दशकमा भिसिडी विस्थापित भएर डिभिडी आएपछि गाईजात्रा महोत्सवका रूपमै सीमित रहेन । विभिन्न कलाकारलाई अभिनय गर्न लगाएर छुट्टै छायांकन गरी डिभिडी बजारमा आए ।

डिजिटलमा महोत्सव
विगतमा क्यासेटबाट क्रमशः भिसिडी, सिडी, डिभिडीमा प्रस्तुत हुँदै आएको ‘गाईजात्रे महोत्सव’ २०७० को दशकबाट ‘डिजिटल प्लेटफर्म’मा प्रवेश ग¥यो । हिजोका दिन आफूहरूले प्रस्तुत गरेको महोत्सवको भिडियो भिसिडी, डिभिडीमा निकाल्ने अधिकार कम्पनीलाई दिने कलाकारले त्यो अधिकार आफैंसँग राख्न थाले । महोत्सवमा आफूहरूले प्रस्तुत गरेको कार्यक्रम खिच्न लगाएर उनीहरूले आफ्नै युट्युब च्यानलमार्फत् सार्वजनिक गर्न थाले । त्यतिबेलाको लोकप्रिय टेलिशृंखला ‘तितो सत्य’, ‘जिरे खुर्सानी’ र ‘मेरी बास्सै’ले संयुक्त रूपमा ‘तिते जिरे मेरी बास्सै गाईजात्रा महोत्सव’ सुरु गरे । हास्यअभिनेता केदारप्रसाद घिमिरे (माग्ने बूढा)का अनुसार महोत्सवमा विभिन्न समूहले प्रस्तुत गरेको प्रहसन युट्युब च्यानलबाट रिलिज गर्न थालियो ।

२०७१ सालमा ‘माग्ने बूढो युट्युब च्यानल’ खोलेर केदारले गाईजात्रा महोत्सवको प्रस्तुति युट्युब च्यानलमा हाल्न थाले । ‘जिरे खुर्सानी’ समूहको प्रस्तुतिलाई शिवहरि पौडेलले ‘मुखाँ हान्नुजस्तो’ च्यानल खोलेर त्यसमार्फत् रिलिज गर्न थाले । अर्का हास्य कलाकार दमन रुपाखेतीले आफ्नै युट्युब च्यानल खोलेर कार्यक्रम रिलिज गर्न थाले ।

युट्युबमा गाईजात्रा
जितु नेपालले गाईजात्राको अवसरमा स्टेजमा आयोजना हुँदै आएको ‘गाईजात्रा महोत्सव’मा सहभागिता जनाएका छैनन् । ‘कोभिड–१९’पछि आफूले गाईजात्रा महोत्सवमा भाग नलिएको उनी बताउ“छन् । तर जितुले दर्शकलाई ‘गाईजात्रे प्रस्तुति’ भने युट्युबमार्फत् दिँदै आएका छन् । ‘सिटी एक्सप्रेस गाईजात्रा’का रूपमा उनले आधा दशकयताबाट बर्सेनि ४ देखि ६ वटासम्म गाईजात्रा शृंखला निर्माण गरेर युट्युब च्यानलमा राख्दै आएका छन् । ‘मैले पाँच वर्षदेखि नियमित युट्युबमार्फत् प्रस्तुत गर्दै आएका गाईजात्रा महोत्सवका विभिन्न शीर्षकका प्रहसनलाई दर्शकले खुबै मन पराउँदै आउनुभएको छ,’ उनी भन्छन्, ‘सोही प्रेरणाले गर्दा अन्य कलाकार साथीको सहयोगमा यसपटक पनि मुन्द्रेको गाईजात्रा २०८२ नामक चार शृंखला छायांकन गरेर प्रसारणमा ल्याएको छु ।’

हास्य कलाकार शिवशंकर रिजाल (जोगिन्दर पानवाला)ले पनि यो वर्षको डिजिटल गाईजात्रा प्रस्तुति दर्शकमाझ ल्याइसकेका छन् भने कमल गाउँलेले ‘भेंडातन्त्र’ शीर्षकमा २०८२ सालको गाईजात्रा प्रस्तुति युट्युब च्यानलबाट सार्वजनिक गरिसकेका छन् ।

हास्यकवि शैलेन्द्र सिम्खडाले २०८२ सालको गाईजात्रे प्रस्तुति युट्युब च्यानलबाट सार्वजनिक गरिसकेका छन् । दमन रुपाखेतीले ‘मिसन चौरासी’, ‘राष्ट्रिय चिडिया एयर बस’ र ‘ड्याम ड्याम’ शीर्षकमा विभिन्न कलाकारसँग मिलेर तीन गाईजात्रे डिजिटल शृंखला सार्वजनिक गरिसकेका छन् । रवि डंगोल (का बेमान)ले पनि विभिन्न कलाकारसँग मिलेर ‘माग्ने मन्त्री’ र ‘श्री ३ महाराज’ शीर्षकमा दुई प्रहसन युट्युब च्यानलबाट सार्वजनिक गरिसकेका छन् ।

गाईजात्रा महोत्सव नाचघर र प्रज्ञा प्रतिष्ठानमा
राजधानीमा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी र सांस्कृतिक संस्थान नाचघरमा ‘गाईजात्रा महोत्सव’ जारी छ । हास्यव्यंग्य कलाकार मनोज गजुरेलको नेतृत्वमा नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबारबाटै महोत्सव सुरु भएको छ । नाचघरमा पनि शनिबारबाट यो वर्षको गाईजात्रा महोत्सव सुरु भएको छ ।

(Visited 20 times, 1 visits today)





Source link

Leave a Comment